1478958692 banner ad format

 
 

काठमाडौं । पहेँलपुर माला, खादा र अबिर हेर्दा लाग्छ- जितहारै छिनोफानो भइसक्यो, तर कांग्रेस नेता गगन थापाको अनुहारमा झल्किने मानसिक दबाबले त्यसो भन्दैन । वाम गठबन्धनबाट अघि सारिएका रैथाने एमाले नेता राजन भट्टराई उनीसँग भिड्न तयार छन् । आ-आफ्ना दलभित्र भविष्य ठानिएका दुई युवाको भिडन्तले काठमाडौं-४ को चुनावी माहोल खास बन्दै छ ।

Election Gagan Thapa and Rajan B hattarai 1

‘गगनको क्षेत्रमा राजन भिड्दै’, केही साताअघि एउटा अनलाइनको समाचार लिंक फेसबुकमा सेयर गरेर भट्टराई आफैंले ‘ब्यालेट वार’ सुरु भएको घोषणा गरेका थिए । सायद यही बुझेर हुनुपर्छ, कार्यकर्ताको चुस्त व्यवस्थापनमा माहिर मानिने थापाले अघिल्लो चुनावभन्दा यसपल्ट प्रचार रणनीति अझै आक्रामक बनाएका छन् ।

मंगलबार सिफल चउरका मतदातासामु हात जोड्दै गर्दा उनले त्यसको प्रस्टै छनक दिए । ‘चुनावमा अरू पनि छन्, तर हामी (कांग्रेस र एमाले) यहाँ करिब दुईवटा पार्टीजस्तै देखिएका छौं’, थापाले भने, ‘तर मेरो जित निश्चित छ, पहिले पनि कांग्रेसभन्दा बाहिरका मतदाताको स्नेहले मैले जितेको हुँ । त्यसलाई कायमै राख्ने मेरो कोसिस हुनेछ ।’

थापाले एक चरण सभा र घरदैलो भ्याइसक्दा भट्टराई अझै वाम गठबन्धनका आन्तरिक भेट र भेलामै सीमित छन् । माओवादीलगायत वामपन्थीको गठजोडले उनमा आत्मविश्वास बढेको देखिएको छ । थापाले भट्टराईको व्यक्तित्वभन्दा एमालेको राजनीतिक प्रभाव बढ्ता हाबी हुन सक्ने आकलनसहित त्यसको खण्डन गर्दै थिए । ‘पञ्चायतको चुनाव भएको भए पो व्यक्तिका प्रभावलाई प्राथमिक मान्न सकिन्थ्यो, बहुदलीय व्यवस्थामा जनताले पार्टी निर्णयको प्रभावकारिता र प्रस्टता हेर्छन्’, भट्टराईले भने, ‘यतिउति भोट भन्दिनँ तर सुविधाजनक अन्तरले जित्छु ।’ उनले राजनीतिक अस्थिरताले प्रजातन्त्रका ३० वर्ष खेर गएको भन्दै अब वामपन्थी गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने अपिल गरे ।

विद्यार्थी राजनीतिको जगमा उदाएका थापा र भट्टराई दुवैलाई राष्ट्रिय चर्चामा ल्याउने संयोग एउटै थियो- २०५९ मा राजा ज्ञानेन्द्रको शाही प्रतिगमन । थापा नेविसंघ महामन्त्री थिए, भट्टराई अनेरास्ववियु विदेश विभाग प्रमुख । त्यसबीच थापा मूलधारको कांग्रेस राजनीतिमा छिटोछिटो उक्लिए । गणतन्त्रको स्वर मुखर गर्दा राजद्रोह र पार्टी कारबाही भोगेका थापाले त्यसैकारण राष्ट्रिय चर्चा पाए । पछिल्लो कांग्रेस महाधिवेशनमा बीपी कोइरालापुत्र शशांकविरुद्ध महामन्त्रीमा उल्लेख्य भोट पाउनुले उनीप्रतिको कार्यकर्ता लगाव पुष्टि हुन्छ । १८ औं कांग्रेस महाधिवेशनमा सर्वाधिक भोट पाउने थापाले दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार निर्मल कुइँकेललाई १३ हजार र हालका उपराष्ट्रपति नन्दकिशोर पुनलाई १६ हजार मतान्तरले हराएको खबर चर्चामा रह्यो ।

थापाजति आमचर्चा नबटुले पनि भट्टराईको ट्र्याक रेकर्ड कमजोर छैन । जवाहरलाल नेहरु विश्वविद्यालय, नयाँदिल्लीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी उनी एमालेका महत्वपूर्ण नीति निर्माणमा पछिल्ला दिनहरूमा नछुटाइने नाम हुन् । माधव नेपाल सरकारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार उनी हाल सन् १९५० को नेपाल-भारत सन्धि पुनरवलोकन गर्न गठित उच्चस्तरीय विज्ञ टोलीका सदस्य पनि छन् ।

थापासँग यसअघि लड्ने एमाले र माओवादी प्रतिस्पर्धीका तुलनामा उनी बलियो सार्वजनिक छवि बनाएका प्रतिस्पर्धी हुन् । पछिल्ला वर्षहरूमा उठेका राष्ट्रिय मुद्दामा एमाले नेतृत्वले लिएको अडान, अनि भर्खरैको काठमाडौं महानगर चुनावमा एमालेका पक्षमा देखिएको जनमत भट्टराईका लागि सहज बन्न पुगेको छ ।

०७० को चुनावलाई आधार मान्ने हो भने एमाले र माओवादी दुवैको मत जोड्दा पनि थापाजति पुग्दैन तर वैशाखको स्थानीय चुनाव नतिजा हेर्दा काठमाडौं-४ मा पर्ने अधिकांश वडामा कांग्रेसभन्दा एमाले उम्मेदवारले जितेका छन् । काठमाडौं महानगरका चार तथा बूढानीलकण्ठ नगरपालिकाअन्तर्गतका आठ वडा काठमाडौं ४ मा पर्छन् । संविधान निर्माणयता राष्ट्रिय राजनीतिमा निरन्तर एमाले पकड चिर्न थापालाई सहज हुने छैन।

उनी आफैं सकार्छन्, ‘राष्ट्रिय राजनीतिक मुद्दामा मेरो पार्टीले लिएका कतिपय नीतिनिर्णयबारे जनतामा असन्तुष्टि छ भन्ने म स्विकार्छु, मलाई आजैको घरदैलोमा पनि यो कुरा दर्जनौंले भनिसक्नुभयो ।’ यसर्थ थापासँग दलभन्दा व्यक्तित्वको ओज चुनावी जितको मुख्य अस्त्र बन्न जाने पक्का छ ।

भट्टराईले पनि थापाको यही कमजोरीलाई समाएर प्रचारमा जाने रणनीति बनाएका छन् । त्यसलाई चिर्न थापाले आफू पुष्पकमल दाहाल मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री छँदा लिएका विपन्न र गरिबलाई छुने सार्वजनिक स्वास्थ्य नीतिलाई चुनावी प्रचारमा लगिरहेका छन् । उनले सार्वजनिक शिक्षा र स्वास्थ्यको पक्षमा आफ्नो प्रतिबद्धता नछुटाई भन्ने गरेका छन् ।

राजधानी सहरमा जबर्जस्त छाप छाड्दै गरेको विवेकशील साझा पार्टीलाई दुवै उम्मेदवारले कम आँकेका छैनन् । अन्य दलका पनि उम्मेदवार मैदानमा उभिएका छन् । थापा र भट्टराई दुवैलाई आफ्नो ‘प्रधान शत्रु’ भने राम्रैसँग थाहा छ । भट्टराईका शब्दमा थापा ‘चुनौतीपूर्ण प्रतिस्पर्धी’ हुन् । तैपनि, उनी जनताबीच गएर सोध्ने पक्षमा छन्, ‘८ वर्ष सांसद भएर थापाजीले यो क्षेत्रका लागि के गर्नुभयो ? ’ थापा पनि के कम । अस्तिदेखि घरदैलोमा सोध्न थालिसके, ‘अस्ति पनि सांसद हुनुहुँदोरहेछ, भट्टराईजी । यो क्षेत्रका जनतालाई किन थाहा भएन, उहाँ पनि यो क्षेत्रकै सांसद हुनुहुन्छ भनेर ? ’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood