annapurna add

ivanka trumpअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी छोरी इभानाको बेलायती एक जासुससँग मित्रता भएको खुलासा भएको छ ।ती बेलायती पूर्वजासुसले ट्रम्प र रुसको नकारात्मक सम्बन्धबारे रिपोर्ट समेत तयार पारेका थिए । बेलायती ती पूर्वकर्मचारी क्रिस्ट ओफर स्टिलले इभान्का ट्रम्पसँगको सम्बन्धलाई 'व्यक्तिगत' भनेका छन् । साथै उनले ट्रम्प परिवारका सदस्यसँग भेट्न न्युयोर्कस्थित ट्रम्प टावर पुगेको बताएका छन् । स्टिलका निकटस्थले भने ट्रम्प परिवारको सदस्य तिनै इभान्का भएको बताए । उनीहरु २००७ मा पहिलो पटक भेट गरेका थिए । इभान्काले बिहे गर्नुभन्दा दुई वर्षअघि उनीहरुको भेट भएको स्टिलका साथीले बताए ।

नागरिक - सरकारी जग्गामा दलहरूको मनपरी’ शीर्षकमा समाचार छ । लोकतन्त्र स्थापनाका लागि लडेको भन्दै नगर विकास समिति सुर्खेतले विभिन्न मितिमा जिल्लास्थित सातवटा राजनीतिक दललाई भोगाधिकारका लागि वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा एक–एक कट्ठा जमिन उपलब्ध गरायो। पार्टी कार्यालय स्थापनाका लागि उपलब्ध गराइएको जमिनमा दलहरूले भने ‘व्यापार’ गरिरहेका छन्। सो जग्गामा केही राजनीतिक दलले घर बनाएर भाडामा लगाएका छन् भने केहीले भट्टी पसल सञ्चालन गर्न भाडामा दिएका छन्। नेकपा पार्टी कार्यालयनजिकै तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको एक कट्ठा जमिन छ। उसले नगर विकास समितिबाट भोगाधिकारका लागि प्राप्त गरेको जमिन भाडामा लगाएको छ। सो जमिनमा तीनवटा भट्टी पसल छन्। एउटा पसलले मासिक १० हजार रुपैयाँ भाडा बुझाउँछन्। ‘हामी आफैंले छाप्रा बनाएर पसल सञ्चालन गरेका हौं,’ फोरमलाई प्राप्त जमिनमा बसेका एक व्यापारीले भने, ‘तीनवटा पसलले मासिक १० हजारका दरले पैसा बुझाउने गरेका छौं।’ ती पसलेले भाडाको रकम बुझ्नेको नाम भन्ने खुलाएनन्। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अहिले नेपाली कांग्रेसमा विलय भइसकेको छ। फोरम लोकतान्त्रिका नाममा दिइएको जमिनको छेउमै तत्कालीन नेकपा माओवादीको दुईतले पार्टी कार्यालय छ। उसले पनि कार्यालयको तल्लो तलाका सटर भाडामा लगाएको छ। खाली रहेको जमिनमा चिया पसल सञ्चालन छ। नगर विकास समितिका अनुसार तत्कालीन एमाले, नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई पार्टी कार्यालयका लागि जग्गा उपलब्ध गराइएको हो। राजनीतिक दलका नेताहरू पार्टी कार्यालय भवनलाई भाडामा दिएको र त्यहाँ भएको व्यापारलाई सामान्य रुपमा लिन्छन्।

अन्नपूर्ण - पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन्। संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्छन्। उनी नहुँदा ज्येष्ठ सदस्यबाट गराइन्छ। यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ। सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। त्यही कारण तुम्बाहाम्फेको पद गुम्न लागेको हो। सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ। संसद् अधिवेशन आह्वानसँगै नयाँ सभामुखबारे सत्तासीन नेकपामा छलफल प्रारम्भ भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइसकेको स्रोतले बतायो। स्रोतका अनुसार ओलीको रोजाइमा पूर्वसभामुख एवं संसदीय दलका उपनेता सुवास नेम्वाङ छन्। नेम्वाङले आफू सभामुखको दौडमा नरहेको अभिव्यक्ति दिएपछि दुवै अध्यक्षले आफूहरुले निर्णय गर्ने र त्यसबारे केही पनि नबोल्न नेम्वाङलाई भनिसकेको स्रोतले जनायो। पूर्वमाओवादीका नेताहरू पनि सभामुखको दौडमा छन्। अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसालले पनि सभामुखमा रुचि राखेको नेकपा स्रोतले बतायो। उपसभामुख तुम्बाहाम्फेले पनि सभामुखमा दाबी छाडेकी छैनन्।

कान्तिपुर - शक्ति सन्तुलन मिलाउने क्रममा दुई वर्षअघि सभामुख तत्कालिन माओवादीको भागमा पारिएको थियो । त्यस्तैले अहिले पनि सभामुख पद आफूहरुले नै पाउनुपर्ने पक्षमा पूर्व माओवादी नेताहरु छन् भने पूर्वएमालेहरु पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन् । पूर्व माओवादीमा स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रुपमा हेर्नेहरुको पंक्ति ठूलो छ । सापकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् । सभामुख स्वतः पूर्वमाओवादीको भागमा भएकाले यो विषयमा धेरै छलफल गर्नु पर्ने स्थायी समिति सदस्य हरिबोला गजुरेलले बताए । ‘हामी पार्टी एकीकरण प्रक्रियाको चरणमै छौँ,’ उनले भने, ‘व्यक्ति को हुँदै छ भन्ने कुरा गौण हो । सभामुखमा हामीले दाबी नै गर्नुपर्दैन । यो स्वतः पाउने कुरा हो ।’

नयाँ पत्रिका - नक्कली परीक्षकका नाममा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट २१ लाख १७ हजार भुक्तानी भएको समाचार छ । ०७५ असोजअघि डेढ वर्षमा नक्कली परीक्षक खडा गरी यो रकम हिनामिना भएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले डेढ वर्ष अवधिमा नक्कली परीक्षक खडा गरेर २१ लाख १७ हजार हिनामिना भएको बताए । नक्कली कागजात र भौचर बनाएर धेरै व्यक्तिको नाममा रकम लगिएको देखिएको उनले बताए । त्यतिवेला परीक्षण गरेको उत्तरपुस्तिकाको संख्यासहित भौचर ल्याउनेलाई चेकमार्फत भुक्तानी दिने थियो । केवल रसिदको भरमा नगद कारोबार हुँदा हिनामिना भएको त्रिविका पदाधिकारीहरू स्विकार्छन् । त्रिविले रकम हिनामिनाबारे गत ०७५ कात्तिकमै महानगरीय अपराध महाशाखा टेकुमा कागजातसहित उजुरी गरेको थियो । तर, प्रहरीले अहिलेसम्म पनि नक्कली परीक्षक पत्ता लगाउन नसकेको त्रिविका रजिस्ट्रार तथा परीक्षा समितिका अध्यक्ष प्रा। डिल्ली उप्रेतीले बताए ।

पत्रिकामा बालुवाटारको दुई सय १४ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने योजनाकारहरु मात्र होइन, जग्गा किन्नेहरुविरुद्ध पनि मुद्दा चल्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले सरकारी जग्गा किनबेच गर्ने दुई पक्षलाई मुद्दा लगाउने निष्कर्ष निकालेका छन् । ‘जग्गाधनीलाई पनि मुद्दा चल्छ,’ अनुसन्धान टिममा रहेका अख्तियारका एक अधिकारी भन्छन्, ‘तर, कुन तह र कुन हदसम्म कारवाही हुने भन्ने निर्क्यौल हुन बाँकी छ ।’ राणा परिवार र उनीहरुसँग जग्गा किन्ने दुई तहसम्मलाई मुद्दा चल्ने सम्भावना रहेको उनले बताए । प्रधानमन्त्री निवाससँगै जोडिएको ललिता निवासको जग्गा हाल सयभन्दा बढी व्यत्तिःको नाममा छ । अख्तियारले ती सबै जग्गाधनीसँग बयान सकेर मुद्दा चलाउन प्रक्रिाय अघि बढाइसकेको छ । मुख्य योजनाकार शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले नै विभिन्न व्यक्तिलाई बिक्री गरेका हुन् ।

