1478958692 banner ad format

 
 

काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको दैनिक बैठक सञ्चालन बानेश्वरस्थित हालकै संसद् भवनमा हुने भएको छ । संसद् सचिवालयले नयाँ संरचनामा पनि बानेश्वरस्थित हालकै भवनमा बैठक कक्ष व्यवस्थापन गर्ने गरी गृहकार्य सुरु भएको छ । संसद् सचिवालयका महासचिवको नेतृत्वको टोलीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग आइतबार परामर्शसमेत गरेको छ । 

parliament house

रूपान्तरित संसद्को कार्यकाल समाप्त भएको भोलिपल्टै संसद् सचिवालय प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक कक्ष व्यवस्थापनमा लागेको हो । संसद् सचिवालयका अनुसार नयाँ जनप्रतिनिधि निर्वाचन भई संसद् अविधेशन आह्वान नहुँदासम्म पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगको भाडा सम्झौता कायम नै राखिने भएको छ । हालको सम्झौता भङ्ग नहुने भएको छ । 

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आइतबार नै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र व्यवस्थापन समितिसँग भवन भाडा कायम राख्नेबारे बैठक भइसकेको बताउनुभयो । गौतमले भन्नुभयो, ‘महासचिवको नेतृत्वको टोलीले आइतबारै व्यवस्थापन समितिसँग छलफल गरिसकेको छ । तत्कालको आवश्यकतालाई हेरेर भवनको भाडा सम्झौता कायम राख्ने र दुवै सदनको बैठक सोही भवनमा गर्ने मोटामोटी सहमति भयो । ’

सचिवालयको तयारीअनुसार हालको संसद् बैठक कक्षमा प्रतिनिधिसभा बैठक चलाइनेछ । हालको संसद् भवनकै नुप्से हलमा राष्ट्रिय सभा बैठक सञ्चालन गरिने छ । सम्झौता अनुसार सम्मेलन केन्द्र व्यवस्थापन समितिले हलको आवश्यक संरचना निर्माण गर्नेछ । 

सम्मेलन केन्द्र व्यवस्थापन समिति र संसद् सचिवालयबीच अहिले भवनको भाडा सम्झौता वार्षिक दश करोड रुपियाँ छ । उक्त सम्झौता अहिले पनि कायमै छ । संसद् सचिवालयले पहिलो संविधानसभा विघटन भई दोस्रो संविधानसभा निर्वाचन नहुँदा पनि उक्त भवनको सम्झौता कायमै राखेको थियो । झन्डै डेढ वर्ष संसद्ले खाली भवनको भाडा तिरेको थियो । 

सिंहदरबारस्थित संसद्को ग्यालरी हल सानो भएपछि पहिलो संविधान सभामा सम्मेलन केन्द्र भाडामा लिई संविधान सभा बैठक सञ्चालन गरिएको थियो । ठूलो आकारमा संविधानसभा बनेपछि उक्त ग्यालरी बैठकमा लबी र आवश्यक आसन कक्ष सानो भएको थियो । अहिलेको सानो प्रतिनिधिसभा वा राष्ट्रिय सभा बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमै सञ्चालन गर्न सकिने भए पनि अहिले भौतिक रूपमा सम्भव छैन । 

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि उक्त भवन प्रयोग गर्न नमिल्ने अवस्थामा छ । सिंहदरबारस्थित पुतली बगैँचामै भवन बनाउने तयारी भए पनि सेनाले जग्गा छाड्न नमिल्ने पत्र यसअघि नै पठाएपछि प्रक्रिया अगाडि बढेको छैन । २०६५ सालदेखि संसद्ले अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडावापत नै झन्डै एक अर्ब रुपियाँ तिरि सकेको छ । अाजकाे गाेरखापत्र दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood