annapurna add

गत माघमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका ठाकुरप्रसाद ज्ञवालीले आगामी असार २५ गते अनिवार्य अवकाश पाउने मिति नजिकिँदै गर्दा ज्ञवालीको उत्तराधिकारी हुने दौड प्रहरीभित्र सुरू भएको छ । नेपाल प्रहरी संगठनको नेतृत्व गर्ने आईजीपी नियुक्तिमा अन्तिम निर्णय र स्वविवेक प्रयोग गर्ने निकाय भएकाले सरकारलाई आश्वस्त पार्न सम्भावित उत्तराधिकारीले प्रयास गरिरहेका छन् । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरू हरिबहादुर पाल र शैलेश थापा क्षेत्री भावी आईजीपी हुने दौडमा छन् ।

who will be the new igp

बहालवाला आईजीपी ज्ञवाली गत माघ २८ गते प्रहरीको २७ औं आईजीपीमा नियुक्त भएका थिए । त्यसको केही हप्तापछि २०७६ फागुन १५ गते तारिणी लम्साल, क्षेत्री र पाल एआईजी बढुवा भएका थिए । तर लम्सालले आईजीपी ज्ञवालीसँगै ३० वर्षे सेवाअवधीका कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि हरिबहादुर पाल र शैलेश थापा क्षेत्रीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । ज्ञवालीपछि नेपाल प्रहरीको २८ औं आईजीपीका लागि असार २५ अघि नै सरकारले निर्णय गर्नुपर्नेछ । आईजीपीका लागि सरकारसामु २ विकल्प छन्, पाल वा क्षेत्री  । हाल क्षेत्रीले मानव स्रोत एवं प्रशासन विभाग र पाल कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्वमा छन् ।

प्रहरी नेतृत्वमा पुग्न आन्तरिक र गोप्य दौडधुप त हुने नै गरेका छन्, कहिलेकाहीँ सार्वजनिक रुपमा वादविवाद समेत हुने गरेको छ । राजनीतिक पहुँच र दौडधुपको प्रभावबाट हुने नियुक्ति विवादमा समेत पर्ने गरेको छ । आईजीपी नियुक्तिको विषय विवादित बनेर सर्वाेच्च अदालतसम्म पुगेको इतिहास समेत छ । तत्कालीन अवस्थामा नवराज सिलवाल र जयबहादुर चन्द तथा सर्वेन्द्र खनाल र रमेश खरेल आईजीपीको दौडमा रहेका बेला सार्वजनिक रुपमै विवाद सतहमा देखिएको थियो ।

यसपालि हरिबहादुर पाल र शैलेश थापा क्षेत्रीबीच आईजीपी हुने प्रतिस्पर्धा रहेका बेला नियुक्तिलाई विवादरहित बनाउने चुनौती र जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि छ । सरकारले स्वविवेकले अन्तिम निर्णय लिनसक्ने भएपनि वरिष्ठता, आन्तरिक मूल्यांकन, नेतृत्व क्षमता र राजनीतिक निकटता र विश्वासले आईजीपी नियुक्तिलाई प्रभावित गर्ने गर्छ । तर वरिष्ठता, आन्तरिक मूल्यांकन, नेतृत्व क्षमता भन्दापनि राजनीतिक निकटता मुख्य कुरा हुन आउंछ ।

वरिष्ठतामा क्षेत्री पहिलो नम्बरमा देखिन्छन् । एआईजी बढुवा गर्दा सरकारले क्षेत्रीलाई पालभन्दा अगाडि राखेको थियो । वरियतामा पहिलो नम्बरमा भएपनि राजनीतिक नेतृत्वले उनलाई पत्याई हाल्ने स्थिति भने छैन । सरकारको नेतृत्व गर्ने पार्टी भएका कारण नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली , पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापाबाट अनुमोदन हुने नामलाई आईजीपी बन्न सहज हुनेछ । प्रधानमन्त्री ओलीको जिल्ला झापामा वसेर काम गरेको भन्दै क्षेत्रिले आन्तरिक लबिंग सुरु गरेका छन् । क्षेत्रिसंग प्रदेश प्रहरीको नेतृत्व पनि छैन ।

एआईजी हरिबहादुर पाल आईजीपी दौडको दोस्रो वरियतामा भएपनि उनले नेकपाका नेताहरूसँग पनि निकट सम्बन्ध बनाएको बताइएको छ । विगतदेखि नै नेताहरूको सम्पर्कमा रहने गरेका पालले त्यो सम्बन्धलाई उपयोग गर्दै आईजीपीको नियुक्ति पाउने सम्भावना पनि रहेको चर्चा प्रहरी संगठनभित्र छ । पाल अपरेशन र फोर्स कमाण्डमा दक्ष भएको प्रहरी भित्र चर्चा छ । पाल डिआईजी हुंदा २ नम्बर प्रदेशको प्रहरी प्रमुख थिए भने क्षेत्री महानगरिय प्रहरीको प्रमुख थिए ।

कोरोना भाइरस संक्रमणको महामारीसँगै मुलुकमा शान्ति सुरक्षा कायम राख्नु पर्ने भएकाले सक्षम व्यक्तिलाई नै प्रहरी संगठनको नेतृत्वको नियुक्ति दिनु जायज हुने मत समेत सरकारभित्र रहेको छ । सुशासन कायम गर्न प्रहरी संगठनले समेत महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र खराब नेतृत्वका कारण प्रहरी संगठन बारम्बार विवादमा आउने गरेको छ, यसलाई राष्ट्रलाई नै हानी पर्नसक्ने जानकारहरू बताउँछन् । यी विविध पक्षलाई ख्याल गरेर विवादरहित रुपमा आईजीपी नियुक्त गर्नुपर्ने दायित्व सरकारमाथि छ ।

आईजिपी बढुवामा कार्यक्षमता लगायतका विषय भन्दा सरकारले विश्वास गरेको व्यक्तिलाई नियुक्त गर्ने अधिकार कानूनले दिएको छ । जसकारण अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ । तर, देशको अवस्था असामान्य भएकाले प्रहरी नियमावली संशोधन गरेर वर्तमान प्रहरी महानिरीक्षककै कार्यकाल थप हुन पनि सक्ने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । यसका लागि वहालवाला आईजीपी ठाकुर ज्ञवाली ज्यान छाडेर लागिपरेका छन् । ज्ञवालीलाई केन्द्रमा राखेर यस्तो निर्णय गर्दा अन्य जुनियर अफिसरको करिअर धरापमा पर्ने निश्चित छ ।

आईजिपीसँगै एआईजी बढुवामा पनि धेरैको चासो छ । असारपछि एआईजीका दुई पद रिक्त हुँदैछन् । निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल जसरी पनि असारमा एआईजी हुने दाउमा छन् । तिनमध्ये पोखरेल जुनियर ब्याचका हुन्, असारमा एआईजी नभए उमेरहदका कारण डिआईजीबाटै अवकाश पाउने र एआईजी भए दुई वर्षपछि आईजिपी पक्का जस्तै हुने भएकाले उनी लागेका हुन् । यसपटक उनलाई एआईजी हुन रोकेमा ब्याचका अन्य अधिकृतहरु समेत पछि आईजिपीको प्रतिस्पर्धामा हुनेछन् । जसमा सहकुल थापा, धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा लगायत छन् । यही कारण उनीहरु पोखरेलविरुद्ध एकजुट हुने सम्भावना छ । सहकुल थापा आफ्नो ब्याचबाट डिआईजीमा एक नम्बरमा बढुवा भएका छन् ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...