अन्नपूर्ण - दुर्घटनापछि उत्पन्न असहज परिस्थितिका कारण बाँकेको कोहलपुरका विद्यालय तेस्रो दिनमात्र खुलेको  छ । विद्यार्थी भने आधा पनि पढ्न आएनन् । त्रिभुवन नमुना माविमा ४० प्रतिशत मात्र विद्यार्थी आएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रानाले बताए । ट्रकले किच्दा यही विद्यालयकी छात्रा प्रकृति चन्द घाइते भएकी छिन् । ‘पढ्न आए पनि विद्यार्थी त्रासमा थिए,’ अध्यक्ष रानाले भने, ‘विद्यार्थी आए पनि पढाइ भएन । सरहरुले पढाइभन्दा पनि डरत्रास नरहन काउन्सिल गर्नुभयो ।’ मङ्गलबार चार बसेसम्म मात्र विद्यालय खुलेको थियो ।

कान्तिपुर - नेपालको स्वीकृति बिनै भारतले रुपन्देहीको रोहिणी गाउँपालिका ६ बरोवस्थित सीमा क्षेत्र नजिकै एकतर्फी रुपमा सडक निर्माण थालेको छ । वर्षायाममा नेपाली भूभाग डुबान हुने गरी भारत उत्तर प्रदेश सरकारको लोक निर्माण विभागले मंसिर १७ देखि दसगजाबाट डेढसय मिटरभित्र इन्डो नेपाल बोर्डर रोड बनाउँदै छ । भारतले भारतीय प्रधानमन्त्री सडक परियोजना अन्तरगत चार लेनको सडक बनाउन लागेको हो । यसबारे भारतले नेपालका प्रशासनिक किाय र जनप्रतिनिधिलाई जानकारी गराएको छैन । 

याे पनि पढ्नुहाेस् -

पखेरुमा जन्मे
टाकुरमा खेल्ने
म झुक्दै झुक्ने नेपालको छोरो

नेपाली परिवेश अनि जीवनशैलीमा शदियौंदेखि पहाड पर्वतको सम्मान छ, शिरमा ठड्याएको ढाका टोपी को आकार देखि हाम्रो राष्ट्र झण्डासम्म पहाडको शिर जस्तै अबिछिन्न रहेको छ । यस वर्षको विश्व पर्वत दिवसमा पर्वतहरुको राजधानी देश नेपालबाट विश्वलाई शुभकामना ।

आज ११ डिसेम्बर, अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै आजको दिन विश्वले पर्वत दिवस् मनाउँदै आएको छ ।

पर्वत अर्थात् अग्ला अग्ला माटो तथा चट्टानले बनेको भीमकाय भूगोल । जहाँबाट कलकल गर्दै उर्लने नदिका विभिन्न श्रोतहरूबाट नै हामी पिउन योग्य पानी प्राप्त गर्ने गर्दछौं । अमूल्य जीवनरक्षक जडिबूटी होस् या लाखौं ति सुन्दर तथा दूर्लभ प्राणीजीवन होस्; पर्वत जल, जीवन र वनस्पतिको स्वर्ग हो, ठूलो भण्डार हो । पृथ्वीको कूल भू-भागको ४% भाग पर्वतै-पर्वतयूक्त छ र यस ४% भू-भागभित्र पृथ्वीको कूल जनसंख्याको झण्डै १२% मानव जीवन बस्ने गरेका छन् । विश्वको कूल जनसंख्याको ७०% जीवनले विभिन्न तरिकाबाट यीनै पर्वतका अनेक गर्भ भएर निस्कने पिउने पानी उपभोग गर्ने गर्दछन् ।

हामी नेपाली भन्ने वित्तिकै सगरमाथाको देशको नागरीक भन्ने चिनारी छ, देशको कूल भू-भागको ४३% भू-भाग पहाडै-पहाडले भरीएका छन् जसको कूल १५% भूभाग हिमाली क्षेत्रले ओगटेको छ । यस अर्थमा हामी विश्व पर्वत दिवसको एउटा मूल केन्द्रविन्दू र हामीमाथी विश्वमा बद्लिंदो मौसमको रङ्ग, तापक्रम तथा समूल प्राणि जगतको जीवनचक्रको एउटा ठूलो जिम्मेवारी छ ।

आज पृथ्वीले बद्लिंदो वैश्विक तापक्रमको मार झेल्दैछ, विगतमा सेताम्य देखिने हिम श्रृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्, हिँउ झर्नुपर्ने ठाउँहरूमा निरन्तर वर्षा भइरहेका छन् र त्यस्ता स्थानहरूमा विभिन्न बनस्पतिहरू देखिन थालिएका छन् ।

पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका श्रोतहरूमा भइरहेका अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारीरहेको छ । रूख काटिएका छन्, डाँडाकाँडा सम्म पारिएका छन्, विशाल ढुङ्गा फोरीएका छन्, नदीनाल गीट्टी बालूवा विहिन बन्दै गइरहेका छन् पर्वतीय खजानामाथि भएका निरन्तरको यो अप्राकृतिक दोहनले त्यहाँ आश्रित अनेक जीव जन्तु तथा चराचरहरूको दैनिकीलार्इ नराम्ररी असर गरेको त छ नै कतिपय दूर्लभ जीवजन्तु तथा जडीबूटीहरू त लोप पनि भइसके भने धेरैको अवस्था नाजूक छ ।

वि.सं. २०७२, बैशाख १२ मा गएको महाविनासकारी भूकम्पका कारण धेरै पर्वतीय संरचनाहरू चिरा परेका छन्, भास्सिएका छन्, जमिनसंग राम्ररी पकड बनाएको ढुङ्गा, माटो तथा रूखहरू निरन्तर आइरहने ठूला साना पहिरोले त्यस्ता क्षेत्रहरूमा आश्रित जीवनहरूमा जोखिम बढाएको छ । सुरक्षित बासस्थान तथा वस्ति स्थानान्तरण अहिलेको प्रमुख चुनौति र आवश्यक्ता बनेको छ ।

वैश्विक रूपमैं पर्वतीय क्षेत्रमा अनेक कारणहरूले पर्यावणीय प्रदूषण बढ्दै गइरहेको छ साथै जल तथा भू-क्षयका खतरा निरन्तर भयावह बन्दै छ । यस्तो अवस्थामा वैज्ञानिक तथा व्यवस्थित विकास तथा वैज्ञानिक पर्यटनको व्यवस्थानबाट ठूलो मानवीय तथा प्राकृतिक दूर्घट्नाबाट बँच्न सकिन्छ । यसर्थ पर्वतीय पर्यावरणका सवालमा सबै एकजूट भएर अघि बढ्न तथा यस बारे काम गर्न जरूरी छ । विशेषतः हिमालजस्ता परिवर्तनशील पर्वत श्रृंखलाहरूमा पर्यावरण सम्बर्धन कार्यले निरन्तरता पाउनुपर्छ । हिमाल एउटा अपेक्षाकृत नयाँ स्वरूपमा कुनै पनि बखत विकास हुन सक्ने पहाड हो र यो पर्वत श्रृंखलामा भूमीगत पर्वतनका अनेक कारणहरूले विश्वको संरचनामा परिवर्तन ल्याउन सक्छ ।

विश्वभरि लगभग १ अर्ब जनसंख्या यिनै पर्वतको माटोमा खनिखोस्री गरेर हिमशयलमा बसेका छन् । यिनीहरु पर्वतहरुमा खाना, इन्धन र रोजगारकालागि भर पर्दछन्, विस्तारै यी भीमकाय पर्वतहरु जलवायू परिवर्तनको चपेटा, भूक्षय, प्राकृतीक सम्पदाको अविवेकी प्रयोग जस्ता कैयन कारणले जोखिममा छन् । आजको दिनमा विश्वका सबैजना मानवहरु आफ्नो बानीमा सुधार गर्दै पर्वत संरक्षण अनि सम्र्बधनका लागि एकहुन पर्ने देखिन्छ । सुरक्षित जीवन तथा पर्वतीय क्षेत्रको संरक्षणसहितको गृह कार्यमा सबै जुटौं, विश्व पर्वत दीवसको सबैमा शुभकामना !

प्रकासित मिति

Loading...
Loading...

 

Loading...