tealaya add

ratomachhindra kantipath

काठमाडौं - रातो मत्स्येन्द्रनाथको भोटो आज आइतबार देखाइदैछ । अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको भोटो देखाएसँगै समापन हुन्छ । सबैभन्दा लामो मानिने मत्स्येन्द्रनाथ रथ गत बिहीबार जावलाखेल ल्याइएको थियो ।

भोटो जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई गत बिहीबार ललितपुरको लगनखेलस्थित थती टोलबाट तानेर जावलाखेल ल्याइएको थियो । मत्स्येन्द्रनाथ रथसँगै जटाधारी लोकेश्वर नामबाट प्रशिद्ध मीननाथलाई पनि तानेर सोही दिन जावलाखेल ल्याइएको थियो ।

भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

त्यसै दिन मत्स्येन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पुर्याएपछि ‘याः न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो ।

भोटो देखाउँदा रथको विमानमा चढेर दाहिनेबाट क्रमशः घुम्दै ३–३ पटक देखाउने परम्परा छ । मत्स्येन्द्रनाथका पुजारी कपिल बज्राचार्यले भने, ‘सुरुमा देव, मनुष्य र नागलोकलाई लक्षित गरेर देखाइन्छ । दोस्रो पटक कान्तिपुर, ललितपुर, भक्तपुर र तौ दहलाई र तेस्रो पटक निर्वाण भएका गुरु बन्धुदत्त, राजा नरेन्द्र देव, भरिया रथचक्र, कर्कोटक नागराजा, वैद्य किसान, भूतगण सहित यक्ष लोकका सबैलाई लक्षित गरेर देखाइन्छ ।’

भोटो देखाउने सम्बन्धमा परम्परागत किंवदन्ती अनुसार भोटो कर्कोटक नाग राजाको हो । लोकनाथ करुणामय नेपाल ल्याइएको केही वर्ष पछिको कुरा हो । कर्कोटक नागराजाकी श्रीमतीको धेरै उपचारपछि पनि आँखाको रोग निको हुँदैन । नागराजा आफ्नी श्रीमतीको उपचार गराउन ब्राहृमण भेषमा वैद्य खोज्दै आउँछन् ।


‘वैद्य खोज्दै जाने क्रममा ख्वपः भक्तपुरका एक जना किसानसँग भेट हुन्छ । नागराजाले ती ज्यापूलाई आँखाको उपचार गर्ने वैद्य थान्छ । र आफ्नी श्रीमतीको उपचार गरिदिन अनुरोध गर्छ ।’ मत्स्येन्द्रनाथका पुजारी बज्राचार्यले भने, ‘ज्यापू आफू वैद्य नभएता पनि ब्राहृमणको आग्रह अनुरुप उपचार गर्न जान्छ । काठमाडौंको टौदहको किनारामा पुगेपछि ब्राहृमणले आफ्नो सक्कली नागको रुप धारणा गर्छ । 

दहभित्रको दरवारमा लैजान्छ । दरबारमा देवताको रुपमा विराजमान नागराज र रानीलाई देख्दा आफू वैद्य नभएकोमा ज्यापू डराउँछ । ज्यापूले गुरु भैषज्य तथागतलाई सम्झन्छ । अनि दाँया कानको पछाडिको मैलो माडी गोलो पारी पानीमा मिसाई नागरानीको आँखामा हालिदिन्छ । नभन्दै रोग निको हुन्छ ।

‘नागराजा खुसी भएर पारिश्रमिक स्वरुप आफूले लगाएको रत्नमय भोटो ज्यापुलाई दिन्छ । र जलमार्गबाट ज्यापुलाई जमिनमा ल्याई बिदा गर्छ । ज्यापूले सो भोटो खेतमा फुकालेर काम गरिरहेको बेलामा भूतले चोरेर लगे । भूतले त्यही भोटो लगाएर मानिसको भेषमा जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आएका थिए । त्यहीबेला भोटोका मालिक ज्यापू र मानिस भेषधारी भूतका बीचमा भोटोको विषयमा लिएर ‘तेरो र मेरो’ भनी विवाद परेको थियो ।

जात्रा हेर्न मानव रुपमा आएका ककोर्टक नागराजाले पनि देख्छ ।’ उनले भने, ‘अन्तमा भूत, ज्यापू र कर्कोटक नागराजा तीनैको सहमतिमा करुणामयलाई चढाइन्छ । यो कुरा सुनेर ललितपुरका तत्कालीन राजा वरदेव पनि त्यहाँ उपस्थित हुन्छ । मनुष्य रुपी कर्कोटक नागराजाले त्यहाँ उपस्थित राजाप्रजा सबैको सामु नागलोकबाट ल्याइएको सुवर्णमय हिरामोती, रत्न जडित भोटो हरेक वर्ष जात्राको दिन राजाको सवारी भएपछि देखाउनु भनी आज्ञा हुन्छ ।

 हरेक वर्ष चल्दै आएको ऐतिहासिक लोककथन छ । भोटो जात्रा अवलोकन गराउन ललितपुरकी जीवित देवी कुमारीलाई जावलाखेलस्थित पाटीमा ल्याएर राखिन्छ । ललितपुरका १७ औं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि राजकीय सम्मानका साथ समारोहस्थलमा ल्याइने गरिन्छ ।’

भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमतीस्थित मन्दिरमा र मत्स्येन्द्रनाथको बुबा भनिने मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिलमा पुर्याइने गरिन्छ ।

अन्तमा रथको टुप्पोबाट ‘धकिं बायम्वः’ खसालिन्छ । यसदिन काठमाडौं, भक्तपुर र पाटन तीनै सहरका मानिसहरूले विषेश जात्राको रुपमा मनाउने गर्दछन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर