1478958692 banner ad format

 
 

काठमाण्डौ । निर्वाचनको संघारमा देशैभर बम विस्फोटको शृङ्खला चलिरहँदा नेपाली सेनाले हतियार सहित उत्रिने जनाएको छ ।

शान्ति सेनाबारे जानकारी दिने उद्देश्यले आइतबार रक्षा मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले निर्वाचन विरोधी गतिविधीप्रति सेना जानकार रहेको बताउँदै भने, ‘दुवै प्रहरीले स्थिती नियन्त्रणमा लिन नसके अत्याधुनिक (डेड्ली) हतियार सहित सेना परिचालित हुन्छ ।’

देशका विभिन्न भागमा पछिल्लो समय उम्मेदवार र सर्वसाधरणलाई लक्षित गरी भइरहेको बम विस्फोटका घटनालाई नेपाली सेनाले सुक्ष्म रूपमा हेरिरहेको प्रधान सेनापति क्षेत्रीले बताए ।

बम विस्फोटका घटनाको सार्वजनिक रूपमा जिम्मेवारी नलिए पनि सेना सहित चार वटै सुरक्षा निकायका प्रमुखले विस्फोटका घटनाहरूमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूकाे संलग्नता रहेको ठहर गरेकाे पनि उनले बताए । यसको जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत गराइसकिएको क्षेत्रीको भनाइ छ ।

विस्फोटको घटनामा विप्लव समर्थित कार्यकर्ताहरूको संलग्नता रहेको ठहर गरे पनि प्रधानसेनापति क्षेत्रीले सो पार्टीको नाम नलिई ‘उच्छृङ्खल र निर्वाचन विरोधी तत्त्व’ भनि टिप्पणी गरे । उनले निर्वाचनलाई मध्यनजर गरी सेनाले हवाई तथा स्थल गस्ती बढाइएको समेत जानकारी दिए ।

पत्रकार सम्मेलनमा रक्षामन्त्री भीमसेनदास प्रधानले निर्वाचन विरोधी गतिविधीमा संलग्न जोकोहीलाई सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका थिए । ‘सरकारले विगतमा पटक–पटक उनीहरूसँग वार्ता गरेकै हो । अहिले उनीहरू नै विद्रोही रूपमा देखिए’, प्रधानले भने ।

कार्तिक २८ र २९ मा क्यानडाको भ्यानकुभरमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा नेपालको तर्फबाट उठाइएका विषयवस्तुको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री प्रधानले भने, ‘राष्ट्रसंघले शान्ति सेनामा सहभागी देशहरू मध्ये नेपाललाई उच्च प्राथमिकतामा राखेको छ ।’ यसले नेपाली सुरक्षाकर्मीहरूलाई शान्ति सेनामा जाने ढोका थप खुलेको उनले बताए ।

शान्ति सेनामा अहिले झण्डै ४ हजार ५ सयको हाराहारीमा रहेका नेपाली सुरक्षाकर्मीको सङ्ख्यालाई बढाएर १३ हजार पुर्‍याउन राष्ट्रसंघ सकारात्मक रहेको उनले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood