1478958692 banner ad format

 
 

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत् चितवनको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ बिहीबार पनि नसकिएपछि आइतबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

renu and debi bharatpur

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा आइतबारलाई राखिएको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

निर्वाचन आयोगका तर्फबाट महान्यायाधिवक्ता रमण श्रेष्ठले पुनःनिर्वाचन गराउनुपर्ने तर्क प्रस्तुत् गरेका थिए ।

उम्मेदवार रेणु दाहालका तर्फबाट अधिवक्ता डा. दीनमणि पोखरेल, रमेशकुमार मैनाली र गुणराज घिमिरेले निर्वाचनको प्रक्रिया अगाडि बढाउन माग गरेका थिए । दाहालका पक्षबाट १२ अधिवक्ता छन् । बाँकीले आइतबार बहस गर्नेछन् ।

निवेदकका पक्षबाट गत आइतबार वरिष्ठ अधिवक्ता रविनारायण खनाल र हरि उप्रेती तथा अधिवक्ता हरि फुयाँल, बाबुराम दाहाल, डा. चन्द्रकान्त ज्ञवाली, विजयकान्त मैनाली, गोविन्द बन्दी, ईश्वरीप्रसाद भट्टराई र खिमलाल देवकोटाले निर्वाचन आयोगका प्रतिवेदनमा त्रुटि रहेको भन्दै च्यातिएका ९० मतपत्रलाई बदर गरेर पुनःमतगणना गर्नुपर्ने तर्क प्रस्तुत् गरेका थिए ।

निर्वाचन आयोगको कानुनको दफा ५१ (ग)ले च्यातिएको मतपत्रलाई बदर हुने व्यवस्था गरेकाले सोहीअनुसार च्यातिएका ९० मतलाई बदर गर्नुपर्ने तर्क उनीहरुले प्रस्तुत् गरेका थिए ।

यसअघि, यही साउन २ गतेको इजलासले आजका लागि सुनुवाइ सारेको थियो । भरतपुर मतगणनासम्बन्धी विवाद आजसम्म आइपुग्दा छैटौंपटक सुनुवाइ भएको हो ।

यसअघि, गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिएपनि सुनुवाइ हुन नसकी साउन २ का लागि तोकिएको थियो ।

त्यसअघि असार २३ गते न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा सुनुवाइ सुरु भएपनि नभ्याएर असार २६ गते पेसी तोकिएको थियो ।

त्यसअघि, तत्कालीन कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले मतगणनाकाक्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो ।

सोहीअनुसार अदालतमा च्यातिएका मतपत्रसहित अरू कागजपत्र असार १३ गते अदालतमा पेस गरिएको थियो ।

मतगणना अन्तिममा पुगेकाबेला नेकपा माओवादी केन्द्र का कार्यकर्ताले ९० मतपत्र च्यातेपछि आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

सो निर्णयविरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नम्बर–१९ मा नेकपा एमालेका वडासदस्य उम्मेदवार गुञ्जमान विकले निवेदन दायर गरेका थिए ।

मतगणनामा भरतपुरमा प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो ।

निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश राणाको एकल इजलासले पुनः मतदान गराउने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो । 

प्रकासित मिति

Loading...

 

yummyfood