Header
Loading...

वैशाख १२ गते फेरि तहसनहस पार्ने ठूलो भूकम्प आउँछ ? यसो भन्छन् विज्ञ

amrit

२०७२ साल वैशाख १२ गते नेपालमा गएको शक्तिशाली भूकम्पका कारण करिब ९ हजारको मृत्यु भयो । हजारौं घाइते भए भने लाखौं मानिस विस्थापित भएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दा सर्वसाधारणमा अझै त्यसको त्रास मेटिएको छैन । भूकम्पीय दृष्टिले नेपाल अन्त्यन्तै जोखिमपूर्ण देशमा पर्दछ । अब अर्को भूकम्प कहिले जान्छ भन्ने जिज्ञासासमेत आम नागरिकमा देखिन्छ । तर वैज्ञानिकहरुले अहिलेसम्म भूकम्प कहिले जान्छ र कति शक्तिशाली जान्छ भन्नेबारे कुनै निचोड निकाल्न सकेका छैनन् । इतिहासलाई हेर्दा पनि नेपालमा पटकपटक शक्तिशाली भूकम्प गएको देखिन्छ । अहिले भूकम्पको जोखिम कत्तिको छ ? र आगामी दिनमा कहिले भूकम्प जान सक्छ ? भन्ने लगायतका विषयमा दैनिक नेपालले राष्ट्रिय भूकम्प मापन केन्द्र, खानी तथा भूगर्भ विभागका प्रमुख लोकविजय अधिकारीसँग गरेको कुराकानी :-

lok-bijay-adhikari-1

– २०७२ साल वैशाखमा गएको भूकम्पको एक वर्ष पुग्न लागेको छ । यसबीचमा पराकम्पनहरु गइरहेका छन् । जोखिम अझै नसकिएको हो ?

नेपाल भूकम्पीय जोखिम भएको क्षेत्र हो । यहाँको जोखिम कहिल्यै सकिने होइन । नेपालमा दिनदिनै भूकम्पहरु गइरहेका हुन्छन् । कति महसुस गर्न सकिन्छ त कति सकिँदैन । त्यसैले जोखिम कहिल्यै पनि नसकिने क्षेत्र भएकाले हामी जहिले पनि जोखिममै हुन्छौं ।

– तर विगतलाई हेर्दा काठमाडौं उपत्यकामा ८० देखि एक सय वर्षको फरकमा मात्र भूकम्प गएको देखिन्छ । के अब काठमाडौंलाई ठूलो नोक्सानी पुर्याउने हिसावले चाहिँ तत्काल ठूलो भूकम्प जाने सम्भावना टरेको हो ?

त्यो पनि होइन । २०७२ साल वैशाख १२ गते गोर्खालाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले काठमाडौंलाई ठूलो धक्का दियो । यसअघि गोर्खा आसपासलाई नै केन्द्र बनाएर १८९० मा पनि ठूलो भूकम्प गएको थियो । त्यसले पनि काठमाडौंलाई ठूलो क्षति पुर्यायो । त्यसपछि त्यस क्षेत्रमा ठूलो भूकम्प गएको भनेकै २०७२ वैशाख १२ गतेको हो । १८९० को भूकम्पमा जमिनमुनिबाट निस्किएको शक्ति पुनः सञ्चय भएर अर्को भूकम्प जान निकै लामो समय लाग्यो । १८९० अघि १६८१ सालमा त्यही ठाउँमा भूकम्प गएको थियो । त्यसअघि १४०१ साल र १३४४ सालमा पनि ठूलो भूकम्प गएको थियो भन्ने छ । अहिले पुनः शक्ति सञ्चय भइरहेको हुनसक्छ । तर त्यो कहिले बाहिर आउँछ भनेर यकीन भन्न सकिँदैन ।

– तपाईंले १८९० सालमा गएको भूकम्पपछि शक्ति सञ्चय भएर २०७२ सालमा भूकम्प गएको भन्नुभयो, तर १९९० सालमा पनि त शक्तिशाली भूकम्प गएको थियो नि ?

१९९० सालमा त पूर्वी नेपाललाई केन्द्र बनाएर भूकम्प गएको हो । त्यसअघि पूर्वमा १२५५ सालमा ठूलो भूकम्प गएको थियो । १२५५ देखि ठूलो भूकम्प गएको थिएन । त्यसयता सञ्चय भएको शक्ति १९९० सालमा निस्किएर भूकम्प गएको हो । त्यो भूकम्प जान लामो समयसम्म शक्ति सञ्चय भएको देखिन्छ ।

– पश्चिम नेपालमा अर्को शक्तिशाली भूकम्प जाने सम्भावना छ भनिन्छ नि ?

हो, अहिले हामीहरुले गरिरहेको अध्ययन हेर्दा पश्चिम नेपालमा ५ सय वर्षदेखि ठूलो भूकम्प गएको छैन । पश्चिम नेपालको हिमालयदेखि तराईसम्मै ठूलो शक्ति सञ्चय भएको छ । त्यो निस्कन बाँकी छ । हिमालयमा इन्डियन प्लेट सर्दै आएको छ । गोर्खादेखि पश्चिम भारतको देहरादूनसम्मको एक सय किलोमिटर क्षेत्र जमिनमुनी ठूलो मात्रामा शक्ति सञ्चय भएकाले कुनै पनि बेला बाहिर निस्कने सम्भावना चाहिँ छ । तर कहिले निस्कन्छ भन्ने थाहा हुँदैन ।

– पछिल्लो समयमा जापान, इक्वेडरलगायतका देशमा ठूला भूकम्पहरु गइरहेका छन् । ती भूकम्पसँग नेपालको जमिनमुनीको शक्तिसँग कुनै सम्बन्ध छ कि छैन ?

अन्य मुलुकमा गएका भूकम्पसँग नेपाल मुनि जम्मा भएको शक्तिको कुनै सम्बन्ध छैन । जुन ठाउँमा शक्ति सञ्चय भएर बसेको छ त्यो ठाउँमा नै भूकम्प जाने हो ।

– भारतमा पनि ८ म्याग्नेच्युटको भूकम्प जाने हल्ला चलेको छ । वास्तविकता के हो ?

नेपालको गोर्खादेखि पश्चिम भारतको देहरादूनसम्मको एक सय किलोमिटर लामो भूभागमुनि जम्मा भएर बसेको शक्तिको विषयलाई लिएर त्यो हल्ला भएको हो । तत्कालै ठूलो भूकम्प जान्छ भनेर कसैले पनि भन्न सक्दैन । जहिले पनि जान सक्छ र अझै लामो समयसम्म नजान पनि सक्छ ।

– भारतीय र तिब्बती प्लेट जुध्दा नेपालमा भूकम्प गएको भनिन्छ । अहिले यो प्लेट सरेर कहाँ पुगेको छ ? काठमाडौं मुनि बसेको हल्ला पनि छ, चुरे पहाडमा पुगेपछि मात्र जोखिम कम हुन्छ भनिन्छ नि ?

जमिनमुनीको प्लेट सरेर कहाँ पुग्यो भन्ने परीक्षण गर्ने संयन्त्र हामीकहाँ छैन । हामीले अध्ययनहरु गरिरहेका छौं । २०७२ सालमा गएको भूकम्पपछि पनि नेपालको सतहमुनि अझै शक्ति बाँकी चाहिँ छ । कति शक्ति हिमाल बन्न प्रयोग हुन्छ, कति बाँकी नै रहन्छ । तर कहिलेदेखिको बाँकी हो भन्ने टुंगो लागेको छैन । कहिले जान्छ, कति शक्तिशाली भूकम्प जान्छ भन्न हामी सक्दैनौं । भूकम्पका धेरै पुराना तथ्यांकहरु पनि हामीसँग छैनन् ।

– काठमाडौंको सन्दर्भमा भन्दा चाहिँ यहाँ प्रत्येक ८० देखि १०० वर्षको फरकमा ठूलो भूकम्प जान्छ भनिन्छ । त्यस्तै हो भने के अब काठमाडौंमा चाहिँ अर्को ८० या एक वर्षसम्म भूकम्प जाँदैन त ?

हामीले थाहा पाउनुपर्ने कुरा के हो भने ८० वर्षमा या एक सय वर्षमा भूकम्प जाने कुरा लागू हुँदैन । काठमाडौंमा ८० देखि एक सय वर्षसम्ममा भूकम्पले क्षति पु¥याएको भन्ने छ । त्यो काठमाडौंमै भूकम्प गएर भएको होइन । १८९० मा पश्चिममा भूकम्प जाँदा पनि काठमाडौंलाई हल्लायो र १९९० सालमा पूर्वमा भूकम्प जाँदा पनि काठमाडौंलाई ठूलो क्षति पुर्यायो । त्यसैगरी २०४५ सालमा पूर्वी नेपालमा गएको भूकम्पले पनि काठमाडौंलाई ठूलै क्षति पु¥यायो । त्यसैले एक वर्षसम्म काठमाडौंमा अब भूकम्प जाँदैन भन्ने नै होइन ।

– शक्तिशाली भूकम्प गएको एक वर्षसम्म पनि पराकम्पन गइरहेका छन् । यो कति समयसम्म रहन्छ ?

यति नै वर्षसम्म या यति दिनसम्म जान्छ भन्ने हुँदैन । ठूलो भूकम्प गएपछि जमिन धेरै चिरिएको हुन्छ । चिरिएको क्षेत्र सन्तुलनमा आउन निकै समय लाग्छ । नर्मल ठाउँमा भूकम्प गएको छ भने लामो समयसम्म पराकम्पन गइरहन्छन् । तर गहिरो क्षेत्रमा गएको छ भने मात्र त्यस्ता पराकम्पनहरु लामो समयसम्म जाँदैनन् । गत वैशाख १२ भन्दा अघि पनि नेपालमा दैनिक १० देखि १५ वटा भूकम्प जाने गरेका थिए । वैशाख १२ लगत्तै केही दिन दैनिक १ हजार ५ सय वटा पराकम्पन गएका थिए । तर अहिले आएर दैनिक ३० देखि ४० वटा पराकम्पन गइरहेका छन् । अझै कति समयसम्म जान्छन् भन्न सकिन्न । तर क्रमशः घट्ने क्रममा छ ।

– राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको मात्र तथ्यांक संकलन गरिरहेको छ कि यसको जोखिम न्यूनीकरणका लागि पनि केही काम पनि गरिरहेको छ ?

राष्ट्रिय भूकम्प मापन केन्द्र, खानी तथा भूगर्भ विभागले भूकम्पका बारेमा अध्ययनहरु गरिरहेको छ । अमेरिका, बेलायत, फ्रान्स, सिंगापुरलगायतका देशसँग मिलेर पराकम्पन नाप्ने र संकलन गर्ने काम गरिरहेको छ । त्यसैगरी अहिले काठमाडौं उपत्यकाको जोखिम मूल्यांकन गर्ने काम पनि हामीले गरिरहेका छौं ।

 तपाईंहरुले गरिरहेको अध्ययनले के फाइदा हुन्छ त ?

हामीले गरिरहेको अध्ययनले कुन ठाउँ कति जोखिमपूर्ण छ भन्ने मात्र थाहा हुने हो । त्यसले पूर्वतयारी गर्न सहयोग पुग्छ, कति हल्लाउँछ, कति क्षति हुन्छ भन्ने तथ्यांक संकलन हुन्छ । त्यसले कसरी सतर्कता अपनाउने र कस्ता घर बनाउने भन्ने विषयमा ठोस निर्णय गर्न सकिन्छ ।

– वैशाख आउन लागेको छ । सर्वसाधारणमा पुनः त्रास बढ्दै गएको अवस्थामा तपाईं भूकम्प मापन केन्द्रको प्रमुखको हैसियतले के सुझाव दिनुहुन्छ ?

सबैभन्दा ठूलो कुरा भूकम्प भन्ने वित्तिकै आत्तिने र अरुले जे भन्छ त्यसैको पछाडि लाग्ने तपाईंको बानी छ भने त्यो अहिलेदेखि नै तुरुन्तै परित्याग गर्नुहोस् । अरुले भूकम्प आउँछ भन्दैमा आउने होइन, आफूलाई मानसिक रुपमा विक्षिप्त पार्नु हुँदैन । दैनिक रुपमा सानातिना भूकम्पहरु संसारभर गइरहन्छन् र नेपालमा पनि गइरहेका छन् । त्यसैले आफूले भूकम्पबाट सावधानी अपनाउनुपर्छ । संरचना निर्माण गर्दा भूकम्पीय प्रविधि प्रयोग गरी जोखिम कम गर्ने उपाय अबलम्बन गर्नुपर्छ । दैनिक नेपाल

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

काेरिया, EPS मजदुरले मासिक तलबको २० प्रतिशत अनिवार्य तिर्नु पर्ने ब्यबस्था लागु

कोरियन सरकार (श्रम मन्त्रालय)ले इपीएसबाट आउने प्रवासी मजदुरको खाना र बस्ने कोठाकोलागि लाग्ने खर्चको बारेमा हालै नया कार्य निर्देशिका बनाएकाे छ ।   कोरिया श्रम मन्त्रलयले गत महिना... विस्तृतमा


ख्यंगी फ्यंगथेकमा शाखा बिस्तारगर्दै प्रबासी मजदुर संगठन(MTU)

EPS कार्यक्रम मार्फत दक्षिण काेरियामा बर्षै पिच्छे नेपाली मजदुर राेजगारीकाे लागी त्यहा... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com