annapurna add

idi amin featured

सन् १९७२ अगस्ट ४ का दिन बीबीसीको दिउँसोको बुलेटनमा अचानक युगाण्डाका तानाशाह ईदी अमीनले युगाण्डामा वर्षौंदेखि बस्दै आएका ६० हजार एसियाली नागरिकलाई देश छोड्न आदेश दिएको खबर आयो । अमीनले उनीहरुलाई देश छोड्नका लागि ९० दिनको समय दिएको पनि आदेशमा बताएका थिए । ६ फिट ४ ईञ्च अग्ला र १३५ किलो तौल भएका ईदी अमीनलाई हालको विश्व ईतिहासको सबैभन्दा क्रुर र निर्दयी तानाशाहमा गणना गरिन्छ । कुनै समय युगाण्डाका बक्सिङ च्याम्पियन रहेका ईदी अमीन सन् १९७१ मा मिल्टन ओबोटलाई हटाएर सत्तामा आएका थिए ।

आफ्नो आठ वर्षे शासनकालमा उनले क्रुरताको यस्ता विभत्स उदाहरण दिए, जसको नमुना आधुनिक ईतिहासमा निकै कम पाउन सकिन्छ । सन् १९७२ अगस्ट ४ मा ईदी अमीनले अचानक एक सपना देखे । सपनाबाट ब्युँझिएपछि उनी युगाण्डाको एक शहर टोरोरोमा सैनिक अधिकारीलाई सम्बोधन गरे । जसमा उनी सपनामा ‘अल्लाह’ले आफूलाई सबै एसियाली नागरिकलाई आफ्नो देशबाट तुरुन्त बाहिर निकाल्न भनेको बताउँछन् । अमीनले भने, ‘‘एसियालीले आफूलाई युगाण्डावासीबाट अलग बनाएका छन् । उनीहरुले युगाण्डावासीसँग मिल्न कुनै प्रयास गरेनन् । उनीहरुको सबैभन्दा बढी रुची युगाण्डालाई लुट्नमा रह्यो । उनीहरुले गाई त दुहे, तर त्यसलाई घाँस खुवाउने दुःख गरेनन् ।’’ सुरुमा अमीनको यस घोषणालाई एसियाली नागरिकले गम्भीरतापूर्वक लिएका थिएनन् ।

विश्व विजेता नेपोलियन बोनापार्टको सनसनीपूर्ण जीवनी !

अमीनले सनकमा आएर यस्तो घोषणा गरेको उनीहरुलाई लाग्यो । तर, केही दिन उनीहरुले अमीन आफूहरुलाई देश निकाला गर्ने हतारमा रहेको थाहा पाए । अमीनको यस्तो घोषणापछि ब्रिटेन, भारत लगायतका देशका प्रतिनिधि उनको फैसला बदल्नका लागि मनाउन युगाण्डाको राजधानी कम्पाला पुगेका थिए । तर, कुनै फाइदा नै भएन । कम्पालामा हाहाकार मच्चिन थालेको थियो । तीमध्ये धेरै आफ्नो जिन्दगीमा युगाण्डाभन्दा बाहिर कहिल्यै नगएका नागरिक थिए । अमीनले प्रत्येक मानिसले ५५ पाउण्ड र २५० किलो सामान मात्रै लैजान पाउने अनुमति दिएका थिए । कम्पाला बाहिर बस्ने एसियालीलाई त यी नियमकाबारे पनि जानकारी थिएन ।

अमीनको यस्तो अचानकको फैसला युगाण्डा सरकार लागु गर्न तयार थिएन । केही धनाढ्य एसियालीले आफ्नो धन खर्च गर्ने राम्रो तरिका निकाले । केही बुद्धीमानहरु आफ्नो पैसा युगाण्डा बाहिर लैजान सफल पनि भए । सबैभन्दा राम्रो तरिका थियो, एमसीओ (मिसिलेनियस चार्ज अर्डर) को माध्यमबाट पहिल्यै होटल र विश्व घुम्न पुरै परिवारका लागि फस्र्ट क्लास टिकट बुक गर्नु । युगाण्डाबाट निस्किएपछि एमसीओबाट भुक्तानी फिर्ता लिन सकिन्थ्यो । केही व्यक्तिले आफ्नो गाडीहरुको कार्पेट तल गहनाहरु राखेर छिमेकी देश केन्या पुर्याए भने केहीले पार्सलको माध्यमबाट बेलायत पठाए । रोचक कुरा के छ भने, सबै आ–आफ्नो गन्तव्यमा सुरक्षित पनि पुगे । केहीलाई केही समयपछि युगाण्डा फर्कने आशा थियो । उनीहरुले आफ्नो केही गहना बगैचामा पनि गाडेर छोडेका थिए । केही यस्ता पनि थिए, जसले आफ्नो गहना बैंक अफ बडोदाको स्थानीय शाखाको लकरमा राखेका थिए । यीमध्ये केही १५ बर्षपछि त्यहाँ जाँदा उनीहरुको गहना त्यही लकरमा सुरक्षित थियो । धरैभन्दा धेरै एसियाली नागरिकले आफ्नो पसल र घर यसै खुल्लै छोडेर आउनुपरेको थियो ।

यो पुरै घटनाले अमीनको छवि विश्वभर एक सनकी शासकको रुपमा फैलियो । उनको क्रुरता र कहानी पनि पुरै विश्वलाई थाहा भयो । अमीनको समयमा स्वास्थ्य मन्त्री रहेका हेनरी केयेंबाले लेखेको पुस्तक अ स्टेट अफ ब्लडः द इनसाइड स्टोरी अफ ईदी अमीनमा लेखिएको छ, ‘‘अमीनले आफ्ना शत्रुलाई मारेनन् मात्रै मारेपछि उनीहरुको शवलाई पनि विभत्स व्यवहार गर्थे । युगाण्डाको चिकित्सा समुदायबीच मुर्दाघरमा राखिएको धेरैेजसो शवबाट उनीहरुको मृगौला, नाक, ओठ र गुप्ताङ्ग गायब भएको कुरा सामान्य थियो । सन् १९७४ मा जब विदेश सेवाका एक अधिकारी गोडफ्री किगालालाई गोली मारी हत्या गरियो, उसका आँखा निकालिए र उनको शवलाई कम्पाला बाहिरको जंगलमा फ्याकियो ।’’ केयेंबाले पछि दिएको एक बयान अनुसार अमीन मारिएका व्यक्तिको शवसँग केही समय एक्लै बिताउन चाहन्थे । सन् १९७२ मार्चमा जब कार्यवाहक सेनाध्यक्ष ब्रिगेडियर चाल्र्स अरुबेको हत्या भएपछि अमीन उनको शवलाई हेर्न मुलागो अस्पतालको शवगृहमा पुगेका थिए ।

त्यहाँ अमीनले उप चिकित्सक क्येवावाबाएलाई शवसँग एक्लै छोड्न भने । अमीनले एक्लै हुँदा त्यो शवसँग के गरे त्यो कसैले देखेनन्, तर केही युगाण्डावासीको मान्यता छ, उनले आफ्नो दुश्मनको रगत पिए, जुन प्रथा काकवा जनजातिमा प्रथाको रुपमा थियो । अमीन पनि त्यही जनजातिका थिए । केयेंबाले लेखेका छन्, ‘‘एक अवसरमा अमीनले युगाण्डाका एक चिकित्सकसँग मान्छेको मासु चितुवाको मासुभन्दा नुनिलो हुने गरेको बताएका थिए ।’’

अमीनका एक पुराना कामदार मोजेज अगोलाले केन्या भागेर गएपछि अमीनको कहानी बताएका थिए । अमीनको समयमा युगाण्डामा भारतका उच्चायुक्त रहेका मदनजीत सिंहले आफ्नो पुस्तक कल्चर अफ द सेपल्करेमा लेखेका छन्, अलोगाले भने, ‘‘अमीनको घरको एक कोठा सँधै बन्द रहने गथ्र्यो, जुन कोठामा अगोलालाई मात्रै पस्ने अनुमति थियो । त्यो पनि सफा गर्ने बेलामा । एक दिन अमीनकी पाँचौँ श्रीमती सारा क्योलाबाले मलाई फकाई फुल्याएर, पैसा दिएर कोठाको चाभी मागिन् । कोठा भित्र दुई वटा रेफ्रिजेरेटर राखिएको थियो । जब साराले एक रेफ्रिजेरेटरलाई खोलिन्, उनी चिच्याएर बेहोश भइन् । त्यसमा उनका एक पूर्वप्रेमी जीज गिटाको काटिएको टाउको राखिएको थियो ।’’

आखिर के थियो नेपोलियनको प्रेमपत्रमा जुन ५ करोडमा बिक्रि भयो !

