upasabhamukhaकाठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख पदमा आफ्नै पार्टीबाट प्रतिनिधित्व गराउने तयारी थालेको छ। सभामुख र उपसभामुख एउटै दल र लिंगको हुन नमिल्ने संवैधानिक प्रावधानलाई मध्यनजर गर्दै नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा मागेर भए पनि सभामुखमा आफ्नै पार्टीबाट प्रतिनिधित्व गराउने तयारी थालेको हो।

निवर्तमान सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहारको आरोपमा मुछिएपछि राजीनामा दिन बाध्य भएका थिए। महराको राजीनामासँगै सभामुख पद रिक्त छ। उपसभामुख तुम्बाहाङ्फे तत्कालीन नेकपा एमालेबाट उम्मेदवार भएकी थिइन् । उनी पदमा रहँदा सत्तारूढ दल नेकपाले सभामुखमा दाबी गर्न संवैधानिक कठिनाइ हुने भएपछि राजीनामा मागेर सभामुखमा आफ्नै पार्टीबाट प्रतिनिधित्व गराउने तयारीमा नेकपाका शीर्ष नेता जुटेका छन् ।

नेकपा स्रोतका अनुसार तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन लगाएर सभामुख चयन प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामाका लागि दबाब बढाउन पार्टी भित्रैबाट मन्त्री बनाइदिने प्रस्ताव आउन थालेको स्रोतको दाबी छ । ‘उहाँ (उपसभामुख तुम्बाहाङ्फे) लाई राजीनामा दिएर सभामुख चयनको प्रक्रिया सहज बनाउन आग्रह गरिएको छ । बरु उहाँलाई कुनै एक मन्त्रालयको जिम्मेवारी दिने विषयमा कुरा अघि बढेको छ’, स्रोतले भन्यो ।

नेकपा सचिवालय बैठकले सभामुखका लागि उम्मेदवार चयन गर्ने र त्यसपछि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने अवस्था आउन सक्ने स्रोतले बतायो । उपसभामुखले राजीनामा दिएको अवस्थामा सभामुख र उपसभामुख दुवै पदका लागि निर्वाचन गर्नुपर्ने हुन्छ ।

सभामुख पदमा सत्तारूढ दल नेकपाले दाबी गरेमा उपसभामुख पदमा अर्को दलबाट प्रतिनिधित्व हुनेछ । यसअघि, तत्कालीन माओवादी केन्द्रले सभामुख र एमालेले उपसभामुखमा उम्मेदवार बनाएका थिए । पार्टी एकता भइसकेको अवस्थामा अब नेकपाले एउटा मात्र पद पाउने छ ।

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन अस्वीकार गरेकी छन् । उनले सभामुख पद रिक्त भएकाले रिक्त पदमा प्रक्रियाअनुसार पदपूर्ति हुने विश्वास व्यक्त गरिन् । आफूले राजीनामा दिनुपर्ने कारण नभएको उनको तर्क छ । उनले उपसभामुख भइसकेपछि आफू पार्टीको कार्यकर्ता नरहेको दाबी गर्दै पार्टीले माग्दैमा राजीनामा नदिने अडान राख्दै आएकी छन् ।

स्रोतका अनुसार शुक्रबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो धारणा राखेकी छन् । उससभामुखले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै कुनै पनि हालतमा राजीनमा नदिने अडान लिएकी छन्। उनले अहिलेको अवस्थामा आफूले पार्टीको निर्देशन मान्नुपर्ने बाध्यकारी अवस्था नहरकेको समेत बताएको स्रोतले जनाएको छ। उपसभामुख बन्न पार्टी सदस्यबाट राजीनामा दिनुपर्छ।

यस्तो अवस्थामा अहिले उपसभामुख पार्टीको सदस्य छैनन्। पार्टीको सदस्य नभएको व्यक्तिलाई पार्टीले निर्देशन दिन नसक्ने उनको तर्क छ। उपसभामुखले राजीनामा दिन अस्वीकार गरेर अडान लिए उनलाई नै सभामुख बनाउने नेकपाले तयारी गरेको स्रोतले जनाएको छ। 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...