tealaya add

sseexx ktm kantipath

कलंकीस्थित मकालु पेट्रोल पम्पको पछाडिपट्टि एउटा साढे तीनतले घर छ । जहाँ ‘सोसाइटल ओभरसिज सर्भिसेज प्रालि’ लेखिएको साइनबोर्ड देख्न सकिन्छ ।

साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौन व्यापार भइरहेको थियो ।

जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौनकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत ‘सेवा’ पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौनकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो ।

पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा भयाे-मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् ।

नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौन भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौनकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् ।

खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौनधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा हजाराै भेट्न सकिन्छ ।

एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौनप्यास मेट्ने अवसर जुर्छ । पाँच सयमा यौनकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ ।

उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौनप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् ।

‘अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,’ अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, ‘यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो रैछ मेराे त सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुप¥यो ।’

खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् ।

झुपडीमै यौनधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा (आफूलाई उच्च कोटीका ठान्ने) यौनकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौनधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् ।

यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, ‘घुमुवालाई हातमा लिन सके सबै कुरो मिल्छ ।’ उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू ‘दिन दुगुना, रात चौगुना’ महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ ।

सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौनप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्, ‘यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् ।

गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर ‘एक्स्ट्रा टिप्स’ पाइरहेका छन् ।’ उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा ‘डेलिभर’ पनि भइरहेको छ । ‘जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी–प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ ?’ सरकारलाई सञ्चालिकाको प्रश्न छ, ‘हामी के सरकारका जनता होइनौँ ? हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने ?’ पार्लरमा सुन्दर हुन आउने ग्राहककै ‘डिमान्ड’का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ ।

‘सरकारका बाउ आए पनि यो शहरमा यस्तो काम बन्द हुन सक्दैन,’ उनी कडा रूपमा प्रस्तुत हुन्छिन्, ‘व्यवस्थित गर्न्तिर सरकारले सोचेन भने उसकै लाज हुने हो । लगेर दुई–चार दिन थुन्दैमा डराउनेवाला छैनौँ ।’ कैयौँ पटक प्रहरी खोरमा पर्दै-छुट्दै गरेको अनुभवले उनी खारिएकी छिन् ।

आवरण बदलिरहने धन्दा

मेनपावर, पार्लर, खाजापसल, कस्मेटिक, सैलुन, होटल, बार, मसाज, स्पा‘। यस्ता कैयौँ आवरणमा यौनधन्दा चलिरहेको छ । धन्दावालहरू चौपट्टै बाठा छन् । जो देखाउने दाँत अर्थात् आवरण बदलेको बदल्यै हुन्छन् । ग्राहकसँग साक्षात्कार गर्ने जुक्ति र माध्यम अनौठा लाग्छन् । प्रहरी र धन्दावालाहरूबीच बेलाबेला लुकामारी चलिरहन्छ ।

बदलिइरहने आवरणले यौनधन्दा पहिचान गर्नै गाह्रो पर्ने गरेको प्रहरी बताउँछ । ‘धन्दावालाहरू हामी (प्रहरी) भन्दा धेरै बाठा छन्,’ महानगरीय प्रहरी बौद्ध वृत्तका डीएसपी नरहरि रेग्मी स्वीकार्छन्, ‘पहिचान भइहाले पनि तह लगाउनै मुस्किल छ ।’

प्रहरीका अनुसार धन्दावालाहरूलाई सार्वजनिक अपराधभन्दा ठूलो सजाय हुने मुद्दा चलाउन सकिन्न । सार्वजनिक अपराध मुद्दा चलाउन पनि संस्थागत रूपमा पेशेवर तवरले लागेकाहरूलाई भन्दा अरूलाई गाह्रो छ । पछिल्लो समय संस्थागत तवरले भन्दा व्यक्तिगत सम्पर्क र ‘बार्गे्निङ’मा देह व्यापार गर्ने धेरै छन् ।

मेनपावरका नाममा यौनधन्दा चलाइरहेका सञ्चालकहरूविरुद्ध महानगरीय प्रहरी कालिमाटी वृत्तले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइरहेको छ । ‘त्यहीँ काम गरिरहेका पीडित महिलाहरूले दिएको उजुरीका आधारमा मुद्दा अघि बढाएका छौँ,’ वृत्तका डीएसपी हेम थापाले भने, ‘मेनपावरमा जागिर लगाइदिने आश्वासन दिएर शरीर बेच्न बाध्य पारेको पीडित महिलाहरूको भनाइ छ ।’

डीएसपी थापाका अनुसार धन्दावालाहरूले महिनामा पाँच हजार रुपैयाँ तलब दिने भन्दै १८-१९ वर्ष उमेरका किशोरीहरूलाई यौनकार्यमा लाग्न बाध्य पारेका थिए । संस्थागत तवरले चलेका यौ*नधन्दा बाहेकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ ।

‘धन्दाको सूचना पाएसम्म रेड हान्ने हो,’ डीएसपी थापाले भने, ‘सार्वजनिक अपराध मुद्दा चलाएर बढीमा २५ दिन थुनामा राख्यो । फेरि सुरु गरिहाल्छन् । अझ व्यक्तिगत सम्पर्कमा धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउनै मुस्किल छ ।’

डीएसपी थापाका अनुसार पछिल्लो पटक छापा हानिएको मेनपावरले यौनकर्मी र विदेश जाने कामदार दुवैको दलाली गरिरहेको थियो । विदेश जाने र आउने कामदारलाई यौनकर्मी मिलाइदिएर महँगो रकमसमेत असुलिरहेको थियो ।

‘फ्ल्याट’को यौनधन्दा सदाबहार

सामान्य मान्छेको पहुँच कमै हुने ‘फ्ल्याट’को यौनधन्दा शहरका लागि सदाबहार बनिसकेको छ । बलियो ‘सेटिङ’का भरमा चलाइएका यस्ता फ्ल्याटमा प्रहरीले वास्ता गर्दैन । फ्ल्याटमा रेगुलर ग्राहक धेरै जान्छन् । टोले गुण्डाहरूको समेत सहयोग हुने भएकाले ढुक्कसँग व्यवसाय चलाउँछन् । काठमाडौँ, नारायणटारस्थित एक फ्ल्याटबाट निस्कँदै गरेका ग्राहकले भने, ‘बरु महँगै तिर्ने हो । ढुक्कसँग मज्जा लिइन्छ । यहाँ त पुलिस, गुण्डा कसैको टेन्सन हुँदैन । जो पायो त्यही आउने पनि चान्स कम हुन्छ ।’ ग्राहकहरूका अनुसार अझ फ्ल्याटमा भन्दा अपार्टमेन्टमा सञ्चालित कोठीहरू सुरक्षित र आरामदायी हुन्छन् ।

यौ*नधन्दाविरुद्ध प्रभावकारी कदम चाल्न प्रहरीलाई पनि गाह्रो छ भन्छन्, प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पोल्मीमगर । ‘ग्राहक खोज्न सडकमै उत्रनेहरूलाई लखेट्न सक्छौँ, सम्झाउन सक्छौँ,’ उनले भने, ‘कोठी नै खोलेर बस्नेलाई सार्वजनिक मुद्दा चलाइन्छ । यसलाई उनीहरू सामान्य रूपमा लिन्छन् । नैतिकता हुनेले पो थाहा पाउँछ, सार्वजनिक मुद्दा कति गम्भीर हो भनेर ।’

सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र राठौरका अनुसार यौनधन्दाको निगरानी राख्नु यहाँको प्रहरीको ‘डेली रुटिन’ हो । ‘यस्ता धन्दाहरू घरबेटी, सञ्चालक, कामदार, ग्राहक धेरै पक्षको सहमतिमा थरीथरी आवरणमा चलेका हुन्छन्,’ उनले भने, ‘त्यस्ता धन्दालाई बन्दै गराउन गाह्रो पर्छ । तर, सूचना पाएसम्म धन्दा रोक्ने काम गरिरहेकै हुन्छौँ ।’ गौशाला वृत्तका डीएसपी नवराज कार्की छुट्टै टिम बनाएर यौ*नधन्दा बन्द गराउन लाग्ने योजना सुनाउँछन् । प्रहरीका अनुसार जुनसुकै आवरणमा पनि सञ्चालित हुन सक्छन्, यौ*नधन्दा । धन्दावालाहरू ग्राहक बटुल्ने तामझामसँगै आवरण बदल्ने योजना बुन्नमा व्यस्त हुन्छन् ।

उता, यौ*नधन्दाको बलियो ‘स्पट’ गोंगबु क्षेत्रको प्रहरी पनि धन्दावालाको आवरण बदलिइरहने रणनीति र गतिलाई पछ्याउन नसकेको स्वीकार्छ । गोंगबु प्रहरी प्रभागका प्रहरी निरीक्षक रामनारायण माझी वेश्यावृत्तिमा मुद्दा चलाउनु मात्र समस्याको समाधान होइन भन्छन् ।

– शुक्रबार साप्ताहिक

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर