annapurna add

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो सम्पत्ति विवरण मंगलबार सार्वजनिक गरेका छन् ।

Mahaprasad Adhikari अधिकारीले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार माछापुच्छ«े बैंकमा १ लाख ६३ हजार ७ सय ६२ रुपैयाँ, नबिल बैंकमा २ हजार ३ सय २ अमेरिकी डलर र नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६ सय रुपैयाँ छ ।

गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी व्यवस्थाअनुरूप अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्र बैंकको वेबसाइटमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग दुई मोटरसाइकल र एउटा टोयोटा कार रहेको उल्लेख छ । उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६ सय रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन् । कुल ऋणमध्ये ५० लाख रुपैयाँ मध्य–तमोर जलविद्युत् आयोजनाको सेयरका लागि लिइएको हो । उनी संस्थापक सेयरधनी भएकाले ‘सेयर एडभान्स’ मा पैसा हालेका हुन् । उनको १८ हजारको क्रेडिट कार्ड ऋण पनि छ ।

त्यस्तै, अधिकारीको घरमा १४ लाख १० हजार रुपैयाँको टिभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर, प्लेयर, फोन सेट, एसी, आइप्याड र सोफा सेट छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

नेपाल फिल्म, बाँसबारी जुत्ता, हरिसिद्धि इँटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीका ११ सय कित्ता सेयर उनको नाममा छ । नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेस्ट, मेगा, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, ग्लोबल आईएमई, एनआईसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष र प्रिमियर इन्स्योरेन्सका २७ हजार १ सय ८४ कित्ता सेयर उनीसँग छन्, जसको मूल्यांकन ४८ लाख ३७ हजार ३ सय ९० रुपैयाँ हुन आउँछ ।
अधिकारीले नबिल ब्यालेन्स फन्ड २ मा १८ लाख लगानी गरेका छन् भने चिलिमे, एचआईडीसीएल, सानिमा माई र अपर तामाकोसीको २७ हजार ९ सय २९ कित्ता सेयर किनेका छन् । उनले यी सेयर दोस्रो बजारबाट उठाएका हुन्, जसको मूल्यांकन ४० लाख १७ हजार ५ सय रुपैयाँ हुन्छ । यो लागत मूल्य हो ।

अधिकारीसँग २७ तोला सुन र ५० तोला चाँदीका गहना छन् । त्यस्तै, उनीसँग १८ हजार नगद छ । उनले सुनचाँदी पैतृक, विवाह र खरिदबाट आर्जन गरेको जनाइएको छ ।

श्रीमती सरिता अधिकारी पोखरेलको नाममा सम्पत्ति जोडेका उनीसँग साबिकको सैंबु गाविसमा २७ आना ३ पैसा २ दाम जग्गा छ ।

उनले विराटनगरको घरजग्गा बिक्री, सापटी र बचतबाट किनेको उल्लेख गरेका छन् । त्यस्तै, उनले ललितपुरको छप्पीमा जग्गा जोडेका छन्, जहाँ ४ रोपनी १० आना, २ रोपनी १५ आना र २ रोपनी ६ आना गरी तीन कित्ता छन्, जसको लागत मूल्य ९० लाख ९७ हजार रुपैयाँ रहेको छ । उनले हेटौंडा र झापाको सुरुंगामा पनि जग्गा जमिन जोडेका छन् । यसबाहेक उनीसँग २२ सय वर्गफिटको जग्गा छ । सञ्चयकोष सापटी, बैंक ऋण र बचतबाट उनले यो सम्पत्ति जोडेका हुन् ।
उनको नाममा भने मकवानपुरको हेटौंडा १ हटियामा ०–०२–०० कट्ठा जग्गा छ ।

ब्याज मिनाहा गर्न नसकिने

गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीले बैंकबाट लिएको ऋणको ब्याज मिनाहा गर्न नसकिने बताएका छन् । मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीतिसम्बन्धी छलफलमा सहभागी उनले ब्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न असम्भव भएको बताएका हुन् ।

कोभिड–१९ को प्रकोपका कारण समस्यामा परेका उद्यमी व्यवसायीले शृंखलाबद्ध रूपमा ब्याज मिनाहाको माग गरिरहेका बेला उनले ब्याज मिनाहा गर्न नसकिने बताएका हुन् ।

यद्यपि, उनले व्यवसायीले तिर्नुपर्ने ऋणको भाका भने सार्न भने सकिने बताए । उनले अर्थ समितिको बैठकमा भने, ‘ब्याज तिर्नुपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्नु परिहाल्छ, अहिलेलाई समय सार्ने मात्रै हो ।’

बैठकमा सांसदले नेपालमा बैंक ब्याजदर बढी भएको बताएपछि गभर्नर अधिकारीले विकसित देशमा भन्दा अल्पविकसित देशमा ब्याजदर बढी नै हुने जिकिर गरे । यस्तै, वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको उनले बताए । सांसदको प्रश्नमा गभर्नर अधिकारीले ५ करोडभन्दा बढी ऋण लिनेहरू ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको जानकारी दिए ।

अर्काे वर्ष रेमिट्यान्स र राजस्वका स्रोत घट्दा अर्थतन्त्र अप्ठेरोमा पर्न सक्ने विषयलाई ख्याल गरी मौद्रिक नीति बनाउनुपर्नेमा उनले जोड दिए ।

बैठकमा सांसदले निर्वाहमुखी अर्थतन्त्रलाई आत्मनिर्भर र औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर