imagesप्रजातन्त्र प्राप्तिपछि राजा त्रिभुवनले सेक्रेटरी नियुक्त गरेका भारतीय नागरिक गोविन्दनारायणले नेपालका गोप्य दस्तावेज र लिखतहरूमा कति चलखेल गरे होलान् ? नेपाली इतिहास केलाउँदा कतिपय विचित्रका घटना र तथ्यसँग जम्काभेट हुन्छ । कतिले रोमाञ्चित पार्छ, कतिले खिन्न तुल्याउँछ । सार्वभौम, स्वतन्त्र र स्वाधीन मुलुक हो हाम्रो । तर, २००७ सालमा राणाशासन अन्त्य भएपछि राजाका सेक्रेटरी भने विदेशी नागरिकलाई बनाइएछ ।

राजा त्रिभुवनका सेक्रेटरी हुने विदेशी थिए, भारतका गोविन्दनारायण । उनी ब्रिटिश राजको भारतमा आईसीएस (इण्डियन सिभिल सर्भिस) उपाधि प्राप्त थिए  शक्तिसम्पन्न परमाधिपति राजाले आफ्नो सेक्रेटरी विदेशी नागरिकलाई किन राखे ? यो प्रश्न रहस्यमय र अनुत्तरित छ । ७ कात्तिक २००८ मा गोविन्दनारायणले श्री ५ को सेक्रेटरीको जिम्मा लिएको समाचार गोरखापत्र मा आयो ।

समाचारमा उल्लेख गरिए अनुसार, तीन वटा दफामध्ये दफा १ मा ‘श्री गोविन्दनारायण आई.सी.एस.ले श्री ५ महाराजाधिराजको सेक्रेटरीको काम लिएका छन्, निजले नेपाल पब्लिक सर्भिस कमिशनलाई सल्लाह दिने काम जस्ता अरू कामकाजहरू जो निजलाई सुम्पिनेछन् सो गर्दै रहनेछन्’ भनिएको छ ।यस्तै, दफा २ मा १० उपदफा राखी सेक्रेटरीका काम र अधिकार थप खुलाइएको थियो ।

जसमा मन्त्रिमण्डलको कागजपत्र लगायत श्री ५ महाराजाधिराजको आदेश वा सूचनाको निमित्त मन्त्रालयहरूबाट आउने सबै सरकारी साध–सोध लेखापढीहरू, श्री ५ महाराजाधिराजको विशेषाधिकार प्रयोग, अनुरोध सम्बन्धी बिन्तीपत्रहरू, सरकारी लेखापढी, गैरनेपाली सरकारी पदाधिकारीहरूलाई श्री ५ महाराजाधिराजबाट बक्सने भेट मुलाकात र अरू नियुक्तिका कामहरू, जनसाधारणसँगको सम्बन्ध श्री ५ को सचिवालयका कर्मचारीहरूको कामकाज र अदव सम्बन्धी नियन्त्रण र निजहरूको नियुक्ति पनि उनैले गर्ने उल्लेख छ ।

यस्तै, श्री ५ महाराजाधिराजका दरबारमा हुने समारोहहरू र दरबार बाहिर हुने श्री ५ को नियुक्ति, काम सम्बन्धी कार्यक्रम गोविन्दनारायणकै जिम्मामा राखिएको थियो ।

यी वाक्यहरूमा धेरै कुरा बुझिँदैन । दरबार बाहिर हुने श्री ५ महाराजाधिराजको नियुक्ति भनिएको छ । यो के भनिएको हो ? त्यस अतिरिक्त राजाका सेक्रेटरी गोविन्दनारायणले गर्ने कामको नामावलीमा ‘क’ देखि ‘ङ’ सम्म छुट्याउँदै (क) मा संघ–संस्थाहरूलाई संरक्षण सम्प्रदान गर्ने, (ख) मा श्री ५ महाराजाधिराजबाट बक्सिने नियुक्ति पत्र, (ग) मा मेडल वा प्रतियोगिताको पुरस्कार, (घ) मा श्री ५ महाराजाधिराजको सफर सवार, (ङ) मा दरबारको औषधालय, मोटर कारखानाहरू भनिएको छ । के हो दरबारको मोटर कारखानाहरू भनेको ?

बाहिरियामा विश्वास

राजा त्रिभुवनबाट क–कसको परामर्शमा यस्ता सम्पूर्ण अधिकार दिएर एउटा छिमेकी मुलुकका नागरिकलाई सेक्रेटरीमा नियुक्त गरियो ? यो अध्ययन र विश्लेषणको विषय हो ।

छिमेकी मित्रराष्ट्रका नागरिक सेवा अध्ययन गरेका व्यक्तिले सेक्रेटरीको आफ्नो कार्यकालमा नेपालका जैसी कोठादेखि अन्यत्रका गोप्य लिखतहरू, द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय दस्तावेजहरू कति हेरे होलान्, कति चलखेल गरे होलान्, प्रश्न गम्भीर छ ।

ब्रिटिश भारत सरकारसँगको सुगौली सन्धि लगायत ऐतिहासिक दस्तावेजहरूको मूल प्रति हामीकहाँ छैनन् रे भन्ने सुनिन्छ । हराएका ती महत्वपूर्ण लिखतहरू त्यही समयमा त तल–वितल भएनन् ? शङ्का गर्ने ठाउँ प्रशस्त छ ।

त्यस बखतको नेपाल विधान र ऐन कानून बनाउने मामलामा पनि कमजोर रहेछ । २००४ सालमा वैधानिक कानून देशकै विधिवेत्ता तथा कानूनवेत्ताहरूले तयार गरेका थिए । तर, २००७ सालको प्रजातान्त्रिक पद्धतिका प्रवर्तकहरूले आफ्नै मुलुकका कानूनवेत्ताहरूमाथि विश्वास नगरेरै होला, २०१२ सालमा कानून आयोग बन्दा भारतीय नागरिक मुर्देश्वरलाई कानूनी सल्लाहकार राखिएको रहेछ ।

राजा महेन्द्रका निजी सचिव लोकदर्शन वज्राचार्यले २०७० सालमा प्रकाशित संस्मरणात्मक पुस्तक ‘जीवनका पानाहरू’ मा मुर्देश्वर भारत र अन्य देशका मुलुकी ऐनहरूको तुलनात्मक अध्ययनमा पोख्त भएकाले नेपाल सुहाउँदो ऐन बनाउन चित्तबुझ्दो धारणा व्यक्त गर्न सक्ने भन्ने लेखेका छन् ।

लोकदर्शनले पुस्तकमा अर्को रहस्योद्घाटन पनि गरेका छन् । राजा त्रिभुवनले २००७ सालमा भारतको सहयोग लिन दिल्ली गएको विषयमा देहरादुनमा बसेका जुद्धशमशेर कहाँ चिठी पठाएका रहेछन् ।

त्यसको जवाफमा जुद्धशमशेरले ठाडै भने रे, “महाराज सरकारले देश त्यागेर अर्काको देशमा (शरण) आएर राम्रो गरिबक्सेन । आफ्नो गद्दी छोडेर सवारी हुनुपर्ने किन ? त्यो मोहनशमशेर पनि कस्तो काँतर ! श्री ३ को पगडी त्याग्न सक्दैन ? म भए बुझाइदिन्थें । महाराजाधिराज सरकारलाई बिन्ती गरिदिनु । पछि हिन्दुस्तानले हेप्नेछ, ङ्याक्नेछ । राम्रो भएन, राम्रो भएन ।”

नभन्दै भारतले आफ्नो नागरिकलाई राजा त्रिभुवनको सर्वाधिकार सम्पन्न सेक्रेटरी बनायो । उनले पाएका अधिकार असाधारण थिए । २००७ सालको समग्र क्रान्तिको विश्लेषण गर्दा जुद्धशमशेरको टिप्पणी दूरदर्शी र देशभक्तिपूर्ण लाग्छ ।

नेपाल–भोट युद्ध : केरुङमा नून र अन्नको सञ्चय

जर्नेल कृष्णबहादुर कुँवर राणाको निर्देश अनुसार केरुङमा रहेका जमदार अ‍ैमानसिंह खत्रीले युद्धका लागि नून र अनाजको व्यवस्थापन गरिरहेका थिए। भोटसँग युद्धको तयारी स्वरूप विभिन्न नाकामा रसदपानी र खरखजाना व्यवस्थापन र भण्डारणमा जोड दिइएको थियो । आवश्यक पर्ने अन्न देशमै पुग्दो भए पनि नून भोटबाट ल्याउनुपर्थ्याे । जर्नेल कृष्णबहादुर कुँवर राणाले केरुङमा रहेका जमदार अ‍ैमानसिंह खत्रीलाई चिठी पठाएर युद्ध प्रयोजनका लागि तीन हजार पल्टनलाई एक वर्ष पुग्ने नून भोटबाट खरीद गर्न निर्देश गरेका थिए ।

यस्तै, अहिलेसम्म खरीद गरेको अन्नको भाउ लेखेर पठाउन पनि भनिएको थियो । भोट जाने चिठीमा जर्नेल कृष्णबहादुरको छाप नलगाई नपठाउन सजग पार्दै छाप जाँचेर मात्र चिठी गन्तव्यमा हिंडाउन कुतीका थकालीलाई पनि सूचित गरिएको थियो । अ‍ैमानसिंहले झरि परेपछि बाटो बिग्रेका कारण भोटबाट नून कम आउँदा महँगिएको, रु.१ को साढे १४ माना मात्र आउने उल्लेख गर्दै त्यो पनि खरीद गरिरहेको लेखेका थिए । उनले तिहारसम्ममा रु.१ मा १५/१६ मानाको भाउ होला भन्ने उल्लेख गरेका थिए ।

यस्तै, मकै किन्न रु.२५/२६ सय आफूले भदौमै दिइसकेको र रु.१ को १८ पाथीका दरले किनिसकेको अ‍ैमानले जर्नेल कृष्णबहादुरसामु जाहेर गरेका थिए । धान र कोदोको बाली भित्र्याउने समय आएपछि त्यो पनि लिएर कुटानी–पिसानी गरेर राख्ने जानकारी गराएका थिए । फलेको चामल रु.१ को ४ पाथी २ माना, एकसरो फलेको चामल ४ पाथी ६ माना, नफलेको ५ पाथी आउने विवरण उनले खुलाएका थिए । आरावाल र सिपाहीलाई यही चामल खुवाउँदै गरेको पनि उनले लेखेका थिए ।

अ‍ैमानले भोट लैजाने बारुद प्याङ्, सिसा, भेडा, चौंरीको विवरण लेखेको कागज पठाइदिएका थिए । उनले झुगा ब्यासीदेखि खरान्या पोखरीसम्म बाटो बनाएर फेरि दोहोर्‍याउने योजना बनाएका थिए । मूल बाटोमा पर्ने अक्करमा ढुंगा काट्ने आग्री चाहिएको, हिउँले बिगारेको बाटो बढाउँदै गरेको बारे उल्लेख गर्दै उनले एउटा साँघु पनि बनाउनुपर्ने सूचित गरेका थिए । आफूकहाँ काम गर्नलाई केही योग्य मान्छे राखेर उनले बाँकीलाई पठाइदिएका थिए ।

उता डोटीको सिलगढीबाट कर्णेल कृष्णध्वज कुँवर पनि ८०१ नाल बन्दूक र तोप, यिनलाई चाहिने बारुद, गोलीगट्ठा गिराफ लगायतका खरखजाना र संचित फौज लिएर दशैंपछि पूर्णिमाको साइतमा हुम्लातिर प्रस्थान गरे । सैनिक बस्ने छाउनी, रसद राख्ने गोदामघर तयार पार्न लगाउन कप्तान बर्फानसिंह बस्नेत पनि हुम्ला गए ।

त्यसबेला पश्चिममा रहेका राजा–रजौटाहरूले पनि कर्णेल कृष्णध्वजसँग हामीले पनि भोट हमलामा सघाउनुपर्ने हो कि भनेर सोधेका रहेछन् । तीमध्ये कुनै ठूला र कुनै साना राजा थिए । यिनीहरूलाई हुम्ला बोलाउने कि नबोलाउने भन्नेबारे प्रधानमन्त्रीबाट आदेश आए अनुसार काम गर्ने व्यहोरा कर्णेलले चिठीमा लेखेका थिए ।

श्रीमद्राज कुमारकुमारात्मज श्रीकम्यांडर इनचिफ जनरल कृष्णबहादुर कुँवर राणाजीबाट जमदार अ‍ैमानसिंह खतृलाई लेखिगयाको

तीन हजार फौजलाई १ वर्ष पुग्न्या गरि नून खरिद गर्नु. तैले खरिद गर्‍याको अनाजको भाउ लेख्नु. भोट जान्या चिठीमा श्री जनरल काहिला भाई कृष्णबहादुरका सामु छाप लगाई आयाका हिडाउनु विच उसै नहिडाउनु. बारुद हाल्याको प्याङ पठाइदिनु भन्या मर्जि सिरचह्राई नून खरिदका अर्थलाई अस्ति ५७ दिन झरि हुँदा झोसांको माथिको पाखा पैरो गैई साँघु भात्क्यो आजकल भाउ अलि घटिरहेछ. १४ ।।

माना भैरहेछ. तिहारलाई १५ । १६ माना जाहाँ सम्मको होला खरिद गरौंला. हाल १४ ।। मानामा खरिद गर्न लाया नञा अन्न मकै मैले भदौमा रुपैयाँ दियाको मेहर रुपैयाँ १ को भाउपाथि १८ का दरले २५ । २६ सयेको खरिद गर्‍याको छ. चावलको भाउ वेस फलुवा पाथि ।४ ।२ माझ् सरुवा ४ ।६ सरुवा १५ मा खरिद गरि बोसि र सिपाहिलाई खुवायाको छ. मकै लिदैछु कोदो र धानको बेला हुन लाग्यो लिंदै पिसाउन्या पिसाई कुटाउन्या कुटाई थन्क्याई राखन्या काम गरौंला. भोट जाने चिठी श्रीजनरल साहेबका छाप सहि जाँचि कुतिकौथकाली जसमानका नाउमा चिठी लेखी जौन जौन जग्गामा जाने हो ताहाबाट रवाना गरि हिडाइदे भनि पठायाको छ. अब उप्रांत पनि छापसहि जाँचि पठाउन्या काम गरौंला.

भोट लैजान ल्यायाको बारुद प्याङ् १ सिसा धार्नि ३ को डल्ला १ र भोट जान्या चिठी चौरी भेडा जाँचको कागजस्मेत चह्राई पठायाको छ दाखिल भयो. झुगा ब्यासीदेखि खरान्या पोखरिसम्म बाटो बनाई सक्या दोहोर्‍याउन बाँकी छ. पछि दोहोर्‍याउने काम गरौंला. अघि ल्लाया मुलबाटोमा बिसिखारको चिपिखारको अकार २ ।३ ढुंग्या जग्गालाई चाहिन्या छ भनि विंतिगरि पठायाको हो नञाबाटोलाई र भरिसक्य वनाई आयापछि हिउँले केहि विगार्‍या बनाउन्यै छु. अ‍ैलेको हकलाई भन्या बढिया भयाको छ. वल्माफिक मात्र साँघु १ वनाउनु पर्न्याछ . साँघु पनि बनाउन लाउछु. औ हवल्दार अम्बरवीर भंडारिलाई पठाईदिनु भनि मर्जि आयाको सिर चह्राई पठाउन्या काम गर्दैछु. मान्क्षे बेसका विलका छन् ति १ जना सिपाहि २ जना थाम भनि मर्जि भया थाम्छु. जो मर्जि. अरु सिपाहि पठायाको छ दाखिल होला.

११ साल मिति अश्वीन सुदि १३ रोज ४ शुभम्.

तस्तै बखतमा श्रीप्राईम मिनिष्टरका हजुरमा श्रीकर्णाैल कृष्णध्वजकुवर राणाजी बाट उप्रांत मर्जि आयाबमोजिम ८०१ नाललाई बन्दूक पिछेजनहि गोली समेतका गठा १५ ।१५ पत्थर ९ ।९ का दरले तोप २ लाइ २ । २ सये गोला ४ ।४ सये गिराफ सहित गैह्र खजाना तयार गराई अश्वीन सुदि १५ रोज ६ का दिनको सायेत गरि हुमला तरफ कुच गर्‍या.

१९११ साल मिति आश्वीन सुदि १५ रोज ६ मुकाम डोटी सिलगढी शुभम्. कोत छाउनी रसद घर गैह्रको तैयारी ताकितिलाई आजैका मितिमा डोटीबाट कपतान वर्फानसिं इन्या हुमला जानलाई कुचंगया शुभम्.

श्रीमद्राराजकुमार कुमारात्मज श्रीकम्यांडर इनचिफ जनरल कृष्ण बहादुर कुवर राणाजी श्री कम्यांडर कर्णाैल बखतजंग कुवर राणाजीका नाउमा कर्णौल कृष्णध्वज कुवर राणाजीले चह्राई पठायाको

उप्रांत श्रीप्राइम्मिनिष्टर दाज्यैज्यूका मर्जि भैआयाबमोजिम ८०१ नाललाई बन्दूकपिछे गोली समेतका गठ्ठा १५ ।१५ पत्थर ९ ।९ का दरले तोप २ लाई जनहि २ ।२ सये गोला ४ ।४ सये गिराफ सहित चाहिन्या जङ्गी खजाना तरतयार गरि गराई अश्वीन सुदि १५ रोज ६ का दिनको सायेत गरि हुमला तरफ कूच गर्‍या. ताहा पुगेपछि चाहिन्या कुराको विनिति चह्राई पठाउन्या काम गरुला. औ दसतर्फका राजा रजौटाहरू हामीले पनि जांनु पन्र्या हो कि भनि लेखि पठाउँछौं. श्री प्राइममिनिष्टर दाज्यैज्यूबाट र यस कुराको वेहोरा मलाई केहि लेखिआयाको छैन. राजा रजौटामा केही धेर खान्याछन् केही थोर खान्याछन्. इनलाई हुमला झ्किाउँन्या हो की ? कसो गन्र्या हो ? येस कुराको मेहेर भया उसैमाफिकको काम गर्दा हुँ. ! विभिन्न पत्रपत्रिकाबाट साभार !

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...