1478958692 banner ad format

 
 

फलेवास (पर्वत) । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीको बहाव बढेर बस्तीसम्म आइपुगेपछि माझी बस्तीका बासिन्दा त्रस्त भएका छन् । 

Kaligandaki min

कालीगण्डकीको किनारमा रहेको कुश्मा नगरपालिका–१ स्थित मालढुंगाका माझी परिवार रातभर जाग्राम बस्न बाध्य भएका हुन् । गत वर्ष बस्तीमाथिको पहाडबाट पहिरो खसेर घरबार गुमाएका उनीहरु पुनः यसवर्ष कालीगण्डकीको बहाव बढेपछि समस्यामा परेका हुन् । 

मालढुंगामा ६३ सुकुम्बासी परिवार र अन्य ४८ गरी १११ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै ३० घरपरिवार कालीगण्डकी किनारको बालुवामा रहेका छन् । केही दिनदेखि लगातार परेको वर्षाका कारण एक्कासि नदीको बहाव उर्लिएपछि घर नै छाडेर छिमेकीकहाँ बस्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय गणेश माझीले जानकारी दिए । कतिबेला पूरै घर बगाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको उनले बताए । 

भूकम्पका कारण हल्लिएको पहाडबाट खसेको पहिरोले बस्ती पुरिएपछि पुनः बसोबासका लागि सो ठाउँ अनुपुक्त भएको थियो । 
स्थानीय सुकुम्बासी गणेश माझीले वर्षायाममा पानी पर्दा भिर पहरो र कालीगण्डकी नदी हेरेर बस्नुको विकल्प नभएको बताए । “जाने ठाउँ अन्त कतै छैन, ढुक्कसँग बस्न कहिल्यै पनि पाइएको छैन ।” पहिरो गएको बेला स्थानीय प्रशासन र सुरक्षा निकायले पन्छाउने काम गरे पनि बैकल्पिक उपाय नदेखाएको गुनासो गरे । 

वर्षा हुँदा रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको धनबहादुर माझीले बताए । उनले भने बगरमा रहेको घर कतिबेला बगाउने हो केही टुंगो छैन । उनीहरुले वर्षेनी पुनर्वासको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएपनि अहिलेसम्म कुनै सुनुवाइ नभएको बताएका छन् । 

उक्त बस्तीका अधिकांश परिवारको मुख्य पेशा बंगुरपालन र बालुवा निकाल्ने हो । बालुवामा निर्भर भएका उनीहरु आर्थिक अभावका कारण उक्त स्थानबाट स्थानान्तरण हुन नसकेकाले बैकल्पिक बासस्थानको व्यवस्था गरिदिन पनि सम्बन्धित निकायलाई माग गरेका छन् । 

यता जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमको अवस्थालाई मध्यनजर गर्दै सतर्कता अपनाउन र विपत्ति आउने अवस्था देखिएमा प्रहरी प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको कार्यालयले जनाएको छ । 

यसैगरी दक्षिण पर्वतको सेतीवेणीमा पनि नदीको बहाव बढेको छ । तर कालीगण्डकी जलविद्युत् परियोजनाको बाँधका सबै ढोका पूर्णरुपमा खोलिएकाले आत्तिनुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । वर्षा निरन्तर भएकाले परियोजनाका सबै ढोका खोलिएको बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood