नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको करिव डेढ वर्षमा राजनीतिक नियुक्तिको सुविधा पाउने अधिकांश झापाको दमक र गौरादहवासी देखिएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको घर झापाको दमक हो । हाल उनी भक्तपुरको बालकोटमा स्थायी बसोबास गर्दै आएका ओलीको निर्वाचन क्षेत्र भने पश्चिम झापा हो । दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगंज गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ ।

उनकै निर्वाचन क्षेत्र रहेको झापा ५ का दमक र गौरादहवासीले भने ओली सरकारले गर्ने राजनीतिक नियुक्ति र नियुक्तिका पदको अवसर पाउँदै आएका छन् ।

राजनीतिक दलका अधिकांश नेतालाई नियुक्तिमा परिवारवाद र आफन्तको घेरा तोड्न नसकेको आरोप लागिरहेका बेला प्रधानमन्त्री ओलीमा भने निर्वाचन क्षेत्रप्रतिको मोह अत्याधिक देखिएको हो ।

तेह्रथुमको आठराईमा जन्मिएका ओली झापाको शरणामति, गरामुनी, पृथ्वीनगर र दमक हुँदै हाल भक्तपुरको वालकोटका स्थायी वासिन्दा हुन् । ओलीको राजनीतिक क्षेत्रका व्यक्तिले यतिधेरै अवसर पाउँदा झापाकै अन्य क्षेत्रकाले भने यस्तो अवसर विरलै पाउने गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा गौरादह नगरपालिका–९ बैगुनधुराका हुन् । राष्ट्र वैंकको कर्मचारी खतिवडालाई ओलीकै पहलमा राष्ट्र बैंकको गभर्नरदेखि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल गौरादह नगरपालिकास्थित महारानीझोडाका स्थायी बासिन्दा हुन् । उनले यसअघि नै ओली नेतृत्वको सरकारमा कानुन मन्त्रीको अवसर पाइसकेका छन् ।

प्रतिनिधिसभा उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको बाल्यकाल, माध्यमिक स्तरसम्मको पढाइ र माइतीघर झापाको गौराहद हो । गौरादहबाटै राजनीतिक पृष्ठभूमि बनाएकी तुम्वाहाम्फे तत्कालीन एमालेबाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्यमा चयन भएपछि उपसभामुख बन्ने अवसर पाएकी हुन् । उनको स्थायी घर भने मोरङको उर्लाबारी हो ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी गौरादहका स्थायी बासिन्दा हुन् । ओली नेतृत्वको सरकारका पालामा गौरादहकै अग्नि खरेल कानुनमन्त्री भएका बेला न्यायपरिषद्को सिफारिसमा उनी सर्वोच्चको न्यायाधीश नियुक्त भएका हुन् । नियुक्तिअघि अधिवक्ता रेग्मी कांग्रेस महासमिति सदस्य थिए ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की गौरादह डिपुका स्थायी बासिन्दा हुन् । अनेरास्ववियूबाट राजनीतिमा स्थापित भएका कार्कीलाई नेकपाले प्रदेश १ को आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिएको हो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा यसै साता मात्र नियुक्त भएका डा. धर्मकान्त बाँस्कोटा गौरादहका स्थायी बासिन्दा हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको निजी चिकित्सकको अवसरमा पाएका बाँस्कोटाले मेडिकल काउन्सिलको अध्यक्षको पदावधि सकिएलगत्तै उपकुलपति हुने अवसर पाएका हुन् ।

गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा नियुक्त गोपाल खनाल गौरादहको महारानीझोडका स्थायी बासिन्दा हुन् । उनले ओली नेतृत्वको अघिल्लो सरकारमा प्रधानमन्त्रीको परराष्ट्र विज्ञ बन्ने अवसर पाएका थिए ।

प्रधानमन्त्रीको प्रेस संयोजकको भूमिका निर्वाह गरिरहेका पत्रकार चेतन अधिकारी गौरादहकै स्थायी वासिन्दा हुन् । ओली प्रधानमन्त्री बन्नु अघिबाटै उनले ओलीको प्रेस हेर्ने जिम्मेवारी पाएका थिए ।

vbk kp oli

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ को कमल गाउँपालिकाका स्थायी बासिन्दा हुन् ।

चिनियाँ सरकारको करिव ४६ अर्ब रुपैयाँको लगानीमा झापाकै दमक, गौरादह र कमल गाउँपालिकामा निर्माणाधीन क्लिन इन्डष्ट्रिज पार्कको अध्यक्ष बनाइएका गोविन्द थापा झापा दमकका स्थायी बासिन्दा हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी दमकका स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखि ओलीको निजी सचिवालयमा कार्यरत छन् ।

प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारको हैसियतमा अवसर पाएका देवेन्द्र दाहाल झापा दमकका स्थायी बासिन्दा हुन् । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पनि दाहालले राजनीतिक नियुक्ति पाएर प्रधानमन्त्रीको सचिवालयमा काम गर्ने अवसर पाएका थिए ।

प्रधानमन्त्रीका सहायक स्वकीय सचिव होम थापा र दिपेन्द्र दाहाल दमकका स्थायी बासिन्दा हुन् । स्वकीय सचिवको भूमिकामा रहेका दिपेन्द्र दाहालले भने अवकाश पाइसकेका छन् ।

ओली प्रधानमन्त्री बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएका नवीनकुमार घिमिरे, नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल, प्रदेश ३ का प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पनि झापाकै स्थायी बासिन्दा हुन ।

झापा गौरादहका स्थायी वासिन्दा पूर्वमन्त्री युवराज कार्की र पूर्वसांसद दीपक कार्कीले पनि ओली सरकारबाट राजनीतिक नियुक्तिको अवसर पाउदै गरेको प्रधानमन्त्रीको स्वकीय सचिवालय स्राेतको दाबी छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...