annapurna add

1609229545 6i2XR

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा विशाल सभा गर्ने दाबी गरेको छ। सभामा कम्तिमा १ लाख मानिस उतार्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका सचिव विजय पौडेलले बताए। 'हामीले धेरै टाढाबाट जनतलाई बोलाएका छैनौं। धादिङ, नुवाकोट र काभ्रेपलाञ्चोक आसपासकालाई मात्रै बोलाएका छौं,'उनले भने,'प्रतिगमनविरूद्ध मानिसहरू आक्रोशित छन्। त्यसैले उनीहरू आन्दोलनका लागि उत्साही देखिएका छन्।'

उनले शुक्रबारको आन्दोलन परीक्षा भएको समेत बताए। केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले ८/९ ठाउँबाट जुलुसहरू आउने र त्यसपछि आमसभा हुने बताए। सबै ठाउँबाट जम्मा भएको जुलुस रत्नपार्कमा पुगेर आमसभामा परिणत हुने र सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने नेकपाले जनाएको छ।

अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले आफूहरूले प्रतिगमनविरूद्ध भद्र र शान्तिपूर्ण प्रदर्शन गर्ने बताए। 'अनेरास्ववियूले भोलि सिंहदरबरालाई मानव सागरले घेर्ने योजना बनाएको छ। आन्दोलन र प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारविरूद्ध दमन हुन खोजे हामीले प्रतिरोध गर्छौं,'उनले भने,'विद्यार्थीको ठूलो संख्या हामीसँग रहेकाले प्रदर्शन उत्साहजनक हुन्छ।'

सिंहदरबार आसपासमा निषेधित क्षेत्र तोकिएको छ नि? भन्ने जिज्ञासामा उनले आफूहरू सिंहदरबारभित्र नछिर्ने भएकाले यसको कुनै अर्थ नहुने बताए। सिंहदरबार घेर्ने तयारी पार्टीको नभई विद्यार्थीहरूको रहेको उनले बताए। जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ । केन्द्रीय सङ्घर्ष समितिले सभालाई पनि व्यवस्थित बनाउन आग्रह गरेको छ ।

रत्नपार्कमा शुक्रबार हुने विरोधसभामा काठमाडौँ उपत्यका र आसपासका जिल्लाका जनसमुदायको सहभागिता हुने नेकपाले जनाएको छ । विरोधसभा शुरु हुनुअघि राजधानीका विभिन्न स्थानबाट निकालिने जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल, मातृकाप्रसाद यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल भीमबहादुर रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा, योगेशकुमार भट्टराईलगायतले गर्ने बताइएको छ ।

यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । बैठकले विरोध प्रदर्शनमा व्यापक जनसहभागितासहित ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसङ्गठन तथा जनसमुदायमा अपिल गरेको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार