1478958692 banner ad format

 
 

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका बाँकी काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा सडकको अनुगमनका क्रममा तीव्र गतिमा सडक विस्तारका काम हुन नसकेको भन्दै मन्त्रिपरिषद् कार्यालयले सडकमा रहेका बिजुली र टेलिफोनका पोल तथा तार हटाउन निर्देशन दिएको हो । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, सडकमा आउने पानीलाई नालीमार्फत मुख्य ढलमा पठाउने र निर्माण सामग्री तथा फोहोरमैलाको उपर्युक्त स्थानमा व्यवस्थापन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

मंगलबार अनुगमनका क्रममा चाबहिल–बौद्ध–जोरपाटी सडक दुई वर्षको योजना अवधिमा करीब ३० प्रतिशत मात्र काम सम्पन्न भएको जनाएको छ । सडक विस्तार आयोजना बानेश्वरको जिम्मेवारीमा रहेको उक्त सडक खण्डका केही ठूला खाल्डाखुल्डी पुरिएको भएतापनि अझै सडकमा खाल्डाखुल्डी नै छ ।

अनुगमनका क्रममा विद्युत् र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिबद्धता अनुसार नभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले बताउनुभयो । सडक छेउको नाली तथा पैदल मार्गको मध्यभागमा नयाँ पोल गाडिएको, त्यस्तै निर्माण सामग्री यत्रतत्र छरिएर राखिएको अवस्थामा पाइएको उहाँले बताउनु भयो ।

कलङ्की–नागढुंगा सडकखण्डमा तुलनात्मक रुपमा सुधारको काम भएको टोलीको मूल्यांकन छ । महाशक्ति पेट्रोलपम्प नजिकको सडकखण्डको पोल र तार हटाई ढलानको कार्य भइरहेको उहाँले बताउनुभयो । त्रिभुवन पार्क थानकोटदेखि बञ्जला सप्लायर्स सम्म दुवैतर्फको बाटो, पोल र तारको व्यवस्थापन भइसकेको छ । हाइभिजनबाट माउन्ट सगरमाथा ब्रिलियन्ट एकेडेमीसम्म तार, पोल हटाई सडक कालोपत्रे गरी सकिएको छ ।

बलम्बु स्याटेलाइट स्टेशनदेखि तल सडकमा ग्रेडर लगाएर सम्याइएको, सार्वजनिक भवनको अगाडिको भाग खाली गराई सडक मर्मतको काम थालिएको छ । सतुङ्गलबाट वल्र्डलिङ्कको भवन सम्मको सडक कालोपत्रेका लागि आधार तयार भएको, चौधरी ग्रुप कम्पनी अगाडि एकतर्फी कालोपत्रे भएको र सतुङ्गल सिप्रदी ट्रेडिङ्ग ओरालोदेखि बल्खु पुलसम्मको सडकको पोल तथा तार हटाइ सडक निर्माण सम्पन्न भइसकेको प्रवक्ता कुँवरले बताउनुभयो ।

कलङ्की नागढुङ्गा सडक खण्डको केही क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएको घर, टहरा हटाउन र सडक विस्तारको सीमाङ्कनको टुङ्गो नलाग्दा सडक विस्तारको काम बाँकी छ । महाशक्ति पेट्रोल पम्पदेखि मंगलोदय माध्यामिक विद्यालय थानकोटसम्मको सडकमा पोल सार्न र सडक अतिक्रमण गरी बनाइएको घर हटाउन बाँकी छ ।

त्रिभुवन पार्क थानकोटको ओरालोमा बढी खाल्डाखुल्डी छ । उक्त क्षेत्रमा सडक छेउका पर्खालको निर्माण सम्पन्न भइसकेको छ । तर बिजुलीको पोल नहटाउँदा सडक विस्तार गर्न सकिएको छैन । हाइभिजन–माउन्ट सगरमाथा ब्रिलियन्ट एकेडेमीदेखि दूरसंचार प्राधिकरणको कम्पाउण्डसम्म, आदर्श नगर टोलदेखि नैकाप तीनथाना फेमिली मार्टसम्म र सतुङ्गल मुख्य बजारमा तार, पोल हटाउने काम बाँकी रहेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन १६ गते कलङ्की–नागढुंगा सडक र चाबहिल–जोरपाटी सडक कालोपत्रे र करिडोरका सडकको निर्माण एवं मर्मतसम्भारलाई प्राथमिकता दिई भदौ १५ गतेभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । उपत्यकाको प्रमुख सडकका खाल्डाखुल्डी तत्काल पुरी मुख्य सडकमा सडक बत्तीको व्यवस्था गर्नसमेत निर्देशन थियो ।

सडक विस्तार आयोजना बानेश्वरका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले चाबहिल–जोरपाटी सडक खण्डको सडकमा रहेको खाल्डाखुल्डी पुर्ने कार्य सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चाबहिल जोरपाटी सडकमा रहेका खाल्डाखुल्डी पुरिसकेका छौँ, लगातारको बर्षाको कारण सडक कालोपत्रे गर्ने काम हुन सकेको छैन्, चालु आवको अन्त्यसम्म सबै सडक कालोपत्रे गरिसक्छौँ ।”

जतिसक्दो सडक विस्तार र मर्मत सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक-पटक ताकेता गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुंगा सडकको विस्तार र मर्मतको काम विभिन्न नौ वटा ठेकेदार कम्पनीले गर्दै आएका छन् ।

चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुंगा सडकको कूल लम्बाई १२.५ किलोमिटर छ । सङ्घीय राजधानी भित्रने प्रमुख नाकाका रुपमा रहेको नागढुंगा–त्रिपुरेश्वर सडकको अवस्था जीर्ण हुँदा दैनिक हजारौँ यात्रुले कष्टकर यात्रा गर्नु परेको छ । सडकमा ठूल्ठूला खाल्डाखुल्डी हुँदा घन्टौँसम्म सवारी जाम हुने गर्छ । सडक आसपासका बासिन्दा घाम लाग्दा धुलो खान र पानी पर्दा हिलो व्यहोर्न बाध्य छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood