1478958692 banner ad format

 
 

काठमाडौँ -बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ । नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन् । 

 sher and prachanda min

दुई दलबिच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओवादी केन्द्रले लिने गरी समझदारी समेत भएको छ । अर्थ र गृह मन्त्रालय हेरफेर भएपनि अधिकांश मन्त्रालय अहिलेकै अवस्थामा रहने भएका छन् । दुई दलले बाँकी मन्त्रालय आपसी समझदारीका आधारमा लिने सहमति गरेका छन् । 

 

अहिले माओवादीको भागमा रहेको उर्जा मन्त्रालयमा माओवादीले नै चासो देखाएको छ भने कांग्रेसको भागमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कांग्रेसले चासो देखाएको छ । एक नेताका अनुसार उर्जा माओवादीले नै राख्ने र भौतिक मन्त्रालय कांग्रेस राख्ने कि भन्नेमा दुई दल सकरात्मक छन् । समझदारी जुटेमा स्वास्थ्य र शिक्षा पनि नफेरिन सक्ने सम्भावना रहेको बताइएको छ ।

 

दुई दलको बिहीबारको छलफलमा गृह र अर्थ मन्त्रालय हेरफेर गर्ने र बाँकी मन्त्रालय सहमतिको आधारमा बाँडफाँड गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले सरकार गठनका विषयमा छलफल सुरु भएको भन्दै सहमतिको आधारमा मन्त्रालय बाँडफाँड हुने बताए ।

 

अर्थ र गृह कुन दलले लिने भने टुंगो लागेसँगै दलभित्रै आन्तरिक रुपमा दौडधुप समेत तिब्र बनेको छ । प्रधानमन्त्री पछि अर्थ र गृह महत्वपूर्ण मन्त्रालय मानिने भएकाले कांग्रेसभित्र अर्थ र माओवादी भित्र गृह मन्त्रालयका लागि दौडधुप सुरु भएको हो ।

 

माओवादी केन्द्रबाट अर्थमन्त्री रहेका कृष्णबहादुर महराले पार्टीबाट सरकारको नेतृत्व गर्दै उपप्रधानसहित गृहमन्त्रालय जाने इच्छा देखाएका छन् । तर, माओवादी भित्रै अहिलेका उर्जामन्त्री जनार्दन शर्माले कार्यसम्पादन उत्कृष्ट गरेको तथा महराले पटक पटक मन्त्रालयको जिम्मेवारी लिएको भन्दै जनार्दनलाई गृहमा पठाउनुपर्ने आवाज पनि उठेको छ ।

 

केपी ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री रहेका गिरिराजमणी पोखरेलले पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्दै गृह पाउनुपर्ने माग गरेका छन् । उनले गृह नमिले पनि उपप्रधानसहित कुनै मन्त्रालय लिएर भएपनि पार्टीबाट सरकारको नेतृत्व गर्नसक्ने सम्भावना रहेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा नै उनले उपप्रधानसहित सरकारमा सहभागी हुन चाहेका थिए । प्रचण्डले अर्को पटकका लागि भनेर वचन दिएकाले उनी पनि पार्टीबाट सरकारको नेतृत्व गरेर आउने पात्र मध्ये एक हुन् । ओली सरकारको पालामा माओवादीबाट सरकारको नेतृत्व गरेका टोपबहादुर रायमाझीले पनि सकेसम्म गृह मन्त्रालय सम्हालेर पार्टीबाट सरकारको नेतृत्व लिन सक्ने सम्भावना छ ।

 

माओवादी केन्द्रबाट प्रभू शाह, टेकबहादुर बस्नेत, रामनारायण बिडारी, सिता नेपाली लगायत पनि मन्त्री हुने सम्भावना छ । केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहेका सामान्य प्रशासनमन्त्री रेखा शर्मा, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, टोपबहादुर रायमाझी यो पटक मन्त्री हुनेको सुचिमा छन् ।

 

त्यस्तै, वर्तमान सरकारबाट जनार्दन शर्मा, र महराले निरन्तरता पाउने सम्भावना पनि उत्तिकै रहेको छ । राप्रपालाई सरकारमा सहभागी गराउन मन्त्री पद त्याग गरेका हितराज पाण्डे पनि मन्त्रीका रुपमा दोहोरिनेमा पहिलो सुचिमा रहेको स्रोत बताउँछ ।

 

माओवादीभित्र कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा औपचारिक छलफल भने भएको छैन । यसअघि मन्त्री चयनमा विवाद भएपछि ओली सरकारको नेतृत्वमा सहभागी कुनै पनि मन्त्रीलाई नदोहोर्याउने मापदण्ड माओवादीले तय गरेको थियो ।

 

पार्टी केन्द्रीय कार्यालय सदस्य मणी थापाले मन्त्री चयनका विषयमा औपचारिक छलफल नभएको र अब बैठक बसेर मापदण्ड बनाएर अघि बढिने बताए । ‘को के भन्ने ठ्याक्कै कुरा चलेको छैन, बैठक बसेर छलफल हुन्छ, निश्चित मापदण्ड बनाएर मन्त्री छनोट हुनेछ,’ उनले  भने ।

 

यता, प्रधानमन्त्रीमा लगभग पक्कापक्की जस्तै बनेका कांग्रेस सभापति शेरबहादुर देउवापछि कांग्रेमा को हुने भन्नेमा पार्टीमा आन्तरिक रुपमा छलफल तिब्र भएको छ ।

 

कांग्रेसभित्र अर्थमन्त्री कसले पाउने भन्नेमा दौडधुप सुरु भइसकेको छ । डा. रामशरण महत, महेश आचार्य, डा. प्रकाशशरण महत, ज्ञानेन्द्र बहादुर कार्की लगायतले अर्थका लागि लविङ सुरु गरिसकेका छन् ।

 

सहमतिका लागि दिएको एक साताको समयमा सहमतिय सरकार नबनेपछि राष्ट्रपति भण्डारीले बहमुतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया अघि बढाउन बिहीबार मात्र दलहरुलाई आग्रह गरेकी थिइन् ।

 

राष्ट्रपतिको आग्रहसँगै दलहरु सरकार गठन र मन्त्रालय बाँडफाँडको तयारीका लागि छलफलमा जुटिसकेका छन् । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तथा साना दलहरु मिलेर अब नयाँ सरकार बन्ने देखिएको छ । कांग्रेसले विभिन्न दलहरुसँग छलफल समेत अगाडी बढाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood