tealaya add

bd123

काठमाडौं । बाढीपहिरोको बढी चपेटामा तीनवटा प्रदेश परेका छन् । प्रदेश १, २ र ३ मा जनधनको क्षति भएको छ। पहाडी भेगमा बाढीपहिरो र तराई–मधेसमा डुबानको समस्या देखिएको छ। प्रदेश १ को मोरङमा डुबान हुँदा शुक्रबार साँझसम्म ७ सय ५५ परिवारका ३ हजार ५ सयभन्दा बढी जना प्रभावित बनेका छन्।

प्रदेश राजधानी रहेको विराटनगर महानगरसहित बूढीगंगा, कटहरी, धनपालथान र जहदा गाउँपालिका बढी प्रभावित भएको प्रमुख जिल्ला रमेशकुमार केसीले बताए। उनका अनुसार सुकुम्बासी बस्तीका सबैजसो घरमा बाढी पसेर डुबान भएको छ। कटहरी–१, २, ३, ४ वडाका अधिकांश बस्ती जलमग्न रहेको गाउँपालिका अध्यक्ष रामकुमार कामतले बताए। उनका अनुसार कटहरी र धनपालथानको सिमाना भएर बग्ने लोहन्द्रा खोलाको बाढी बस्तीतिर पसेपछि धेरै घर डुबानमा परेका छन्। बाढीले घरै बगाउन लागेको कटहरी–३ का उमेशकुमार साहले बताए। परिवारका सदस्य खुला ठाउँमा बसिरहेको उनले सुनाए।

सुनसरीको हरिनगर–५ बसन्तपुरका ३५ परिवार विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी प्रहरीले स्थानीय विद्यालयमा सुरक्षित राखेको छ। दुहबी नगरपालिकामा कोसी राजमार्गअन्तर्गत पर्ने बूढी खोलाको पुल कटानका कारण जोखिममा परेको छ। पाँचथरका हिलीहाङ गाउँपालिका अमरपुरस्थित अस्थायी प्रहरी चौकी, मिक्लाजुङ–५ कुरुम्बाको एक घर पहिरोको जोखिममा परेका छन्। कुरुम्बामा शुक्रबार बिहान पहिरोले टीकाराम लावतीको घर चर्किएको वडाध्यक्ष अबिसन लावतीले बताए। ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ खिजीफलाटे बजारमा वर्षाका कारण धनवीर तामाङको घर भत्किएको छ। वर्षात्का कारण सिद्धिचरण राजमार्गसहित सबै ग्रामीण सडक ठप्प छन्। बिहीबार साँझदेखि सदरमुकामबाट गाउँ तथा अन्य जिल्लातर्फ जाने सवारी साधन चलेका छैनन्। मध्यपहाडी राजमार्ग दर्जनभन्दा बढी ठाउँमा अवरुद्ध छ। यात्रु अलपत्र परेका छन्।

उदयपुरको त्रियुगा नदीले केन्द्रीय प्रसारण लाइनको पोल तथा तार बगाएपछि विद्युत् अवरुद्ध भएको छ। ओखलढुंगा र खोटाङमा बिहीबार साँझबाट विद्युत् आपूर्ति भएको छैन। धनकुटामा चार दिनयता लगातार परेको वर्षाले एक विद्यालय र ग्रामीण सडकमा क्षति पुगेको छ। सहिदभूमि–३ स्थित अजम्बरी प्राविको भवन भत्किँदा पठनपाठन रोकिएको छ। सहिदभूमिकै मूलघाटबाट पोखरे जोड्ने सडकका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ। ताप्लेजुङको तमोर र मैवा नदी किनारस्थित दोभान बजारका तीन घर पहिरोको जोखिममा परेका छन्। मेरिङ्देन–३ स्थित बजारका सुकवीर लिम्बूको पाली पहिरोले बगाएपछि परिवारलाई अन्यत्र सारिएको छ।

झापाका नदीहरूमा पानीको बहाव बढेको छ। कन्काईमा बहाव सतर्कता तहनजिक छ। कन्काईको मैनाचुलीबाट भाकुरमारीसम्मका १ हजार ८ सय ५६ परिवार उच्च जोखिममा छन्। मेची नदीको बहाव बढेकाले भद्रपुर–३ को सन्थाल बस्ती डुबानमा परेको छ। बिर्तामोडमा अदुवा खोलामा बहाव बढेको छ।

तीन दिनदेखिको अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ। धनुषा र सिरहामा कमला, महोत्तरीमा रातु, जङ्हा र ओक्सी, रौतहटमा लालबकैया र बागमती नदीको बहाव बढेर बस्तीसम्म पुगेको छ। सप्तरीको सप्तकोसी, पर्साका गण्डक, औरिया, भलुवाही, सिक्टा र तिलावे नदीमा आएको बाढीले धेरै क्षति पु¥याउने सम्भावना बढेको छ। बाढीमा फसेका सर्वसाधारणलाई उद्धार गर्न प्रहरी खटिएका छन्।

महोत्तरीका ४० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन्। कमला नदीको पूर्वी किनाराका सिरहा–६ का बसपिटा र कल्याणपुर–१२ का बेल्हाबाट सारश्वर गाउँमा बाढी पस्दा सयभन्दा बढी घर डुबानमा परेका छन्। सिरहाको कल्याणपुर–५ स्थित कमला नदीको टापुमा चार जना फसेका छन्। उनीहरू शुक्रबारसम्म बाहिर निस्किन सकेका छैनन्। एक जनालाई धनुषा सुरक्षाकर्मीको टोलीले उद्धार गरेको छ। निर्दना गाउँको रसिन्द्र दास, सुकदेव दास, कञ्चन मण्डल, कुनमा महतो र उनकी श्रीमती गाईवस्तु चहार्न कमला नदी टापुमा बनाएको गोठमा पुगेका थिए। बाढी आएपछि उनीहरू बाहिर आउन नसकेको सिरहा प्रहरी प्रवक्ता डीएसपी अपिलराज बोहराले बताए।

राजमार्गमा बाढीको अवरोध

रौतहटमा पूर्व–पश्चिम राजमार्गको चन्द्रपुर बागमती खण्ड बाढीका कारण २० घण्टा अवरुद्ध भयो। बागमती र लाल बकैया, चादी, लमाहा, झांझ नदीको बहाव बढ्दै गएको छ। वृन्दावन–१ स्थित बागमती नदीबीचमा रहेको बलेरी टोलका १७ जना फसेका थिए। उनीहरूलाई सेनाले उद्धार गरेको इन्द्रबक्स गणका कर्नेल सुजन शाक्यले बताए।

खाँडो खोलाको बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बाँध भत्काएको छ। तिलाठी गाउँ जोगाउन बनाइएको बाँध दुई ठाउँमा भत्किएको तिलाठी कोइलाडी–१ का अध्यक्ष दिनेश्वर मि श्रले बताए।

कोसीका २३ ढोका खोलिए

सप्तकोसीमा पानीको बहाव बढेको छ। कोसी ब्यारेजका ५६ ढोकामध्ये २३ खोलिएको छ। खतराको संकेतस्वरूप कोसी ब्यारेजमा रातो झन्डा र रातो बत्ती बालिएको छ। स्थानीय प्रशासनले नदी किनार आसपासका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। पानीको सहज निकास नभएकाले वीरगन्ज महानगरका रानीघाट, श्रीपुर, राधेमाई, रामगढवा, आदर्शनगर, चिनी मिल आवास क्षेत्र, नगवालगायत क्षेत्र डुबानमा परेका छन्।

पर्सामा रहेका ओरिया, सिक्टा, गंगोल, तिलावे नदीको बाढीले खेतीयोग्य जमिन र बस्तीमा क्षति पु¥याएका छन्। गाउँमा बाढी पसेपछि पकाहा मैनपुर गाउँपालिकाका खेस्रहा, लहावरथकरी, धोबिया टोल डुबानमा परेका हुन्। धोबिया टोलका ५० परिवारलाई सामुदायिक विद्यालयमा स्थानान्तरण गरिएको प्रहरी चौकी खेस्रहाका प्रहरी सहायक निरीक्षक रामदरेश यादवले बताए।

काठमाडौं जाने चार सडक अवरुद्ध

प्रदेश ३ को मकवानपुरबाट काठमाडौं जोड्ने चार सडक बाढीपहिरोका कारण अवरुद्ध भएका छन्। भीमफेदी–१ भैंसेस्थित बागझोरा खोलामा बाढी आउँदा कुलेखानी–सिस्नेरी, फाखेल र त्रिभुवन राजपथ र कान्ति लोकपथ प्रभावित भएका हुन्।

बागमती नदीको बाढी बस्तीमा पस्दा सिन्धुलीको हरिहरपुरगढी–३ बसपार्कका ६० भन्दा बढी घर डुबानमा परेको गाउँपालिका अध्यक्ष कार्साङ लामाले बताए। उनका अनुसार कालिका कन्स्ट्रक्सनले मदन भण्डारी लोकमार्ग निर्माणका लागि बागमती नदीबाट ढुंगा, गिट्टी र बालुवा निकालेको थियो। बालुवाको थुप्रोका कारण नदीले धार परिवर्तन गर्दा बस्ती डुबेको उनको भनाइ छ।

मरिण नदीको बाढीका कारण एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन्। मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनका अनुसार वडा नम्बर ७ को बाह्रबिसे डुबानमा परेको छ। वडा नम्बर ६ का बागडाँडा र घिमिरे टोलका स्थानीयको दुई घर पहिरोमा परेका छन्। फिक्कल–६ देउकी डाँडाका चार घर पनि पहिरोको उच्च जोखिममा छन्। कमलामाई–३ चपौलीका इन्द्रबहादुर विकका दुई घर पहिरोले पुरेको छ।

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएका छन्। बीपी राजमार्गको नेपालथोक–खुर्कोट र सोलाभञ्याङ–खनियाँखर्क खण्डमा झरेको पहिरो हटाएर शुक्रबार साँझदेखि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ। कमला नदीको बहाव खतराको तहभन्दा माथि पुगेको छ।

तावा खोलाको बाढीले बाँध भत्काउँदा दुधौली जोखिममा परेको छ। सिन्धुली र उदयपुर जिल्लाको सिमाना भई बग्ने तावा तथा ककुर खोलामा आएको बाढीले दुधौली नगरपालिकानजिकै रहेको बाँध भत्काएको हो। सिन्धुलीतर्फ दुधौली नगरपालिकाको डम्बरखानी बस्ती जोखिममा छ।

धादिङको नीलकण्ठ–३ स्थित शीतल बजारको मुख्य सडक पुनः भासिन सुरु भएपछि स्थानीयका घर जोखिममा परेका छन्। लेदो पृथ्वी राजमार्गमा थुप्रिँदा बेनीघाट रोराङ गाउँपालिका–१० बाँदरे मोडमा तीन घण्टा यातायात सञ्चालन हुन सकेन। शुक्रबार दिउँसो १ बजे सडकमाथि घडेरी खारेको ढिस्कोसँगै लेदो खसेपछि प्रहरी, स्थानीयले राजमार्ग एकतर्फी खुलाएका थिए। दोलखाको भीमेश्वर नगरपालिका–९ हलहलेमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ। अन्नपूर्ण 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...