Nepal Army KANTIPATHNEWSकाठमाडौं – नेपाली सेनाले सैन्य भर्ना छनोटका क्रममा अनियमितता गर्ने २७ जनालाई कारबाही गरेको छ । साउन १९ गते गोरखापत्रमा प्रकाशित विज्ञापनमा नेपाली सेनाको ४० भर्ना केन्द्रहरुमा ५ हजार ८ सय जना सैन्य पदको भर्ना छनौट प्रक्रिया भइरहेका केही केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा नेपाली सेनाले ४ जना सैनिक तथा २३ जना गैर सैनिक गरि २७ जनालाई अनुसन्धान गरि कारबाही अघि बढाएको नेपाली सेनाले जनाएको छ ।

सेनामा भर्ना खुलेपछि केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएको भन्दै व्यापक आलोचना भएको थियो । नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तरपश्चिम पृतना हेडक्वाटरमा भएको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं.५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई सैनिक निगरानीमा राखी अनुसन्धान शुरु गरेको सेनाले जनाएको छ ।

सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना कार्यालले जनाएको छ ।

यसैगरी सैन्य भर्ना केन्द्र श्री नं.२४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं.५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४ जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सेनाले जनाएको छ । त्यहाँका वास्तविक उम्मेदवारहरुको पनि खोजी कार्य भइरहेको छ । अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान थालेको सेनाले प्रस्ट पारेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने कुरालाई जोड दिँदै आएका छन् ।

सोही बमोजिम गत वर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक मेसिनको प्रयोग गरी उम्मेदवारहरुको भेरिफिेकसन गर्ने गरिएको छ ।

यस्तो व्यवस्थाले नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा हुने अनियमिततामा कमी आउनुका साथै त्यस्ता कारवाहीले संगठन शुद्धिकरण अभियानमा समेत टेवा पुर्याउने नेपाली सेनाको विश्वास छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...