1478958692 banner ad format

 
 

काठमाडाैं ।  भूकम्पले क्षतिग्रस्त वागदरबारलाई काठमाडौँ महानगरपालिकाले वागदरबार परिसरमा निर्मित ‘हरिभवन’ दाबी गर्दै नयाँ निर्माणका लागि प्रस्तावित ‘डिजाइन’ सार्वजानिक गरेको छ । 

Kathmandu metropolitan city Reconstruction

पुरातत्व विभाग तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको सुन्धारास्थित उक्त भवन ऐतिहासिक ‘वागदरबार’ भएको दाबी गर्दै नभत्काउन आग्रह गरेका छन् ।  दुवै निकायको आग्रहलाई बेवास्ता गर्दै महानगरले भने पुरानो भवन भत्काएर नयाँ भवन निर्माणका लागि नक्सा सार्वजनिक गरेको छ । 

महागरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरेर एक हिस्सामा आधुनिक टावर र त्यससँगै जोडेर परम्परागत ‘डिजाइन’को नयाँ भवन निर्माण गर्न लागिएको जानकारी दिएको छ ।  महानगरले बाहिरी डिजाइन सार्वजनिक गरे पनि भित्री संरचना कस्तो रहन्छ भन्ने विषयमा छलफलकै चरणमा रहेको जानकारी दिएको छ ।  

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नयाँ भवन ऐतिहासिक, लिच्छविकालीन र आधुनिक शैलीको मिश्रणमा निर्माण गरिने जानकारी दिनुभयो ।  महानगरका अनुसार भवनको पहिलो भाग ऐतिहासिक वागदरबार भवनको स्वरूप रहने गरी वागदरबारकै आकारमा तीन तला निर्माण हुनेछ भने दोस्रो भाग लिच्छविकालीन परम्परागत शैलीको डिजाइनमा हुनेछ ।  मल्लकालीन देखिन उक्त भाग साढे छ तलाको हुने महानगरले जानकारी दिएको छ ।  

यस्तै प्रस्तावित भवनको डिजाइनको तेस्रो भाग आधुनिक शैलीको हुने र त्यसमा महानगरपालिकाको पहिचान दिने भ्यू टावरको स्वरूपमा निर्माण गरिने पनि महानगरले जानकारी दिएको छ ।  

यो भाग १५ तलाको हुने र सबैभन्दा माथिको तलाबाट काठमाडौँ उपत्यकालगायत विभिन्न हिमशृङ्खला दृश्यावलोकन गर्न सकिने जानकारी पत्रकार सम्मेलनमा दिइयो ।  भवनको डिजाइन गर्नुभएका इन्जिनियर प्रेमकुमार श्रेष्ठले भवनभित्र चार वटा परम्परागत मल्लकालीन शैलीका चोक प्रस्ताव गरिएको जानकारी दिनुभयो ।  उहाँले काठमाडौँमा लोप भएका पुरातात्विक चोकको स्वरूप भल्कने गरी डिजाइन गरिएको जानकारी दिनुभयो ।  

उहाँका अनुसार भवनको सम्पूर्ण प्यासेज, लबी र कोठामा उज्यालो हुने गरी डिजाइन प्रस्ताव गरिएको छ ।  त्यसैगरी भवन अपाङ्गतामैत्री हुनेछ भने दृष्टिविहीनका लागि साङ्केतिक टायल समेत राखिनेछ ।  

भवनको भूमिगत तलामा झन्डै दुई सय गाडी र एक सय मोटरबाइक पार्किङ गर्न सकिने सुविधा हुनेछ भने भवनमा आकाशे पानीको सङ्कलन तथा प्रयोग गर्न मिल्ने गरी तयार गरिनेछ ।  त्यसैगरी सोलार प्रणालीको जडान गरिने भवनमा लोप हुँदै गएका सम्पदा प्रदर्शनका लागि म्यु्जियम बनाइनेछ ।  १७ रोपनी सात आनामा फैलिएको उक्त भवन निर्माणका लागि एक अर्ब ५० करोड रुपियाँ लागत अनुमान गरिएको छ ।  उक्त भवन निर्माण सुरु भएको ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य महानगरको छ ।  

मेयर शाक्यले हाल महानगरपालिका रहेको भवन वागदरबार नभएर हरिभवन भएको र त्यसका लागि धेरै आधार भेटिएको स्पष्ट पार्नुभयो ।  साथै उहाँले पत्रकारको प्रश्नमा वागदरबारमा रहेको हरिभवन प्ुनःनिर्माण गर्ने विषयमा पुरातत्व विभाग र महानगरपालिकाबीच कुनै विवाद नरहेको दाबी गर्नुभयो ।  

प्रमुख शाक्यले २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भवन भत्काएर नयाँ निर्माण गर्न पुरातत्व विभागसँग सहमति लिइने समेत बताउनुभयो ।  उहाँले सार्वजानिक गरिएको बाहिरी डिजाइन अन्तिम भए पनि भित्री डिजाइनबारे छलफलकै चरणमा रहेको जानकारी दिनुभयो ।  भवनमा श्री ३ लेखिएका इँट्टा प्रयोग गरेको पाइएकाले उक्त भवन १९९० मा गएको महाभूकम्पपछि निर्माण भएको पुष्टि हुने पनि उहाँले दाबी गर्नुभयो । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood