annapurna add

74515082APF POLICE

१३ जेठमा नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षकको बढुवा भयो । उनीहरू गृह मन्त्रालको सचिवस्तरीय निर्णयबाट प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका हुन् । २०६७ सालदेखि प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका ३१ जना निरीक्षक १० वर्षपछि डीएसपीमा बढुवा भएका थिए । बाँकी २९ जना प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरी बढुवा हुँदै निरीक्षक भएका र केही अघिल्ला पटकका बढुवामा छुट्दै आएकाहरूको बढुवा भएको थियो ।

बढुवालगत्तै उनीहरूले दर्ज्यानी चिह्न लगाएर पदस्थापन भइसकेको छ । प्रहरी ऐनमा भने प्रहरी सेवाको राजपत्राङ्कित तहका लागि बढुवाको समय अवधि ४ वर्ष तोकिएको छ, जसअन्तर्गत प्रहरी निरीक्षक सेवा सुरु गरेकाले ४ वर्षपछि डीएसपी हुन पाउँछन् । तर, उक्त समयभित्र कुनै ब्याचको पनि बढुवा भएको भने छैन ।

माथिल्लो तहमा दरबन्दी कम हुनेदेखि अन्य थुप्रै कारणले प्रहरी प्रधान कार्यालयले बढुवा गर्न नसक्दा प्रहरीका सबै तहको बढुवा प्रक्रिया ढिलो गरी हुने गरेको छ । यसको कारण प्रहरी अधिकारीको करियर निर्माणमा असर पुग्ने गरेको छ । उसो त ऐनमा रिक्त दरबन्दी पदपूर्तिका लागिसमेत ३ महिनाको समय अवधि तोकिएको छ । यसको पनि कार्यान्यवन हुन सकेको छैन । यसअघि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को रिक्त रबन्दी पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयलाई ११ महिना लागेको थियो ।

१३ जेठमा नेपाल प्रहरीमा २०६७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका ३१ निरीक्षक डीएसपी हुँदा सशस्त्र प्रहरीका भने २०६२ सालबाट सशस्त्र प्रहरी निरीक्षक सेवा सुरु गरेकाहरूको अझै बढुवा हुन सकेको छैन । उनीहरू १५ वर्षसम्म निरीक्षकमै कार्यरत छन् । यसरी भविष्य बोकेका सशस्त्र प्रहरी निरीक्षकको बढुवाको बाटो रोकिँदा काम गर्ने मनोबल घट्ने गरेको सशस्त्र प्रहरी बलका केही निरीक्षकले कान्तिपथलाई बताए ।

‘उता, नेपाल प्रहरीका हामीभन्दा ५ वर्षपछि सेवा सुरु गरेका निरीक्षक बढुवा भएर डीएसपी भइसके । अब हामीले एउटै फिल्डमा कुन मनोबल लिएर काम गर्न सकिन्छ’, एक सशस्त्र प्रहरी निरीक्षकले भने । 

‘निरीक्षकबाट सिधै सेवा प्रवेश गरेका निरीक्षकले सङ्गठनको आईजीपी हुने सपना बोकेका हुन्छन् तर यसरी लामो समयसम्म बढुवा हुन नसक्दा आईजीपीको सम्भावना होइन, डीएसपी तथा एसपीबाटै घर फर्किने अवस्था रहेको छ’, ती सशस्त्रका निरीक्षकले भने । सशस्त्र र नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिपछि अनिवार्य अवकाशको व्यवस्था छ । गृह मन्त्रालय र सङ्गठनले बढुवाका बारेमा माथिल्लो दरबन्दीमा हेरफेर नगर्ने हो भने कुनैकुनै व्याचका सशस्त्र प्रहरी प्रमुख (आईजीपी) बन्ने सम्भावनाबाट बाहिरिने छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...