1478958692 banner ad format

 
 

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । 

Rato machindranath
वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्रा प्रत्येक वर्ष हुने गरेको छ । यो जात्राको सुरुआतका विषयमा विभिन्न किंवदन्ती छन् । एउटा किंवदन्तीअनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन् । उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैँ निस्कीए  । 

वैद्य खोज्ने क्रममा खेतमा काम गरिरहेका किसानले उपचार गर्न सक्छन् भनी पाताल लगियो । किसानले आफ्नो हातको मयलले कर्कोटककी श्रीमतीको अन्धतासम्बन्धी रोग निको पारे । नागराजले किसानलाई सुन, हीरालगायत बहुमूल्य धातु जडित भोटो दिएर पठाए । किसान खेतमा काम गर्दा यो भोटो फुकालेर राख्थे । 

रातो मत्स्येन्द्रनाथको रथ यात्रा चलिरहेका बेला एक दिन भूतजस्ता देखिने एक व्यक्तिले भोटो दाबी गर्न थाले । किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद सुरु भयो । यो विवाद त्यो बेलाका राजा वरदेवसम्म पुगेको रातो मत्स्येन्द्रनाथको भोटो देखाउने साइत हेर्ने परिवारका सदस्य एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले बताए । 

विवादका समयमा कर्कोटक नाग आफैँ उपस्थित भई भोटो रातो मत्स्येन्द्रनाथलाई जिम्मा लगाइएको उहाँको भनाइ छ । त्यस बेलाका राजा वरदेवले दशी प्रमाणसहित आउनेलाई भोटो दिने निर्णय सुनाउँदै आफैँले तीनपटक देखाउनुभएको थियो । यही विश्वासमा प्रत्येक वर्ष यो जात्रा चलाउन थालिएको हो । भोटोको स्वामित्वको विवाद भएका बेला यात्रा ललितपुरको जावलाखेलमा चलेकाले त्यहीँ भोटो देखाइन्छ । 

यो जात्रा वरदेवको शासनकाल विसं ६६२ देखि सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याउने राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको जोशीको भनाइ छ । 

भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीलगायत मन्त्री, सांसद र सरकारी अधिकारीको पनि जावलाखेलमा उपस्थिति हुन्छ । 

उपत्यकाका सबै मानिस भोटो जात्रा हेर्न एवम् दशी प्रमाणसहित दाबी गर्ने उद्देश्यले जावलाखेलमा जम्मा हुन्छन् भन्ने विश्वासमा यस दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन बसेको हो । 

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गो दान गरी भोलिपल्ट वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ । पहिलो दिन रथ गाःबहालसम्म पु¥याइन्छ । गाःबहालदेखि रथ मङ्गलबजारसम्म पु¥याइने गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख बैकुण्ठ आचार्यले राससलाई जानकारी दिए। 

यसपछि मङ्गलबजारबाट रथ तानेर सुन्धारासम्म पु¥याइन्छ । एक दिन रथ सुन्धारामा राखेर अर्को दिन चक्रबही लगिन्छ । चक्रबहीबाट रथ तानेर लगनखेलमा पु¥याइन्छ । रथलाई लगनखेलमा एक दिन राखेर महाबलिसहित पूजा गरिन्छ । 

“लगनखेलमा राँगा, थुम्बा, हाँस, माछा र बोकाको बलि दिएर रातभर पूजा गर्ने परम्परा छ, त्यसको भोलिपल्ट लगनखेलबाट रथ तानी लगनखेल र थटीटोलका बीचमा पु¥याइन्छ, यहीँ नरिवल खसालिन्छ, यहाँबाट महिलाले रथ तानेर थटीटोल पु¥याउने परम्परा छ”– उनले भने । 

रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्षअघि मत्स्येन्द्रनाथलाई ल्याएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood