annapurna add

Pic1 yrR8ch8I1yप्रधान सेनापति पूर्णचन्द्र थापाले आज जङ्गी अड्डा भवनमा हालसालै स्थापना गरिएको ‘जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र’को समुद्‍घाटन गरेका छन् ।

सो केन्द्रबाट जङ्गी अड्डा भवन तथा परिसर ईलाकामा २४ सै घण्टा डिजिटल मोनिटरिङ तथा सर्भिलेन्स गरी जङ्गी अड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिएको सेनाले जनाएको छ ।

शुरु भयो ठूली भैलीको रौनक
जुम्लामा ठूली भैलो पर्व शुरु भएको छ । स्थानीय परम्पराअनुसार जुम्लामा भैलो खेल्ने चलन रहिआएको छ । मङ्सिर शुक्ल पूर्णिमाको दिनदेखि भैलो खेल्न शुरु हुने गर्दछ । त्यसलाई सानो भैलो भन्ने गरिन्छ ।

औँसीको भोलिपल्टदेखि भैलो खेल्न शुरु भएको चन्दननाथ नगरपालिका–२ का संस्कृतसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जुम्लामा भैलो खेल्ने चलनको शुरुआत भएको मानिन्छ ।

बडाहाकिमले भैलेरालाई चार पैसा र भैलेरीलाई चार पैसा दिने चलन रहेको संस्कृतसम्बन्धी आचार्यले भन्नुभयो, “चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको बताउनुभयो ।”

भैलेराले हातमा गृह लाठी बोकेर हिँड्थे भने भैली पुकार्ने बेला त्यही लाठी टेक्ने गरेको र त्यतिबेला भैलो खेल्न जाने समूहका भैलेरीहरुले तलतिर घाँघरा र माथिलो शरीरमा चौबन्दी चोलो लगाउने रहनसहन भएको यहाँका संस्कृत जानकार बताउँछन् । आधुनिक परिवेशअनुसार पछिल्लो समयमा त्यो चलन हराउँदै गरेको संस्कृतका जानकार आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ए आँसुबार भनेर गाउँमा पहिले भैलो खेल्ने चलन रहेको छ । त्यसलाई पनि लय हालेर भन्ने गरिएको छ ।” भैलोको पहिलो र दोस्रो दिन आफ्नो गाउँभन्दा टाढाका गाउँमा खेल्ने गरिन्थ्यो भने तेस्रो र चौथो दिन आफ्नो गाउँमा भैलो खेल्ने चलन रहेको थियो । चोथौ दिनसम्म भैलो खेल्ने चलन रहे पनि गाउँमा भैलो खेल्न नभ्याएका घरमा पाँचौँ दिनसम्म पनि भैलो खेल्ने चलन रहेको उहाँले बताउनुभयो ।

ठूली भैलो शुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ । भैलेरा र भैलेरीले पाहुनालाई छोप्ने र भैलो नदिनेलाई टोपी, झोला, घडी, ज्याकेट र अन्य सामानहरु राख्न लगाउने चलन रहेको जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयवासी दलपत्ती रावतले बताउनुभयो ।

गाउँमा सर्वसाधारणले भैलो खेल्न आएकाहरुलाई भैलो नदिई घरको ढोका बन्द गरेर अन्तै जाने गरेका कारणले पनि भैलो हराउँदै गएको रावतले बताउनुभयो । जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भैलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको यहाँका स्थानीयवासी बताउँछन् ।

ठूली भैलोको बेला पोइल गएकी छोरी चेलीहरु सुख दुःख साट्न माइती घरमा जाने गर्दछन् । चार दिनसम्म जिल्लामा विभिन्न गाउँमा भैलो खेल्ने गरिन्छ ।

अहिले महिला र बालबालिकाले समूह बनाई भैली खेल्न शुरु गरेका छन् । केही वर्षबाट कर्णाली राजमार्गमा बाटो छेकी सवारी चालकबाट भैली असुल्ने परम्परा बसेको सवारी साधनका चालक बताउँछन् ।

विजय चालिसेका तीन कृति बजारमा
वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरुभूमिको फूल’ नामक तीन कृति बजारमा आएका हुन् । ‘सर्पदंशित मेरो वर्तमान’ मा यसअघि विभिन्न पत्रपत्रिकामा छापिएका चालिसेका २७ वटा उत्कृष्ट निबन्ध सङ्ग्रहित छन् । ‘परिशीलन’ नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक पुस्तक हो जसमा विभिन्न १० शीर्षकका लेख छन् ।

‘मरुभूमिको फूल’ भने नियात्रा तथा संस्मरणको सङ्गालो हो । तीनवटै कृतिको प्रकाशन बीएन पुस्तक संसारले गरेको हो । चालिसे नेपाली साहित्यमा कथा क्षेत्रका सुपरिचित व्यक्तित्व हुनुहुन्छ । उहाँले लामो समयदेखि कार्यपत्र र अन्य रचनाका रूपमा भाषा, साहित्य, संस्कृति र सञ्चार विषयका खोजमूलक लेखको समेत रचना गर्दै आउनुभएको छ । बालसाहित्य, संस्कृति, सञ्चार विषयका गरी उहाँका करीब छ दर्जन कृति प्रकाशित छन् ।

बुलबुले तालमा फसेको जरायोको उद्धार
सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको उद्धार गरिएको छ । उक्त तालमा फसेर घाइते भएर अचेत बनेको करीब तीन वर्षको जरायोलाई आज उद्धार गरी उपचार शुरु गरिएको डिभिजन वन कार्यालय सुर्खेत सहायक वन अधिकृत टेक रावलले जानकारी दिनुभयो ।

तालको बीचमा जरायो फसेको भन्ने स्थानीयवासीबाट खबर पाएपछि तत्काल डिभिजन वन कार्यालयको टोलीले त्यहाँ पुगेर उद्धार गरेको सहायक वन अधिकृत रावलले बताउनुभयो ।

उहाँका अनुसार घाइते जरायो संरक्षित क्षेत्र काँक्रेविहार जङ्गलबाट बाहिर निस्केको र अचेत अवस्थामा दौडिँदा बुलबुलेको तारजालीमा ठोक्किएर घाइते भएको अनुमान गरिएको छ । बच्चा जरायोको टाउकामा चोट लागेकाले उपचार गरेर निको भएपछि काँक्रेविहार जङ्गलमा छाडिने उहाँले बताउनुभयो ।

राति जङ्गलमा चोरीसिकारी बढ्न थालेपछि पछिल्लो समय काँक्रेविहार जङ्गलमा रहेका जनावर असुरक्षित बन्दै गएको स्थानीयवासी बताउँछन् ।

गण्डकीमा पहिलोपटक संस्थागत हिमाल आरोहण
हिमाल आरोहणका दृष्टिबाट नेपालकै पहिलो प्रदेश भए पनि आरोहणका गतिविधि न्यून हुने गरेको गण्डकीमा पहिलोपटक संस्थागत हिमाल आरोहण सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको आयोजनामा संस्थागतरुपमा धम्पुस पिक आरोहण गरिएको हो ।

कोरोना महामारीले सुस्ताएको पर्यटनलाई आन्तरिक पर्यटन प्रवद्र्धनमार्फत पुनरोत्थान गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) को संयुक्त पहलमा दुई महिलासहित छ नेपालीको टोलीले मुस्ताङ जिल्लामा अवस्थित छ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण सङ्घको प्राविधिक सहयोगमा उनीहरूले सो पिक आरोहण गरेका हुन् । आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार हिजो माघ ३ गते बिहान ११ः४८ बजे छ जनाको टोली शिखरमा पुगेर नेपालको झण्डा फहराएको थियो । गत पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आरोहीसहित नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (गण्डकी प्रदेश) का प्रतिनिधि, पर्यटन व्यवसायी र सञ्चारकर्मीसहितको २६ जनाको टोलीलाई नेपालको, गण्डकी प्रदेश सरकारको, नेपाल पर्यटन बोर्डको र नेपाल पर्वतारोहण सङ्घको झण्डा हस्तान्तरण गर्दै धम्पुस पिकको सफल आरोहणको शुभकामना दिनुभएको थियो ।

आरोहणमा सहभागीमध्ये टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की) र हीराकुमारी मल्ल (स्याङ्जा) ले सफल आरोहण गरेका छन् । आरोहण दलका संयोजक सापकोटाका अनुसार अत्यन्त तीव्र गतिको हावाका कारण अन्य पर्वतारोहीहरू भने शिखर नजीकै पुगेर पनि फर्कन बाध्य हुनुभएको थियो भने कान्तिपुर दैनिकका दीपक परियार लेक लागेका कारण आधार शिविरबाट फर्कनुभएको थियो ।

पर्वतारोहण र पर्वतीय पर्यटनका लागि नेपाल विश्वमै अग्रणी रहे तापनि आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर नेपालीलाई पनि तुलनात्मकरुपमा कम खर्च र प्राविधिक तयारीमा नै धम्पुस पिकजस्ता धेरै हिमशिखरहरुको अरोहण गराउन सकिन्छ भन्ने सन्देश दिनका लागि संस्थागतरुपमा नै हिमाल आरोहण गराइएको नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले बताउनुभयो ।

फ्रेन्च नागरिक मौरिस हर्जोगले सन् १९५० को जुन ३ मा गण्डकी प्रदेशमा अवस्थित आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम चढेर विश्वमा पर्वतारोहणको इतिहास रचेको भए तापनि हाल धेरै कम पर्वतारोहीले मात्र अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलामा रहेका शिखरहरुको आरोहण गर्ने गरेका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहीको रोजाइमा आठ हजार मिटरभन्दा अग्ला हिमालका अलावा नेपाल पर्वतारोहण सङ्घले आरोहण अनुमति दिने आमादब्लम, मीरा पिक, आइल्यान्ड पिक, पिसाङ पिकहरु पर्दछन् । यीमध्ये मनाङ जिल्लाको पिसाङ पिक अन्नपूर्ण शृङ्खलामा पर्दछ भने अन्य पिकहरु सगरमाथा क्षेत्रमा पर्दछन् । आरोहणको जेठो हिमाल अन्नपूर्ण पहिलोसहितका धेरै अग्ला तथा विभिन्न उचाइका हिमाल रहेर पनि गण्डकीमा हिमाल आरोहणले गति भने लिएको पाइँदैन ।

मौरिस हर्जाेगको टोली आरोहणमा जाँदा र आउँदा बसेका पोखरासहित गण्डकीका विभिन्न स्थान त्यसपछि मात्र पर्यटकीयरुपमा उपयोग हुन थालेका छन् । पछिल्लो समयमा गण्डकी प्रदेशले आफूलाई पर्यटनको राजधानीका रुपमा स्थापित गर्दै गएको छ । मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथमको आरोहण गरेसँगै बढ्दै गएको पर्यटकीय गतिविधि र त्यसको एक दशकपछि सन् १९६० देखि पोखरामा ‘हिप्पी’ पर्यटकको आगमन भएको पर्यटनका जानकार बताउँछन् ।

सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा गरेको पदयात्राले समग्र गण्डकी प्रदेशलाई हिमाल आरोहणका साथै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य पुष्टि गरेको थियो । हिमाल आरोहण र पदयात्रा पर्यटनको जगमा भएको हिप्पी पर्यटकको आगमनपछि पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि बिस्तारै फस्टाउन थालेको पाइन्छ ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता हिमशृङ्खला छन् । अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत सात हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण पहिलोसहित, दोस्रो, तेस्रो र चौथो, अन्नपूर्ण साउथ, गङ्गापूर्ण, बराह शिखर हिमाल छन् । अन्नपूर्ण शृङ्खलाअन्तर्गत नै तिलिचो पिक, नीलगिरि, लमजुङ आदि हिमाल रहेका छन् । त्यस्तै गण्डकीकै धवलागिरि हिमशृङ्खलामा सात हजार मिटरभन्दा माथिका धवलागिरि पहिलोसहित दोस्रो, तेस्रो र चौथो, गुर्जा, चुरेनजस्ता हिमाल रहेका छन् । धवलागिरि शृङ्खलामा नै सीता चुचुरा हिमाल पर्दछ ।

गण्डकी प्रदेशभित्रकै मनास्लु हिमशृङ्खलामा मनास्लु, ङ्यादीचुली, हिमाल चुली, बौद्ध हिमाल आदि रहेका छन् । विभिन्न हिमशृङ्खलामा धेरै सङ्ख्यामा हिमाल समेटिए पनि यहाँका हिमालमा खासै आरोहण हुने गरेको छैन । हिमाल आरोहणको नेपाल सरकार पर्यटन विभाग र नेपाल पर्वतारोहण सङ्घले व्यवस्थापन गर्ने गर्दछन् ।

नेपाल पर्वतारोहण सङ्घले नेपालका विभिन्न २७ हिमालको आरोहणको व्यवस्थापन गर्दै आएकामा गण्डकीमा मात्रै छवटा हिमाल पर्दछन् । यसमध्ये चुलुइष्ट छ हजार ५८४ मिटरको उचाइमा छ भने सिन्गुचुली छ हजार ५०१, हिउँचुली छ हजार ४४१, चुलु बेष्ट छ हजार ४१९, लाक्र्या पिक छ हजार ४१६ र पिसाङ पिक छ हजार ९१ मिटर उचाइमा छन् । पछिल्ला समयमा पिसाङ पिक हिमाल आरोहणका लागि चर्चामा आउने गरेको छ ।

संस्थागतरुपमा धम्पुस पिकको सफल आरोहणसँगै आगामी दिनमा गण्डकी प्रदेशमा हिमाल आरोहणका गतिविधि बढ्ने विश्वास गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले बताउनुभयो ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार