annapurna add

kantipath igp new

अट्ठाइसौ आईजीपीका प्रतिस्पर्धी एआईजीद्वय हरिबहादुर पाल र शैलेश थापा दुवै नेपाल प्रहरीमा ब्यवसायीक तथा अब्बल प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । पालसँग नेपाल प्रहरी सेवाको अधिकांश समय फिल्डमा खटिएर चुनौतीपूर्ण काम गरेको अनुभव छ । उनले रूपन्देही, धनुषा, कास्की तथा डडेलधुरा, नुवाकोटलगायत जिल्ला प्रहरी कार्यालयको कमाण्ड कुशलतापूर्वक निर्वाह गरेका थिए ।

सुरक्षाको दृष्टिकोणले सबैभन्दा बढी चुनौतीपूर्ण जिम्मेवारीको मानिने प्रदेश दुई प्रहरी प्रमुख रहँदा पालको कमाण्डमा अपराध, चोरी, तस्करी तथा चगुण्डागर्दी नियन्त्रणमा सफल भएसँगै सरकारले उनलाई विषेश ब्यूरो प्रमुखको जिम्मेवारी दिएको थियो ।

आतंकवाद तथा प्रतिआतंकवाद विरूद्धको विशेष रणनीति तथा कारवाही गर्ने प्रहरीको महत्त्वपूर्ण मानिने विशेष ब्यूरोमा कुशलतापूर्वक नेतृत्व र जिम्मेवारी सम्हालिसकेका एआईजी पाल प्रहरीको भावी नेतृत्वका प्रबल दाबेदार हुन् । पालले नेतृत्व सम्हालेसँगै विशेष ब्यूरोले विप्लव समूहमाथि गोप्य निगरानी तथा अपरेसन चलायो ।

जसका कारण पछिल्लो १ बर्षमा विप्लव समुहका झन्डै १५ सय बढि उच्च तहका नेता कार्यकता पक्राउ परेका छन् । एनसेल टावरमा तथा ब्यापारी र पूर्वकर्मचारीको घरमा शृङ्खलाबद्ध रूपमा विस्फोट गराएर काठमाडौं उपत्यका नै असुरक्षित बनेका बेला पाल विशेष ब्यूरोमा आएर विप्लव समूहमाथि अपरेसन सुरु गरेका थिए ।

ब्यूरोले ठूलो संख्यामा बिप्लव समूहबाट हातहतियार र विस्फोटक पदार्थ नियन्त्रणमा लिएपछि उक्त समूह पछिल्लो समय प्रभावबिहीन बनिसकेको छ । एआईजी पाल हाल अपराध अनुसन्धान विभाग र कार्य विभागको नेतृत्व सम्हालिरहेका छन् । प्रहरीमा निडर, आक्रामक तथा अवस्था अनुसार तत्काल सुरक्षा रणनीति बनाउन सक्ने क्षमता भएका पाल कडा मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

एआईजी हरिबहादुर पाल आईजीपी दौडको दोस्रो वरियतामा भएपनि उनले नेकपाका नेताहरूसँग पनि निकट सम्बन्ध बनाएको बताइएको छ । विगतदेखि नै नेताहरूको सम्पर्कमा रहने गरेका पालले त्यो सम्बन्धलाई उपयोग गर्दै आईजीपीको नियुक्ति पाउने सम्भावना पनि रहेको चर्चा प्रहरी संगठनभित्र छ । पाल अपरेशन र फोर्स कमाण्डमा दक्ष भएको प्रहरी भित्र चर्चा छ ।

आईजीपीका अर्का प्रतिस्पर्धी शैलेश थापा प्रहरीको तालिम तथा नीति निर्माणको तहमा लामो समय काम गरेका अनुभवी प्रहरी अधिकारी हुन् ।
प्रहरी सेवाको लामो समय प्रहरी प्रधान कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी) मा काम गरेका थापा नरम मिजासका प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।

नीतिगत निर्णय गर्न रूचाउने थापा शालिन प्रहरी अधिकारीका रूपमा परिचित छन् । एआईजी बढुवा हुनुपूर्व थापा महानगरीय प्रहरी कार्यालयको प्रमुखको रूपमा कार्यरत थिए । एआईजी बरियतामा दोस्रो नम्बर रहेका थापासँग फिल्डमा काम कम गरेको, कमाण्ड कन्ट्रोलमा कमजोर जस्ता आरोप लाग्ने गर्छ ।

हाल मानव स्रोत एवं प्रशासन विभागको नेतृत्व सम्हालेका शैलेश क्षेत्रीमाथि पछिल्लो समय प्रहरी बढुवामा न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ । प्रहरीका पछिल्लो बढुवामा रोलक्रम मिचेर कनिष्ठ तथा विवादास्पद प्रहरी अधिकारीको बढुवा निस्केसंगै आईजीपी ज्ञवाली र क्षेत्रीमाथि संगठनमा न्याय गर्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।

क्षेत्री र पाल दुवै जना २०७६ फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजी बढुवा भएका थिए । नेपाल प्रहरी २०४६ सालदेखिको अस्वस्थ प्रतिस्पर्धा यो पटक सतहमा देखिएको छैन । आ–आफ्ना क्षेत्रमा अब्बल तथा ब्यावसायीक पहिचान बनाएका दुवै प्रहरी अधिकारी जो सुकै आईजीपी बने पनि सहयोग गर्ने आपसमा प्रतिबद्धता गरेका छन् ।

कोरोना भाइरस संक्रमण(कोभिड–१९) महामारी फैलिएसंँगै मुलुक आर्थिक रुपमा संकट आउन सक्ने अनुमान गरिएको छ । संक्रमणका कारण बिदेशमा रोजगारीका लागि गएका लाखौं युवा स्वदेश फर्कने क्रममा छन् । संक्रमणका कारण महंगी तथा बेरोजगारी बढन सक्ने अनुमान गरिएको छ । जसका कारण अपराध, चोरी डकैती बढ्नसक्ने भएकाले प्रहरीको आगामी नेतृत्व संभावित सुरक्षा चुनौतीको सामना गर्न सक्ने अनुभवी हुनुपर्ने राजनीतिक उपल्लो वृत्तमा चर्चा सुरु भएको छ ।

जसका लागि विगतमा फिल्डमा खटिएर नेतृत्व गरेको र जोखिमपुर्ण जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरेका आधारमा २८ औ आईजीपी नियुक्त हुनेछन ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर