tealaya add

afghanistan war

अफगानिस्तान करिब दुई दशकदेखि हिंसाले आक्रान्त छ । कतारको राजधानी दोहामा करिब नौ चरणसम्म अमेरिका र तालिबान विद्रोही समूहबीच वार्ता भएर शान्ति सम्झौताको चरणमा पुग्दा धेरैले अफगानिस्तानमा पुनः शान्ति छाउने अपेक्षा गरेका थिए । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक तालिबानसँग वार्ताको कुनै औचित्य नभएको घोषणा गरेपछि त्यो आशा निराशामा परिणत भएको छ ।

ठीक १८ वर्षअघि आतंकवादी संगठन अल कायदाले अमेरिकाका ट्वीन टावरमा ३ हजारको मृत्यु हुने गरी गरेको आक्रमणलाई सहयोग गरेको आरोपमा तालिबान सत्ताविरुद्ध अमेरिकाले सन् २००१ मा सुरु गरेको युद्ध अझै जारी छ । सन् २०१४ मा अन्तर्राष्ट्रिय सेनाको संख्या सीमित गरेर सुरक्षाको जिम्मा अफगान सैनिकको काँधमा पुगेपछि त्यहाँको ठूलो भूभागमा तालिबानले पुनः नियन्त्रण कायम गरेको छ । यही ११ सेप्टेम्बरको आक्रमणपछि विश्वमा आतंकवादविरोधी अभियानले तीव्रता पायो र तालिबानको सत्ता ढल्यो । तालिबान सत्ता उल्टाए पनि निरन्तर १८ वर्षदेखि अफगानिस्तानमा हिंसा जारी छ ।
अमेरिका इराक युद्ध, सिरियामा बसर अल असदविरोधी युद्ध, आईएसविरुद्धको युद्धमा सामेल भएर करिब करिब पूर्ण रूपमा फिर्ता भइसक्दा पनि अफगानिस्तानमा अझै १४ हजार सेना रहेका छन् । जसले निरन्तर तालिबानविरुद्ध लडिरहेका छन् । तालिबानले पनि अमेरिकी सेनाविरुद्ध आक्रमण जारी राख्ने घोषणा गरेको छ ।

के हो तालिबान संगठन ?

तालिबान अथवा तालेबानको नामले चिनिने यो सुन्नी इस्लामिक संगठन हो । जसको सुरुवात सन् १९९४ मा दक्षिणी अफगानिस्तानमा भएको थियो । तालिबान अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि उत्तरी पाकिस्तानमा सन् १९९० को दशकमा जन्मिएको मानिन्छ । सन् १९९४ मा अफगानिस्तानमा पस्तुन आन्दोलनको रूपमा प्रमुखताका साथ उठेको थियो । पस्तुन आन्दोलनको सहारामा तालिबानले अफगानिस्तानमा आफ्नो जरा विस्तार गरेको थियो । यस आन्दोलनको उद्देश्य मानिसहरू धार्मिक मदरसामा जाऊन् भन्ने थियो र यी मदरसाहरूको खर्च साउदी अरबले ब्येहोथ्र्यो ।
तालिबान पस्तो भाषाको शब्द हो, जसको अर्थ ज्ञानार्थी (विद्यार्थी) भन्ने हुन्छ । तालिबानले इस्लामिक कट्टरपन्थको पक्षपोषण र सोही विचारधारालाई अगाडि बढाउँदै आइरहेको छ र पाकिस्तान तथा अफगानिस्तानको मदरसामा पढ्ने अधिकांश बालबालिकाहरू तालिवानको सदस्य रहेका छन् । सोही कारण पाकिस्तान र अफगानिस्तानका मदरसाहरू पटक–पटक विवादमा आउने गरेका छन् । उनीहरूमाथि आतंकवादलाई बढवा दिएको आरोप लाग्ने
गरेको छ ।

सेप्टेम्बर ११ को आक्रमण र लादेन

११ सेप्टेम्बर, सन् २००१ मा अमेरिकामा भएको हमलामा २ हजार ९७७ जनाको मृत्यु भएको थियो । आक्रमणमा इस्लामिक आतंकवादी समूह अल कायदा र त्यसका नेता ओसामा बिन लादेन संलग्न थिए । त्यस बेला अफगानिस्तानमा शासन गरिरहेको कट्टरपन्थी इस्लामिक समूह तालिबानले लादेनलाई अमेरिकासमक्ष हस्तान्तरण गर्न अस्वीकार गरिदियो ।
त्यसको एक महिनापछि अमेरिकाले अफगानिस्तानमाथि हवाई हमला सुरु ग¥यो । सो युद्धमा अन्य मुलुक पनि संलग्न भए । तालिबान सत्ताबाट बाहिरियो । तर, तालिबानको प्रभाव आज पनि उत्तिकै रहेको छ । न्यूयोर्क र वासिङ्टनमा आक्रमण भएपछि अमेरिकाले हवाई कारबाही सुरु गरेको थियो । तत्कालीन राष्ट्रपति जर्ज डब्लू बुसले सो मिसन अफगानिस्तानलाई आतंकवादी उद्देश्यका लागि प्रयोगको हुन नदिन र तालिबान सत्ताको सैन्य क्षमता ध्वस्त पार्न सञ्चालनगरिएको थियो । सुरुवाती चरणमा तालिबान र अल कायदाले ठूलो क्षति ब्येहोर्नु प¥यो । तर, १८ वर्ष भइसक्दा पनि अमेरिकी मिसन असफलतातिर अघि बढेको विश्लेषण गर्न थालिएको छ ।

सन् १९९६ मा राजधानी काबुलमाथि कब्जा जमाएको तालिबानले त्यसको दुई वर्षभित्र सिंगो अफगानिस्तान कब्जा गरेको थियो । कट्टरपन्थी इस्लाम धर्म अनुसरण गर्ने तालिबानले सार्वजनिक रूपमा मृत्युदण्ड दिनेजस्ता दण्ड बलपूर्वक लागू गरेको थियो । अमेरिका र उसका सहयोगी देशको आक्रमण दुई महिनापछि नै तालिबान सत्ता ढल्यो र तालिबानी लडाकुहरू देशका दुर्गभ क्षेत्र र पाकिस्तानतर्फ लागे । सन् २००४ मा अफगानिस्तामा अमेरिकी समर्थनमा सरकार बन्यो । तर, तालिबान प्रभावशाली नै थियो । लागूऔषध बेचबिखन, खनिजपदार्थ उत्खनन र कर लगाएर तालिबानले आर्थिक उपार्जनसमेत गरिरहेको थियो । अहिले अफगानिस्तानको करिब ७० प्रतिशत भूभाग तालिबानको नियन्त्रणमा छ ।

सत्तामा तालिबान

अफगानिस्तानमा सन् १९९६ देखि सन् २००१ सम्म तालिबान समूहले शासन गरेको थियो । त्यसबेला मुल्ला उमर अफगानिस्तानका सर्वोच्च धार्मिक नेता थिए । उनले आफंैलाई ‘हेड अफ सुप्रिम काउन्सिल’ घोषणा गरी अफगानिस्तानमा शासन सञ्चालन गरेका थिए । तालिबान सरकारलाई पाकिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई)ले मान्यता दिएका थिए । यद्यपि, यो समय अफगानिस्तानका लागि सुखद भएन । कतिपयले त तालिबानले शासन गरेको सन् १९९६ देखि सन् २००१ सम्मको अवधिलाई ‘कालो इतिहास’का रूपमा टिप्पणी गर्ने गर्छन् । जसले अफगानिस्तानलाई लामो द्वन्द्वमा धकेलेको मात्रै छैन, विकासका दृष्टिकोणले दशकौंपछि धकेल्नुका साथै पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा शृङ्खलाबद्ध आतंकवादी क्रियाकलाप सञ्चालन गरिरहेको छ । यति मात्रै होइन, आज आतंकवाद विश्व समुदायका लागि समेत एउटा चुनौतीको रूपमा खडा भएको छ ।

ary

कसरी बलियो भयो ?

तालिबानले वार्षिक १.५ अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने अनुमान गरिएको छ । यो गत एक दशकको तुलनामा ठूलो वृद्धि हो । आम्दानीको प्रमुख स्रोतमध्ये लागूऔषधि तस्करी पनि हो । अफगानिस्तानलाई विश्वको एउटा प्रमुख अफिम उत्पादनकर्ता राष्ट्र मानिन्छ । तालिबानको आयस्रोतको अर्को प्रमुख स्रोत भनेको आफूले कब्जामा लिएको भूभागबाट उसले असुल्ने कर र दूरसञ्चार, विद्युत् र खनिजपदार्थ उत्खननजस्ता व्यवसायमा लगाइएको कर हो । जसबाट उसले प्रशस्त आर्थिक लाभ गरिरहेको छ र आफ्ना आतंकवादी क्रियाकलाप सञ्चालन गर्न प्रयोग गरिरहेको छ ।

कति क्षति भयो अफगान युद्धमा ?

अफगानिस्तान निरन्तर १८ वर्षदेखि युद्धको भुमरीमा छ । त्यहाँ सैनिक, विद्रोही या सर्वसाधारणको हताहती दैनिकजसो भइरहने घटना हुन् । त्यसैले अफगानिस्तान युद्धमा कति क्षति भयो भनेर यकिन साथ भन्ने कुनै आधार छैन । यहाँसम्म कि युद्धका क्रममा कति अफगान सैनिक मारिए भन्नेसम्मको तथ्यांक छैन । केही महिनाअघि अफगानी राष्ट्रपति असरफ घानीले सन् २०१४ यता ४५ हजार सैन्य अधिकारी मारिएको बताएका थिए । यो अवधि अफगान सेनाले त्यहाँको सुरक्षाको जिम्मा लिएको अवधि हो । त्योभन्दा अघि सन् २००१ देखि २०१४ सम्म मारिएका सैनिकको तथ्यांका छैन ।
यो अवधिमा विभिन्न देशका ३ हजार ५ सय सैनिक मारिएकामा २ हजार ३ सयभन्दा बढी अमेरिकी सैनिक नै छन् । सर्वसाधारणको हताहती, घाइते, अपांग भएका र विस्थापित भएकाको सूची उल्लेख गर्न कठिन छ । ४२ हजारभन्दा बढी तालिबान विद्रोहीहरू मारिएको उल्लेख गरिए पनि त्यसको पूर्ण विवरण छैन ।

सन् २००१ देखि हालम्ममा इराक, अफगानिस्तान, सिरिया र पाकिस्तानमामा मात्रै आतंकवादविरोधी अभियानमा ६ ट्रिलियन अमेरिकी डलर खर्च भएको छ । सन् २०२० मा हुने निर्वाचनअघि ट्रम्पले अफगानिस्तानमा सैनिकको संख्या घटाउन चाहेका छन् । सन् २०१४ यता तालिबानको शक्ति वृद्धि हुँदै गएको छ । उसले पहिलेभन्दा बढी क्षेत्रमा प्रभाव जमाएको छ । धेरैले अमेरिकी सैनिकको संख्या घटे एक किसिमको शून्यता सिर्जना हुन सक्ने र त्यसको फाइदा उठाउँदै आतंकवादी समूहहरूले पश्चिमा मुलुकमाथि आक्रमणको योजना बनाउन सक्ने बताएका छन् । अफगान नागरिकहरूले भने लामो समयदेखि रक्तपातपूर्ण द्वन्द्व र अशान्ति खेप्नुपरेको छ ।

अमेरिकी नीति

अमेरिका १८ वर्षे युद्धका क्रममा अफगानिस्तानमा सफल भन्दा बढी असफल बन्ने खतरातिर मोडिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी, २०१७ मा पदभार ग्रहण गरेको केही महिनापछि सार्वजनिक गरिएको राष्ट्रिय सुरक्षा योजनामा आप्रवासी संकट, मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउनेसँगै आतंकवादविरुद्धको लडाइँ पनि एउटा प्रमुख विषय थियो । अमेरिकाले आतंकवादविरुद्धको लडाइँसँगै रुस र चीनविरुद्ध संघर्षको मोर्चा खोलेको छ भने उत्तर कोरिया र इरानको परमाणु कार्यक्रम पनि अमेरिकी सुरक्षाका लागि उत्तिकै चासोका रूपमा लिएको पाइन्छ ।

अघिल्ला राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा इरानसँग गरेको परमाणु सम्झौता ट्रम्पले रद्द गरेपछि त्यसले फेरि नयाँ आणविक अस्त्रको होडमा इरान सामेल हुने खतरा बढेको छ । अहिले आएर अमेरिका आतंकवादविरोधी लडाइँबाट बिस्तारै पछि हट्ने कोसिस गरिरहेको छ । इस्लामिक स्टेट (आईएस) करिब अन्त्यको दिशातिर पुगेको अमेरिकी निष्कर्ष छ । त्यसैले, आतंकवादविरुद्धको लडाइँका लागि अमेरिकाले विश्वका विभिन्न देशलाई प्रदान गर्दै आएको आर्थिक सहायता रकम विस्तारै कटौती गरिरहेको छ । तर, अफगानिस्तानको युद्धबाट फर्किन अमेरिकालाई सहज छैन ।
पूर्वराष्ट्रपति बाराक ओबामा र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा कुनै नयाँ युद्ध सुरु गरेनन् । तर, ओबामाले पुराना लडाइँलाई आक्रामक बनाए भने ट्रम्प मौसमी रूपमा फेरिने गरेका छन् । कहिले आक्रामक बन्ने गर्छन् भने कहिले लचकताको हदसम्म पुगेर वार्ताको कोसिस गर्छन् ।

आतंकवादी हमला

अमेरिकासहितका राष्ट्रहरू करिब दुई दशकदेखि प्रत्यक्ष वा परोक्ष रूपमा आतंकवादविरोधी लडाइँमा सामेल छन् । तर, संसारमा आतंकवादी हमलाहरू घट्नुको साटो बढिरहेका छन् । अमेरिकी विदेश मन्त्रालयले सन् १९९० देखि अन्तर्राष्ट्रिय चरमपन्थी हमलाबारे वार्षिक रिपोर्ट जारी गर्दै आएको छ ।

सन् २०००–२००१ मा वार्षिक रूपमा १ सय देखि १५० चरमपन्थी हमला हुने गर्दथे । तर, अमेरिका र बेलायतले इराकमाथि हमला गरेपछि आतंकवादी हमलाको संख्या सन् २००४ मा ७० हजारसम्म पुग्यो । जसमध्ये सबैभन्दा बढी हमला इराकमा नै भएका थिए । ११ सेप्टेम्बरको हमलापछि अमेरिकाको लक्ष्य संसारबाट आतंकवाद निर्मूल पार्नु थियो । तर, अमेरिकाले आतंकवादविरोधी अभियान सञ्चालन गरेपछि आतंकवादी हमलाको क्रम झनै तीव्र बनेको देखिन्छ ।
अमेरिकाका कारण नै आतंकवादीहरू बलियो बन्दै गएका छन् भन्ने कुरालाई अमेरिकी नीति निर्माताहरूले स्वीकार गर्दैनन् । तर व्यवहारिक रूपमा ति कुराहरू पुष्टि हँुदै गइरहेका छन् ।

असफल वार्ताका प्रयास

तालिबानसँग अफगान सरकारले पटक–पटक वार्ताको प्रयास गरे पनि सफल हुन सकेन । तालिबानले वर्तमान सरकारलाई अमेरिकी कठपुतली भन्दै वार्ता अस्वीकार गर्दै आएको छ । पर्यवेक्षकहरूले हिंसात्मक विद्रोह सञ्चालन गर्दै आइरहेको तालिबानसँग वार्ता गरेर अफगानिस्तानमा शान्ति स्थापना गर्ने मुख्य बाटो भएको बताउँदै आएका छन् ।
सन् २०१३ मा तालिबानले कतारका कार्यलय खोल्ने योजना सार्वजनिक गरेपछि वार्ता प्रक्रिया सकारात्मक रूपमा अघि बढ्ने अपेक्षा गरिएको थियो । तर, अझै पनि वार्ताले सकारात्मक रूप मोड लिन सकेन ।
सन् २०१५ को जुलाईमा पहिलोपटक वार्ता भयो । त्यसपछि अमेरिकासँग मात्रै नौपटक वार्ता भएर सम्झौता नै सार्वजनिक भएपछि पुनः वार्ता रद्द भएको छ । यो समयमा तालिबानले नेतृत्वको संकट पनि भोग्यो । अमेरिकी गठबन्धन सेनाको कारबाहीमा क्रममा तालिबान नेताहरू मारिए । केही शीर्ष कमान्डरहरू नै मारिएपछि तालिबानमाथि पनि नेतृत्वको संकट पैदा हुन थाल्यो ।

अधिकांश मुस्लिम देशमा लोकतन्त्र बहाल हुन सकेको छैन । सुरक्षा र आर्थिक विकासको कुरा त टाढाको विषय भयो । आतंकवादविरोधी कारबाहीका नाममा गरिएका हमलाबाट असन्तोष, रिस र घृणा पैदा भएको छ । मुस्लिम समुदायले आफूहरूमाथि अत्याचार थोपरिएको ठानेका छन्

उत्थान र पतन
तालिबानलाई लामो समय नेतृत्व प्रदान गरेका मुल्ला उमरले सन् १९८० को दशकमा सोभियत संघ समर्थित बलसँग भएको भिडन्तमा दाइने आँखा गुमाएका थिए । अफगान मुजाहिद्दिनको ज्यादती र आन्तरिक कलहपछि सोभियत संघ आफगानिस्तानबाट बिदा भएर तालिबानको उदय भएको थियो । भ्रष्टाचार, अराजकताको नियन्त्रण तथा सडक सुरक्षालगायतका कामले तालिबान लोकप्रिय बन्यो ।

उनीहरूले सन् १९९५ पछि अफगानिस्तानको राजधानी काबुल कब्जा गरे । राष्ट्रपति बुरहानुद्दिन रब्बानी र उनका रक्षामन्त्री अहमद शाह मसुदको शासनको अन्त्य भयो । सन् १९९८ सम्ममा तालिबानले अफगानिस्तानको करिब ९० प्रतिशत भूभाग कब्जा गरेको थियो । ७ अक्टोबर २००१ मा अमेरिका नेतृत्वको अन्तर्राष्ट्रिय सैनिक गठबन्धनले अफगानिस्तानमा आक्रमण गरेपछि डिसेम्बरको पहिलो साता तालिबानको शासन ढल्यो । अफगानिस्तानमा उसको आधार मजबुत हुन नपाउँदै सन् २००१ को आक्रमणपछि तालिबान कमजोर बन्यो । तालिबानले सन् २०१२ को सेप्टेम्बरमा वर्षौंपछि आक्रमण गरेको थियो । तर, त्यसपछि तालिबान लगातार बलियो बन्दै गएको छ । अमेरिकाले अझैपनि अफगानिस्तानमा आफ्ना सेना राखेको छ । अफगान सुरक्षा बल तालिबानलाई नियन्त्रण गर्न सफल हुन सकिरहेको छैन । सुरक्षा फौजको व्यापक कारबाहीबीच तालिबानले आक्रमण गरिरहेको छ ।

अमेरिका पनि सफल भएन

तालिबान समूहमा जुन प्रकारको संकट उत्पन्न भयो, त्यसको तुलनामा अमेरिकी सेनाले थप सफलता हात पार्न सकेन । नेतृत्वमा संकटका बाबजुद तालिबानबाट कडा प्रत्याक्रमणका घटनाहरू भए । अल कायदा, तालिबान र इस्लामिक स्टेटजस्ता समूहका कारण आतंक सिर्जना भइरहेको अवस्था विद्यमान छ । संसारभरका अधिकांश मुस्लिम देशमा लोकतन्त्र बहाल हुन सकेको छैन, सुरक्षा र आर्थिक विकासको कुरा धेरै पर पुगेको छ ।

आतंकवादविरोधी कारबाहीका नाममा गरिएका हमलाबाट असन्तोष, रिस र घृणा पैदा भएको छ । यी सबै घटनाहरूबाट मुस्लिम समुदायमाथि अत्याचार भएको ठहर उनीहरूले गरेका छन् । मुस्लिम समुदायभित्रै विभेदको खाडल पुर्नै नसकिने गरी गहिरिदै गएको छ । एक मुस्लिम समुदायले अर्को मुस्लिम समुदायमाथि हमला गर्ने र ठूलो संख्यामा हताहती हुने घटना सामान्यजस्ता बनेका छन् ।

यसैका कारण मुस्लिम समुदायभित्र ‘जिहादी मानसिकता’ हुर्किइरहेको छ । जिहादीसँग लड्ने देश र संस्थाहरूको संख्या बढेको छ, उनीहरूको प्रतिरोध शक्ति बलियो छ, आतंकवादबारे समयमा नै जानकारी लिनसक्ने सूचना संयन्त्रहरू स्थापित भएका छन् । तर, आतंकवादको खतरा बढ्दो मात्रामा छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...