annapurna add

117768131 613290106000365 283065797142843737 nलामो समयदेखि देखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रारम्भिक सहमति गरेर त्यसलाई मूर्तरूप दिने जिम्मा कार्यदललाई दिएका छन् । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलमा यस्ता अनुहार छन्, जो सम्भावित मन्त्रीको रुपमा हेरिएका छन् । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलबाहेक सबै नेता सम्भावित मन्त्री छन् ।

सहमतिबारे छलफल गर्ने कार्यदलमा हाल सरकारमा रहेका कोही पनि सहभागी छैनन् । कार्यदलमा संयोजक पौडेल, मुख्यमन्त्री पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहेका छन् । यीमध्ये मुख्यमन्त्री पोखरेलबाहेक सबै सम्भावित मन्त्री हुन् । अध्यक्षद्वयबीच शुक्रबार भएको प्रारम्भिक सहमतिमा सरकारका कामकारवाहीलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्ने भनिएको छ । मन्त्रिमण्डल पुनर्गठनका क्रममा सरकारमा २ वर्ष पूरा गरिसकेका प्रायः सबै अनुहार बाहिरिने स्रोतले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सन्दर्भमा प्रधानमन्त्रीले सकारात्मक रूपमा सोच्न सक्ने भए पनि अन्य सबै बाहिरिने सम्भावना रहेको छ । सचिवालयमा सन्तुलन मिलाउन र आफूलाई अप्ठ्यारोमा नपार्न गृहमन्त्री थापालाई भने प्रधानमन्त्री ओलीले कायमै राख्न सक्ने स्रोतले जनाएको छ । हालसम्म गृहमन्त्री थापा प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो नपर्ने गरी सचिवालय बैठकमा प्रस्तुत हुँदै आएका छन् । तर उनको मन्त्रालय भने फेरबदल हुन सक्ने विशेष सुत्रको दावी छ ।

पार्टीमा सहमति खोज्ने जिम्मा पाएका कार्यदलका सदस्यमध्ये विष्णु पौडेल र सुरेन्द्र पाण्डेमध्ये १ जनालाई भावी अर्थमन्त्रीको रूपमा हेरिएको छ । जनार्दन शर्मा गृह वा ऊर्जा, भीम रावल परराष्ट्र र पम्फा भुसाललाई समेत कुनै मन्त्रालय प्राप्त हुने चर्चा नेकपाभित्र छ । प्रधानमन्त्री ओलीले समेत मन्त्रिमण्डल पुनर्गठनका लागि गृहकार्य गरिरहेका छन् । मन्त्री बन्ने र हट्ने नामबारे सचिवालय बैठकमा छलफल हुने र सर्वसम्मतिमा निर्णय लिइने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरुको सुझावका आधारमा मन्त्रीमण्डल चयन गर्ने तयारी छन् । उनले यसपटक मन्त्रिमण्डल पार्टीका वरिष्ठ नेताहरुलाई समावेश गरेर बनाउन चाहेका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले कुनै १ पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्र विवाद चर्किएको थियो । प्रधानमन्त्री ओलीले तत्कालै दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । शुक्रबार दुवै अध्यक्षबीच भएको सहमति अनुसार चैतमा पार्टी महाधिवेशन गरेर ओलीले अध्यक्ष छाड्ने र ५ वर्ष नै सरकारको नेतृत्व गर्नेछन् ।

महाधिवेशनसम्म अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी नेतृत्व सम्हाल्ने, पार्टीलाई विधि पद्धति अनुसार सञ्चालन गर्ने, सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गर्दा सचिवालय बैठकमा परामर्श गर्ने र सरकारका कामकारवाहीको समर्थन पार्टीले गर्ने सहमति अध्यक्षद्वयबीच भएको जनाइएको छ । दुई अध्यक्षबीच सहमति भएपछि पार्टीभित्रका ओली, प्रचण्ड र नेपाल गरी तीनै पक्षका नेता समेटेर कार्यदल बनाइएको छ । कार्यदलले सर्वसम्मत रूपमा सहमतिको खाका तयार पार्न सके नेकपाभित्रको विवाद तत्कालका लागि अन्त्य हुनेछ ।

प्रधानमन्त्री ओलीले पुर्व माओवादीबाट ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र खानेपानीमन्त्री बिना मगरलाई बिदा गर्ने मनस्थिति बनाएको बालुवाटार स्रोतले जनाएको छ । गृहमन्त्री थापा र उद्योगमन्त्री लेखराज भट्टप्रति प्रधानमन्त्री ओली सकारात्मक छन् । भट्टलाई अर्को मन्त्रालयमा सार्ने सम्भावना रहेको जनाइएको छ ।

नयाँ मन्त्री नियुक्त गर्दा पूर्व माओवादीबाट जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, प्रभु शाह र पम्फा भुसालको नाम चर्चामा छ । पूर्व एमालेबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, वसन्त नेम्वांङ, शिवमाया तुम्बाहाङ्फे, पार्वत गुरुङ, घनश्याम भुसाल र योगेश भट्टराईले भने मन्त्रिपरिषद्मा निरन्तरता पाउने सम्भावना छ । २ वर्ष पुगेका सबैलाई बिदा गर्ने अवस्थामा भने उपप्रधानमन्त्री पोखरेललाई पार्टीमा जिम्मा दिने तयारी छ । पूर्व एमालेबाट पार्टी महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, शेरबहादुर तामाङ, गणेश ठगुन्ना र प्रेम आले लगायत नयाँ मन्त्री बन्ने चर्चामा छन् । काठमाडौँपाटीमा समाचार छ ।

 

 

प्रकासित मिति

Loading...

 

ताजा खबर