काठमाडौँ । कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।
सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका थिएनन् । भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाएका छन् ।
कामदारले गत मे महिनादेखि तलब पाएका छैनन् । कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन् ।
पीडितका तर्फबाट ३६ नेपाली कामदार मंगलबार नेपाली दूतावास पुगेका थिए। दूतावासले कतारमै रहने र नेपाल फर्कन चाहनेको सूची तयार भइरहेको जनाएको छ। ‘जो अर्को कम्पनी जान चाहन्छन्, उनीहरूका लागि रोजगारदाता परिवर्तन गरिदिन सहजीकरण गर्नेछौं,’ श्रम काउन्सिलर शिवराम पोखरेलले भने, ‘घर जान चाहनेले टिकट आफैंले प्रबन्ध गर्नुपर्छ।’
कामदारले टिकट दूतावासबाटै मिलाउन आग्रह गरेका छन्। उनीहरूले वैदेशिक रोजगार कल्याणकारी कोषबाट हवाई टिकट व्यवस्था गरिनुपर्ने बताए। नेपाल सरकारले टिकट दिन नसक्ने दूतावासले जनाएको छ। समस्या समाधान गर्न कतारी निकायसँग समन्वय भइरहेको पनि दूतावासको भनाइ छ।
।
प्रकासित मिति