annapurna add

oli prachanda dhVRNhI4dK

पार्टीभित्र उत्पन्न संकट समाधान गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ । केही दिन अवरुद्ध भएर आइतबारबाट सुरु भएको दुई नेताबीचको सोमबारको संवादमा पनि ठोस सहमति हुन नसकेको हो ।

‘सुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भएपनि कुनै सहमति हुन सकेन’ ओली प्रचण्डसँगको वार्तामा सहभागी एक नेताले कान्तिपथसँग भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सवा ९ बजेबाट सुरु भएको वार्तामा दुवै नेताले आ–आफ्ना तर्फबाट नेता झलनाथ खनाल र सुवास नेम्वाङलाई पनि सहभागी गराएका थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित भएको स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । ‘स्थगित स्थायी समिति बैठक सुरु गरौँ र त्यहाँबाट विवादको छिनोफानो गरौँ । साथीहरुको भावना पनि त्यही छ । लामो समय स्थयी कमिटी स्थगित गर्दा कार्यकर्तामा सन्देश राम्रो जाँदैन’, ओलीसँगको वार्तामा प्रचण्डको प्रस्ताव थियो । तर, प्रचण्डको कुरा सुनेपछि ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोर्याएका थिए ।

‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’, ओलीको जवाफ थियो । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः भोलि छलफल गर्नेगरी नेताहरु उठेका थिए । नेताहरुबीच करिव डेढ घण्टा संवाद भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल सकेर भक्तपुरस्थित आफ्नो निजी निवास बालकोट पुगेका छन् ।

सोमवार बिहान प्रचण्ड र झलनाथ खनालसँग छलफल गरेपछि ओली साढे ११ बजे बालकोट पुगेका हुन् । २०७४ फागुनमा प्रधानमन्त्री निर्वाचित भएर बालुवाटारस्थित सरकारी निवासमा सरेपछि ओली बिरलै मात्र बालकोट पुग्ने गरेका थिए ।

मन्त्री पदमा रहुञ्जेल बालकोटस्थित ओलीको निवासमा तत्कालीन सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा बस्ने गरेका थिए । प्रधानमन्त्री ओलीका सहयोगीहरूले निजी निवासमा गएको बताएपनि किन भन्ने खुलाएनन् ।

‘प्रधानमन्त्रीज्यू, आफ्नो निवासमा जानका लागि कुनै कार्यक्रम आवश्यक पर्दैन,’ उनका एक सहयोगीले कान्तिपथसँग भने । ओली निजी निवासमा पुगेपछि नेकपाका कार्यकर्ताहरू बालकोट पुगेका छन् ।

मृगौला प्रत्यारोपण गरेपछि राष्ट्रपति कार्यालय, संसद् भवन र सिंहदरबारबाहेक अन्यत्र नगएका ओली गत मंगलवार उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा पुगेका थिए । यसैबीच अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा भएको आजको भेटवार्ता पनि सहमतिका लागि सहमतिमै सीमित भएको छ ।

पार्टीभित्र गहिरिएको संकट हल गर्न भन्दै आइतवार र सोमवार वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई साक्षी राखेर अध्यक्षद्वयले भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतवार बिहान करीब ९ बजेदेखि शुरू भएको भेटवार्ता जनैपूर्णिमाको शुभकामना आदानप्रदानका साथ शुरू भएको थियो ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको संकट सचिवालयबाट हल गर्नुपर्ने अडान राखेका छन् । सोमवारको भेटवार्तामा पनि ओली अध्यक्ष र प्रधानमन्त्री कुनै पनि पदबाट आफूले राजीनामा नदिने, पार्टीभित्रको विवाद सचिवालयबाट हल गर्नुपर्ने, पटक-पटक स्थगित भएको स्थायी कमिटी बैठक तत्काल सुचारू गर्न नसकिने र केन्द्रीय कमिटीको बैठक बोलाउन नसकिने अडानमा रहेको स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डले स्थायी कमिटीबाटै निर्णय गरेर जाऔं न त भनेर राखेको प्रस्तावमा ओली सकारात्मक देखिएका छैनन् । स्रोतले अध्यक्षद्वयबीच संवादको ढोका बन्द नगर्ने सहमति भने बनेको बतायो ।

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...