साराको प्रेमीको जस्तै गरेर अमीनले धेरै महिलाका प्रेमीहरुको शिर काटेका थिए । अमीन मेकरेरे विश्वविद्यालयका प्राध्यापक भिन्सेन्ठ एमीरु र तोरोरो रक होटलका म्यानेजर शेकानबोकी पत्नीसँग सुत्न चाहान्थे । यी दुबैलाई योजना बनाएर मारिएको थियो । अमीनका प्रेम सम्बन्ध नगन्य थिए । अमीनकी चौथो पत्नी मेदीना पनि एक पटक झण्डै उनको हातबाट मारिएकी थिइन् । सन् १९७५ मा अमीनको कार छेउमा भएको गोलाबारीमा मेदीनाको हात रहेको आशंकामा आफ्नी पत्नीलाई उनले आफ्नै हात भाँचिने गरी कुटपिट गरेका थिए । जब एसियाली मुलका नागरिकलाई लखेटियो, युगाण्डाको अर्थव्यवस्था तहसनहस भयो । निकालिएका ६० हजार मानिस मध्ये २९ हजारलाई ब्रिटेनले शरण दिएको थियो । ११ हजार भारत पुगे भने ५ हजार क्यानाडा पुगे । बाँकी मानिस विश्वका विभिन्न देशमा शरण पाए । ब्रिटेन पुगेका नागरिकले त्यहाँ पसल खोले । उनीहरुले अखबारदेखि दुध बेच्ने काम गर्न थाले । आज युगाण्डाबाट लखेटिएका उनीहरुको समुदाय समृद्ध छ । ब्रिटेनमा कसरी बाहिरबाट आएका समुदायले ब्रिटिश संस्कृतिमा आफूलाई ढाले र आर्थिक उत्थानमा पनि महत्वपूर्ण योगदान दिए भन्ने कुराको उदाहरण दिइन्छ । अमिनले राष्ट्रपतिका रूपमा करिब ८ वर्षसम्म शासन गरेका थिए र सोही अवधिमा उनले क्रुरताको पराकास्ता देखाएका थिए। यो अवधिमा उनले ५ लाखभन्दा धेरैको ज्यान लिएको र कयौं महिलामाथि शोषण गरेको भन्ने आरोप उनीमाथि लगाइएको छ। उनको सम्बन्धमा उनी नरभक्षी अर्थात् मान्छेको मासुसमेत खाने गरेको आरोप लाइएको छ। तर उनी आफैले भने त्यसलाई अस्वीकार गर्दै आफू गोरा विरोधी मात्र भएको र उनीहरूले नै त्यस प्रकारको प्रचारबाजी गरेको बताएका थिए। उनी आफू कट्टर देशभक्त भएकाले नै जनताको अगाडि लोकप्रिय रहेको दाबी गर्छन्।

सन् १९६६ मा युगान्ड सेना र वायुसेनाका प्रमुख रहेका इदी अमिनले सन् १९७१ मा मिल्टन ओबोटेलाई सत्ताच्युत गर्दै त्यहाँको सत्ता आफ्नो कब्जामा लिएका थिए। तख्तापलटको एक हप्तापछि नै फेब्रुअरीमा अमिनले आफूलाई युगान्डाका राष्ट्रपति, सबै सशस्त्र बलका प्रमुख कमान्डर, सैन्य प्रमुख घोषित गरेका थिए। सत्तामा पुगेका तानशाह र उग्र राष्ट्रवादीले युगान्डाबाट लांगो र अछोली जातीय समूहको सफायका लागि एक प्रकारको जनजातीय नरसंहार कार्यक्रम थालेका थिए। त्यसको पछाडि एक मात्र उद्देश्य भनेको ओबोटे समर्थक सेनाको सफाया गर्नुथियो। अमिनले सत्तामा पुगेको अर्को वर्ष सन् १९७२ मा युगान्डाको नागरिकता नभएका एसियालीलाई देश छाड्न आदेश दिएका थिए। त्यसपछि करिब ६० हजार भारतीय तथा पाकिस्तानीहरू देश छोड्न बाध्य भएका थिए। देशका कर्मचारीहरूको एउटा ठूलो हिस्सा एसियाली मूलका थिए। उनीहरूले युगान्डा छोडेपछि त्यहाँको अर्थव्यवस्था तहसनहस बनेको थियो। सन् १९७९ मा तान्जानिय र अमिन विरोधी युगान्डा सेनाले विद्रोह गरेपछि अमिनको ८ वर्ष लामो तानाशाहको अन्त्य भयो। अन्ततः अमिनले घुँडा टेक्न बाध्य भयो र सन् १९७९ अप्रिल ११ मा युगान्डा छोडेर भाग्नुपर्यो। त्यसको दुई दिनपछि गठबन्धनको पूर्व सरकारले सत्ता सम्हालेको थियो। यद्यपि यसअघि सन् १९७८ अक्टोबर १ मा पनि उक्त सेनाले तान्जानियामा असफल आक्रमणको प्रयास गरेका थिए।

अमिनले देश छोडेपछि केह समय लिबियामा सरण लिए र फेरि उनी साउदी अरेबियामा बस्न गएका थिए। सन् २००३ मा उनको मृत्यु साउदीमा भयो। अमिनलाई ‘म्याड म्यान अफ अफ्रिका’ पनि भन्ने गरिन्थ्यो। त्यसका लागि केही जायज कारण पनि थिए। अमिनले मान्छेको हत्याका लागि प्रायः हतियारको प्रयोग गर्दैनथे। उनले केहीलाई जिउँदै जमिनमा गाडेका थिए भने केहीलाई आफ्ना भोकाएका गोहीहरूलाई खान दिएका थिए। उनले आफ्नो दरबारमा धेरै युवतीलाई यौन शोषण गरेका थिए। सबैभन्दा अचम्म भनेको उनी मान्छेको मासु खान सौखिन थिए, भनिन्थ्यो। त्यसको प्रमाण पनि फेला परेको थियो। उनको फ्रिजबाट धरै मान्छेको टाउको बरामद भएको थियो !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर