annapurna add

आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो। तर उनको मृत्युको कारणबारे इतिहासकारहरू एकमत छैनन्। बडामहाराजधिराज पनि भनिने पृथ्वीनारायण शाहको मृत्यबारे कस्ता धारणा देखिएका छन् र प्रामाणिक तथ्यहरूले के भन्छन् ?

Ruler Prithvi Narayan Shah kantipathइतिहासकार दिनेशराज पन्तको विश्लेषण

नेपाल एकीकरणको उद्देश्य लिएर राज्य विस्तारमा लागेका पृथ्वीनारायण शाहले विसं १८०१ आश्विन १५ गते नुवाकोट विजय गरेर उपत्यका प्रवेशको बाटो खोलेका थिए। उनले त्यसपछि क्रमश: काठमाण्डू खाल्डोमा रहेका मल्ल राजाहरूद्वारा शासित तीनवटा राज्यलाई आफ्नो राज्यमा मिलाउन सफलता पाए। त्यसअघि उनले आफ्नो ससुराली राज्य मकवानपुरलाई समेत आफ्नो राज्यमा मिलाइसकेका थिए। उपत्यका विजयको केही समयपछि नै शाहले आफ्ना पूर्वज द्रव्य शाहले विसं १६१६ सालमा गोर्खा राज्य स्थापना गर्दा कायम गरेको पश्चिमपट्टिको सीमा चेपे-मर्स्याङ्दीपारि रहेका चौबीसे राज्यहरूमा आक्रमण गरे। केही समयमा उनले ती राज्यमाथि विजय पनि प्राप्त गरे। तर चौबीसे राज्यको संयुक्त सेनासँग टिक्न सकेनन्। केयरसिंह बस्न्यातजस्ता भारदार मारिए र वंशराज पाँडेजस्ता भारदार शत्रुराज्यद्वारा समातिए। गोर्खाली सेना आफ्नो राज्यमा फर्कन बाध्य भयो। चौबीसे राज्यसँग पराजय खेपेपछि उनले पूर्वतिर एकीकरण अभियान थाले। पूर्वतिरको अभियान भने केही सहज देखियो।पृथ्वीनारायणको सेना सजिलै अहिले नेपालको सीमा रहेको मेची नदीपारि परैसम्म पुग्यो। यो सफलताले उत्साहित बनेका उनी फेरि पश्चिमतर्फ आक्रमण गर्नुपर्‍यो भनी नुवाकोट पुगेका बेला अकस्मात् बिरामी परेको ऐतिहासिक लिखतहरूले देखाउँछन्। उनको मृत्यु विसं १८३१ माघ १ गते भएको थियो।

प्रमाणहरु

उनको मृत्युबारे पर्वतका राजाले भारदारलाई लेखेको पत्रमा 'गोर्खाका राजा हामी माथि दागा राखी दगा गर्न नुवाकोट आयाथ्या भगवत् इच्छा त आफैँ हेलिया' अर्थात् 'गोर्खाका राजा हामीलाई सिध्याउन आएका थिए तर भगवान्‌को इच्छाले आफैँ सिध्यिए' भन्ने उल्लेख छ। अरू लिखतमा पनि उनी बितेको कुरा पाइन्छ। तर कुन रोग वा के कारणले उनको मृत्यु भएको भन्ने स्पष्ट पाइँदैन।

विसं १९९२ मा भारतको दार्जेलिङबाट सूर्यविक्रम ज्ञवालीले निकालेको 'पृथ्वीनारायण शाह' नामक कृतिमा तत्कालीन सिक्किम र तिब्बततिरका मानिसहरूले सुने अनुसार 'पृथ्वीनारायण शाहको जीउमा फोकैफोका आएको थियो र त्यही घाउका कारण उनी बिते' भन्ने विवरण दिइएको छ। विसं २००७ सालमा भारतकै बनारसबाट छापिएको रामजी उपाध्यायको 'नेपालको इतिहास अर्थात् दिग्दर्शन' भन्ने पुस्तकमा 'पृथ्वीनारायण शाहले सिकार खेल्न जाँदा उनलाई बाघले झम्टियो र उनी त्यसलाई मार्न समर्थ भएनन् र त्यसैबाट उनको मृत्यु भयो' भन्ने उल्लेख छ।

उपन्यास

सम्भवत: त्यसैकै आधारमा विराज भन्ने एक भारतीय लेखकले हिन्दीमा 'नेपालेश्वर' भन्ने उपन्यास लेखेका छन्। त्यहाँ पनि रामजीप्रसाद उपाध्यायले लेखेकै कुरा लेखिएको छ। विराजले लेखेको उपन्यास त उपन्यास नै भयो ! त्यसमा काल्पनिक कुरा धेरै हुनु अन्यथा भएन। तर ऐतिहासिक उपन्यास भनिएपछि त्यसमा प्रामाणिक कुरा लेख्ने र जुन कुरामा इतिहास बोलेको छैन त्यसमा थप गर्नुपर्ने हो। नेपाल र दक्षिण एशिया क्षेत्रमा त्यस्तो खालको अभ्यास कमै देखिन्छ। त्यसले गर्दा विराजको उपन्यासको उक्त वर्णन कल्पित हो कि भन्न सकिन्छ। रामजीप्रसाद उपाध्यायले लेखेको चाहिँ इतिहास नै हो र त्यसबेला पनि त्यस्तो चर्चा रहेछ भन्ने त्यसबाट देखिन्छ ।

अविश्वासका शृंखलाहरु

यहाँनिर विचार गर्नुपर्ने मुख्य कुरा के हो भने विसं १९३८ सालमा भएको '३८ साल पर्व'मा धपाइएर बनारसमा पुगेर पुस्तकको व्यवसाय गरेर बस्न बाध्य पारिएका परिवारका सदस्य भएकाले रामजीप्रसाद उपाध्यायका पुस्तकमा राणाहरूप्रति अत्यन्त द्वेष व्यक्त गरिएको छ। उनले राणाहरूप्रति पूर्वाग्रह राखेर लेखेको स्पष्ट देखिन्छ। राणाहरूबारे उनले, प्रमाणित होस् वा अप्रमाणित, द्वेष व्यक्त गर्नकै लागि कतिपय कुराहरू लेखेका छन्। तात्कालिक परिस्थिति हेर्दा पृथ्वीनारायण शाह राजा भएकाले उनले कहिल्यै सिकार खेलेनन् होला भन्न त सकिँदैन। तर उनी राज्य विस्तारमा दत्तचित्त भएर लागेकाले र उनकै दिव्योपदेशमा नाचगान इत्यादिलाई निन्दा गरिएकाले पनि उनले जीवनको उत्तरार्धमा सिकार खेले होलान् भनेर पत्याउन सकिँदैन।

आधार

सिकार गर्नु, जुवा खेल्नु, दिउँसो सुत्नु र बढी स्त्री सम्भोग गर्नुलाई राजनीतिशास्त्रका विद्वानहरूले राजाको दोषकै रूपमा मानेकाले र पृथ्वीनारायण शाहले यस्ता कुरामा परहेज गर्ने भएकाले पनि सिकार खेलेको र त्यसैबाट उनको मृत्यु भएको भन्ने विश्वास गर्न निक्कै गाह्रो हुन्छ। सिकार खेल्दा उनी साँच्चिकै घाइते भएका भए उनले दिव्योपदेश दिन समर्थ हुन्थे होलान् र? उनले त 'अब म बाँच्दिन' भन्ने लागेर रोग लागेपछि बल्ल त्यस्तो उपदेश दिएको देखिन्छ। उपलब्ध सामग्रीहरूका आधारमा भन्नुपर्दा बाघले उनलाई आक्रमण गरेको भन्ने विश्वास गर्न सक्ने आधार देखिँदैन। तसर्थ उनको मृत्यु सामान्य ढङ्गले नै भएको हुन सक्छ। उनको शरीरमा खटिरा आएको भन्ने कुरा चाहिँ हल्लै भए पनि विश्वास गर्न सकिने कुरा हो। अन्य कुरामा खासै विश्वास गर्न सकिँदैन।

लिखत

उनले जीवनको अन्तिम समय कसरी बिताए भन्नेबारे खासै लिखत भेटिएका छैनन्। तर उनी बित्नुभन्दा एकदुई महिनाअघि उनले भगवन्तनाथ योगीलाई लेखेको चिठी भेटिएको छ। यो प्रामाणिक कुरा हो। त्यसमा उनलाई आफ्ना उत्तराधिकारीको चिन्ता भएको देखिन्छ। चिन्ताको विषय चाहिँ आफ्ना जेठा छोरा प्रतापसिंह शाह उचित बाटोमा नहिँडेको र नातिको मृत्यु भएको कुरा हो। पृथ्वीनारायणका जेठा छोरा प्रतापसिंहको विवाहिता रानीबाट एउटा छोरा जन्मिएका थिए। तर उनको सानैमा मृत्यु भयो ! त्यसबारे पृथ्वीनारायणले 'गुरु गोरखनाथले जन्माउनु भएको थियो फेरि आफैँले लिनुभयो' भनेको भनी लेखिएका लिखतहरू भेटिन्छन्। पृथ्वीनारायण शाहको मृत्युपछि विसं १८३२ साल असारमा उनका नाति रणबहादुर शाहको जन्म भएको हो।

मृत्युको मिति र काट्टोको प्रसङ्ग

पृथ्वीनारायण शाहको मृत्यु भएको मितिबारे खासै विवाद छैन। तर झन्डै पाँच दशकअघि अनुसन्धाता मोहनप्रसाद खनालले शाहको मृत्युको मितिबारे प्रश्न उठाएका थिए। उनले शाहको मृत्यु विसं १८३१ माघ १ गते भएको होइन भनेर लेखेका थिए। तर त्यसको पनि खण्डन भइसक्यो। उनले लक्ष्मण खनाल भन्ने एक व्यक्तिले पृथ्वीनारायण शाहको काट्टो खाएको पत्र छापेर यस्तो दाबी गरेका थिए। त्यो पत्रले पृथ्वीनारायण शाहको काट्टो खाने ब्राह्मण खनाल थरका नेपाली थिए भन्ने नयाँ कुरा पत्ता लगाए पनि मृत्युको दिन फरक परेको कुरा भने असत्य प्रमाणित भइसकेको छ। पछिल्लो समयमा नेपाली राजाहरूको काट्टो भट्ट ब्राह्मणलाई ख्वाउने चलन थियो। पृथ्वीनारायण शाहका बेला नेपालकै खनाल ब्राह्मणले त्यस्तो काट्टो खाएको उनले प्रकाशित गरेको पत्रले पुष्टी गर्छ। शाहको मृत्युको मितिमा भने मोहनप्रसाद खनालको त्यो दाबी प्रमाणबाट सिद्ध हुन सकेन।

योगदान

हामीले अध्ययनका क्रममा भेटेका पृथ्वीनारायण शाहका पालाका र त्यसपछिका पनि पद्य, वंशावली, ठ्यासफु, ज्योतिषका वर्णन आदिले उनको मृत्य विसं १८३१ माघ १ गते नै भएको देखाउँछन्। अहिले पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता वा नेपालको एकीकरणकर्ता मान्ने कि नमान्ने विषयमा पनि विवाद हुने गरेको छ। उनको जन्मजयन्तीमा बिदा दिने कि नदिने भन्ने विषयमा पनि बहस भइरहेको छ। तर पृथ्वीनारायण शाहलाई हेर्दा हामीले कुनै व्यवस्थासँग दाँजेर हेर्नु हुँदैन। टुक्रिँदैटुक्रिँदै ५२ वटा भन्दा बढी राज्यमा खण्डित भएको नेपाललाई उनको साटो अर्को कसैले एकीकरण गरेको भए उसैले त्यसको जस पाउँथ्यो। अहिलेको जस्तो नेपाल त उनकै कारणले भएको हो। नेपाल नै चाहिँदैन, यो देश बनेर नराम्रो भयो भन्ने हो भने मात्र फरक कुरा हो। नत्र त उनलाई गाली गर्नुपर्ने कुनै कारण छैन।

आवश्यकता

पृथ्वी जयन्तीमा बिदा दिने वा नदिने भन्ने कुराचाहिँ गौण हो। अहिले बरु उनीमाथि थप अध्ययन र अनुसन्धान हुनुपर्ने हो। विसं १८२४ मा इस्ट इन्डिया कम्पनीले किन्लकको नेतृत्वमा पठाएको फौजलाई उनले सिन्धुलीगढीमा कसरी हराए र विसं १८१९ मा मिर कासिमको फौजलाई हराउन कसरी सफल भए भन्नेबारे अध्ययन हुनै सकेको छैन। उनले ती दुवै फौजलाई हराउन नसकेको भए नेपाल अहिलेको अवस्थामा हुने थिएन। ती युद्ध जित्न उनी कुन कारणले सफल भए भन्ने अध्ययन गर्नेतर्फ हामी लाग्नुपर्ने हो। विसं १८७१/७२ मा नेपाल ठूलो राज्य हुँदा समेत हामीले अङ्ग्रेजसँगको युद्धमा तीन खण्डमा एक खण्ड मुलुक गुमाउनुपर्‍यो। तर त्यसभन्दा धेरै अघि नै पृथ्वीनारायण शाह कसरी सफल भए भन्ने अध्ययन गर्नतर्फ लाग्नुपर्छ। त्यसो भन्दैमा उनको स्तुतिगान गर्नुपर्छ भन्ने होइन। सत्य तथ्यको खोजी गरेर आगामी दिनलाई समेत शिक्षा दिनेगरी अध्ययन हुनुपर्छ भनेको हो।

यस्तो छ उनको जीवनी

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए। स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन्। यिनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ। नेपालमा २००७ सम्म त राणा शासन थियो । जब प्रजातन्त्र आयो । त्यसपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए । त्यो भन्दा पहिले पनि मनाइन्थ्यो होला तर राणा परिवारमा कसरी मनाइन्थ्यो त्यो कुरो थाहा भएन । जनताको सहभागिता थिएन ।

२००९ सालदेखि योगी नरहरीनाथले सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको हो । योगीजीले त्यो प्रयास नगरेको भए पनि पृथ्वी जयन्ती त हुन्थ्यो होला तर कुन रूपमा हुन्थ्यो त्यो यसै भन्न सकिदैन । तर, संस्थापक रूपमा यसको प्रारम्भ योगी नरहरीनाथकै अग्रसरतामा भयो । योगी जतिन्जेल बाँचे रास्ट्रहित कै कार्य गरेर बाँचे । प्रत्येक वर्ष पृथ्वी जयन्तीको दिनमा एउटा न एउटा कार्यक्रम गरेर सबै नेपालीले मनाएका छन् । पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधिनस्थ थियो। नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे।नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पछि भयो। वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेलसम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चल्यो ।

पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि.सं. १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए।

यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए। वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स-सम्मान लामो अवधिसम्म राखेका थिए। गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।

उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भए। राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौं उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए। पृथ्वीनारायण शाहको काठमाडौं उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरे जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थिए। पिता नरभूपालको एकीकरणको सपना साकार पार्न वि.सं. १८०० मा विराज थापा मगर र महेश्वर पन्तको नेतृत्वमा उनले नुवाकोट आक्रमण गराए तर नुवाकोटबाट गोर्खालीहरूले पराजयको सामना गर्नु पर्यो।

नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू संकलनार्थ पृथ्वीनारायण शाह वनारस पुगे। पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरे। सोहि बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसंग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे।

दोस्रो पटक पृथ्वीनारायण शाहले वि.सं. १८०१ मा कालु पाण्डेको सेनापतित्वमा नुवाकोटमाथी हमला गरे। यस पटक गोर्खाका १२-२० वर्षसम्मका सबै युवाहरूलाई सशस्त्र तयारी गरीएको थियो भने सैनिकहरूको संख्या १ हजार भन्दा माथि थियो। यीमध्ये केहि सैनिक खेतालाहरुको रुपमा नुवाकोट पुराइएको थियो। तत्पश्चात कालु पाडेले नुवाकोट रक्षा तैनाथ रहेका जयन्त राणालाई गोर्खामा मिल्नुबाहेक उनको लागि अन्य भलाइ नभएको पत्र पठाए। तर जयन्त राणाले काठमाण्डौ पुगी गोर्खालीहरूबाट सम्भावित आक्रमणको जानकारी दिंदै थप सैनिक र हातहतियार माग गरे। तर उपत्यकामा इन्द्रजात्राको चहलपहल रहेकाले जयप्रकाश मल्लले जयन्त राणाको मागको उपेक्षा गरे। जयन्त राणाको छोरा शंखमणी राणाले नुवाकोटको सुरक्षामा तैनाथ रहेकको समयमा गोरखाबाट पृथ्वीनारायण शाह, दलदर्मन शाह, चौतारा विष्णु शाह, काजी शुरप्रताप शाह आदिले नुवाकोटलाई घेरा हाली एकैपटक आक्रमण गरे। दलदर्मन शाहको हातबाट शखमणी राणाको मृत्यु भयो र पृथ्वीनारायण शाहले नुवाकोटमाथि विजय प्राप्त गरे। नुवाकोटमा गोरखालीहरूको कब्जा भएकाले नुवाकोटका सिपाहीहरू भागि वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे। जयन्त राणा यहाँ पक्राउ परे।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गरे। पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन्। तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुआन क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए।

तनहुँमाथिको आक्रमण

नुवाकोट र वेलकोटको विजयपछि गोरखालीहरूले लामीडाँडामा कब्जा गरे। तर तनहुँद्वारा लामीडाँडा कब्जा गर्ने इच्छा रहेकाले तनहुँ र गोरखालीहरूबीच भिडन्तको सम्भावना बढ्यो। तर पृथ्वीनारायण शाहले गुरु गौरेश्वर पन्तलाई पठाई तनहुँको राजासंग सन्धि गर्ने भन्ने खवर पठाएकाले तनहुँका राजा त्रिविक्रम सेनविच केहि समय वार्तालाप भएपछि निर्धारित समयानुसार तिरमा लुकी बसेमा गोर्खाली सैनिकहरूले त्रिविक्रम सेनलाई वन्दी बनाई छोटो समयका लागि तनहुँमाथि कब्जा गरे। यस प्रकारको कामबाट लमजुङ, कास्की, पर्वत आदि क्रुद्ध हुने सम्भावना भएकाले वि.स. १८१० मा त्रिविक्रम सेनलाई मुक्त गरे। वि.स. १८१२ मा गोर्खाली सैनिकले लमजुङ र तनहुँका संयुक्त फौजसंग युद्ध गर्न परेको थियो। यस युद्धमा गोर्खाले ठुलो जनधनको क्षति वेहोर्न पर्यो। तर पनि नालदुम, दहचोक, महादेव पोखरी, सिरानचोकको साथै कुलेखानि, इपा, माल्टा आदिमा कब्जा भएकाले गोरखाको सिमाना मकवानपुर सम्म पुग्यो।

किर्तिपुरमाथि पहिलो आक्रमण

वि.स. १८१४ मा पृथ्वीनारायण शाहले किर्तिपुरमा आक्रमण गरे। यसमा गोरखाको तर्फ १२०० सैनिक थिए। तर किर्तिपुरले काठमाण्डौ, ललितपुर र भक्तपुरका सैनिक समेत सहयोग मागेकाले किर्तिपुरतर्फ ३०० जति सैनिक थिए। यी दुईपक्षवीच बल्खु खोलामा ६ घन्टासम्म लडाई हुँदा धेरै गोरखालीहरुले वीरगति प्राप्त गरे। किर्तिपुरको कब्जामा परेका पृथ्वीनारायण शाह राजवध गर्न नहुने नैतिक नियमको कारणले मात्र यहाँ बाचेका थिए। किर्तिपुर्को पहिलो युद्धमा विरगती प्राप्त गरेका काजी कालु पाण्डेका ठाउमा उनको छोरा वंशराज पाण्डेलाई र सेनापति पदमा शिवराम सिंह बस्न्यातका छोरा केहरसिंह बस्न्यातलाई नियुक्त गरी सैनिक पुनर्गठन गर्ने अभिभारा सुम्पिए। वि.स. १८१६ मा शिवपुरी र काभ्रेमाथि विजय प्राप्त गरे।

मकवानपुर विजय

वि.स. १८१९ को भाद्र महिनामा बंशराजपाडे र केहरसिंहले सङ्गठन गरेको सैनिक साथै महोद्दामकिर्ति शाह, दलमर्दन शाह, शुरप्रताप शाह, नन्दु शाह, दलजित शाहहरुका साथ पठाएको ठुलो संख्यामा मकवानपुरमा आक्रमण गरे। यहा १० घन्टासम्म लडाई चलेको थियो र अन्तत: दिग्वन्ध्न सेनले आत्मासम्पर्ण गरे।

गोरखा माथि आक्रमण

वि.स. १८२० मा दिग्वन्धन सेनलाई मद्धत गर्ने निहुमा तनहुँका राजा त्रिविक्रम सेन, पाल्पाको राजा मुकुन्द सेन तृतीय, कास्कीका राजा सिद्धिनारायण शाहको संयुक्त सैनिकले गोरखाको अधिनमा रहेको हर्मी, भिरकोट, धापकोट, चवांगली, धौराली, लकान्कोटमाथि आक्रमण गरी लुटपाट गरे।

किर्तिपुरमाथि दोश्रो आक्रमण 

वि.स १८२१ को भाद्र महिनामा शुरप्रताप शाह, दलजित शाह र श्री हर्ष पन्तको नेतृत्वमा किर्तिपुर माथि दोर्श्रो आक्रमण भयो। यस युद्धमा पनि किर्तिपुरलाई पहिले जस्तै उपत्यकाबाट सैनिक सहयोग प्राप्त नभए पनि किर्तिपुरका जनताले गोर्खाली सैनिकलाई गोपुर किल्ला तोडी किर्तिपुरमा प्रवेश गर्ने मौका दिएनन। यस युद्धमा किर्तिपुरद्वारा निशाना लगाइएको तिरबाट शुरप्रतापको आँखा फुट्नुका साथै अन्य केहि फौज फर्कन वाध्य भए।

किर्तिपुरमाथि तेस्रो आक्रमण

किर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए। उनले चारैतिरबाट गोपुर किल्लालाई घेरी खेतालाका रुपमा केहि सैनिक किर्तिपुर पठाए। त्यसबखत किर्तिपुरमा धान भित्राउने समय परेकाले वंशराज कीर्तिपुरेहरुलाई आत्मसम्पर्ण गर्न भने। यो युद्धमा किर्तिपुरलाई छिमेकी राज्यहरुबाट सैनिक सहयोग भएको थिएन। वि.स. १८२२ चैत्र ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरे।

सल्यानसंगको सम्बन्ध

वि.स १८२३ मा सल्यानी राजा श्रीकृष्ण शाहका छोरा रणभिम शाहसंग आफ्ना छोरी विलासकुमारीको विवाह गराई मैत्री सम्बन्ध कायम गरे। छिल्ली, दाङ, देउखरीलाई दाइजोको रुपमा दिए।

काठमाडौं उपत्यका माथिको आक्रमण

किर्तिपुर गोर्खाको कब्जामा पर्न गएका निकट भविष्यमै उपत्यकामा आक्रमण सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर ललितपुर र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अंग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुदै काठमाण्डौतिर बढ्यो। यो कुराको जानकारी पृथ्वीनारायण शाहलाई पहिले नै भएकाले सिन्धुलीगढीको रक्षार्थ बिरभद्र पाडेँ र वीरभद्र उपाध्याय र वंशु गुरुङको समुह ढुंगेवासमाथि आइपुग्दा वंशु गुरुङले प्रत्यासित रुपमा चढाई गरे भने अघि बढीसकेको फौजमाथि वंशराज र वीरभद्र उपाध्यायको फौजले पौवागढीमा आक्रमण गरेकाले सारा अंग्रेज फौज आफुसंग रहेको हातहतियार र बन्दुकहरू छाडी आफ्नो प्राण बचाउन जङ्गलतर्फ भागाभाग गरे।

कान्तिपुरमाथि आक्रमण

पृथ्वीनारायण शाहले उपत्यकालाई चारैतर्फबाट घेरी नाकाबन्दी गरेकाले उपत्यकामा चरम आर्थिक सङ्कट छाएको थियो। त्यसमा पनि काठमाडौंका राजा जयप्रकाश मल्ल कठोर विचार, घमण्डी र संकालु प्रवृतिका भएकाले रानी र भारदारहरू रिसाई उनलाई पदच्युत गरी उनका छोरा राज्यप्रकाश शाहलाई राजा बनाएका थिए। तर पछि उनले पुन: आफ्नो सत्ता प्राप्त गरे तर उनलाई आफ्नो छोरा, रानी र भारदारहरूको सहानुभूति प्राप्त भएन। आफ्नो शक्ति कायम राख्न विदेशी सैनिक झिकाई देवी देवताको गुठि मासेकाले धर्मप्राण नेपाली जनता क्षुब्ध भएका थिए भने विदेशी सैनिकलाई बढी तलब समेत दिने गरेकाले कान्तिपुरका सैनिकमा निराशा उत्पन्न भएको थियो।

ललितपुरको पतन

यस्तो स्थति बुझेर पृथ्वीनारायण शाहले वि.स. १८२५ आश्विन १३ मा इन्द्र जात्राको समय पारि नरदेवी, टुडिखेल र भिमसेनस्थान गरी ३ तर्फबाट आक्रमण गरी कान्तिपुर माथि विजय गरे। राजा जयप्रकाश मल्ल भागेर ललितपुरका राजा तेजनरसिह मल्लका गई शरण लिए। वि.स १८२५ आश्विन २५ गते पृथ्वीनारायण शाहले धनवन्त र केहरसिंहलाई ललितपुर पठाई आत्मसम्पर्ण गराउन पठाए। पाटनका राजाले विना कुनै युद्ध भागे ।

भक्तपुर विजय

काठमाडौंका राजा जयप्रकाश मल्ल र ललितपुरका राजा तेजनरसिह मल्ल भागेर भक्तपुरका राजा रणजित मल्लको शरणमा पुगे। राजा रणजित मल्लले आत्मासम्पर्णको सट्टा छिमेकी राज्य र अंग्रेजसंग समेत सीक सहयोग मागेकाले अनावश्यक ढिलासुस्ती गर्न झुने सम्झी भक्तपुर माथि आक्रमण गर्न वंशराज पाण्डे, कहरसिंह बस्न्यात, रामकृष्ण कुँवर, अमरसिहं थापा, कालीदास खड्का आदिका साथ १५०० सशस्त्र फौज पठाए। भक्तपुरमा युद्ध भयो जसमा ठुलो जनधनको क्षति भयो। झन्डै २००० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घर ध्वस्त भयो। हार स्वरूप वि.स. १८२६ मंसिर १ गते रणजित मल्लले आत्मासम्पर्ण गरे। यसै युद्धमा जयप्रकाश मल्लको खुट्टामा गोलि लाग्यो। उनको इच्छा अनुसार पृथ्वीनारायण शाहले उनलाई पशुपति जाने व्यवस्था मिलाईदिए। ६७ वर्षीय वयोवृद्ध मितबाबु रणजित मल्लले इच्छाबमोजिम उनलाई काशीबासको उचित व्यवस्था मिलाए। त्यहा पुगेको १८ महिना पछि उनको मृत्यु भयो। ललितपुरका राजा तेजनरसिंह मल्लले कुनै इच्छा व्यक्त नगरेकाले उनलाई आजीवन भक्तपुर दरबारमा कैद गरियो।

चौबीसे राज्यमाथि आक्रमण

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भयो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरु पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौं पुगे। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरुको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए। यो पराजयले गोर्कालीहरुको महत्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरुमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

मृत्यु

वि.सं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो । कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ। घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए, जसलाई 'दिव्य उपदेश' समेत भनिन्छ। "नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।" इत्यादि सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए। माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम 'मोहन तिर्थ' वा देवीघाटमा उनको मृत्यु भयो । यधपी उनको मृत्यु रहस्यमय र विवादास्पद छ !

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर