1478958692 banner ad format

 
 

विराटनगर । लोक आस्थाको महान् पर्व छठ भोलि विधिवत् रूपमा सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ ।

Chhat Festival

यस पर्वका व्रतालुले चतुर्थीमा घरको पूजास्थललाई सफासुग्घर गरी स्नान गरी अरूवा अरूवाइन खाने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ । पञ्चमीका दिन ‘खरना’ गरिन्छ । यस अवसरमा व्रतालु दिनभर उपवासमा बसेर बेलुकी नयाँ माटोको चुलोमा खीर पकाउँछन् ।

घरमा पूजापाठको क्रममा सोही खीर देवीदेउतालाई चढाइन्छ । सो खीर प्रसादका रूपमा आफू पनि ग्रहण गरिने र परिवार सदस्यका बीचमा वितरण गरिन्छ । सो प्रसाद ग्रहण गरेपछि व्रतालु महिलाको पुनः उपवास सुरु हुन्छ । लगातार ३६ घण्टाभन्दा बढी समयसम्म उपवास गरेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि छठ पर्वको विधिवत् समापन हुन्छ ।

छठ किन मनाइन्छ ?

सन्तान प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्न यो पर्व मनाउने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रसन्न पार्न कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाउने गरिएको हो ।

छठ माता को हुन् ?

छठ माता को हुन् ? भनेर विभिन्न प्रकारका विचारधारा देखिएको भए पनि यस विषयमा श्रीमद्देवी भागवत् पुराणमा स्पष्ट रूपमा उल्लेख छ । 

सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमाको प्रसङ्ग शीर्षकमा राजा प्रियव्रतको कथामा उल्लेख गरिएको हो । सो पुराणमा उल्लेख गरिएको छ, “राजा प्रियव्रतको सन्तान थिएन । सन्तानका लागि राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रूपमा खान दिनुभयो । त्यो खीर ग्रहण गरेपछि निर्धारित समयमा रानीले पुत्रको जन्म दिनुभयो तर, पुत्र मृत थियो ।”

मृत सन्तान जन्मेको खबरले राजा विह्वल भए । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै “म, ब्रह्माकी मानसपुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृत्तिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भनिन्छ ।” उहाँले राजाको मृत बच्चालाई काखमा उठाएर जीवित पार्नुभयो । 

त्यसपछि, देवीले मेरो पुजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनु । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश दिनुभयो ।

कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रूपमा परिणत भएको विश्वास गरिन्छ । 

छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?

भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँसीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको आठौँ दिनमा छठ पूजा हुने गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण (रावण) हत्याको पापबाट मुक्त हुन ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।

अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त हुनुभएको थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ । यी दुइटै महत्वपूर्ण घटना एउटै तिथिमा भएकाले षष्ठी माता र सूर्यको उपासना गरी पर्व सम्पन्न गरिन्छ ।

यसका साथै, रोगग्रस्त, सन्तानहीन, अल्पायुमा मृत्युलगायतका कष्टमा रहेका मानिसको दुःख नाशको के उपाय रहेको सम्बन्धमा सर्वशास्त्रज्ञ शौनकमुनिले सूतजीसमक्ष जिज्ञासा राख्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ । 

सोही अवसरमा उपस्थित भीष्म पितामहले पुलस्त्यमुनिबाट प्राप्त जानकारी सुनाउन थाल्नुभयो । सोही क्रममा उहाँले एउटा दुष्ट क्षेत्रीय राजा कुष्ठ र क्षयरोगबाट ग्रसित थियो । सो कष्टबाट मुक्ति पाउन उनले मृत्युलाई वरण गर्नु नै उत्तम उपाय ठाने र सोही समयमा एक विद्वान् ब्राह्मण दरबारमा पुगेका छन् ।

राजाले उहाँसमक्ष आफ्नो स्वास्थ्यका साथै कतिपय प्रजा पुत्रविहीन रहेको, सन्तान अल्पायुमा मर्ने, पतिले पत्नी त्याग गर्नेलगायतका दुःखको अन्त्यको समाधानको उपाय खोज्न निवेदन गर्नुभयो ।     
विद्वान् ब्राह्मणले यी सबै कष्टको निवारण सूर्यदेवको उपासनाबाट मात्र सम्भव रहेको बताउँदै कात्तिक शुक्ल पञ्चमी (खरना)देखि अस्ताउँदो र उदाउँदो सूर्यको पूजाको सम्बन्धमा विस्तारमा जानकारी गराउनुभएको थियो । राजाका साथै प्रजाले सोही तिथिमा सूर्यदेवको पूजा गरेपछि कष्टबाट मुक्त भएको विश्वास छ । 

यो पर्व कृषिमा आधारित पर्वको रूपमा रहेको देखिन्छ । यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पङ्खाका साथै प्रसादका रूपमा केरा, उखु, फलफूल, पान, सुपारी, भन्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रूपमा ठेकुवा, भुसुवा र मिठाइ प्रसादको रूपमा चढाउने गरिन्छ । 

अस्ताउँदो सूर्यलाई अघ्र्यको रूपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पण गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रूपमा अर्पण गरिन्छ । तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पण नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन ।

यो पर्व नियम निष्ठा एवम् पवित्रतासाथ मनाउने पर्वको रूपमा छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट सुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood