1478958692 banner ad format

 
 

कान्तिपथ  संवाददाता

 
दाङ- चालू आर्थिक वर्ष २०७५/०७६ को पहिलो चौमासिक सकिन लागेको छ । यो अवधिसम्म सरकारले गर्ने भनेका विकास निर्माण पनि चार भागको एक भाग सकिनुपर्ने हो । तर, दाङमा चालू आर्थिक वर्षदेखि गर्ने भनिएका सबैजसो विकास निर्माण सुरु नै भएका छैनन् । यी काम गर्न भनेर सरकारले समयमै बजेट पनि दिएको छ । तर, कर्मचारी र निर्माण व्यवसायीमा रहेको असारे विकासको सोचका कारण काम नै सुरु नभएको स्थानीयको आरोप छ । अघिल्ला वर्षजस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्तिम समयमा नै विकास निर्माण सुरु हुने सम्भावना रहेको उनीहरू बताउँछन् ।
 
चालू आर्थिक वर्ष २०७५/०७६ को विकास निर्माणको काम तिहारपछि सुरु हुने दाङका स्थानीय तहहरूले जनाएका छन् । घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले तिहारलगत्तै विकास निर्माणले तीव्रता पाउने बताए । यस्तै, बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीले पनि विकास निर्माणले तिहारपछि गति लिने बताए । यद्यपि, आर्थिक वर्ष समाप्त हुनुअघि नै बजेट खर्च गर्ने गरी तयारी गर्न वडाहरूलाई निर्देशन दिइको उनको भनाइ छ ।
 
विकास निर्माणका काम अघि बढाउन उपभोक्ता समिति बल्ल गठन गरिँदै छन् । स्थानीय निकायमा हरेक विकास निर्माण गर्न उपझोक्ता समिति गठन गर्नैपर्ने हुन्छ । यो काम बजेट विनियोजन भएसँगै गर्नुपर्ने हो । तर, दाङका सबैजसो स्थानीय तहले आर्थिक वर्षको पहिलो चौमासिक बित्न लाग्दासमेत उपभोक्ता समिति गठन गरेका छैनन् । ‘उपभोक्ता समिति गठनको काम पनि अब तिहारलगत्तै गर्नेछौँ,’ घोराही उपमहानगरपालिकाका मेयर चौधरीले भने, ‘उपभोक्ता समिति गठनसँगै योजना सम्झौता, विकास निर्माणका काम हुनेछन्, कात्तिक महिनामा उपभोक्ता समिति गठन गरिसक्नुपर्ने थियो, तर चाडपर्वका कारण उपभोक्ता समिति गठनमा ढिलाइ भएको हो ।’ राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले पनि तिहारलगत्तै उपभोक्ता समिति गठनको कार्यलाई तीव्रता दिएर विकास निर्माणको काम अघि बढाइने जानकारी दिए ।
 
विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन भएको गुनासो गरेपछि केही स्थानीय तहले योजना सम्झौतामा कडाइ गर्न थालेका छन् । राजपुर गाउँपालिकाले माघ मसान्तभित्रै योजना सम्झौता गरिसक्ने गरी वडामा विकास निर्माणका लागि उपभोक्ता समिति गठनको कार्यलाई अघि बढाएको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले बताए । ‘गाउँपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा स्वीकृत भएका योजनाहरू समयमै सम्पन्न गर्न वडामा उपभोक्ता समिति गठन गर्न परिपत्र गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष केसीले भने ।
 
केसीले माघ मसान्तपछाडि गाउँपालिकाबाट कुनै पनि योजनामा सम्झौता नहुने बताए । समयमै विकास निर्माण गर्न वडावासी पनि जागरुक हुुनुुपर्ने उनको भनाइ छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म विकास निर्माण सम्पन्न गरिसक्ने गरी प्रत्येक वडालाई परिपत्र गरेको गाउँपालिका अध्यक्ष केसीले बताए ।
 
 

प्रकासित मिति

Loading...

 

yummyfood