1st world war

१९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्य पूर्व (आंशिक रुपमा चीन र प्रशान्त द्विप समुह)मा चलेको लडाईंलाई पहिलो विश्वयुद्ध भनेर जानिन्छ| यी क्षेत्रहरुमा यो लडाईं जल, थल तथा आकाशमा लडिएको थियो| यस युद्धमा अभूतपूर्व ज्यान-मालको क्षति भएको थियो र नैं यस युद्धलाई विश्वयुद्ध भनिएको हो |

पृष्ठभूमि
औद्योगिक क्रांतिको कारण संसारका सबै ठूला देशहरुले आफ्नो उद्योगको निम्ति काँचो माल प्राप्त गर्नका साथै आफ्ना देशमा मेसिनद्वारा उत्पादित सामानहरु बेच्नको निम्ति संसारका कमजोर देशहरुलाई उपनिवेश बनाउन चाहन्थे | यो उद्देश्य प्राप्तिको निम्ति सैनिक शक्तिमा वृद्धि गराउनुका साथै कूटनैतिक संधिहरु पनि गरे | यो होडबाजीमा राष्ट्रहरुमा अविश्वास र वैमनस्यता बढ्यो र युद्ध गर्नु अनिवार्य भयो। ऑस्ट्रियाको सिंहासनको उत्तराधिकारी आर्चड्युक फर्डिनेंड र उनकी पत्नीको हत्या यस युद्धको तात्कालिक कारण थियो।

यो घटना २८ जून, १९१४ मा सेराजेवोमा भएको थियो| एक महिनापछि ऑस्ट्रियाले सर्बियाको विरुद्धको युद्ध घोषणा गरयो। रूस, फ्रान्स र ब्रिटेनले सर्बियालाई सहायता गरे र जर्मनीले आस्ट्रियालाई। अगस्तमा जापान, ब्रिटेन आदिको तर्फबाट, अनि केही समयपछि टर्की, जर्मनीको तर्फबाट, युद्धमा सामेल भए। यो महायुद्ध यूरोप, एसिया अनि अफ्रीका तीन महाद्वीपहरुमा जल, थल तथा आकाशमा लडियो| शुरुमा जर्मनीले जित्यो। १९१७ मा जर्मनीले धेरै व्यापारिक जहाजहरुलाई डुबाइदियो।

यसले गर्दा अमेरिका ब्रिटेनको तर्फबाट युद्ध स्थलमा उत्रियो तर रूसी क्रांतिको कारण रूस यस युद्धबाट हट्यो। सन् १९१८ मा ब्रिटेन, फ्रान्स र अमेरिकाले जर्मनी आदि राष्ट्रहरुलाई पराजित गरे। जर्मनी र आस्ट्रियाको अनुरोधमा ११ नोभेम्बर १९१८ मा युद्धको समाप्ती भयो।

लडाईंहरु
यो विश्वयुद्ध अन्तर्गत धेरैवटा लडाईहरु भए, जसमा टेनेनबर्ग (२६ देखि ३१, १९१४), मार्नं (५ देखि १० सेक्टेम्बर, १९१४), सरी बइर (Sari Bair) अनि सूवला खाडी (६ देखि १० अगस्त, १९१५), वर्दूं (२१ फरवरी, १९१६ देखि २० अगस्त, १९१७), आमिऐं (८ देखि ११ अगस्त, १९१८), एव वित्तोरिओ बेनेतो (२३ देखि २९ अक्टोबर, १९१८) आदि लडाईहरु मुख्य थिए |

जर्मनीद्वारा १९१६ मा गरिएको आक्रमणको प्रधान लक्ष्य बर्दूं थियो। महाद्वीप स्थित मित्र राष्ट्रहरुका सेनाहरुको विघटन गर्नका लागि फ्रांसमाथि आक्रमण गर्ने योजनानुसार जर्मनीको तर्फबाट तारिक २१ फरवरी १९१६ का दिन बर्दूं युद्धहरुको श्रीगणेश भयो । नौ जर्मन डिवीजनले एक साथ मजेल (Moselle) नदीको दाहिने पटिको किनारमा आक्रमण गरे तथा पहिलो एवं द्वितीय युद्ध मोर्चामाथि अधिकार जमाए। फ्रेंच सेनाका ओज जनरल पेतैं (Petain)को नेतृत्वमा यस चुनौतीको सामना गर्न अधि आए| जर्मन सेना २६ फरवरीमा बर्दूंको सीमाना देखि पाँच माइल टाडा रहे|

केही दिनसम्म भयानक लडाईं भयो। १५ मार्चसम्ममा जर्मन आक्रमण शिथिल हुँदै गयो र फ्रांसलाई आफ्नो व्यूहरचना अनि रसद आदिको सुचारु व्यवस्था मिलाउने मौका मिल्यो। म्यूजको पश्चिमी तीरमा पनि भीषण युद्ध भयो जो लगभग अप्रिलसम्म चल्यो| मईको अंतमा जर्मनीले नदीका दुवैतर्फबाट आक्रमण गरयो र भयानक युद्ध भएपछि ७ जूनमा वाक्स (Vaux)को किला लिन सफल बन्यो | जर्मनी अब आफ्नो सफलताको शिखरमा पुग्नमा सफल भयो| फ्रेंच सैनिक मार्ट होमे (Mert Homme)को दक्षिणी ढलान स्थलीय मोर्चामा डटेका थिए| संघर्ष चल्लिरह्यो, ब्रिटिश सेनाले सम (Somme)माथि आक्रमण गरेर बर्दूंलाई मुक्त गराए |

जर्मनीको अंतिम आक्रमण ३ सेक्टेम्बरमा भएको थियो| जनरल मैनगिन (Mangin)को नेतृत्वमा फ्रांसले प्रत्याक्रमण गरयो तथा अधिकांश हारिएका स्थल फिर्ता लिए | २० अगस्त, १९१७ मा बर्दूंको अंतिम युद्धको अतिंम युद्धको उपरांत जर्मनीसित केवल ब्यूमांट (Beaumont) बच्यो। यी युद्धहरुमा फ्रैंच सेना शिथिल भैसकेका थिए | आहत जर्मन सेनाको संख्या लगभग तीन लाख पुगेको थियो जसले गर्दा जर्मनीको जोश सेलाईसकेको थियो ।

आमिऐं (Amiens)को युद्धक्षेत्रमा मुख्यत: मोर्चाबंदीका लडाईहरु भए। २१ मार्च देखि २० अप्रिलसम्म जर्मनले आफ्नो मोर्चादेखि बढेर अङ्ग्रेजी सेनालाई लगभग २५ माइल ढकेलेर आमिऐंको नजिक पुरयाए| उनीहरुको उद्देश्य त्यहाँबाट जाने रेलवे लाईनमा अधिकार गर्नु थियो, जो कैले बंदरगाहदेखि पेरिस जान्थ्यो र जसद्वारा अङ्ग्रेजी सेना र फ्रांसको सेनाको निम्ति सहायता पुरयाइन्थ्यो |

तारिक २० अप्रिल देखि १८ जुलाईसम्मक जर्मन आमिऐंको छेउमा रहिरहे| अर्कोपटि मित्र देशहरुले आफ्नो शक्ति धेरै बढाएर संगठित भैसकेकाथिए, उनीहरुका सेनाहरु जो यो भन्दा पहिला आ-आफ्ना सेनापतिहरुको निर्देशनमा लड्थे अब एक प्रधान सेनापति मार्शल फशका अधीनमा गराइयो | जुलाई, १९१८ पछि जनरल फशको निर्देशनमा मित्र देशहरुका सेनाहरुले जर्मनीलाई धेरै ठाउँहरुमा परास्त गरे |

जर्मन प्रधान सेनापति लूडेनडार्फले अङ्ग्रेजी तथा फ्रांसीसी सेनाहरुको संगम स्थलमा अचानक आक्रमण गरे। यो आक्रमण २१ मार्च बिहानी पख ४.३० बजे गरियो, कुहिरो लागेको कारण सेनाको गतिविधि थाह पाएनन्| ४००० तोपहरुको गोलीबारीबाट शुरु भयो| ४ अप्रिलमा जर्मन सेना कैले-पेरिस रेलवेदेखि केवल दुई माइल टाडा थियो। ११-१२ अप्रिलमा अङ्ग्रेजी सेनापतिहरुले आफ्ना सैनिकहरुलाई लडेर मर्ने अनुरोध गरे |

त्यसपछि एक सप्ताह भन्दा अधिक समयसम्म जर्मनहरुले आमिऐंको नजिक लडाई जारी राखे, तर उनीहरुले कैले-पैरिस रेल लाईनमा अधिकार गर्न सकेनन्। अङ्ग्रेजी सेनालाई फ्रांसीसि सेनादेखि अलग राख्ने उनीहरु प्रयास असफल भयो | २० अप्रिलदेखि लगभग तीन महीनासम्म जर्मनले मित्र देशहरुलाई अन्य क्षेत्रहरुमा परास्त गर्ने प्रयत्न गरिरह्यो, अनि सफल पनि भयो। तर यो सफलताबाट लाभ उठाउने मौका भनें जर्मनीले पाएन| मित्र देशहरुले यस भीषण स्थितिमा आफ्नो शक्ति बढाउने प्रबंध गरिसकेका थिए |

२५ मार्चका दिन जेनरल फश यस क्षेत्रमा मित्र देशहरुका सेनाका सेनापति नियुक्त भए| ब्रिटेनको संसदले अप्रिलमा सैनिक सेवाको उमेर बढाएर ५० वर्ष गरिदियो, अनि ३,५५,००० सैनिकहरु अप्रिल महिनाभित्रमा नैं फ्रान्स पठाइए। अमरीकाबाट पनि सैनिक फ्रान्स पुग्नथाले, अनि बिस्तारै उनीहरुको ६,००,००० पुग्यो| नयाँ अस्त्र-शस्त्र तथा अन्य आविष्कारहरुको कारण मित्र देशहरुको वायुसेना प्रबल भयो। विशेष गरी उनीहरुका टैकहरु सक्षम बने |

१५ जुलाइका दिन जर्मनीले आफ्नो अंतिम आक्रमण मार्न नदीमा पेरिसतिरबाट गर्ने प्रयास गरयो। फ्रांसीसी सेनाले यसलाई रोकेर तीन दिनपछि जर्मनहरुमाथि सो नैं क्षेत्रमा शक्तिशाली आक्रमण गरेर ३०,००० सैनिकहरुलाई बन्दी बनाए| फेरि ८ अगस्तमा आमिऐं नजिक जनरल हेगको अध्यक्षतामा ब्रिटिश तथा फ्रांसीसी सेनाले बिहानै ४.३० बजे कुहिरो लागेको आडमा जर्मनहरुमाथि अचानक आक्रमण गरे |

यस लडाईमा चार मिनेट तोपहरुबाट गोला चलाए पछि, सयौ टैंक सेनाको अघाडि पठाइए, जसको कारण जर्मन सेनामा हलचल मचियो। आमिऐंको पूर्व आब्र एवं सम नदीहरूको बीच १४ माइलको मोर्चामा आक्रमण भयो, अनि यस लडाईमा जर्मनहरुको यति बिघ्न क्षति भयो कि सूडेनडोर्फले यसदिनलाई जर्मन सेनाको निम्ति कालो दिन भने |

पहिलो विश्वयुद्ध एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो। जुन युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो। साथै विश्वका अनेकौं राष्ट्रहरूमा यो युद्धले नराम्रो प्रभाव पारेको थियो। जुन विश्वयुद्धमा नेपालले पनि सहभागीता जनाएको थियो।

नेपालको सहभागीता
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ। एउटा ब्रिटिस गोर्खा सैनिकका माध्यमबाट अर्को नेपाली राज्यकै संलग्नताबाट भएको थियो। सन् २०१५ को अप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुगेको थियो। यसको अर्थ पहिलो विश्वयुद्ध हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए।

अन्य साना युद्धमा नेपाल
पहिलो विश्वयुद्ध अघि भएका चीन, इजिप्ट,क्रिमिया र अफगानिस्तानका लडाइँमा नेपालीले लडेका थिए। अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए। अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा बलभद्र कुँवर मारिएका थिए।

सैनिक सदस्यता
विश्वयुद्ध हुनुभन्दा केहीअघि बेलायतले आफ्नो सेनामा गोर्खा रेजिमेन्ट थपेको थियो । त्यतिबेला अनुमानित २ लाख नेपाली युवाहरू बेलायती सेनामा थिए भन्ने मानिन्छ ।यो संख्या भनेको तत्कालीन पहाडी जनसङ्ख्याको २० प्रतिशत हो । त्यसबेला नेपालको जनसङ्ख्या नै ५४ लाख थियो । यो युद्धमा करिब ३० हजार नेपाली मारिएको अनुमान गरिन्छ । गेसोको अनुमान भने ६० हजारको छ । कति मानिसहरू युद्धपछि नेपाल फर्किएनन् । पहिलो र दोस्रो विश्वयुद्धको बीचमा नेपालको जनसङ्ख्या घटेको तथ्यांकले देखाउँछ ।

यसबाहेक विश्वयुद्धका बेला भारतमा रहेको बेलायत सरकारको सेवामा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले १६ हजार नेपाली सेना भारत पठाएका थिए । यिनले त्यहाँका रेजिमेन्टमा सुरक्षा दिन्थे र त्यहाँ पहिलेदेखि भएका सैनिक युद्धमा जान्थे । त्यो बेला नेपाल सरकारले केही सय थान राइफल पनि बेलायत सरकारलाई सहयोगमा दिएको थियो । तत्कालीन कम्पनी रुपैयाँ र नेपाली महेन्द्र मल्ली गरेर करिब १ करोड रुपैयाँ पनि राणा सरकारले बेलायतलाई सहयोग दिएको थियो ।ब्रिटिस गोर्खामा भर्ना हुने एक जवान बराबर बेलायतले नेपाल सरकारलाई एउटा राइफल दिन्थ्यो ।त्यही जम्मा गर्दा नेपाल सरकार राइफलमा धनी भएको थियो ।

जबर्जस्त सेनामा भर्ती
त्यस बेला केही कैदीलाई पनि राणाहरूले बेलायती सेनामा भर्ना गराएको मानिन्छ । एकजना ४० वर्षका बाबुले गोरखपुरनेरको कुनाघाटमा भर्ती गराउन आफ्नो १६ वर्षको छोरालाई लिएर गएछन् । ब्रिटिसले बाबुछोरालाई नै भर्ती गरिदियो । युद्धका लागि उनीहरूलाई सिपाही चाहिएको थियो । यसैले नेपालका कति पहाडी गाउँबस्ती खाली हुनेगरी युवालाई भर्तीमा पठाइयो ।

अर्थतन्त्रमा प्रभाव
यो युद्धले नेपाली समाज र अर्थतन्त्रमा पनि प्रभाव पार्यो । युद्धमा मर्नेका घरमा पनि दुई/चार पैसा आयो । युद्ध सकिएपछि १ लाख जवानहरू फिर्ता आए । उनीहरूलाई खेतालालाई जसरी युद्ध अवधिभरको ज्याला दिएर फिर्ता गरिएको थियो । सरदार भीमबहादुर पाँडेको अनुमानअनुसार तिनले १३ करोड कम्पनी रुपैयाँ नेपाल ल्याएका थिए । त्यतिबेला नेपालमा बजेट बनाउने चलन थिएन । यदि हुन्थ्यो भने त्यो रकम वाषिर्क बजेट बराबर हुने थियो । अहिले वाषिर्क ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिन्छ । १८ खर्बको जिडिपीका तुलनामा यो २५ प्रतिशत हो ।

युद्धपछि नेपाली समाजमा प्रभाव
यसका साथै युद्धबाट फर्किएका सैनिकले केही नयाँ बस्तीहरू बसाले । नेपालमा तास, चुरोट, ससाना भट्टी र रक्सीको बढी चलन यसै बेलापछि बढेको मानिन्छ । गाउँघरका केटीहरू लाहुरेसँग भाग्ने क्रम पनि चल्यो । ज्यालादारी गर्ने भरियाले पैसा पाउन थाले । युद्धमा मान्छे मारेर वा धेरै मानिस मरेको देखेर आएका हुनाले यिनले अलग किसिमको दृष्टिकोण पनि समाजमा ल्याए । नयाँ खाले खेलहरू पनि ल्याए ।

गाउँमा जग्गाको भाउ बढ्यो । सन् १९२३ देखि नेपालमा जग्गाको किनबेच सजिलो भएको हो । जापानी सामान पनि आउन थाले । राडीपाखी, घरबुना जस्ता स्थानीय उद्योगलाई यसले नकारात्मक प्रभाव पार्यो । बन्दीपुरे भाडा, गहनाका व्यापार यसैबेलापछि ओरालो लागेको भनिन्छ । पहाडमा पुरुष कम भएकाले यसले अन्तरजातीय र अन्तर सांस्कृतिक विवाह पनि हुन थाल्यो ।

यस्ता धेरै कुराले गर्दा समाज अलि खुला हुन थाल्यो । परम्परागत मुल्य पद्धतिमा लाहुरेहरूले प्रश्न गरे । अंग्रेज साहेबको जीवनबाट उनीहरूले केही कुरा सिकेका थिए । उनीहरू कसरी खान्छन्, केलाई ठीक भन्छन् भन्ने जस्ता कुरालाई उनीहरूले एक किसिमको मानक बनाए ।

भारतबाट फर्केका केही लाहुरेहरू राजनीतिमा पनि सक्रिय भए । कति नेपालीहरू नेपाल बाहिरै घरजम गरेर बसे । देहरादूनदेखि धर्मशाला र भाक्सुजस्ता ठाउँसम्म उनीहरू बसे । यसले नेपाल बाहिर नेपाली जातिलाई फैल्याउने काम गर्यो।

नेपाललाई फाइदा
'घर जलाएर खरानी' भनेजस्तो यसले नेपाललाई केही फाइदा पनि गर्यो । युद्ध सकिएको पाँच वर्षपछि सन् १९२३ मा बेलायतले नेपाललाई युद्धमा सघाएको गुन फर्कायो । बेलायतले नेपाललाई सार्वभौम मुलुक मानेर शान्ति तथा मैत्री सन्धि गर्यो । वर्षको ५-१० लाख सहयोग पनि गर्यो । त्यो पैसा राणा र पछि पञ्चायतका शासकहरूले आफ्नो खल्तीमा हाले । पछि डीएफआईडी र ब्रिटिस वेलफेयरजस्ता बाटोबाट पैसा आएपछि यो बन्द भयो ।

नेपालीको बेकार सहभागीता
अहिले आएर हेर्दा सबैलाई लाग्छ, नेपालले यो युद्धबाट अझै कुनै पाठ सिकेको छैन । युद्धमा नेपालको कुनै शत्रु थिएन । हामी युद्धमा सहभागी हुनुपर्ने कुनै कारण थिएन । तैपनि नेपाल युद्धमा गयो । नेपालको ध्यान ब्रिटिस साम्राज्यसँग जोगिएर आफ्नो अलग अस्तित्व कायम गर्नेमा हुनुपर्ने थियो तर शासकहरूले आफ्नो शासन सत्ता जोगाउन देशलाई युद्धमा होमिदिए ।विदेशीको सेवा गर्ने उनीहरूको दलाली गर्ने काम गरे ।

देशमै उद्योग धन्दाको विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने ठाउँमा जनशक्ति विदेश निर्यात गरेर ढुक्क हुने चलन अहिले पनि कायम छ । वीर गोरखाली भनेर विदेशी सेनामा भर्ती हुने कुरालाई एउटा अवसरका रूपमा व्याख्या गरियो । यति भए पनि नेपालको खासगरी पश्चिम पहाडको चित्र बनाउँदा लाहुरे बिनाको कुनै चित्र बन्दैन । ती लाहुरे पहिले ब्रिटिसका थिए, अहिले अरबका होलान् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर