annapurna add

विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

Earthquakenews 20201

‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाउन लागिएको हो । विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन थालेको थियो । दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो, आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए, नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए ।

सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुग्यो ।

यसको पुनःनिर्माणका लागि चार वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरिन् । राष्ट्रपतिले पुनःनिर्माणको शुभारम्भ गरेकै स्थल रानीपोखरीको काम चार वर्ष बित्दासमेत सम्पन्न हुनसकेको छैन ।

दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । मूल समारोहको कार्यक्रमअघि भक्तपुरमा जनचेतनामूलक दुई पदयात्रा हुने प्रचारप्रसार उपसमिति संयोजक एवं शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

पहिलो पदयात्रा लामगाल पुखु, नवदुर्गा, गछेँ सकोलान् दत्तात्रय, इनाचो गोल्मढी, सुकुलढोका, त्रिपुरासुन्दरी हुँदै भक्तपुर दरबार क्षेत्रमा पुग्नेछ । यसैगरी दोस्रो पदयात्रा भाज्या पुखु इनागा भार्वाचो, टेखापुखु, वंशगोपाल, तालाक्व, टौमढी, क्वोछेँ, साकोठा हुँदै भक्तपुर दरबार क्षेत्र पुगेर मूल समारोहको कार्यक्रममा सहभागी हुनेछ ।

दिवसका अवसरमा गत पुस १५ देखि माघ १५ गतेसम्म नै विभिन्न कार्यक्रम आयोजना गरी चेतना जगाइएको छ । दिवस मनाउन सात प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

टोलस्तरसम्म जनचेतनामूलक कार्यक्रम गर्न स्थानीय तहलाई पनि प्रशासनले नै समन्वय गर्ने जनाइएको छ । यस अवसरमा काठमाडौँ र ललिपुर महानगरपालिकाले पनि आज विशेष कार्यक्रम गर्ने विभागले जनाएको छ ।

१२१८ को भूकम्प

वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन करीब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौं उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म शहर छोड्नुपरेको थियो ।

१३१६ को भूकम्प
यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढंगले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

१४६५ को भूकम्प
करीब १४९ वर्षपछि वि.सं. १४६५मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिरलगायत अन्य दर्जनौं मन्दिर ढले । जमीनमा ठूलठूला धाँजा फाटे, जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाए । यस भूकम्पले सयौं मानिस तथा पशुको ज्यान जानुका साथै हजारौं घर भत्किए ।

१७३७ देखिका भूकम्प
नेपालमा अन्य थुप्रैपटक भूकम्प गएको भनाइ रहेको भए तापनि प्रामाणिक तिथिमिति नभेटिएकामध्ये वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्को भनाइ छ । जसले ठूलो विपत निम्त्याएको थियो भने वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महसूस गरियो । यसले के कति धनजनको क्षति पुर्यायो, त्यसको पनि कुनै अभिलेख पाइँदैन तर २४ घन्टाभित्रमा २१ पटक भूकम्प जाँदा ठूलै क्षति भएको अनुमान गरिएको छ । वि.सं. १८६७ जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानवीय क्षति त भएन तर मठमन्दिर भने प्रशस्त मात्रामा भत्किए । भक्तपुरमा चाहिं यस भूकम्पले निकै मानिसको ज्यान लिएको थियो । यस्तै वि.सं. १८८० यमपञ्चकका दिन एकै स्थानमा बसेका सातवटा ग्रह छुट्टिंदा यो भूकम्प गएको थियो । जानकारका भनाइमा एकैदिनमा १७ पटक भूकम्प गएको थियो । यो विपत्तिले पनि निकै क्षति पुर्यायो । उल्लेखित भूकम्पको क्षति विवरणको एकिन तथ्यांक नभए तापनि त्यसपछिका नेपालमा गएको भूकम्पहरूको तथ्यांक स्पष्ट पाइन्छ ।

१८९० देखि गएका भूकम्प
वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर ठूलो विनाशकारी भूकम्प गएको थियो । त्यही दिन राति ११ बजे पनि पुनः भूकम्पको झड्का महसूस भयो । जसका कारण हनुमानढोकाभित्रको भण्डारखालमा राजाहरूले र टुँडिखेलको खुला चौरमा सर्वसाधारण रात कटाउन बाध्य भए । यस भूकम्पले भक्तपुर, ठिमी, साँखु, बनेपालाई नराम्रो प्रभाव पार्यो । काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्कियो । सो भूकम्प गएको एक महिना नबित्दै असोज १० गते राति अर्को भूकम्प गएको थियो । जसले भत्किन बाँकी संरचनालाई तहसनहस पार्यो । भूकम्पले घाउ सेलाउन नपाउँदै एक वर्षपछि वि.सं. १८९१ सालको असार र असोज महिनामा फेरि दुईवटा ठूला भूकम्प गए । पानी परिरहेका बेला यी भूकम्प गएको कारणले बागमतीमा ठूलो बाढी आयो ।

१९९० को भूकम्प
नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो । उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

मिति विवरण न खुलेको
यस्तै सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । ४६ जना मानिसले ज्यान गुमाए भने सयौं चौपायाको ज्यान गएको थियो ।

२०४५ को भूकम्प
हामीले भुल्न नसक्ने स्मरणीय भूकम्प वि.सं. २०४५ भदौ ५ गते बिहान पौने पाँच बजे गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर भत्किए । त्यसले पूर्वी नेपाललाई नराम्ररी क्षति पुर्यायो भने राजधानी उपत्यकामा समेत यसको प्रभाव परेको थियो ।

२०६८ को भूकम्प
यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा १११ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।

२०७२ को भूकम्प
२०७२ साल वैशाख १२ गते शनिबार गएको भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाकाे मृत्यु भएकाे थियाे भने २२ हजार ३ सय ९ जना घाइते भएका छन् । गाेरखाकाे बारपाकलार्इ केन्द्रविन्दु बनाएर गएकाे याे भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा अांशिक क्षति भएकाे थियाे । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा अांशिक क्षति भएकाे थियाे । याे भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेकाे राताे मच्छिन्द्रनाथकाे मन्दिर ध्वस्त भएका थिए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर