PM Koiralaसुशील कोइराला (सन् १९३९ - २०१६) नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति थिए। कोइराला नेपालको व्यवस्थापिका संसदबाट २०७० माघ २७ गते प्रधानमन्त्रीको पदमा निर्वाचित भएका थिए।

कोइरालाको जन्म पिता बोधप्रसाद र माता कुमुदिनीका ज्येष्ठ सुपुत्रका रूपमा विराटनगरमा भएको हो। सुशीलको जन्म सन् १९३९ मा भएको थियो। उनका ६ भाइ र एक बहिनी जन्मेका थिए। वन अधिकृत बोधप्रसाद जागीरका सिलसिलामा बाँके जिल्ला, नेपालगञ्ज पुगेका थिए। त्यसपछि कोइराला परिवारको बसोबास नेपालगञ्जमा भएको थियो।

विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भई २०१० सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका हुन्। वि. सं २०१७मा प्रजातन्त्रको अपहरणपछि उनी १६ वर्षसम्म भारतमा स्वप्रवासमा रहेका थिए। प्रवासमा रहँदा उनले नेपाली कांग्रेसको मुखपत्र तरुणको सम्पादन गरेका थिए। उनले नेपाल र भारतमा गरी करिब पाँच वर्ष राजनीतिक बन्दीजीवन बिताएका थिए। वि.सं २०३६ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएका सुशिल २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय प्रजातन्त्रका पक्षमा अभियान चलाउनाका साथै २०४२ सालको सत्याग्रह र २०४६ सालको ऐतिहासिक जनआन्दोलन १ मा सक्रियरूपमा लागेका थिए।

बीपी कोइरालाको निधनपछि नेता गिरिजा प्रसाद कोइरालासँग सोसलिस्ट इन्टरनेसनलसँग पार्टीको सम्बन्ध विस्तार गर्न युरोप र अमेरिका भ्रमण गरेका सुशिलले समाजवादी नेता बिली ब्रान्ट, ब्रुनो कास्की तथा अन्य युरोपेली र अमेरिकी नेतासँग समाजवादी आन्दोलन सम्बन्धमा छलफल गरेका थिए।

सुशीलले पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भएर काम गरेका छन्। पार्टीको एघारौँ महाधिवेशनपछि उनले पार्टीको कार्यवाहक सभापतिका हैसियतले काम गरे। सरकारी लाभको पदमा नरहेका सुशिल सन्त राजनीतिक नेताका रूपमा पनि परिचित छन्।

उनले स्वदेश र प्रवासमा नेपाली काङ्ग्रेसका नेता बिपी र गिरिजा निकट रहेर नेपाली प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनले २०४६ सालपछि पार्टीको परराष्ट्रसम्बन्ध विभागका प्रमुख भई काम गरेका थिए। पार्टी सङ्गठनमा विशेष चासो लिने सुशिल तत्कालीन प्रतिनिधिसभा चुनावमा वि.सं २०४८ र २०५६ (सन् १९९९) मा बाँके जिल्लाबाट निर्वाचित भएका थिए। सन् २००० सेप्टेम्बरमा फिलिपिन्सको मनिलामा भएको एसियाली राजनीतिक दलहरूको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिएका थिए। कोइरालाले सन् २००१मा संसदिय दलको नेता भने शेरबहादुर देउबासँग हारेका थिए।

सन् २०१० सेप्टेम्बर २२मा काठमाडौंमा भएको १२ औं महाधिवेशनमा नेपाली काँग्रेसको सभापति चुनिए। सुशिलले १ हजार ६ सय ५२ मत ल्याए, जुन पार्टी विधान अनुसार निर्वाचित हुन आवश्यक कूल मतको ५० प्रतिशत भन्दा बढी हो। उनका निकट प्रतिद्वन्द्वी देउवाले १ हजार ३ सय १७ मत मात्रै ल्याए। सभापति पदका अर्का दावेदार पुराना तथा त्यागी नेता भीमबहादुर तामाङले भने मत संख्यामा तेहेरो अङ्क पनि कटाउन सकेनन्। उनले ७८ मत मात्रै ल्याए। कूल मतदाता संख्या ३ हजार ८० भएकोमा ३ हजार ६४ मत मात्रै खसेको थियो। १५ मत बदर र २ मत खाली थियो।

पाँच दशक राजनीतिमा बिताएका कोइरालाले ०४६ सालपछि कांग्रेस नेतृत्वमा पटक-पटक सरकार बन्दा पनि मन्त्री पद अस्वीकार गरेका थिए।

०४६को जनआन्दोलनपछि ०४८ र ०५६ मा बाँके क्षेत्र नं. २ बाट सांसदमा विजयी भए पनि उनी सत्ता र शक्तिलाई छाडेर पार्टी सङ्गठनमा बस्न रुचाए। ०४६ मा प्रजातन्त्र पुनःस्थापनापछिको अन्तरिम सरकारमा परराष्ट्रमन्त्री र त्यसपछि पनि पटक-पटक उपप्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरेका थिए। ००७ सालपछिको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका कोइरालाले ६ वर्ष जेल र २० वर्ष प्रवास (भारत)मा बिताएका छन्। २०३५ सालदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका कोइराला महामन्त्री, उपसभापति हुँदै पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको कार्यकालमै कार्यवाहक सभापति बनेका थिए।

समकालीन नेताहरूमध्ये कोइरालाको जीवनशैली निकै सादा मानिन्छ। कोइरालाले आफ्नो नेतृत्वमा पार्टीभित्र मूल्यमान्यताको संस्कार सुरू गर्ने, सामूहिक निर्णय प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्ने, मूल्यांकन र अनुशासन पद्धति विकास गर्ने बताए।

सुशील कोइरालाको विसं २०७२ माघ २६, राती १२.५० मध्यरातमा काठमाण्डौको महाराजगञ्ज स्थित निवासमा कोइरालाको निधन भएको थियो । केही दिनबाट सामान्य ज्वरोको कारण अस्वस्थ भएका उनलाई चिकित्सकहरूको अनुसार निमोनियाको कारण आकस्मिक निधन भएको बताइएको थियो ।

सुशील कोइरालाको व्यक्तित्व

जन्मः वि.सं १९९६ साउन २८ गते
जन्मस्थान : विराटनगर मोरङ्
स्थायी ठेगाना : नेपालगञ्ज–१३, बाँके
वैवाहिक स्थितिः अबिवाहित
पिता : बोधप्रसाद कोइराला
माताः कुमुदिनीदेवी कोइराला
दाजुभाइ : ६ जना (प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा.अरुण कोइराला,अशोक कोइराला,विजय कोइराला)
दिदीबहिनी : ६ जना (दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता )

राजनीतिमा संलग्नता :

– २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न ।ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
– नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
– २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
– २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
– २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
– २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
– २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा.अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
– बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
– राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
– २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्र्वािसत ।
– २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
– २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि(बैशाख १गते) गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
– २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
– २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
– २०४६ सालको जनआन्दोलनमा अग्रपडि.तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
– २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
– २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
– निरड.कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
– प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।

पार्टीमा जिम्मेवारी

– पार्टी सदस्यः २०१२ साल
– सम्पादक : तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
– पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि
– विदेश विभाग प्रमुखः २०४५/४६ (सन १९९० )मा
– पार्टी महामन्त्री : नवौं महाधिवेशन २०५३,पोखरापछि
– पार्टी उपसभापतिः २०५५ असोज २० गते
– कर्यबाहक सभापतिः एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२(संस्थापन) र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
– सभापति : बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।

विधायिकी यात्रा

– संसदीय दलको नेता निर्वाचित २०७० माघ १२( प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग)
– दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित : बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
– प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
– निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
– पहिलो संविधान सभाः २०६४ मा पराजित( मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित)
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ः विजयी ( निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह)
– संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा : प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा (शेरबहादुर देउवा विजयी)
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा (शान्ति समशेर जबरा राप्रपा विजयी )
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन : बाँकेबाट विजयी( निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले)
– संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता :
– संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
– संस्थापक अध्यक्ष,वी. पी. कोइराला स्मृति ट्रष्ट
– संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाण्डौैं

विदेश भ्रमण : भारत, चीन, श्रीलंका, संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक

पार्टीको भ्रमण टोलीको नेतृत्वः

– सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित बेलायतको लेबर पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
– सन १९९६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
– सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
– सन १९९९ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन(कन्भेन्सन) मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
– सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित आइक्याप को प्रथम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– सन २००२ मा थाइलैण्डको राजधानी बैककमा आयोजित आइक्यापको दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– सन २००४ मा चीनको राजधानी बेइजिड.मा आयो जित आइक्यापको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित सार्क सम्मेलनमा सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्र्यि प्रतिनिधि मण्डलको सदस्य ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर