tealaya add

mirtu darta
दैलेखको भगवतीमाई गाउँपालिकाले जिवितै रहेका एक दम्पतीलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाएको पाइएको छ । भगवतीमाई गाउँपालिकाको वडा नं. ४ का मनिराम खत्री र उनकी श्रीमतीलाई मृत्यु दर्ताको प्रमाणपत्र बुझाइएको हो ।

‘गएको मंसिरमा हाम्रो परिवार बसाईं-सराईं गरी बाँसगढी नगरपालिका आएको थियो,’ पीडितकी छोरी नानकला केसीले भनिन्, ‘उतिबेला वृद्धभत्ताका लागि कागजात मिलाइदिन भनेर बुवा आमाले गाउँपालिकामा कागजात पेश गर्नुभएको थियो ।'

तर असार १० गते मनिरामका दुवैजनालाई मृत्यु दर्ताको कागजात थमाइयो । उनीहरु निरीह भएर घर फर्किए । ‘वृद्ध भत्ताका लागि बाँसगढी नगरपालिका र भगवतीमाई गाउँपालिकामा धेरै धाइयो,’ छोरी नानकलाले भनिन्, ‘तर कतैबाट माग सम्वोधन भएन ।’

उनले वडा सचिव कृष्णबहादुर शाही र सामाजिक परिचालक ज्ञानबहादुर थापाका कारण यस्तो सास्ती भोग्नुपरेको आरोप लगाइन् । ‘बाँचेका मेरा बुवा आमालाई मृत्यु दर्ताको प्रमाणपत्र दिने अधिकार गाउँपालिकालाई कसले दियो ?’ उनले प्रश्न गरिन्, ‘बाँचेका छन् भन्ने थाहा हुँदाहुँदै वडा सचिव र सामाजिक परिचालकले मेरा अभिभावकलाई मृत्यु दर्ताको प्रमाणपत्र थमाउन कसरी मिल्छ ?’

असार २७ गते बाँडिएको वृद्धभत्ता लिन गएका दम्पतीलाई मृत्यु दर्ताको प्रमाण पत्र दिएपछि तनाव भएको छ । एकातिर जिउँदै भएका व्यक्तिलाई मरेको भनेर पीडा दिइएको छ भने अर्कोतिर गाउँपालिकाले वृद्धवृद्धाको जीउने अधिकारमाथि सोझै हस्तक्षेप गरेको छ ।

‘मेरो दाजु रेशम खत्रीलाई आमाको किरीया खर्च भनेर दुई हजार दिन खोजेका रहेछन्,' छोरी नानकलाले भनिन्, ‘जिउँदै भएको बेला के किरीया खर्च लिउँ भनेर दाजुले लिन मान्नु भएन ।’

उनले गाउँपालिका अध्यक्ष दानबहादुर थापाले समस्या समाधान गर्ने भनेर आश्वासन दिएको बताइन् । ‘अध्यक्ष ज्यूले समस्याको समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको छ,' उनले भनिन्, ‘जिउँदै व्यक्तिलाई मरेको भनेर प्रमाणपत्र दिनेलाई के कारवाही होला र खै ?’

गरीब तथा सर्वसाधारणले गाउँका सिंहबाट कस्तो न्याय मिल्ला भन्ने उनको प्रश्न थियो । भगवतीमाई गाउँपालिका अध्यक्ष थापाले आइटी अफिसर देवेन्द्र सिंहलगायतको बारेमा छानविन गरिरहेको बताएका छन् । ‘मैले पनि हिजोमात्रै थाहा पाएको हुँ,' अध्यक्ष थापाले लोकान्तरसँग भने, ‘जानेर गरेको होइन भनेर भनेका छन् । छानविन पनि गरिरहेका छौं । गल्ती गर्नेलाई कारवाही हुन्छ ।’

अध्यक्ष थापाले प्रमुख प्रशासकीय अधिकृतलाई छानविन गर्न निर्देशन दिइसकेको बताए । ‘मैले वडा सचिव वा आइटी अफिसर कसले गल्ती गरेको हो त्यो छानविन गर्न निर्देशन दिइसकेको छु,' उनले भने, ‘उहाँहरुले न्याय पाउनुहुन्छ । वृद्ध भत्तापनि पाउनुहुन्छ ।’

अध्यक्ष थापाले आफुले हिजोमात्र जानकारी पाएको बताउँदै जिउँदै मान्छेलाई मृत्यु दर्ताको प्रमाणपत्र दिइनु अक्ष्यम्य गल्ती भएको बताए । साभार : लोकान्तर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...