1478958692 banner ad format

 
 
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक समूह पार्टी अध्यक्ष कमल थापासँग असन्तुष्ट बनेको छ । लगातार आन्तरिक बैठक गर्दै आएको समूहले असन्तुष्ट नेताहरुको भेला बोलाउने तयारी गरेको छ ।
 
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकिकृत राप्रपा राष्ट्रवादीका असन्तुष्ट नेताहरूको तिहारअघि नै राजधानीमा ‘बृहत भेला’ हुन लागेको स्रोतले जानकारी दिएको हो ।
 
पुरानै पार्टीहरूबीच एकता गरेर जाने कि नयाँ पार्टी गठन गर्ने भन्ने निर्णय बृहत भेलाले गर्ने राप्रपा स्रोतले बतायो । तीन वटै पार्टीका मुल नेतृत्वकै कारण राप्रपा टुक्राटुक्रा भएको ठहरसहित उनीहरू छुट्टै भेलाको तयारीमा लागेका हुन् ।
 
राप्रपा केन्द्रीय सदस्य अर्जुन राई असन्तुष्ट नेताहरूको दिनहुँ जसो छलफल चलिरहेको बताउँछन् । अधिकांश छलफलमा सहभागी राई भन्छन्, ‘हामीले गरिरहेको छलफल कुनै नेताविरुद्ध होइन, राष्ट्रवादी वैकल्पिक शक्ति बनाउने उद्देश्य हो ।’
 
राप्रपा अध्यक्ष कमल थापासँग असन्तुष्ट नेताहरूले आइतबार मात्र राजधानीस्थित होटल यल्लो-पेगोडामा गोप्य भेला गरेका थिए । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा भएको भेलाले तीन वटै राप्रपाका असन्तुष्ट पक्षलाई समेटेर संयुक्त भेला गर्ने निर्णय गरेको छ । भेलामा वरिष्ठ उपाध्यक्ष तामाङसहित उपाध्यक्षद्वय टंक ढकाल, दिलविकास राजभण्डारी, महामन्त्रीद्वय धवल शमशेर राणा र जयन्त चन्द, सहमहामन्त्री दिनेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू अर्जुन राई, गोविन्दराज खनियाँ, मुकुन्द गिरी, रामबहादुर शाह लगायत सहभागी थिए । यो समूहमा राप्रपाका २१ नेता रहेको उनीहरु बताउँछन् ।
 
बाहिरी वातावरण अनुकुल हुँदाहुँदै पनि गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेको असन्तुष्ट पक्षको निश्कर्ष छ । २०७० को संविधानसभामा राप्रपा चौथो शक्ति थियो । तर, गत वर्षको आमनिर्वाचनबाट मात्र एक सिट जित्यो र राष्ट्रिय पार्टी बन्न सकेन ।
 
समानुपातिकतर्फ थापा नेतृत्वको राप्रपाले एक लाख ९६ हजार ७८२, राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७ र लोहनीको एराप्रपा राष्ट्रवादीले २८ हजार ८२८ मत पायो ।
 
असन्तुष्ट समूहमा रहेका अधिकांश नेता कमल थापा नेतृत्वको राप्रपामा आवद्ध छन् । पशुपतिशम्शेर राणाले राप्रपा फुटाएर राप्रपा (प्रजातान्त्रिक) बनाउँदा उनीहरुले कमल थापालाई साथ दिएका थिए । तर, छोटो समयमा नै उनीहरुको थापाप्रति मोह भंग भएको हो ।
 
पछिल्लो पटक थापाले सबै पदाधिकारी भंग गरेर अध्यक्ष मात्र राखेपछि उनीहरु रुष्ट बनेका छन् । अहिले थापासँग उपाध्यक्ष राजीव पराजुली र महामन्त्री राजेन्द्र लिङ्गदेन मात्र देखिएको असन्तुष्ट पक्षका नेताहरू बताउँछन् ।
 
एक नेताका अनुसार असन्तुष्ट समूह अझैपनि कमल थापा सच्चिएर आए स्वीकार गर्ने मुडमा देखिन्छ । नभए पशुपतिशम्शेरसँग एकता गर्ने वा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा अर्को पार्टी बनाउने विकल्पबारे समेत छलफल भइरहेको नेताहरु बताउँछन् ।
 
पार्टीको ठूलो हिंसा असन्तुष्ट भएपछि कमल थापाले पशुपतिशम्शेरसँग एकता वार्ता थालेर काउन्टर दिन खोजेका थिए । तर थापालाई कुनै सफलता मिलेको छैन ।
 
‘नेताहरुको एउटा समूहले लगातार नेतृत्वलाई दबाव दिइरहेको छ’ राप्रपा अध्यक्ष थापा निकट एक नेता भन्छन्, ‘चुनावी हारपछि पार्टीको स्पीड नै छैन । तर, यसले सुस्त गतिमा चलेको पार्टीलाई झन सुस्त बनाउन स्पीड ब्रेकरको काम भने पक्कै गरेको छ ।’
 
राप्रपा अध्यक्ष कमल थापा भने एउटा चलायमान पार्टीमा कोही न कोही असन्तुष्ट हुनु स्वाभाविक भएको बताउँछन् । आफू राष्ट्रवादी शक्ति निर्माणमा लागिपरेको भन्दै उनले भने, ‘सबै पक्षलाई समेटेर राष्ट्रवादी शक्ति बनाउन म एक कदमपछि हट्न पनि तयार छु ।’

प्रकासित मिति

Loading...

 

yummyfood