annapurna add

अन्तिम परीक्षाभन्दा केही दिनअघि एक जना अभिभावकसँग भेट भयो । कक्षा आठमा पढ्ने आफ्नो छोराको बारेमा गुनासो गर्दै उनले भने, ‘उसलाई मागेजति सबै फ्यासिलिटी दिएको छु, घरमा केही काम गर्नुपर्दैन, मोजा पनि धुनुपर्दैन तर पनि उसले पढ्दै पढ्दैन ।

manjuयस्तो गुनासो एक जना अभिभावकको मात्र होइन, शिक्षक भेट्न भनेर आउने धेरैजसो अभिभावको हुन्छ । आफ्ना नानीबाबुले राम्रोसँग पढून् भन्दै उनीहरूले नै गर्न सक्ने उनीहरूकै ओछ्यान मिलाउनेदेखि जुत्ता पोलिस गरिदिनेसम्मका सबै काम अभिभावकले गरिदिएका हुन्छन् ।

यो वर्ष समयअगावै कक्षा एकदेखि नौसम्मका अन्तिम परीक्षा भइसकेका छन् । त्यसैले, विद्यार्थी झनै लामो बिदामा बस्न बाध्य भएका छन् । विश्वभर फैलिएको कोभिड–१९ का कारण एसईईको परीक्षा अनिश्चित कालका लागि स्थगित गरिएको छ । कक्षा १० का विद्यार्थीले यस बीचमा पढाइलाई निरन्तरता दिएनन् भने पढेको बिर्सन सक्छन् ।

तर, जतिखेर पनि पढ् मात्रै भन्ने गरेमा उनीहरूमा पढाइप्रति रुचिभन्दा पनि वितृष्णा आउन सक्छ । समयसमयमा विद्यार्थीलाई पढाइभन्दा टाढा राखेर केही समयका लागि स्वतन्त्र पनि हुन दिनुपर्दछ । घरपरिवारका सदस्यसँग हुने घरायसी कुराबाट पनि धेरै सिक्नुका साथै उनीहरूलाई ताजा अनुभव गराउँछ ।

आधा-एक घण्टा जति टेलिभिजनमा आफूलाई मनपर्ने कार्यक्रम हेरेर आनन्द लिन सक्छन् । एसईईको परीक्षालाई नै मध्यनजर गरेर एनटिभी प्लसले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न विषयका नमुना प्रश्न र तिनको समाधानसम्बन्धी कार्यक्रम प्रसारण गरिरहेको छ । आफूलाई पढ्न अल्छी लागेको बेला यसरी हेरेर पनि विद्यार्थीले फाइदा लिन सक्छन् ।

आफ्ना साना भाइबहिनीसँग घरभित्र खेलिने खेल खेल्दा पनि रमाइलो हुन्छ वा पत्रपत्रिका पढेर सामाजिक, भाषा विषयसँगै अरू विभिन्न विषयसम्बन्धी ज्ञान बढाउन सक्छन् । बिहान उठेर ताजा मन, मस्तिष्क भएको बेला अरू पढ्नुपर्ने विषय दोह¥याउने बानी बसाल्दा पढाइमा राम्रो गर्न सक्छन् ।

किशोरावस्था पूरा नहुँदासम्म नानीबाबुको आनीबानी, चालचल र उठबसको निगरानी गरिरहनु जरुरी हुन्छ

दसैं वा जाडो बिदामा जस्तै अन्तिम परीक्षा सकिएको यो लामो बिदामा अभिभावकले उमेरअनुसार आफ्ना नानीबाबुलाई भान्छामा प्रवेश गराउँदा राम्रो हुन्छ । जहाँ उनीहरू थरीथरीका परिकार पकाउन तथा तिनको स्वाद लिन सिक्छन् । यसले पेसा र प्रविधिजस्ता विषयमा धेरै सहयोग पु¥याउँछ । सानो कक्षामा पढ्ने विद्यार्थीले किताबमा चित्रमा मात्र देखेका हरिया सागपात, तरकारी, गेडागुडी, फलफुल वास्तविक रूपमा छुट्याउन सक्छन् । भान्छामा प्रयोग हुने आफ्नै देशमा फल्ने जडिबुटीयुक्त खाद्य पदार्थ जस्तै : अदुवा, दालचिनी, टिमुर, मेथी आदि चिन्न सक्छन् । माथिल्लो कक्षामा पढ्ने आफ्ना नानीबाबु भान्छामा पसेर आफैँ  पकाएपछि खाना मीठो भएन भनेर किचकिच गर्ने र फाल्ने बानीमा पनि धेरै सुधार आउँछ । जुन मैले मेरै नानीमा पनि देखेकी छु ।

पहिला मैले पकाएको रोटी कहिले डढेको प-यो भने उसले खानेबेला सधंै किचकिच गर्थी । अहिले उसले पकाउँदा रोटी डढ्यो भने ‘यो म खान्छु है’ भन्दै छुट्टै लुकाएर राख्छे । कक्षा आठमा पढ्ने ऊ जब भान्छामा तरकारी, रोटी पकाउन पस्छे, कक्षा एकमा पढ्ने छोराले पनि भान्छामा गएर चिया पकाउँछु भन्दै जिद्दी गर्छ । आफ्ना नानीबाबुको सानो सहयोगले उनीहरूलाई मात्रै फाइदा गर्दैन, कहिलेकाहीँ हामी आमालाई पनि दिनभरि अफिसको कामले लखतरान परेको बेला वा सन्चो नभएको बेला धेरै राहत महसुस गराउँछ । तर, यस्ता घरायसी काममा छोराछोरी नभनी दुवैलाई समान रूपले भान्छामा प्रवेश गराउनु जरुरी हुन्छ । छोराचाहिँ बाहिर खेल्न जाने छोरी भने अर्काको घर जाने जात भन्दै पकाउन जान्नै पर्छ भन्ने भेदभावकारी मान्यतालाई भने तोड्नैपर्छ ।

आफ्ना नानीबाबुले विगतमा के गरे र भविष्यमा के गर्दा राम्रो हुन्छ भन्ने कुरामा अभिभावक एकदमै चनाखो हुनुपर्छ । पढाइबाट फुर्सदको समयमा विद्यार्थी जुनसुकै कुरामा पनि आफूलाई व्यस्त राख्न सक्छन् । किशोर विद्यार्थीमा उत्सुकता धेरै हुन्छ । यसकारण उनीहरू यो उमेरमा कुलतमा फस्ने सम्भावना बढी हुन्छ । पानीको बोटलमा अल्कोहल हालेर स्कुलमा ल्याउने, इलेक्ट्रिक हुक्का मधुजस्ता गुट्का र ड्रग्स साथीको लहलहैमा लागेर वा कस्तो हुँदोरहेछ भनेर उत्सुकतापूर्वक स्वाद लिन पुगेका घटना स्कुलबाट सुनिन्छन् । अभिभावकको निगरानी वा आफ्नै सुझबुझले कतिले यो अम्मल छोडे पनि कोही भने यसलाई निरन्तरता दिन पुग्छन् । यसले उनीहरू अम्मली बन्दै जाँदा स्वास्थ्यमा नराम्रो असर गर्नुका साथै यस्ता कुरा किन्न चाहिने रकमको जोहो गर्न घरबाहिर वा घरभित्रै चोरी गर्न पुग्छन् ।

यसकारण हामीले उनीहरूलाई उमेरअनुसार आफ्ना लुगा, धुने, सुकाउने, आइरन गर्ने, आफ्नो ओछ्यान मिलाउने स्कुलको जुत्ता पोलिस गर्नेजस्ता काममा संलग्न गराउन सक्छौं । यसले उनीहरूमा काम गर्ने बानीको विकास हुन्छ । लामो समयसम्म एकै ठाउँमा बसेर मोबाइलजस्ता विद्युतीय सामग्रीमा व्यस्त हुँदा शरीरलाई चाहिने आवश्यक व्यायाम नपुगेर बिरामी हुने सम्भावना अधिक हुन्छ ।

घरभित्रै गर्न सकिने गायन, वादन, नाच इत्यादिमा उनीहरूको रुचिअनुसार व्यस्त गराउन सकिन्छ । यसले उनीहरूमा शारीरिक कसरत हुनुका साथै अल्छीपनाबाट पनि छुट्कारा मिल्दछ । अहिलेको समयमा घरबाहिर निस्कन नमिल्ने भएकाले घरभित्रै आफ्ना नानीबाबुलाई विभिन्न सीपमूलक कुरा सिकाउँदा राम्रो हुन्छ । साना नानीबाबुलाई कविता लेख्न, कथा भन्न, चित्र कोन, गीत गाउन, नाच्न, फूलमा पानी हाल्न र स्याहार्नजस्ता उनीहरूको प्रतिभा उजागर गराउने रमाइला क्रियाकलाप घरमै गराउन सकिन्छ ।

बिदामा सहरभन्दा टाढा गाउँघर जाने विद्यार्थीलाई पशुपालन गरेको, बारीमा लगेर बालीनाली, तरकारी, फलफूल लगाउने तरिका, तिनीहरू फल्ने समय र पाकेपछि कसरी भित्र्याउनेजस्ता विधिहरू सिकाउँदा उनीहरूले राम्रोसँग बुझ्छन् र भविष्यमा कृषि पेसा अपनाउने लक्ष्य पनि लिन सक्छन् ।

एक जना अभिभावकलाई दमको समस्या रहेछ । कक्षा ६ मा पढ्ने छोराको जुत्ता पोलिस गर्दा उनलाई पोलिसको गन्धले गाह्रो भएर अस्पताल पु¥याउनुपरेछ । यसकारण आफ्ना यस्ता ससाना काम नानीबाबुले आफंै गर्दा घरका अरू सदस्यलाई मद्दत पुग्दछ । गत वर्ष स्कुलको पुस्तकालयमा कक्षा १० का विद्यार्थीसँगै बसेर पत्रिका पढ्दै थिएँ । सञ्चारमाध्यमभरि नेपालले पठाएको स्याट १ नामक भूउपग्रहले पृथ्वीलाई परिक्रमा गर्न सुरु गरेको बारेमा एक सातादेखि समाचार आइरहेका थिए । जब मैले यसका बारेमा उनीहरूसँग बुझ्न खोजें धेरैजसो विद्यार्थी यसबारेमा अनभिज्ञ पाएँ ।

एउटाले त यो जोक त होइन नि टिचरसम्म पनि भने । यी तिनै विद्यार्थी थिए, जो बेलाबेलामा फेसबुकमा फोटो अपलोड गर्ने तथा लाइक, कमेन्टमा सक्रिय भइरहन्छन् । यसकारण विद्यार्थीमाझ साइबर क्राइमका घटना बढिरहेका बेला अभिभावकले आफ्ना बालबालिका इन्टरनेटको प्रयोग के कामका लागि गरिरहेका छन् भनेर चासो राख्न जरुरी देखिएको छ ।

बेलाबेलामा उनीहरूका इमेल, फेसबुक अकाउन्टलगायत स्कुलका झोला पनि उनीहरूले थाहा नपाउनेगरी जाँच गरिरहनपर्छ । यससँगै कतिपय विद्यार्थी आफ्नो जन्मदिन मनाउन अभिभावकसँग जबर्जस्त पैसा मागेर बाहिर रेस्टुरेन्टतिर जाने गरेको देखिन्छ ।

यसले उनीहरूमा फाल्तु खर्च गर्ने बानीको विकास हुनुका साथै कुलतमा फस्ने सम्भावना धेरै देखाउँछ । यसको सट्टा उनीहरूका मिल्ने साथी बोलाएर घरमा नै रमाइलो गर्दा केही कुराको डर रहँदैन ।

आफ्ना नानीबाबु राम्रा मान्छे बनून् भन्नका लागि अभिभावक तथा शिक्षक मिलेर किशोरावस्था पूरा नहुँदासम्म उनीहरूको आनीबानी, चालचलन, उठबसको निगरानी गरिरहनु जरुरी हुन्छ ।

अचानक आइलाग्ने यस्ता लामा बिदाले उनीहरूलाई बुझ्न र उनीहरूसँग बस्न धेरै समय दिएको हुन्छ, जसको अभिभावकले राम्रो सदुपयोग गर्न सक्नुपर्दछ । त्यसपछि उनीहरू बिस्तारै परिपक्व हुँदै जाने हुँदा अभिभावकको जिम्मेवारी कम हुँदै जान्छ । राजधानी

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर