काठमाडौं। आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणसम्बन्धी सो मुद्दाको सुनुवाइ भोलिका लागि तोकेको छ ।
न्यायाधीश चोलेन्द्रशम्शेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको भएपनि नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइका लागि मंगलबार तय गरेको अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
शर्माका श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ गत मंगलबार गैरकानुनीरूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ एनसेललाई उन्मुक्ति दिएको, कर फर्स्यौट आयोगको सदस्यसचिवसमेत रहेका शर्मामाथि रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।
प्रकासित मिति