annapurna add

TOP 10 Compressed 8

१) बाढी पीडितको आरोपः राहतको रकममा हिनामिना

सुनसरीको इनरुवा– १० जल्पापुरका वासिन्दाले बाढी र शितलहर पीडितका नाममा आएको रकम स्थानीय जनप्रतिनिधिले हिनामिना गरेको आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०७४÷०७५ मा जल्पापुरका बाढी र शितलहर पीडितको राहत वितरणका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत रु ७ लाख ५० हजार आएको थियो । राहतबापत आएको रकम प्रतिपरिवार २५ हजारका दरले वितरण गरिनुपर्नेमा स्थानीय जनप्रतिनिधिले जान्ने सुन्नेका हकमा मात्र तोकिए बमोजिमको रकम बाँडेको र अधिकाँश पीडितलाई नदिएर रकम हिनामिना गरेको आरोप उनीहरुले लगाएका हुन् ।

इनरुवा– १० जल्पापुरका ३० परिवारको राहत वितरणका लागि आएको रु ७ लाख ५० हजारमध्ये जान्ने सुन्नेमध्ये केहीलाई प्रतिपरिवार रु १० हजारदेखि २० हजारसम्म रकम बाँडेको भएपनि अधिकाशं पीडितलाई त्यसबापतको रकम नदिएको गुनासो पीडितको छ । आफ्नो नाममा रु २५ हजार निकासा भएको भनिएपनि त्यो रकम आफूले नपाएको र आफ्नो नाममा किर्ते हस्ताक्षर गरेर वडाका जनप्रतिनिधिले नै सो रकम निकासा गरेको हुन सक्ने पीडित ताहिर मियाँले बताउनुभयो ।

त्यसैगरी अर्का पीडित मुस्तकिम मियाँले पनि आफ्नो नाममा किर्ते सही गरेर वडाका जनप्रतिनिधिले रु २५ हजार निकासा गरेर हिनामिना गरेको आरोप लगाएका छन् । बाढी आएका बेला वडा कार्यालयबाट पीडितलाई च्यूरा, भुजाबाहेक कुनै किसिमको नगद रकम वितरण नभएको इनरुवा– १० का महिला सदस्य सतियादेवी खत्वेले बताउनुभयो । अर्का वडा सदस्य ताविर मियाँले बाढीका बेला पीडित भएकाहरुको नाममा आएको राहत रकमको विषयमा आफूलाई कुनै जानकारी नभएको र वडा कार्यालयबाट च्यूरा, भुजाबाहेक नगद रकम वितरण नभएको जानकारी दिनुभयो ।

इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बाढीबाट पीडित भएकाको नाममा आएको रकममा हिनामिना गरेको पाइए त्यस्ता जनप्रतिनिधिलाई कानूनी कारवाही गर्ने बताउनुभयो । इनरुवा– १० का वडाध्यक्ष मोहमद सुलतान मियाँले बाढी पीडितका लागि आएको रकम उनीहरुको खतामै पठाइएको दाबी गर्नुभयो ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बाढी पीडितका लागि आएको रकम नदिएर हिनामिना गरेको उजुरी आएमा त्यस्ता जनप्रतिनिधिलाई कारवाही हुने प्रष्ट पार्नुभयो । बाढी पीडितहरुले तीन वर्षभन्दा बढी भएपनि आफूहरुले राहतबापत आएको रकम नपाएको गुनासो गरेका छन् ।

२) भोजपुरमा करदाता सेवा कार्यालय स्थापना

जिल्लामा करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि धरान, धनकुटा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय भोजपुरका प्रमुख रमेश पौडेलले जिल्लाबासीको माग अनुरुप नै यो कार्यालय स्थापना गरिएको बताउनुभयो ।

जिल्लामा दुई हजार दुई सयभन्दा बढी करदाता रहेको कार्यालयको अनुमान छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।

३) सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । सामान्यतया दूरबीनको माध्यमबाट पेट नचिरेर सानो सानो प्वाल बनाएर गरिने शल्यक्रियालाई ल्याप्रोस्कोपिक शल्यक्रिया भनिन्छ । पछिल्लो १० दिनमा चार जनाको यो विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा राजन शाह नेतृत्वको टोलीले चारै जनाको यो विधिबाट पाठेघरको सफल शल्यक्रिया गरेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पाठेघरको शल्यक्रिया गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले जानकारी दिएनुभयो । ल्याप्रोस्कोपिक शल्यक्रिया अर्थात दूरबीन शल्य चिकित्सा पद्धतीद्वारा गरिने शल्यक्रिया बिरामीका लागि बरदान सावित भएको डा शाहको भनाइ छ । “यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति हो”, उहाँले भन्नुभयो, “अत्याधुनिक शल्यक्रियाको विधाको यो शल्यक्रिया बिरामीलाई अधिक आराम र सुविधा दिन विकास गरिएको पछिल्लो प्रविधिको रुपमा पनि हेरिन्छ ।”

पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजरओटी) दूरबीन पद्धतीबाट गर्न थालिएको छ । त्यसमध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया समेत दूरबीन पद्धतीबाट नेपालका धेरै अस्पतालमा हुन थालेको उहाँको भनाइ छ । उहाँका अनुसार विशेषगरी पाठेघरबाट ट्यूमर निकाल्ने, डिम्बाशयको शिष्ट, ट्यूमर निकाल्ने, बच्चा नहुने अपरेशन गर्न र बच्चा नहुने अपरेशन गरिएको छ भने त्यसलाई खोल्ने अपरेशन (ट्यूवल रिक्यानालाइजेशन) लगायतका मुख्य शल्यक्रिया समेत दूरबिन पद्धतीबाट सम्भव छ । भारतलगायत विकसित मुलुकमा यस्तो शल्यक्रिया सामान्य हुँदै गए पनि नेपालमा यसको प्रयोग भर्खेरै बिस्तार हुन लागेको बताइएको छ । दूरबीन पद्धतीबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउन समेत यसको प्रयोग निकै सहज भएको डा शाहको भनाइ छ ।

अहिले पाठेघरको शल्यक्रियाका लागि दूरबीन पद्धती बिरामीका लागि अधिक सुविधा र सहज भएको छ । नेपालमा यो पद्धतीको बिस्तार नहुँदासम्म पाठेघर निकाल्न पेट चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता थियो । तर अहिले यो पद्धतीबाट पेटमा प्वाल पारेर पाठेघर निकाल्ने शल्यक्रिया सहज भएको छ । डा शाहका अनुसार यस्तो पद्धतीबाट शल्यक्रिया गर्दा बिरामी ३ दिनमै घर जान सक्छ । साथै केही दिनमै बिरामी आफ्नो नियमित काममा फर्किन सक्छ । पेट चिरेर गर्ने शल्यक्रियाले बिरामीले लामो समयसम्म दुःख पाउँछ, धेरै दिन अस्पताल बस्नुपर्ने हुन्छ, घाउ निको हुन धेरै दिन लाग्छ । नियमित काममा फर्कन बिरामीलाई धेरै समय लाग्न सक्छ । “यो पद्धतीबाट पाठेघरको शल्यक्रिया गर्दा पेट चिर्नु पर्देन, पेटमा सानो प्वाल पार्ने हुँदा बिरामी अप्रेशनपछि छिट्टै रिकोभर हुन्छ”, उहाँले भन्नुभयो, “ल्याप्रोस्कोपिक सर्जरीको साइड इफेक्ट हुने सम्भावना पनि न्यून हुन्छ ।”

पहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो । अहिले दूरबीनको प्रयोग अर्थात डाइग्नोष्टिक ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ । यो विधिबाट शल्यक्रिया गरिएको चारमध्ये तीन जना डिस्चार्ज भइसकेको र एक जना उपचाररत रहेको डा शाहले जानकारी दिनुभयो ।

४) टोल टोलमा पढाउँदै शिक्षक

कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठनपाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन् । शिक्षण कार्यलाई नियमित बनाउन शहरी क्षेत्रका केही विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । तर सिन्धुपाल्चोकका रोशी गाउँपालिकाले बालबालिकालाई टोल टोलमा पुगेर पढाउनका लागि शिक्षक खटाइएको छ ।

रोशी गाउँपालिका–२ चण्डीस्थित ग्रामोन्नती प्राथमिक विद्यालयका शिक्षकहरु टोल टोलमा पुगेर पढाउने गरेका छन् । यहाँको टोल टोलमा पुगेर विद्यार्थीलाई जम्मा गरी पढाउन थालेको सो विद्यालयका प्रधानाध्यापक रामबहादुर लामाले बताउनुभयो । “हप्ताको तीन दिन सामाजिक दूरी कायम गरेर टोल टोलमा कक्षा सञ्चालन गर्दै आएका छौं”, उहाँले भन्नुभयो, “वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्देशनानुसार अभिभावकहरूको सहयोगमा टोलटोलमा पुगेर पढाउन थालेका हौं, यसले विद्यार्थीको पढाईमा सहयोग पुगेको छ ।”

यसरी टोलटोलमा नै विद्यार्थीहरु जम्मा गराएर पठनपाठन गराउँदा अभिभावक र विद्यार्थी दुबै खुसी छन् । लामो समयपछि पढ्न पाउँदा विद्यार्थीहरू उत्साहित भएको बताइएको छ । त्यस्तै गाउँपालिका शिक्षा तथा खेलकूद शाखाबाट प्राप्त छात्रबृत्ति पनि टोल टोलमा नै वितरण गरिएको प्रअ लामाले बताउनुभयो । “अहिले दैनिक रुपमा विद्यालय सञ्चालन हुन्छ । निर्माण गरिएको समय तालिका अनुसार टोल टोलमा गएर पढाउने कामलाई निरन्तरता दिँदै आएका छौं”, उहाँले भन्नुभयो ।

रोशी गाउँपालिका–५ सिसाखानीका विद्या विकास प्राथमिक विद्यालयले पनि विद्यार्थीको सिकाईलाई निरन्तरता दिनका लागि टोल टोलमा गएर सिकाई सहजीकरणको कामलाई अगाडि बढाएको छ । विद्यालयका प्रधानाध्यापक शेरबहादुर लामाले शिक्षा तथा खेलकूद शाखाको निर्देशनानुसार निरन्तर रुपमा विद्यालय सञ्चालन र सिकाई प्रक्रियालाई निरन्तरता दिने कार्य भइरहेको बताउनुभयो ।

यसअघि नै गाउँपालिकाले निरन्तरता दिँदै आएको रेडियो शिक्षा कार्यक्रमलाई अहिले पनि जारी राखिएको छ । जेठ २२ गतेबाट वैकल्पिक सिकाई सहजीकरणलाई निरन्तरता दिदै आएको शिक्षा तथा खेलकूद शाखाका प्रमुख रामबहादुर तामाङले बताउनुभयो । वैकल्पिक सिकाई कार्यविधि–२०७७ अनुसार रेडियो, अनलाइन र अन्य पहुँचमा समेत नभएका विद्यार्थीको हकमा कसरी सिकाई प्रक्रियालाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा सबै विद्यालयले कार्ययोजना बनाइरहेको उहाँको भनाइ छ । गाउँपालिकाअन्तर्गत ६९ सामुदायिक र तीन संस्थागत गरी कूल ७२ वटा विद्यालयमा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिहेको छ ।

५) एक महिनाभित्र युरिया मल आउने

पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले राससलाई बताउनुभयो । उहाँले बङ्गलादेशबाट नेपालको लागि आउने ५० हजार मेट्रिक टन युरिया मलमध्ये पर्सा जिल्लाका लागि २५ हजार मेट्रिकटन हुने भएकाले लामो समयदेखि देखिएको मलको अभाव समाप्त हुने बताउनुभयो ।

सो कार्यालयले धान खेतीलाई लक्षित गरी पर्सा जिल्लामा असारसम्म युरिया मल विक्री गरेको थियो तर मल सकिएकोले सोको अभाव हुन गएको हो । सो कार्यालयले प्राप्त गरेको मल प्रदेश नं २, ३ र ४ को १६ वटा कार्यालयमा पठाउँदै आएको छ ।

यसैगरी सो कार्यालयले आर्थिक वर्ष २०७६÷०७७ मा युरिया र डएपी मल छ÷छ हजार मेट्रिक टन तथा पोटास सात सय टन बिक्री गरेको छ । गत पुस महिनामा मल ल्याउने ठेक्का पाएका शैलुंग इन्टरप्राइजेज र होनीको मल्टिपलले समयमा रासायनिक मल ल्याउन नसक्दा युरिया मलको अभाव देखिएको हो । मन्त्रालयले सापटीमा मल ल्याउन अनुमति दिएपछि कृषि सामग्री कम्पनी लिमिटेडले सात दिनको समय राखेर बोलपत्र (टेण्डर) आह्वान गरिसकेको छ ।

समयमा रासायनिक मल नआउँदा यस भेगमा गरिने मकै, धान, मसुरो लगायत वर्खेबाली खेती प्रभावित हुने किसानको भनाइ छ । पर्सामा ४६ हजार हेक्टरमा धान खेती हुँदै आएको छ ।

६) मृतकका परिवारलाई दुई लाख सहयोग

लमजुङमा चट्याङबाट मृत्यु भएका बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको परिवारलाई राहतस्वरुप रु दुई लाख प्रदान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति लमजुङले राहतस्वरुप रु दुई लाख मृतकका परिवारलाई आज सहयोग उपलब्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले मृतक विकको आमा जुठी विकलाई रु दुई लाख हस्तान्तरण गर्नुभयो ।

नेपाल सरकारको नियमानुसार उक्त रकम परिवारलाई मृतक सन्तको काजकिरियाका लागि सहयोग पुग्ने प्रजिअ शर्माले विश्वास व्यक्त गर्नुभयो । परिवार गुमाउँदा ठूलो चोट पुगे पनि सरकारको राहतले आलो घाउमा मलम लगाउने प्रयास गरेको छ । उक्त समितिले मृतक परिवारलाई मृत्यु भएको २४ घण्टा नपुग्दै उक्त राहत वितरण गरेको छ । मृतक छोरा बुहारी र नातिको काजकिरिया गर्नका लागि केही सहयोग पुग्ने उहाँको भनाइ छ ।

उक्त समितिले मृत्यु भएको केही घण्टामा नै मृतकका परिवारलाई राहत उपलब्ध गराएको छ । रकम हस्तान्तरण कार्यक्रममा सोही वडाका वडाध्यक्ष भोजबहादुर रिमाल, आफन्त तथा स्थानीयवासीको सहभागिता रहेको थियो । सोमबार साँझ चट्याङबाट घाइते भई जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृतक विकको राति नै मृत्यु भएको थियो ।

मृतकको शवपरीक्षण गरी आज दाहसंस्कार गरिएको छ । मृतक विकको आमा, श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ । त्यस्तै सोही चट्याङबाट सोही गाउँकी २२ वर्षीय घाइते चिजा गुरुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि आज दिउँसो डिस्चार्ज हुनुभएको छ । घाइते गुरुङ करीब २२ घण्टाको उपचारपश्चात् निको भएर घर फर्किनु भएको हो । घाइते गुरुङको उपचार खर्च उक्त समितिले व्यहोर्ने प्रजिअ शर्माले बताउनुभयो ।

७) नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही क्रममा आज नेप्से २२.९१ ले ओरोलो लागेर एक हजार ५४६.१५ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.८४ ले ओरोलो लागेर ३०७.३९ मा पुगेको छ । कूल १९९ कम्पनिको ७८ लाख ५६ लाख ७८८ कित्ता शेयर रु दुई अर्ब ८१ करोड २८ लाख ५६ लाख ५८४ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहकै शेयर ओरोलो लागेको छ । बैंकिङ २२.३६, व्यापार २.१३, होटल १५.०६, विकास बैंक ४०.३, जलविद्युत् २४.९१, वित्त १२.४९, निर्जीवन बीमा ११२.६६, उत्पादन ३५.०४, अन्य ७.२२, लघुवित्त २३.२४, जीवन बीमा १०९.४७ र सामूहिक लगानी कोष ०.०८ ले ओरालो लागेको छ ।

कारोवारका आधारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३१ करोड ९५ लाख ४४ हजार १८३ बराबरको कारोवार भएको छ । नेपाल बैंक लिमिटेड रु १९ करोड ११ लाख ११ हजार १८६, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ४४ लाख ७६ हजार ८२३, एनएमबी बैंक रु सात करोड ४२ लाख २४९, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी रु सात करोड आठ लाख ५३ हजार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु छ करोड २३ लाख ६७ हजार ७८७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

यूनाइटेड फाइनान्स ६.८२, बरुण हाइड्रोपावर ४.६५, पञ्चकन्या माई हाइड्रोपार ३.६७ र तारागाँउ रिजेन्सी होटल ३.२९ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले २.१३ प्रतिशतले कमाएका छन् । त्यस्तै, लिवर्टी इनर्जी ९.८८, घलेम्दी हाइड्रो ९.४७, यूनाइटेड मोदी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर ८.०५ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ७.९५ प्रशितले गुमाएका छन् ।

८) मालपोतमा कुपन सिस्टम लागू

मालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन सेवाग्राहीका लागि कुपन सिस्टम लागू गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि यसअघि अपनाइएका सावधानीले सेवाग्राहीको भीड कम नभएपछि कार्यालयले कुपन सिस्टम लागू गर्ने भएको हो । मालपोत कार्यालयले दैनिक ३५ देखि ४० जना सेवाग्राहीलाई मात्र सेवा दिने गरी कुपन सिस्टम लागू गर्न लागिएको मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले जानकारी दिनुभयो । “यसअघि एक दिनमा एक स्थानीय तहका सेवाग्राहीको काम गर्दै आएका थियौँ”, कार्यालय प्रमुख चन्दले भन्नुभयो, “त्यो सम्भव देखिएन । सेवाग्राहीको भीड थेग्न सक्ने सामथ्र्य नहुँदा कुपन सिस्टम शुरु गर्नु परेको हो ।”

कुपन सिस्टम शुरु गरेपछि सेवाग्राहीले पहिलेको जस्तो हप्ता दिनसम्म सेवा लिनका लागि पर्खनु नपर्ने तर दिनमा ३५ देखि ४० वटा कुपनमात्र वितरण गरिने भएको हुँदा कार्यालयमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड कार्यान्वयन हुने मालपोत कार्यालयको विश्वास छ । गत भदौ ४ गतेदेखि कैलालीमा भएको निषेधाज्ञा असोज १ गते खुलेसँगै मालपोत कार्यालयले हप्ताको ६ दिनमा एक स्थानीय तह रहने गरी समय निर्धारण गरेको थियो ।

आइतबार टीकापुर नगरपालिका, सोमबार लम्कीचुहा नगरपालिका, मङ्गलबार जानकी गाउँपालिका, बुधबार बर्दगोरिया गाउँपालिका, बिहीबार जोशीपुर गाउँपालिका र शुक्रबार महुन्याल गाउँपालिका र भजनी नगरपालिकाका सेवाग्राहीलाई सेवा दिने गरी सूचना जारी गरेको थियो । आइतबारदेखि लागू हुने गरी जारी भएको मालपोत कार्यालयको सूचना तीन दिन पनि टिकेन । “हामीले एक हप्ताका लागि यो सूचना जारी गरेको तर यसले समस्या समाधानभन्दा झनै बल्झायो”, चन्दले भन्नुभयो, “तत्काल उक्त सूचनालाई परिमार्जन गरेका छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएरमात्र कार्यालय प्रवेश गरिदिन सेवाग्राहीलाई आग्रहसमेत गर्दछु ।”

पहिलेको सूचनाको चौतर्फी विरोध र आलोचना हुन थालेपछि मालपोत कार्यालयले नयाँ शैली अपनाएको हो । कुपन बिहान १० देखि साढे १२ बजेसम्म मात्र वितरण गरिने भन्दै कार्यालय प्रमुख चन्दले उक्त कुपन दोस्रो कार्यान्वयन नहुने जानकारी दिनुभएको छ । “कोरोनाका कारण सबैभन्दा जोखिमयुक्त क्षेत्र मालपोत पनि हो । देशैभरिका मालपोत कार्यालयहरुले आ–आफ्नो योजनाअनुसार स्वास्थ्य मापदण्ड अपनाई काम गर्दै आएका छन्”, कार्यालय प्रमुख चन्दले भन्नुभयो, “नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाउन पनि आवश्यक छ भने भीडभाड बढी हुने भएका कारण कर्मचारीहरु जोखिममा छन् ।”

उहाँले कुपन लिनका लागि सेवाग्राही स्वयम् लिखित फाइल वा निवेदन ल्याएर आउनुपर्ने भन्दै भनसुन र फोन सम्पर्कबाट कुपन रोक्ने काम नहुने बताउनुभयो । १३ वटा स्थानीय तह रहेको कैलाली जिल्लामा सातवटा स्थानीय तहका सेवाग्राहीले मालपोत कार्यालय टीकापुरबाट सेवा लिँदै आएका छन् । त्यसमा पनि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाका सेवाग्राही भने अत्यधिक रहेको मालपोत कार्यालय प्रमुख चन्द बताउनुहुन्छ ।

९) मनसुन सकिने समयमा थप सक्रिय, बाढी पहिरोको जोखिम कायमै

केही दिन अघि भारतमा उच्च चापीय क्षेत्र बनेको थियो । त्यसले मनसुन हराएर मौसम खुल्ने अनुमान मौसमविद्ले गरेका थिए । त्यसैको प्रभाव दुई÷चार दिन नेपालमा पनि मौसम सफा बनेको थियो तर भारतमा बनेको उच्च चापीय क्षेत्र एकासी विलाएर पुनः न्यून चापीय क्षेत्र बन्यो । सोही क्षेत्रका कारण मौसम पूर्ण बदलीमा परिणत भएको छ । यसपालिको मनसुन सकिने समय सेप्टेम्बर २३ अर्थात् बुधबार हो, तर आजदेखि भने मुलुकभर नै मनसुन सक्रिय भएको छ । यसले अझै केही दिन मनसुसन लम्बिने पक्का भएको छ । मनसुन अक्टोबरसम्म पुग्ने अनुमान मौसमविद्ले गरेका छन् ।

मौसमविद् मिनकुमार अर्यालले अबको केही दिन मुलुकभर नै मौसम बदली रही धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारती वर्षा हुने जानकारी गराउनुभयो । मध्य र पूर्वमा अहिले पूर्ण बदली छ । राति अझै वर्षा हुने क्रम बढ्ने छ । अहिले सुदूरपश्चिममा भने अलि कम बदली रहे पनि रातीदेखि भने बढ्नेछ र केही स्थानमा वर्षा हुने जनाइएको छ । “देशका धेरै जसो स्थानमा वर्षा हुने र थोरै स्थानमा भारी वर्षा हुने अनुमान छ, यो क्रमम तीन दिनसम्म नै रहन्छ । कतिपय स्थानमा झरी नै पर्छ”, अर्यालले भन्नुभयो ।

न्यून चापीय क्षेत्र विस्तारै उत्तरपश्चिम आउँदै छ । यसरी आउनु भनेको नेपालको मौसम बदलीमा सहयोग गर्नु हो । अहिले पश्चिमतिर अलि माथि आउने र त्यसपछि मध्य पूर्वतिर सर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय रेखा नेपाल नजिक आउँदा भारी वर्षाको सम्भावना हुन्छ ।

विगतमा तीन÷चार दिन नेपालमा राम्रो घाम लागेको थियो । छिटफुटबाहेक मौसम बदली थिएन । यो बेला भारतमा उच्च चापीय क्षेत्र बनिसकेको थियो । त्यो सर्दै नेपाल आउँदा अब विस्तारै यसपालिको मनसुन हट्ने विष्लेषण मौसमविद्ले गरिसकेको तर भारतमा बनेको त्यो उच्च चापीय क्षेत्र त्यहीँ विलाएर गयो र न्यून चापीय क्षेत्र बन्न पुग्यो । त्यसपछि फेरि मनसुन सक्रिय हुन थालेको हो ।

मौसम खुल्नका लागि मनसुनी हावाको प्रभाव उल्टो हुनुपर्ने तर अहिलेसम्म त्यसो हुन सकेको छैन । त्यसैले अझै केही हप्ता मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ । अहिले पूर्व र मध्य क्षेत्रमा रहेको मनसुनी प्रभाव बुधबारदेखि मध्य र केही पश्चिमतिर केन्द्रित हुनेछ । त्यसक्षेत्रमा आगामी तीन दिन केही समय पानी रोकिने र बदली कम हुने देखिए पनि मुलुकभर नै मनसुन सक्रिय हुने र केही स्थानमा भारी वर्षा गराउने छ ।

यसपालि औषतभन्दा बढी नै वर्षा भइसकेकाले जमिन गलेको अवस्थामा थोरै पानी पर्दा नै धेरै क्षति हुने हुँदा उच्च सावधानी अपनाउन मौसमविद्ले सबैमा अनुरोध गरेका छन् । यसपालि मनसुनका बेला ठाउँठाउँमा अतिवृष्टि भएको छ । वर्षभरिको पानी पर्ने अवस्थालाई मूल्याङ्कन गर्दा २४० प्रतिशत पानी परेकाले बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । प्राप्त विवरणअनुसार बाढी पहिरोबाट वैशाखयता ३७५ को मृत्यु, १०० बेपत्ता र ४२० घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २७२ को मृत्यु र ७४ वेपत्ता भए । अधिकांश घटना जेठ ३० गते मनसुन सक्रिय भएपछि घटेको छ । यसपालि नसोचेको क्षेत्रमा अपत्यारिला घटना भएका छन् ।

हाल उत्तरपूर्व बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ । उक्त न्यून चापीय क्षेत्र पश्चिम र उत्तरपश्चिम सर्दैछ । यसरी सर्नु भनेको नेपालमा बदली हुनु हो । नेपालको प्रदेश १, २ र वाग्मती प्रदेशमा पूर्ण बदली र देशका अन्य प्रदेशमा सामान्य बदली रहेको छ । अहिले वाग्मती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मध्यम वर्षा भईरहेको छ ।

आज राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा र प्रदेश नं १ का १ र २ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको र राति गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिमका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

नेपालको बाढी पूर्वाधनुमान महाशाखाका अनुसार आज रातिदेखि देशका अधिकांश नदीमा बहाव बढ्ने र असोज ७–१० गते देशै भरका नदीमा बहाव बढ्ने तर सतर्कता तलै हुने जनाइएको छ । असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न वा सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत जनाइएको छ । आज मुख्यगरी प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुर तथा गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा र नवलपुरमा उच्च जोखिम रहेको जनाइएको छ । त्यस आसपासका अन्य जिल्लासमेत जोखिममा रहेको छ ।

महाशाखाले कन्काइ वाग्मती, तिनाउ वाणगङ्गा, पश्चिम राप्ती बबईका सहायक नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान सुर्खेत र दैलेख जिल्ला पनि बाढी पहिरोको मध्यम जोखिममा रहेको जनाइएको छ ।

१०) खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १६ देखि शुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट नियमित उडानका लागि अक्टोबर महिनाको उडान सार्वजनिक गरेको छ । मन्त्रालयले यसअघि सेप्टेम्बर महिनाका लागि उडान तालिका सार्वजनिक गरेको थियो । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने राससलाई जानकारी दिनुभयो । ती मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको छ । सचिव अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत तीन मुलुकमा अन्तर्राष्ट्रिय उडान सङ्ख्या थपिएको र अहिले भइरहेका गन्तव्यमा नियमित उडान जारी रहने पोष्ट गर्नुभएको छ ।

उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ । अक्टोबर महिनाका लागि दैनिक १५ वटासम्म उडान अनुमति दिइएको छ । थप भएको उडान तालिकाअनुसार दोहामा नेपाल एयरलाइन्सका न्यारोबडी र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान भर्नेछन् । कुवेतबाट जजिरा एयरवेजले उडान गर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले नियमित उडान गर्ने जनाइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार