1478958692 banner ad format

 
 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक प्रमाणीकरण गरेकी छिन् ।

KATHMANDU

यसमध्ये देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको मुलुकी देवानी (संहिता)रोचक छ। यसमा घरधनी र बहालमा बस्ने दुवैको दायित्व स्पष्ट रुपमा तोकिएको छ। यसको घर बहालसम्बन्धी व्यवस्थामा ‘घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने’ दायित्व घर बहालमा दिने व्यक्तिको तोकिएको छ। घरधनीले ‘बहालमा बस्ने व्यक्तिलाई सो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्नुपर्ने’ दायित्व पनि ऐनले तोकेको छ।

त्यस्तै घर बहालमा बस्नेले निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने, बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिव तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने, आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने जस्ता दायित्व ऐनले तोकेको छ।

बहालमा बस्नेले घर छाड्नु परे वा घरधनीले हटाउनु परेमा कम्तिमा ३५ दिन अगाडि नै लिखित सूचना दिनुपर्ने व्यवस्था ऐनमा गरिएको छ।घरधनीले आफैलाई आवश्यक पर्‍यो भनी बहालवालालाई हटाएको अवस्थामा आफैले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन नपाउने निषेधात्मक व्यवस्था पनि ऐनमा गरिएको छ।

अन्य व्यक्तिलाई बहालमा दिनै परेमा र पहिला बहालमा बस्ने व्यक्तिले बहाल लिन चाहेमा उसले प्राथमिकता पाउनु पर्ने व्यवस्था ऐनमा छ। राष्ट्रपतिले प्रमाणिकरण गरेको मितिले एक वर्षपछि यो लागू हुनेछ।

घर बहाल सम्बन्धी व्यवस्थाको पूर्ण विवरण

४०१. बहालमा दिएको मानिनेः कसैले आफ्नो हक, भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयको लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ।

स्पस्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “घर” भन्नाले कुनै घर, घरको तल्ला, एकाई, कोठा वा सो घरले चर्चेको जग्गा वा लगापात समेतलाई जनाउँछ।

४०२. असुरक्षित घर बहालमा दिन वा लिन नहुनेः कसैले पनि मानव बसोवास गर्नको लागि स्वास्थ्य तथा सुरक्षाको दृष्टिले बसोबास गर्न उपयुक्त नदेखिएको घर बहालमा दिन वा लिन हुँदैन। तर गोदम, पशुपालन, भण्डार, शीत भण्डार जस्ता गैर आवासीय प्रयोजनको घरको गुणस्तर घर बहाल सम्झौतामा तय गरे बमोजिम हुनेछ।

४०३. घर वहालको अवधिः (१) घर वहालको अवधि पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गरे बमोजिम हुनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि घर वहालको अवधि समाप्त भएपछि घर वहालमा लिने दिने व्यक्तिहरुको सहमतिमा सो अवधि पटक पटक थप गर्न सकिनेछ।

४०४. बहालमा दिंदा सम्झौता गर्नु पर्नेः (१) कुनै व्यक्तिले घर बहालमा दिंदा देहायका कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्नेछ : –

(क) घर वहाल लिने र दिने व्यक्तिको पूरा नाम र ठेगाना, नागरिकता नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र,

(ख) घर रहेको ठाउँ र कित्ता नम्बर,

(ग) बहालमा लिने प्रयोजन,

(घ) बहाल शुरु हुने मिति,

(ङ) बहाल कायम रहने अवधि,

(च) मासिक बहाल रकम,

(छ) बहाल बुझाउने समय र प्रक्रिया,

(ज) घरमा प्रयोग भएका विजुली, खानेपानी, टेलिफोन आदिको महसुल बुझाउने दायित्व,

(झ) घर बहाल कर लिनु पर्ने भए सो रकम भुक्तानी गर्ने कुरा,

(ञ) बहालमा लिएको घरको बीमा गर्नु पर्ने भए सो सम्बन्धी कुरा,

(ट) बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा,

(ठ) बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने नपाउने कुरा, र

(ड) अन्य आवश्यक कुराहरू।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि मासिक दश हजार रूपैयाँसम्मको घर बहालमा लिन दिन बहाल लिने व्यक्तिसँग लिखित सम्झौता गर्नु पर्ने छैन।

(३) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहाल बस्ने व्यक्तिको फोटो समेत टाँस गर्नु पर्नेछ।

(४) उपदफा (१) बमोजिमको सम्झौताको लिखतमा बहालमा लिने दिने व्यक्ति र दुवै पक्षका कम्तीमा दुईजना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक एक प्रति बहालमा लिने दिने व्यक्तिले लिनु पर्नेछ।

(५) उपदफा (४) बमोजिमको प्रक्रिया पूरा गरेपछि बहाल सम्बन्धमा घरधनी र बहालमा लिने व्यक्ति बीच सम्झौता भएको मानिनेछ।

४०५. घरको विवरण दिनु पर्नेः कसैले कुनै घर बहालमा दिंदा सो घरको बनौट सम्बन्धमा कुनै कमजोरी वा त्रुटी भए त्यसको विवरण घर बहालमा लिने व्यक्तिलाई सम्झौता गर्दाका बखत दिनु पर्नेछ।

४०६. मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेः (१) घर धनीले आफ्नो घर बहालमा दिनु अघि बहालमा दिने घरमा रहे भएका मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम तयार गरिएको विवरणमा उल्लिखित मालसामान वा वस्तु बहालमा लिने व्यक्तिले प्रयोग गर्ने भएमा त्यस्तो मालसामान वा वस्तु बुझी त्यसको भरपाई घरधनीलाई दिनु पर्नेछ।

४०७. घरधनीको दायित्वः घर बहालमा दिने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछ : –

(क) बहालमा बस्ने व्यक्तिलाई सम्झौता बमोजिम घर उपयोग गर्न दिनु पर्ने,

(ख) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरमा उपलब्ध भएसम्म पानी तथा विजुलीको आपूर्ति र ढल निकास तथा सरसफाइको व्यवस्था गर्नु पर्ने,

(ग) बहालमा बस्ने व्यक्तिलाई सो घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा, हैरानी वा अशान्ति हुनबाट रोक्ने,

(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने।

४०८. बहालमा बस्ने व्यक्तिको दायित्वः बहालमा बस्ने व्यक्तिको दायित्व देहाय बमोजिम हुनेछः–

(क) निर्धारित समयमा घरधनीलाई बहालको रकम भुक्तानी गर्नु पर्ने,

(ख) बहालमा लिएको घर आफ्नो घर सरह मानी सरसफाइ, उचित र मनासिव तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नु पर्ने,

(ग) आफू बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुने जस्ता कुनै काम गर्न नहुने,

(घ) सम्झौतामा उल्लिखित अन्य कुराहरू पालन गर्ने।

४०९. बहाल बुझाउने तरिका र प्रक्रियाः (१) बहालमा लिने व्यक्तिले सम्झौतामा लेखिएको तरिका र प्रक्रिया बमोजिम घरधनीलाई बहाल बुझाउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम बहाल बुझाउने सम्बन्धमा सम्झौतामा कुनै तरिका र प्रक्रिया उल्लेख नभएकोमा बहालमा बस्ने व्यक्तिले प्रत्येक महिना भुक्तान भएको सात दिनभित्र घरधनीलाई बहाल बुझाउनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम बहाल बुझाउँदा चेक वा नगदै रूपमा बुझाउन सकिनेछ।

(४) यस दफा बमोजिम घरधनीले नगदै बहाल बुझेकोमा त्यसको भरपाई गरी बहाल बुझाउने व्यक्तिलाई दिनु पर्नेछ।

४१०. कर तथा अन्य दस्तुर बुझाउने दायित्वः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको कानून बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनु पर्ने दायित्व घरधनीको हुनेछ।

(२) उपदफा (१) बमोजिम घरधनीको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा बस्ने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफैंले बुझाउन सक्नेछ।

(३) उपदफा (२) बमोजिम बहालमा बस्ने व्यक्तिले कर वा दस्तुरको रकम बुझाएकोमा निजले घरधनीसँग त्यस्तो रकम बहाल दिंदा कटाउन पाउनेछ।

४११. घरको बीमा गराउनु पर्नेः (१) औद्योगिक वा व्यावसायिक प्रयोजनको लागि घर बहालमा लिने व्यक्तिले त्यस्तो घरको सुरक्षाको लागि घरको बीमा गराउनु पर्नेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “औद्योगिक वा व्यावसायिक प्रयोजन” भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एक भन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य सम्झनु पर्छ।

(२) उपदफा (१) बमोजिम बीमा गराउनु पर्ने दायित्व भएको व्यक्तिले घरको बीमा नगराएमा र सो घर दैवी प्रकोप, अशान्ति, हुलदङ्गा, आगजनी जस्ता कारणबाट क्षति हुन गएमा त्यसको जिम्मेवारी घर बहालमा लिने व्यक्तिले व्यहोर्नु पर्नेछ।

४१२. बहालमा लिएको घरको मर्मत तथा सम्भारः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक बहालमा दिएको घरको आवश्यक मर्मत सम्भार गर्ने दायित्व बहालमा लिने व्यक्तिको हुनेछ।

(२) सम्झौतामा बहालमा लिएको घरको मर्मत सम्भार घरधनीले गर्ने कुरा उल्लेख भएमा र बहालमा लिएको कुनै घरको मर्मत सम्भार गर्नु पर्ने भएमा बहालमा लिने व्यक्तिले समयमानै घरधनीलाई लिखित सूचना गर्नु पर्नेछ।

(३) उपदफा (२) बमोजिम सूचना गर्दा पनि घरधनीले बहालमा दिएको घरको मर्मत सम्भार नगरेमा बहालमा बसेको व्यक्तिले त्यस्तो घरको आफैंले मर्मत सम्भार गर्न सक्नेछ।

(४) उपदफा (३) बमोजिम घरको मर्मत सम्भार गर्दा लागेको बिल बमोजिमको रकम बहालमा बस्ने व्यक्तिले घर धनीलाई दिनु पर्ने बहाल रकमबाट कटाई लिन पाउनेछ।

(५) उपदफा (४) मा जुनसुुकै कुरा लेखिएको भए तापनि घरको मर्मत सम्भार गर्दा अस्वाभाविक वा अनावश्यक रूपमा भएको खर्चको रकम तिर्न घरधनी बाध्य हुने छैन।

४१३. बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्नेः (१) घरधनीसँग सम्झौता हुँदा आफूले बहालमा लिएको घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने कुरा उल्लेख भएकोमा बहालमा लिने व्यक्तिले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई सम्झौताको अधीनमा रही बहालमा दिन सक्नेछ।

(२) उपदफा (१) बमोजिम बहालमा लिने व्यक्तिले घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई बहालमा दिएकोमा त्यसरी बहालमा लिने व्यक्तिको नाम र ठेगाना पन्ध्र दिनभित्र घरधनीलाई लिखित रुपमा दिनु पर्नेछ।

(३) उपदफा (१) बमोजिम घर बहालमा लिने व्यक्तिले आफूले लिएको घर वा त्यसको कुनै अंशको बहाल त्यसरी बहालमा राख्ने व्यक्तिलाई बुझाउनु पर्नेछ।

(४) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा यस परिच्छेद बमोजिम बहालवालाले पालन गर्नु पर्ने सबै शर्त र व्यवस्था पालन गर्नु पर्नेछ।

(५) उपदफा (१) बमोजिम बहालमा लिएको व्यक्तिले बहालमा बस्दा शर्त बमोजिम काम नगरेमा, निजले बहालमा लिएको घरको सरसफाई, संरक्षण वा सुरक्षा नगरेमा वा निजले बहालमा बस्ने अन्य व्यक्ति वा छिमेकीलाई हैरानी, दुःख वा अशान्ति हुने कुनै काम गरेमा बहालमा दिने व्यक्तिले निजलाई जुनसुकै बखत घरबाट हटाउन सक्नेछ।

४१४. स्वीकृति बिना संरचना हेरफेर गर्न नहुनेः (१) सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक घर बहालमा लिने व्यक्तिले घर धनीको लिखित स्वीकृति बिना बहालमा लिएको घरको कुनै संरचना भत्काउन, हटाउन, बिगार्न वा घरमा कुनै भाग थप गर्न वा अन्य कुनै किसिमले हेरफेर गर्न पाउने छैन।

(२) उपदफा (१) विपरीत कुनै काम गरी बहालमा लिएको व्यक्तिले घरधनीलाई कुनै नोक्सानी पुर्‍याएमा घरधनीले बहालमा बस्ने व्यक्तिबाट आफूलाई परेको नोक्सानीको क्षतिपूर्ति भरार्ई लिन पाउनेछ।

४१५. सम्झौता विपरीत घर प्रयोग गर्न नहुनेः बहालमा लिने व्यक्तिले घरधनीको पूर्व स्वीकृति विना जुन प्रयोजनको लागि घर बहालमा लिएको हो सो बाहेक अन्य कामको लागि घर प्रयोग गर्न पाउने छैन।

४१६. सम्झौता हेरफेर गर्न सक्नेः बहालमा लिने दिने व्यक्तिले आपसी समझदारीमा घर बहाल सम्झौतालाई आवश्यक हेरफेर गर्न सक्नेछन्।

तर त्यस्तो सम्झौता यस संहिता बमोजिम रजिष्ट्रेशन पारित भएको रहेछ भने सम्बन्धित निकायमा निवेदन दिई हेरफेर गर्नु पर्नेछ।

४१७. निरीक्षण गर्न सक्नेः (१) घरधनीले बहालमा बस्ने व्यक्तिलाई अग्रिम जानकारी दिई बहालमा दिएको घरको समय समयमा निरीक्षण गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम घरधनीले बहालमा दिएको घर निरीक्षण गर्न चाहेमा निजलाई निरीक्षण गर्न दिनु बहालमा बस्ने व्यक्तिको कर्तव्य हुनेछ।

४१८. बहालमा लिएको घर छाड्न सक्नेः (१) बहालमा बस्ने व्यक्तिले देहायको अवस्थामा घर बहालको अवधि समाप्त नहुँदै बहालमा लिएको घर छाड्न सक्नेछः–

(क) घरधनीले दफा ४०७ बमोजिम आफ्नो दायित्व पूरा नगरेमा

(ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो सो कामको लागि निजलाई घर नचाहिने भएमा

(ग) घरधनीले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा।

(२) उपदफा (१) को खण्ड (ख) बमोजिमको अवस्थामा बहालमा बस्ने व्यक्तिले घर छाड्नु परेमा सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक कम्तीमा पैंतीस दिन अगावै घरधनीलाई लिखित रुपमा सूचना दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम सूचना नदिई बहालमा बस्ने व्यक्तिले घर छाडेमा घरधनीले सो अवधिको घरको बहालको रकम बहालमा बस्नेले अग्रिम दिएको भए सोबाट कट्टा गर्न र नदिएको भए निजबाट भरार्ई लिन पाउनेछ।

४१९. बहालमा बस्ने व्यक्तिलाई हटाउन सक्नेः (१) देहायको अवस्थामा घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाउन सक्नेछः–

(क) बहालमा बस्ने व्यक्तिले दफा ४०८ बमोजिम आफ्नो दायित्व पूरा नगरेमा,

(ख) बहालमा बस्ने व्यक्तिले बहालमा लिएको घरभित्र कानूनले निषेध गरेको कसूरजन्य कुनै क्रियाकलाप गरेमा,

(ग) घर धनी आफैंलाई घर आवश्यक भएमा,

(घ) घरबाट मानिस हटाई घरको मर्मत सम्भार गर्नु परेमा,

(ङ) प्राविधिक तथा स्वास्थ्यका दृष्टिले बहालमा दिएको घरमा मानिस बसोबास गर्न उपयुक्त नदेखिएमा,

(च) घर वहालको अवधि समाप्त भएमा, वा

(छ) बहालमा बस्ने व्यक्तिले सम्झौता वा यस परिच्छेद विपरीत कुनै काम गरेमा,

(ज) दफा ४१३ को उपदफा (५) को अवस्था कायम भएमा।

(२) उपदफा (१) को खण्ड (ग) बमोजिमको अवस्थामा बहालमा बसेको व्यक्तिलाई घरबाट हटाउनु परेमा घरधनीले कम्तीमा पैंतीस दिनको अग्रिम लिखित सूचना दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिम घरधनीले बहालमा बसेको व्यक्तिलाई हटाएकोमा त्यस्तो घर आफूले प्रयोग नगरी तीन महिनासम्म अन्य व्यक्तिलाई बहालमा दिन पाउने छैन।

(४) उपदफा (३) बमोजिम घरधनीले त्यस्तो घर तीन महिनाभित्र अन्य व्यक्तिलाई बहालमा दिने भएमा र पहिला बहालमा बस्ने व्यक्तिले त्यस्तो घर बहालमा लिन चाहेमा निजले प्राथमिकता पाउनेछ।

४२०. घर बहालको सम्झौता समाप्त भएको मानिनेः देहायको अवस्थामा दफा ४०४ बमोजिम गरेको घर बहालको सम्झौता समाप्त भएको मानिनेछ : –

(क) बहालमा लिने व्यक्तिले घर छाडेमा,

(ख) घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाएमा,

(ग) बहालमा लिने दिने व्यक्तिले आपसी सहमतिमा सम्झौता रद्द गरेमा, वा

(घ) घर वहालको अवधि समाप्त भएमा।

४२१. मालसामान वा वस्तु दुरुस्त बुझाउनु पर्नेः (१) बहालमा लिने व्यक्तिले आफूले लिएको घर बहालबाट छाड्दा आफ्नो जिम्मामा रहेको मालसामान वा वस्तु गन्ती गरी तथा घर सफा वा रंगरोगन गर्नु पर्ने भए सो गरी घरधनीलाई दुरुस्त बुझाउनु पर्नेछ।

(२) घर बहालमा लिने व्यक्तिले आफ्नो जिम्माको कुनै मालसामान वा वस्तु हराएमा वा हानि नोक्सानी गरेमा त्यस्तो मालसामान वा वस्तु वा सो मालसामान वा वस्तुको प्रचलित मूल्य बमोजिमको रकम बहालमा लिने व्यक्तिले घरधनीलाई दिनु पर्नेछ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दैनिक प्रयोग गर्दा खिइने वा नष्ट हुने मालसामान वा वस्तुको शोधभर्ना गर्न वा त्यस्तो मालसामान वा वस्तुको रकम दिन बहालमा लिने व्यक्ति बाध्य हुने छैन।

४२२. घर खाली गराउन सक्नेः (१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि घर बहालमा बसेको कुनै व्यक्ति बिना सूचना तीन महिना वा सोभन्दा बढी समयसम्म बहाल रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्वजनिक रूपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजका कुनै हकवाला वा प्रतिनिधि उपस्थित नभएमा घरधनीले स्थानीय निकायका प्रतिनिधि, प्रहरी कर्मचारी र त्यस्तो कर्मचारी उपलब्ध नभएमा स्थानीय दुईजना व्यक्ति साक्षी राखी बहालमा रहेको मानिसको मालसामान गन्ती गरी सो मालसामान आफ्नो वा कुनै मानिसको जिम्मा रहने गरी त्यस्तो घर खाली गराउन सक्नेछ।

(२) उपदफा (१) बमोजिम बेपत्ता भएको मानिस छ महिनाभित्र फर्की आएमा वा आफ्नो कुनै प्रतिनिधि पठाएमा घरधनीले बहाल वापतको बाँकी रकम लिई त्यस्तो मालसामान निजलाई फिर्ता दिनु पर्नेछ।

(३) उपदफा (२) बमोजिमको म्यादभित्र पनि बहालमा बस्ने व्यक्ति फर्की नआएमा वा कुनै प्रतिनिधि नपठाएमा घरधनीले स्थानीय निकाय र नजिकको प्रहरी कर्मचारीलाई जानकारी गराई त्यस्तो मालसामान आफूखुस गर्न पाउनेछ।
४२३. हदम्यादः यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले सो काम कारबाही भए गरेको मितिले तीन महिनाभित्र नालिस गर्न सक्नेछ ।

प्रकासित मिति

Loading...

 

yummyfood