1478958692 banner ad format

 
 
काठमाण्डौ- इतिहासमै पहिलोपटक नेपालले लगातार चार वर्ष ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने भएको छ । चालू र आगामी आर्थिक वर्ष पनि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । चालू आर्थिक वर्ष (सन् २०१९) मा ५ दशमलव ९ र सन् २०२० मा ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण बैंकको छ । गएका दुई आर्थिक वर्षमा नेपालले क्रमशः ७ दशमलव ९ र ६ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । चालू आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सरकारको छ ।
 
यसअघि एसियाली विकास बैंकले पनि आव ०७५/७६ मा आर्थिक वृद्धि ५ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । विश्व बैंक, एसियाली विकास बैंक लगायतले नेपालका विभिन्न निकायबाट लिएको तथ्यांकका आधारमा आर्थिक वृद्धिको प्रक्षेपण गर्दै आएका छन् । ‘नेपालमा भइरहेका आर्थिक क्रियाकलापले आगामी ३ वर्ष (मध्यकालीन समयमा) आर्थिक वृद्धि औसत ६ प्रतिशत हुने देखिएको छ,’ विश्वबैंकले भनेको छ । यस हिसाबले सन् २०२१ पनि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गर्न सकिन्छ ।
 
नेपालको आर्थिक वृद्धि क्रमशः लगानी आधारित बन्दै
विश्वबैंकले नेपालको आर्थिक वृद्धि रेमिट्यान्स र उपभोगबाट लगानीमा आधारित बन्दै गएको पनि नोभेम्बरको नेपाल विकास अपडेट सार्वजनिक गर्दै विश्वबैंकले जनाएको छ । चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ४ दशमलव ३ प्रतिशत पुग्ने र त्यो मूलतः मल, बिउलगायतमा सुधार, भण्डारण सुविधा तथा सिँचाइ सुविधामा भएको विकासका कारण सम्भव भएको पनि विश्वबैंकले जनाएको छ । त्यस्तै, नेपालको पुनःनिर्माणमा भएको लगानीका कारण पनि आर्थिक वृद्धिमा सुधार भएको विश्वबैंकले ठहर गरेको छ । त्यस्तै, पर्यटक आगमनमा भएको उच्च वृद्धिले पनि नेपालको आर्थिक वृद्धिमा योगदान दिनेछ  । यद्यपि, रेमिट्यान्सले बढाउने उपभोगका कारण पनि आर्थिक वृद्धिमा सकारात्मक योगदान पुगेको उसले जनाएको छ । ‘नेपाल सरकारले निजी क्षेत्र र विदेशी लगानी वृद्धि गरी लगानीमा आधारित आर्थिक वृद्धितर्फ मुलुकलाई रुपान्तरण गरिरहेको छ,’ प्रतिवेदनले भनेको छ ।
तर, नेपाल अहिले संघीयताको कार्यान्वयनका क्रममा रहेकाले त्यसले पूर्वाधार र सेवा प्रवाह प्रभावित बन्न सक्ने र आर्थिक वृद्धिलाई चुनौतीपूर्ण बनाउन सक्नेतर्फ पनि विश्वबैंकले सचेत बनाएको छ ।
 
नेपालको वित्तीय क्षेत्रको पैसाले मात्रै पुग्दैन: अर्थमन्त्री
 
नेपालको वित्तीय क्षेत्रमा उपलब्ध स्रोतले मात्रै नेपालको विकासको आवश्यकताअनुसार लगानी परिचालन गर्न सम्भव नभएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । विहीवार विश्व बैंकको नेपाल विकास अपडेट सार्वजनिक गर्दै उनले त्यसका लागि अन्य स्रोतबाट लगानी परिचालन गर्नुको विकल्प नभएको बताएका हुन् । ‘नेपालको वित्तीय क्षेत्रमा सीमित पूँजी छ, त्यो पनि अल्पकालीन प्रकृतिको छ, त्यसो हुँदा हामीले विश्वभरिबाट स्रोतको खोजी गर्नुपर्ने छ,’ उनले भने ।
 
अपडेटले औंल्याएअनुसार नेपाल सरकारले आर्थिक र नीतिगत सुधारका कार्यक्रमलाई अघि बढाइरहेको पनि उनले जानकारी दिए । मुलुकमा सधैं खुला आर्थिक नीति अख्तियार गर्न सरकार प्रतिबद्ध रहेको जानकारी उनले दिए । ‘तर, जाडोमा हामी ढोका लगाउँछौं, न्यानो कपडा लगाएर आफूलाई सुरक्षित गर्छौं । त्यस्तै कहिलेकाहीं अर्थतन्त्रको हितका लागि आन्तरिक उत्पादनमा आधारित नीतितर्फ जाँदा संरक्षणवाद भन्न मिल्दैन’ उनले भने ।
 
विश्वबैंकका नेपाल निर्देशक डा. चिमिओ फानले नेपालले आर्थिक विकासलाई तिव्र बनाउन लगानी आकर्षित गर्नुपर्ने र त्यसमा सक्रिय र रुपान्तरणकारी कदम चाल्नुपर्ने बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood