annapurna add

surya thapanewssगणेश विक काठमाडाैं । तेह्रौं एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा पदक जितेका खेलाडीलाई  पुरस्कारको घोषणा गर्न प्रधानमन्त्रीले मंगलवार अपराह्न २ बजे खेलाडी र पदाधिकारी सबैलाई बालुवाटार बोलाए । उक्त समारोहमा साग खेल्ने नेपाली खेलाडीहरू सबै उपस्थित भएका थिए भने खेलकुद मन्त्रालयका मन्त्रीसमेतका पदाधिकारीहरू, राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरू अन्य केही मन्त्रीहरू लगायत उपस्थित थिए । अघिल्लो दिन नै कार्यक्रमको तयारी बालुवाटारमा गरिएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले खेलाडीहरूलाई दिइने पुरस्कारका बारेमा अघिल्लो दिन नै प्रधानमन्त्रीसँग  कुराकानी गरिसकेका थिए । स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख, दुई वा दुईभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीको हकमा जनही ११ लाख, टीम गेममा स्वर्णपदक विजेता खेलाडीलाई जनही ५ लाख, रजत पदक जित्ने खेलाडीलाई जनही ६ लाख र कास्य पदक जित्ने खेलाडीलाई जनही ३ लाख रूपैयाँ दिइने सहमति अघिल्लै दिन भएको थियो । बुधवार निर्णयको लिस्टकपी प्रधानमन्त्रीकहाँ पठाइयो । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले केहीबेर निर्णयको कागज हेरे अनि प्रधानमन्त्रीलाई देखाए । निर्णय गरिएको कागजमा मन्त्रालयले यसका बारेमा आवश्यक कार्यविधि छिटै तयार गर्ने र त्यस अनुसार पुरस्कार रकम वितरण गर्ने पनि उल्लेख थियो ।  बुधवार बालुवाटारमा खेलाडी र सम्बन्धित पदाधिकारीहरू जम्मा भएपछि प्रधानमन्त्रीले खेलाडीहरूलाई दिइने पुरस्कार घोषणा गरे । ‘यसपटकबाट हरेक कास्य पदक बिजेता खेलाडीलाई सरकारले ३ लाख रकम दिने उद्घोष गरिएको छ, रजत पदक प्राप्त गर्ने खेलाडीहरूलाई हरेक पदकबापत ६ लाख,’ प्रधानमन्त्रीले घोषणा गर्दै गए, ‘त्यसैगरी स्वर्ण पदक विजेता खेलाडीलाई एक स्वर्ण पदकको ९ लाख दिने निर्णय भएको छ । एकभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।’ प्रधानमन्त्रीको घोषणा सकिएको थिएन, खेलकुद मन्त्रालयका पदाधिकारी मुखामुख गर्न लागे । एकजना उच्चपदस्थ कर्मचारीले अर्का कर्मचारीसँग कानेखुसी गरे, ‘प्रधानमन्त्रीले त बिल्कुलै निर्णयबिपरित नै घोषणा गर्नुभयो ।’ धाराप्रवाह बोलिरहेका प्रधानमन्त्री ओलीलाई रोक्ने कोही भएनन् ।

bajhang gaurika singhत्यसलगत्तै सञ्चारमाध्यमहरूमा समाचार आउन थाल्यो, ‘प्रधानमन्त्रीको घोषणा, एक स्वर्णपदकको ९ लाख रुपैयाँ ।’ कतिपय पत्रकारले हिसाब पनि गर्न भ्याए । सागमा पौडीतर्फ गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् । स्वर्णबाहेक उनले २ रजत पदक र ३ कास्यपदक पनि जितिन् । यसरी एकपछि अर्का हेडलाइन आए, ‘गौरिकाले ६५ लाख प्राप्त गर्ने ।’ तर खेलकुद मन्त्रालयका एक उच्चपदस्थ कर्मचारीका अनुसार यस्तो निर्णय भएको थिएन । दुई वा दुई भन्दा बढी स्वर्ण जित्नेको हकमा जम्मा ११ लाख दिइने निर्णयमा उल्लेख थियो । जनही ९ लाख दिइने कि प्रतिस्वर्ण ९ लाख दिइने भन्ने विवाद शुरू भयो । यसबीचमा आफूलाई सबैभन्दा ठूलो संचारगृह दाबी गर्ने कान्तिपुरले यो बीचमा धेरैवटा समाचार बनायो । सबै समाचार फरक-फरक थिए । विवाद सिर्जना भएपछि कान्तिपुरले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको अडियो नै सार्वजनिक गर्नुपर्यो । अडियोमा थापाले भनेका छन्, ‘गौरिकाले ४ स्वर्णको ११ का दरले ४४ लाख, २ रजतको ६ का दरले १२ लाख र तीन कास्यको ३ का दरले ९ लाख पाउँछिन् । उनले पाउने जम्माजम्मी ६५ लाख हुनेछ । थापा केही दिनअघि मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार नियुक्त भएका थिए । उनी कुनै पनि कुनाबाट तेह्रौं सागसँग सम्बन्धित थिएनन् ।

singhnews 1सञ्चारमाध्यमहरूले किन उनलाई नै सोधे ? अनि थापाले आफू नै विज्ञ भएजस्तो गरेर फटाफट किन जवाफ दिए ? असम्बन्धित मान्छेको भनाइलाई किन सञ्चारमाध्यममार्फत प्रस्तुत गरेर जनतालाई झुक्याउने काम भयो ? यी प्रश्नहरूका जवाफका सन्दर्भमा भविष्यमा बहस होला । 

एक स्वर्ण जित्नेलाई ९ लाख दिने र दुई वा दुई भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाखका दरले पुरस्कृत गर्ने घोषणा कुनै हिसाबले पनि तर्कयुक्त थिएन । बरू एक स्वर्ण जित्नेलाई ११ लाख र दुई वा दुईभन्दा बढी जित्नेलाई प्रतिस्वर्ण ११ लाख भन्दा कम घोषणा गरेको भए अलि पत्यारिलो हुन्थ्यो । प्रधानमन्त्रीले लेखेको निर्णय पढेको भए राम्रो हुन्थ्यो तर उनले आफैं घोषणा गरे ।

प्रधानमन्त्रीले ११ लाखका दरले त भने तर त्यो दर प्रतिखेलाडी हो कि प्रतिपदक भन्ने स्पष्ट पारेनन् । एक स्वर्ण पदकको ९ लाख रूपयाँ दिने निर्णय भएको बताएका प्रधानमन्त्री ओलीले थपे, ‘एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।’ समग्रमा हेर्दा प्रधानमन्त्री आफै स्पष्ट थिएनन् ।

पहिल्यै निर्णय भएको पुरस्कार राशी घोषणा गर्दा उनी अल्मलिएका थिए । प्रधानमन्त्री आफू अलमलिए जसलाई स्वाभाविक मान्न सकिन्थ्यो, तर प्रधानमन्त्रीका प्रेस सल्लाहकारले चाहिँ दुनियाँ उलु बनायाे । खेलकुदमन्त्री जगत विश्वकर्माले गौरिकाले जम्मा ११ लाख पाउने बताए । विश्वकर्माले भने, ‘प्रतिस्वर्ण ९ लाख, कसैले एउटा भन्दा बढी स्वर्ण जितेको छ भने उसलाई ११ लाख दिइने हो, गौरिकाले ११ लाख पाउँछिन् ।

’ मन्त्री विश्वकर्माले त्यही निर्णय सुनाएका थिए, जुन अघिल्लो दिन प्रधानमन्त्रीसँग छलफल भएपछि तयार गरिएको थियो । मन्त्री विश्वकर्माले भने, ‘मन्त्रालयले जे प्रस्ताव गरेको छ, पुरस्कार त्यही अनुसार बाँडिन्छ । कसले कति पाउँछ भन्ने कुरा कार्यविधि बनाएपछि हिसाबकिताब हुन्छ ।’ उनले एकभन्दा बढी स्वर्ण पाउनेले ११ लाख भन्दा बढी नपाउने पुनः स्पष्ट पारे ।

को ठूलो ?

राजनीतिक विश्लेषक तथा कुनै बेला तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाका सल्लाहकार रहिसकेका प्रा.डा. कृष्ण खनाल भन्छन्, ‘सामान्यतः संसदीय प्रणालीमा प्रधानमन्त्रीले सल्लाहकार राख्ने चलन छैन । मन्त्रिमण्डल नै उसको सल्लाहकार टिम हो, जुन संसद्प्रति समेत उत्तरदायी हुन्छ ।

Playersnews kantipath

’ एक वर्षअघि एक सञ्चारमाध्यममा लामो आलेख लेख्दै खनालले सल्लाहकारलाई ‘विनालगामको लस्कर’ बताएका छन् । ‘यो बिनालगामको लस्करको नियुक्तिको न कुनै मापदण्ड छ, न कुनै निश्चित जिम्मेवारी नै,’ उनले स्पष्ट पारेका छन्, ‘नियुक्ति गर्ने पदाधिकारीसँगको निजी वा गुटगत निकटता, हाइफाई नै यसको चर्चित प्रोटोकल हो ।’ 

खनालको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्रीको सल्लाहकार टीम नै मन्त्रिपरिषद हो, जुन संसदप्रति उत्तरदायी हुन्छ । प्रधानमन्त्रीले घोषणा गर्दा केही अल्मलिएको भएपनि खेलकुदमन्त्री विश्वकर्माको भनाई नै अन्तिम र आधिकारिक देखिन्छ । अर्थात संविधानले या त चिन्ने प्रधानमन्त्रीलाई हो, या त मन्त्रीलाई । 

तर प्रधानमन्त्री ओलीको सल्लाहकार टीमले आफूलाई सर्वेसर्वा भएको ठान्छ । मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार थापा विवादित सल्लाहकार हुन् । थापाले मंगलवार पनि एउटा ठूलो ब्लनडर मिस्टेक गरेका थिए । साग समारोह सम्पन्न भएपछि मंगलवार साँझ प्रधानमन्त्री ओलीलाई नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगिएको थियो । तर थापाले ग्राण्डी लगेको भनेर सञ्चारकर्मीहरूलाई गलत सूचना दिएका थिए ।

प्रेस सल्लाहकार थापालाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको तयारी

surya thapaसचिवालय चुस्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना सल्लाहकार तथा सहयोगीको टिम हेरफेर गरे । त्यसपछि पनि प्रधानमन्त्रीको सचिवालय चुस्त हुन सकेको छैन, बरु प्रधानमन्त्रीलाई झन् अफ्ठेरोमा पार्ने काम हुन थालेको छ । सचिवालयभित्रै विवाद बढ्न थालेको छ । 

प्रेस सल्लाहकारका रुपमा नियुक्त सूर्य थापाका कारण प्रधानमन्त्रीको सचिवालयमा विवाद बढेको छ । थापाका उच्छृङखल गतिविधिका कारण प्रधानमन्त्री समेत उनीसँग रुष्ट भएको एक अधिकारीले बताए । फेसबुक स्टाटसका कारण थापा पछिल्लो समय विवादमा परेका छन् । उनले नेकपाका अध्यक्ष प्रचण्डलाई होच्याइएको एउटा लेख गत सोमबार फेसबुकमा शेयर गरेका थिए ।

पार्टी एकता नगरेको भए प्रचण्ड एउटा सानो पार्टीको अध्यक्षमा सिमित हुन्थे भन्ने कुरालाई तानेर उनले सो लेख शेयर गरे । जसमा उनीप्रति धेरैले आलोचना गरेका छन् । खासगरी पूर्व माओवादी कार्यकर्ताहरुले आक्रोशपूर्ण टिप्पणी गरेका छन् ।

thapa 2त्यसो त थापासँग प्रधानमन्त्रीको सचिवालयका अन्य सदस्यहरु समेत हैरान भइसकेका छन् । थापाले परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको कार्यकक्ष नै कब्जा गरेका छन् । प्रेस सल्लाहकारको कार्यकक्ष उर्जा मन्त्रालयमा थियो । तर, अर्काे भवनमा आफु नबस्ने भन्दै उनी भट्टराईको कार्यकक्षमा गएर बसेका थिए ।

भट्टराई अमेरिका भएको मौका छोपी त्यसरी उनले कार्यकक्ष कब्जा गरेका थिए । जसकारण भट्टराई र थापाबीच विवाद भएको थियो । नियुक्त भएलगत्तै प्रधानमन्त्री बस्ने कुर्सीमा बसेर पत्रकार सम्मेलन गरेपछि उनी विवादमा तानिएका थिए । थापा पहिलेदेखि नै पार्टीमा अजराक नेताका रुपमा चिनिन्छन् ।

आफ्नै पार्टीका नेताविरुद्ध समेत उनले जथाभावी आरोप लगाएर गाली गर्ने गरेका छन् । खासगरी वामदेव गौतममाथि उनले पटक पटक विषबमन गरेका थिए । नेतामा हुनुपर्ने संस्कार नहुँदा एक महिनामा नै उनको पद धरापमा परेको छ । सुर्य थापा प्रचण्डमाथि निरन्तर तिर प्रहार गरिरहेछन अनि दीपशिखा ढाल बनेर उनको रक्षा ! तीन दिनअघि एक दैनिक पत्रिकामा छापिएको विचारबाट उद्धृत गरिएको अंशसहित प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा एउटा लिंक सेयर गरे।

जसमा नेकपा-एमाले एकता अघिपछिको पृष्ठभूमि तथार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शक्तिको रस्साकस्सीबारे स-विस्तार गरिएको थियो। '...यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो। १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे ।

सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड। एमाले र एमाओवादी चुनावी एकतापछि संसद्मा करिब दुईतिहाइ नजिक सिट जिते। संसद्को निर्वाचनलगत्तै पार्टी एकता भएन। कारण थियो, ओली र प्रचण्डबीच शक्ति बाँडफाँटको संघर्ष। चुनावमा एकता भयो, परिणामपछि संघर्ष। दुई नेताबीच एकता र संघर्ष जारी रह्यो।

अन्तत: संसद् चुनाव भएको करिब ६ महिनापछि पार्टी एकता भयो। अरू सबै काम बाँकी राखेर दुई अध्यक्ष भएको पार्टी भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)। पूर्वएमालेले ६० प्रतिशत र पूर्वमाओवादीको ४० प्रतिशत बाँडफाँट गरी संसद्को चुनावमा उम्मेदवार तय भएको थियो। त्यही आधारमा पहिलो नम्बरको अध्यक्ष ओली र दोस्रो नम्बरको अध्यक्ष प्रचण्ड हुने सहमति भयो', एक पत्रकारको विचारकै यो लाइन उल्लेख गर्दै थापाले फेसबुकमा उक्त लिङ्क सेयर गरेका थिए। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता केन्द्रबाट वडा र टोलसम्म पुगिसक्दा पनि दुई पक्षबीचको तुष र विवाद थापाले सेयर गरेको यो लिङ्कसँगै छरपस्ट भएको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाका कार्यकर्ताहरु अझै पुरानै ह्‍याङबाट बाहिर निस्किन नसकेको यो विवादले पुन: पुष्टि गरेको छ। थापा नेकपाका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार बनेको करिब एक महिना हुँदैछ। नेकपाभित्र अर्को समूहबारेमा कठोर टिप्पणी गर्दै आएका थापालाई यो प्रकरणमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताले पुन: घेराबन्दी गर्न खोजेका छन्। नेकपाकै एकजना कार्यकर्ताले भनेका छन्, 'प्रधानमन्त्रीको सल्लाहकार जस्तो मान्छेले प्रचण्ड र माओवादीलाई होच्याउने गरी लेखिएको यही लाइन नै सेयर गरेर के गर्न खोजेको?

surya thapaपार्टी एक भएर पनि थापाजी अझै आफ्ना अध्यक्ष प्रचण्डको मानमर्दनमा उत्रिरहेका छन्।' समाचार   लेखककै अंशसहित लिंक सेयर गरेपछि थापामाथि पूर्वमाओवादी पंक्ति पुन: एक पटक खन्‍निएको छ।

बलदेभ भट्ट नामका एक व्यक्तिले थापामाथि प्रश्न गर्दै पार्टी फुटाउनै लागेको आरोपसमेत लगाएका छन्। 'माओवादी सकिन्थ्यो वा जे हुन्थ्यो, यो एकीकरणले देशलाई कति घाटा भयो? कि एमालेलाई भयो?', उनले प्रश्‍न गरेका छन्, 'यो समय देश एक हुने बेला हो, तपाईंलाई कसले उचाल्दैछ? यो फुटका लागि र यसका लागि कसको गोटी बन्दै हो तपाईं।

भारतीय दलालहरुलाई नपचेको कुरा तपाईंहरु जस्तालाई पनि नपच्नु अनौठो होइन।' थापामाथि यही लेख सेयर गरेका कारण पूर्वमाओवादीका कार्यकर्ताहरुले मुखसमेत छाडेका छन्। एकजना कार्यकर्ताले थापालाई 'चिम्पान्जीको अनुहार' भएको जस्तो भन्दै तुच्छ गाली गर्न पनि भ्याएका छन्।

राम कार्की नाम गरेका अर्का कार्यकर्ताले माओवादी नभएको भए एमालेको हावा फुस्किने जिकिर गरेका छन्। सानो माओवादी हुने कुरा सही तर घमण्डले फुलिएको एमालेको हावा फुस्किएको ट्युब जस्तो हुनेथियो', उनले भनेका छन्, 'ओलीजी प्रधानमन्त्री बन्‍ने सपना यो जुनिमा हुँदैन थियो। नत सूर्य भन्‍नेले यति तुच्छ बिचार राख्‍न अवसर पाउँथे।'

थापाले यो आफ्नो विचार नभएको स्पष्टीकरण दिइसकेका छन्। तर उनीमाथि पूर्वमाओवादीको तर्फबाट निरन्तर प्रश्न उठिरहेकै छ। बिराज गैरे नामका एक कार्यकर्ताले उनीमाथि गम्भीर प्रश्न उठाएका छन्। 'प्रचण्डको आलोचना गरेर माथि पुग्‍न सक्छु भन्‍ने बठ्याईँ हो यो! धेरै आलोचकहरुले स्वाद चाखेका छन्', उनले भनेका छन्, 'प्रचण्डको आडमा यी नभएको भए ठोकुवा दिन्छु तत्कालीन एमाले र काङ्ग्रेसले 'राजा ज्ञानेन्द्र' मानौं भन्‍ने थिए। यो परिवर्तन नेपाली जनताको राम्रो अवसर हो !

कहिलेयै आउँदैन यो अवसर अब। सूर्य थापालाई तत्काल पार्टीले कारबाही गर्नुपर्छ । यो पार्टीले यस्ता अराजक तत्वलाई छाड्नु हुँदैन।' बलदेव भट्टले पनि थापामाथि धावा बोलेका छन्। 'तपाईं प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएर तपाईंले लेख्नु हुन्‍न, बोल्नु हुन्‍न वा पाउनु हुन्‍न भन्‍ने मेरो मान्यता होइन। 

आफ्नो बिचार राख्‍ने पुरा अधिकार छ', उनले भनेका छन्, 'देशको सीमा विदेशीले मिचेको छ। एउटा शक्तिसाली सरकारको प्रधानमन्त्रीको तपाईं प्रेस सल्लाहकार तपाईं आफैँ पत्रकार पनि हो क्यारे! खै तपाईंको कलम त्यता चलेको । प्रधानमन्त्री अशक्त हुनुहुन्छ । यो समयमा तपाईंहरुको विशेष भूमिका हुनुपर्नेमा जागिर मात्रै पकाउने हो?' उनीमाथि प्रचण्ड र तत्कालीन माओवादी केन्द्रको आलोचना गरेकै कारण मनपरी टिप्पणी गर्नेको संख्या पनि कम छैन।

तत्कालीन नेकपा एमालेको एउटा पंक्तिले पनि थापालाई 'क्षुद्र' स्वभावको भन्दै आलोचना गरेका छन्। पार्टीमा एउटा गुट चलाएर अर्को गुटमाथि प्रहार गरिनु गलत हुने उनीहरुको तर्क छ। पार्टी एकता संक्रमणमै रहेका समयमा थापासँग सामाजिक सञ्जालमै चर्काचर्की गरेका तत्कालीन माओवादी कार्यकर्ता रामप्रसाद सासपकोटा 'दीपशिखा' अहिले एकीकृत युवा संघ नेपालका संयोजक छन्। तर थापा र दीपशिखाबीचको सवाल जवाफ अझै सकिएको छैन।

थापाले तीन दिनअघि उक्त समाचारको लिङ्क सेयर गरेलगत्तै युरोपबाटै दीपशिखाले फेसबुकमा जवाफ फर्काइसकेका छन्। एउटै पार्टीमा रहे पनि थापा र दीपशिखाबीचको जुहारीले कार्यकर्तालाई पनि मसला दिएको छ। दुई पक्षबीचको यो विवाद तँ तँ र म म को अवस्थासम्म पुगिसकेको छ। दीपशिखाले युरोपबाटै २४ घण्टाबीचमा फेसबुकका दुईवटा स्टाटस लेखेका छन्। उनले मंगलबार लेखेको स्टाटसको भाषा अलिक नरम थियो भने बुधबार लेखेको स्टाटसको भाषा कडा शैलीको छ।

'जिम्मेवार ठाउँमा बसेर गैरजिम्मेवार बन्ने उरन्ठेउलो हर्कत बन्द गर्ने की', उनले मंगलबार लेखेको स्टाटसमा भनिएको छ। त्यसपछि युरोप घुमघामकै क्रममा उनले बुधबार अर्को स्टाटस लेखेका छन्। जसमा भनिएको छ, 'तिम्रो भाषा र शैली हेर्दा ३ कक्षा भर्ना गरेर नैतिक शिक्षा पढाउन पर्ने देखियो।'

mithoदीपशिखाको यो जवाफ थापाप्रति नै लक्षित थियो। तीन दिनअघि आफूले सेयर गरेको समाचारमा तुच्छ गालीसहितका कमेन्ट आएपछि थापाले अर्को स्टाटस लेखेका थिए।

'मेरो स्टाटस हो कि अरूको लेख सेयर गरेको भनेर छुट्याउनसमेत नसक्ने मनुवा हुन् कि ढेंडु?', उनले भनेका छन्, 'कति असभ्य र घृणित रहेछन्, एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्‍ने स्यालहरूरु छि! छि! मान्छे बन्‍न कति गाह्रो परेको तिनलाई?' दुई पक्षबीचको विवाद चर्किरहँदा धिरेन्द्रप्रसाद कोइरालाले सूर्य थापालाई गाली गर्नुको औचित्य नहुने पनि तर्क गरेका छन्। उनले पूर्वमाओवादी कार्यकर्तालाई लक्षित गर्दै पढ्ने र सुन्‍ने धैर्यता राख्न आग्रह गरेका छन्।

'साथी हो, सुन्‍ने र पढ्ने धैर्यता राखौं न। पदभार ग्रहण गर्ने बेलामा नै उहाँले प्रष्टकुरा राख्नु भएको छ। सही किसिमले समाचार सम्प्रेषण गरिएको छ। कोही साथीले पनि पूर्वाग्रह र सानो चित्त नबनाउनु होला', उनले भनेका छन्, 'उहाँमाथि यति नकारात्मक हुन आवश्यक कुरा नै होइन यो। उहाँ आफ्नो कर्ममा पकड भएको मान्छे भन्‍ने सबैलाई थाहा छ।' नेकपाकै एकजना कार्यकर्ता उत्तम थापाले यो बेला मतमतान्तरको नभएको भन्दै मिलेर अघि बढ्न सुझाएका छन्।

'विगतकका दिनलाई मतमतान्तर गरेर बस्ने हो भने कोही माइकालालको खैरियत छैन, बहस उचित तरिकाबाट गर्दा राम्रो हुन्छ', उनले भनेका छन्, 'पार्टीकोबारेमा भन्दा देश बचाउनेतर्फ लागौँ। आरोप-प्रत्यारोप हिजो थियो, आज हुनु भनेको घमण्ड हो, जो कोहीले पनि आफुलाई दिएको जीम्मेवारी पुरा गरौँ।'

यस्तो थियो सुर्य थापाले राखेको लेखको अंश :
यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड । एमाले र एमाओवादी चुनावी एकतापछि संसद्मा करिब दुई तिहाइ नजिक सिट जिते ।

संसद्को निर्वाचनलगत्तै पार्टी एकता भएन । कारण थियो, ओली र प्रचण्डबीच शक्ति बाँडफाँटको संघर्ष । चुनावमा एकता भयो, परिणामपछि संघर्ष । दुई नेताबीच एकता र संघर्ष जारी रह्यो । अन्तत: संसद् चुनाव भएको करिब ६ महिनापछि पार्टी एकता भयो । अरू सबै काम बाँकी राखेर दुई अध्यक्ष भएको पार्टी भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ।

पूर्वएमालेले ६० प्रतिशत र पूर्वमाओवादीको ४० प्रतिशत बाँडफाँट गरी संसद्को चुनावमा उम्मेदवार तय भएको थियो । त्यही आधारमा पहिलो नम्बरको अध्यक्ष ओली र दोस्रो नम्बरको अध्यक्ष प्रचण्ड हुने सहमति भयो ।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालको ‘छौंडा गाली’

pm sallahakar bishnu rimal twittetसत्ताउन्मादले ‘आसेपासे’ लाई कतिसम्म असहिष्णु बनाउँछ भन्‍ने उदाहरण प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आफैं पेस गरेका छन्। अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्‍त्री केपी ओलीको प्रभावकारी उपचारका लागि अमेरिका लैजाने विकल्पबारे छलफल भइरहेको भन्‍ने एउटा सामान्य समाचारमा उनले रुखो टिप्पणी गरेका छन्।

त्यसलाई रिमालले आफ्‍नो ट्विटर ह्‌यान्डलमा ‘पिन्ड ट्विट’ का रूपमा राखेका छन्। मुलुकको प्रधानमन्‍त्रीलाई सन्चो हुन्छ भने अमेरिका लैजानुपर्छ। यो विष्णु रिमालको इच्छा र आदेशले भन्दा पनि चिकित्सक विशेषज्ञको छलफल र सुझावका आधारमा टुंगो लाग्ने विषय हो। प्रधानमन्त्री ओलीको उपचारमा संलग्‍न चिकित्सक र विशेषज्ञ उनको अल्पकालीन र दीर्घकालीन उपचारका सम्भावना र विकल्पबारे निरन्तर छलफलमा छन्।

छलफलका क्रममा अमेरिका लैजाने एउटा विकल्प प्रस्तुत भएको हो। उपचारमै स‌‌ंलग्‍न चिकित्सकले दिएको जानकारीकै आधारमा उक्त समाचार तयार पनि भयो र छापियो। समाचारको स्रोत तथा विश्‍वसनियतामा शंका छ भने यसबारेमा प्रतिक्रिया जनाउने वा स्पस्ट पार्ने अनेक तरिका छन्। कुन–कुन पक्षमा आपत्ति हो, त्यो उल्लेख गर्दै प्रेस विज्ञप्ति, ध्यानाकर्षण, समाचारको खण्डन वा स्पष्टीकरण पठाउन सकिन्छ। प्रधानमन्‍त्रीको निजी सचिवालयको जम्बो टोलीले त्यति सामान्य काम गर्न पनि जाँगर चलाएन।

सीधै ट्विटरमा धारेहात लगाउने यो शैलीले प्रधानमन्‍त्री पदको गरिमामा समेत धक्का लाग्‍नसक्छ। रिमालले ट्विटमा समाचारमा के आपत्ति हो, केही खुलाएका छैनन्। अमेरिका लैजाने तयारी गलत हो भनेर दाबी गर्न सकेका पनि छैनन्। उपचारार्थ अमेरिका लैजान छलफल’ शीर्षकमा अन्‍नपूर्ण पोस्ट्मा मंगलबार प्रकाशित समाचारको लिंकसहित उनले यस्तो ट्विट गरेका छन्।

कुन ‘तत्व’ ले हाम्रा मिडियाहरूलाई आधारहीन समाचार प्रेषित गर्न प्रेरित गर्छ होला ? ! मिडियामा आउने यस्ता ‘उडन्ते’ समाचार देख्दा दुःख मात्रै हैन, मिडियाकर्मीको स्तरप्रति पनि दया लाग्छ। मूलधारका मिडियाहरूले आफूलाई यसरी ‘बतासे’ नबनाए उनीहरूकै भलो हुने थियो कि ?

bishnu rimal twittet1

रिमालको ट्विटको भाषा र भाका हेर्दा लाग्छ, त्यो समाचार लेखेर अन्‍नपूर्णले ठूलै अपराध गर्‍यो। कुन समाचार दिने, कुन समाचार नदिने ? त्यो समाचार संस्था र त्यसको सम्पादकले आफ्‌नो व्यावसायिक स्तर र मर्यादामा रहेर निर्धारण गर्ने विषय हो।

त्यसका लागि रिमालजस्ता सल्लाहकारको अनुमति र आदेश आवश्यक पर्दैन। प्रेस स्वतन्त्रताको मर्म र पत्रकारिताको सामान्य सिद्धान्तको समेत खिल्ली उडाउने गरी रिमालले गरेको ट्विटले एउटा मिडिया संस्थाको मात्र होइन, पत्रकारिता जगत्कै अपमान भएको छ। उनको यो ‘छौंडा शैली’ को ट्विटको सिकार भोलि अरू सञ्चारकर्मी र सञ्चारसंस्था पनि नहोलान् भन्न सकिन्न। 

मन्त्रिपरिषद् पुनर्गठनअघि प्रधानमन्त्री ओलीले सचिवालय टिम पनि फेरबदल गरे। टिम पुनर्गठनको गृहकार्य हुँदा उनी पनि हट्ने सूचीमा थिए तर पछि कायम रहे, अरू केही पात्र हटाइए। पद जोगाउन कति सकस भयो, उनले कहाँ केके गर्नुप‍र्‍यो, त्यो उनलाई नै थाहा होला। तर, पद थमौती भएपछि उनले आफूलाई थप शक्तिशाली सल्लाहकारका रूपमा प्रस्तुत गर्न खोजेका छन्। 

प्रधानमन्‍त्रीको स्वास्थ्य तथा उपचारसँग सम्बन्धित चिकित्सकीय विषयमा पनि सल्लाहकार र सचिवालयबाट भइरहेको राजनीतिक हस्तक्षेप पटक्कै शोभनीय छैन। ओलीको स्वास्थ्यप्रति सञ्चारकर्मी र सञ्चारसंस्था उनका सल्लाहकारभन्दा अझ बढी संवेदनशील छन्। सचिवालयमा रहेका पात्रहरूबीच प्रधानमन्‍त्रीको स्वास्थ्यबारे समाचार दिने र सूचना लुकाउने जुन खालको प्रतिस्पर्धा छ,त्यसलाई समेत ख्याल गर्दै मिडियाले जिम्मेवार भएर प्रधानमन्‍त्रीको स्वास्थ्यबारे समाचार दिइरहेका छन्। प्रधानमन्‍त्रीका सल्लाहकारलाई थाहा नै छ होला, सञ्चार संस्था र पत्रकार स्वतन्‍त्र हुन्छन्।

आफ्नो व्यावसायिक दायित्व र सामाजिक मर्यादाप्रति उनीहरू जिम्मेवार छन्। मिडियामा सल्लाहकारलाई मन पर्ने र खुसी हुने समाचार मात्रै आउँदैनन्। विरोध र आलोचना पनि हुन्छ। त्यो सुन्‍ने गुण र सहने क्षमता सल्लाहकारमा हुनुपर्छ। त्यो गुण र क्षमता गुमाएपछि ‘छौंडा शैली’ का यस्ता ट्विट आउँछन् नै। 

केही समयअघि उनको ‘छौंडा ट्विट’ ले ठूलै तरंग ल्याएको थियो। पछि उनी आफैं विवादमा परे र सबैतिरबाट उनको आलोचना पनि भयो। उनको बौद्धिक स्तर र राजनीतिक सुझबुझको स्तर त्यतिबेला नै खुस्किएको थियो। गत असार २२ गते पोस्ट् गरिएको उनको ट्विटमा यस्तो लेखिएको थियो, ‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन्, कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् कि कसैले छोडेका ? ’ छिमेकलाई समेत निशाना बनाउँदै उनले पुष्पकमल दाहालमाथि प्रहार गर्न खोजेको त्यो तिरले आफैं तनावमा परेका थिए।

pm sallahakarअस्वस्थ प्रधानमन्त्रीलाई गुमाराहमा राखेर बालुवाटारलाई रहस्यमय शक्तिकेन्द्र बनाउने काम रिमालले नै गरेका छन्। राज्यप्रणालीलाई पंगु बनाएर बालुवाटारलाई ‘पावरफुल’ बनाउने उनको डिजाइनको नेकपाभित्रैबाट पनि विरोध र आलोचना भइरहेको छ।

बालुवाटारको आडमा अमुक पात्रहरूसँग स‌ंगत र सहकार्य बढाएर राज्यका महत्वपूर्ण निकायलाई कमजोर बनाउने खेलमा लागेको आरोप पनि उनीमाथि छ। पछिल्लो समय प्रधानमन्‍त्रीमा केन्द्रिकृत गरिएको अधिकार र शक्ति उपयोग गर्ने दक्ष र प्रभावकारी संयन्त्र र व्यावसायिक विज्ञता नहुँदा सरकारको आलोचना बढेको छ।

सुशासन स्थापना, भ्रष्टाचार नियन्त्रण तथा आर्थिक अनुशासनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने निकायलाई प्रधानमन्त्रीमातहतमा राखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र पहिलेदेखि नै प्रधानमन्त्रीअन्तर्गत थियो। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण निकाय, राष्ट्रिय अनुसन्धान विभाग र महान्यायाधिवक्ता कार्यालयलाई पनि पछिल्लो समय प्रधानमन्त्रीमातहत राखिएको छ।

आर्थिक अनुशासन कायम गराउन राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागको भूमिका राजनीतिक छायाले स्वतन्त्र रूपमा काम गरिरहेका निकाय पनि यतिबेला अन्योलमा छन्। सानो काम गर्दा र निर्णय लिँदा पनि राजनीतिक आदेश र इसारा कुर्नुपर्ने अवस्थाले ती निकायको स्वाभाविक गति र सक्रियता ओझेलमा परेको छ।

हामीलाई राम्रोसँग थाहा छ, उपचारमा संलग्‍न चिकित्सक तथा विशेषज्ञलाई उद्धृत गर्दै प्रधानमन्‍त्रीको स्वास्थ्यसम्बन्धी समाचार तथा सूचना बाहिर आएको सचिवालय र ‘सल्लाहकारज्यू’ हरूलाई मन परेको छैन।

चिकित्सकलाई समेत सल्लाहकारहरूले किन पत्रकारसँग बोलेको, समाचार दिएको भन्दै झपार्ने र अपमान गर्ने प्रयास गरेका छन्। अहिले ‘अफ दि रेकर्ड’ यो गुनासो र पीडा सञ्चारकर्मीसँग पोखे पनि कुनै दिन चिकित्सकले यो कुरा बाहिर ल्याउनेछन्। एकजना चिकित्सकले भनेका थिए, ‘मेडिकल रिपोर्ट डाक्टरले भन्दा पहिले हामीले नै हेर्न पाउनुपर्छ भन्‍ने खालको मानसिकता उहाँहरूमा छ।

अरू के भन्‍ने ? प्रधानमन्‍त्रीको स्वास्थ्य तथा उपचारसँग सम्बन्धित चिकित्सकीय विषयमा पनि सल्लाहकार र सचिवालयबाट भइरहेको राजनीतिक हस्तक्षेप पटक्कै शोभनीय छैन। यसले प्रधानमन्‍त्रीको उपचार सहज र प्रभावकारी बनाउँदैन, बरु अलमल र जटिलता थप्‍नसक्छ। प्रधानमन्‍त्रीलाई स्वदेशमै उपचार गराउने कि विदेश लैजाने, भारत लैजाने कि अमेरिका ?

यी सबै विषयमा छलफल गर्ने हक तथा त्यो विशेषज्ञता मेडिकल टिमसँग हुन्छ। जुन टिम दिनरात ओलीको स्वास्थ्य निगरानी र उपचारमा खटिएको छ। कसैको सनक र स्वार्थमा यो विषय प्रभावित हुनु हुँदैन। यतिबेला मुलुकको प्रधानमन्‍त्री अस्पतालको शैय्यामा छन्। सबैले ‘छिटो जाती भएर काममा फर्किनुँ’ भन्दै स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

उनलाई निको बनाउने काम अस्पताल र डाक्टरहरूको हो, यो जिम्मा मेडिकल टिमलाई नै दिनुपर्छ। प्रधानमन्‍त्रीको स्वास्थ्य सिंगो मुलुकका लागि चासो र चिन्ताको विषय हो, कुनै सल्लाहकार विशेषको निजी तनाव र तजबिजको सवाल होइन। स्वास्थ्यउपचारको सबै ठेक्का ‘उहाँहरू’ ले लिने पनि होइन र लिनु पनि पर्दैन।

अन्त्यमा, सल्लाहकार रिमालजीलाई हाम्रो पनि सल्लाह छ,

‘तपाईं राजनीतिक सल्लाहकार हो। सक्‍नुहुन्छ, राजनीतिक मामिलामा प्रधानमन्‍त्रीलाई असल सल्लाह दिनुस् नत्र मुलुक नै आफैंले चलाएको भ्रममा नबस्‍नुस्। त्यो भ्रममा रमाउनुभएको छ भने आजैदेखि त्यसबाट मुक्त हुनुस्।’तपाईंलाई मन नपर्ने सूचना र समाचार आउनसाथ ‘छौंडा शैली’ मा यसरी गाली नगर्नुस्।

तपाईंको निजी हैसियत र मनोविज्ञान हामीलाई थाहा छैन तर तपाईं जुन पद र जिम्मेवारीमा हुनुहुन्छ, त्यसका लागि यी शब्द र शैली शोभनीय हुँदैन। तपाईं सार्वजनिक पात्र हो, जनताले तिरेको करबाट तलबभत्ता अनि अनेक सहुलियत लिएर बालुवाटारको शक्तिमा एकछत्र रमाइरहेको सल्लाहकार पनि। त्यसैले बोल्दा र व्यवहार गर्दा यी सबै कुराको हेक्का राख्‍नुस्।

स्राेत : विभिन्न सञ्चारमाध्यमबाट

प्रकासित मिति

Loading...
Loading...

 

Loading...