annapurna add

राष्ट्रको ढुकुटीको जिम्मा लिएर बसेका नेपाल राष्ट्र बैंकका ठूलाबडा नै राज्यको आम्दानीप्रति उदासीन र गैरजिम्मेवार भएपछि कसको के लाग्छ ! केही वर्षदेखि मुलुकबाट हुने निर्यात कम र आयात ह्वात्त बढेको छ । रेमिट्यान्सलगायतको आम्दानी घटेपछि विदेशी मुद्रा सञ्चितीमा ह्रास आएको छ । यसको हिसाब किताब पनि राष्ट्र बैंकले नै राख्छ । विदेशी मुद्राको कारोबार र हिसाबकिताबको जिम्मा भने बैंकका विदेशी मुद्रा व्यवस्थापन विभाग र बैंकिङ्ग कार्यालयलाई दिइएको छ ।

Naresh Shakyaढुकुटीमा रहेको विदेशी मुद्रा आकर्षक ब्याजका लागि विश्वका ठूला, धनी र विश्वासिलो अर्थतन्त्र भएको मुलुकका ट्रेजरी (ऋणपत्रलगायत) मा लगानी गर्ने काम विदेशीले गर्दछन् । तर, मुलुकभित्र जम्मा भएका विदेशी मुद्रा (आईसी बाहेक) निश्चित परिमाणपछि बैंकिङ्गले सिंगापुरस्थित सिआईएमबी बैंकमा जम्मा गर्न पठाउँछ । यसरी जम्मा भएको रकममा बैंकले विदेशी मुद्रामै ब्याज पाउँछ । यस्तो ब्याजआम्दानी पनि विदेशी मुद्राप्राप्तीको एउटा स्रोत हुने गरेको छ ।

बैंकले गत असोजसम्म हप्ताको दुईपटक विदेशी मुद्रा सिल्क एअरमार्फत् कार्गो गरेर पठाइरहेको थियो । त्यसपछि बिभिन्न बहानामा विदेशी मुद्रा पठाउने काम प्रभावित हुन थाल्यो । बैंकिङ्ग कार्यालयका कर्मचारी र कार्यकारी निर्देशक नरेश शाक्यबीच विदेशी मुद्रा सिंगापुर पठाउने र रोक्ने भन्ने बारेमा राम्रैसँग ठाकठुक पर्यो । सबै कर्मचारी एकातिर र शाक्यसँगै कार्यालयकी निर्देशक निभा श्रेष्ठ अर्कातिर हुँदापनि कात्तिकदेखि फागुनसम्म कर्मचारीको जोडबलमा मुश्किलले तीन पटक पठाइयो । ‘हाम्रो आग्रह विनाकारण राज्यको ढुकुटीमा असर पार्ने काम गर्न हुँदैन भन्ने थियो । तर, हाकिमले कसैको कुरै सुनेनन् । उल्टै ‘म हाकिम कि तिमेरु’ भन्दै हुर्मत लिन खोजे’ एकजना उपनिर्देशकले दुःखेसो पोख्दै भने ।

नियमानुसार र नियमित रूपमा सिंगापुर नपठाएको कारण बैंकमा फागुन मसान्तसम्म ३० अर्ब नेपाली रूपैयाँ भन्दाबढीको विदेशी मुद्रा थुप्रियो । चैतदेखि लकडाउन शुरु भएपछि विभिन्न निहुँमा बैंकमै विदेशी मुद्रा थुपार्दै आएका शाक्यलाई राम्रै बहाना मिल्यो । स्रोतकाअनुसार उक्त रकम सिआईएमबीमा तोकिएको समयमा जम्मा गरिएको भए अहिलेसम्म बैंकले धैरै ब्याज पाइसक्थ्यो । थोरै भएपनि उक्त ब्याजमा स्याजसमेत आउँथ्यो । कम्तिमा एक प्रतिशतको दरले ब्याज हिसाब गर्ने हो भनेपनि यतिखेर मुलुकले ३० करोड रूपैयाँ भन्दाबढीको विदेशी मुद्रा आम्दानी गरिसक्थ्यो । बैंकको चीसो छिँडीको अस्थायी ढुकुटीमा राखिएको त्यत्रो आम्दानी हुने विदेशी मुद्रा (डलरलगायतका कागजी मुद्रा) मा अहिले ढुसी पर्न थालेको छ ।

गत पुसदेखि मुलुकको पर्यटन क्षेत्र पनि सुस्तायो । कोरोनाले सर्वत्र ठप्प पारेपछि मुलुकको विदेशी मुद्राको आम्दानी लगभग शुन्यमा झर्यो । तर, शाक्यले आफूलाई बैंकको आकर्षक विभागको जिम्मा नदिएकाले बैंकिङ्ग कार्यालयबाट सरुवा हुन उक्त हतकण्डा अपनाइरहे । बैंकको उच्चव्यवस्थापनले अहिलेसम्म राज्यको ढुकुटीमा गम्भीर असर पर्नेगरी भएको चलखेल र हतकण्डाको सुईंको समेत पाएको छैन । एउटा कर्मचारीले सरुवा वा अन्य नीजि स्वार्थको लागि अपनाएको गम्भीर हतकण्डाले राज्यको ढुकुटीमा परेको करोडौंको क्षतिपूर्ति अब कोबाट भराउने ?

बैंकिङ्गले नियमित रुपमा गरिरहेको विदेशी मुद्रा सिंगापुर पठाउने कार्य गतअसारदेखि शाक्यले विभागको जिम्मेवारी लिएपछि सुस्ताएको थियो । स्रोत भन्छ– ‘बैंकिङ्ग कार्यालयको परफरर्मेन्स कमजोर देखेपछि व्यवस्थापनले आफूलाई अन्यत्र सरुवा गरिदिने आशमा शाक्यले गलत जुक्ति अपनाएका हुन् ।’ उनले विभागमा आएदेखि विद्यमान बिमा, ट्रान्जिट बिमाको भाँजो र सुरक्षा सुनिश्चितताको बेतुकको कुरो उठाएका थिए । तर, बैंकले अन्तर्राष्ट्रिय मापदण्डको सबै प्रक्रिया पूरा गरेर सो काम चालिस वर्षदेखि गर्दै आइरहेको छ ।

यसले पनि शाक्यको नियतमाथि शंका गर्ने ठाउँ उठेको एकजना निर्देशक बताउँछिन् । सिंगापुर वा हंगकंगका अरु ठूला बैंकको योजनामा उनी सीआइएमबीबाट राष्ट्र बैंकको खाता हटाउने खेलमा लागेको हुनसक्ने आशंका गरिएको छ । किनकी विश्वका ठूला बैंकले विभिन्न मुलुकको विदेशी मुद्रा खाता सञ्चालनको लागि सम्बन्धित अधिकारीलाई अनेकौं ‘गोप्य अफर’ र प्रलोभन दिन्छन् । त्यहि अफरमा अमुक विदेशी बैंकलाई सहयोग पुर्याएर अनुचित लाभ लिने उद्देश्यले पनि शाक्यले पछिल्लो रणनीति बनाएको हुनसक्ने स्रोतको दाबी छ । शाक्य नेपाल क्लियरिङ्ग हाउसका अध्यक्ष पनि हुन् । स्मरणरहोस्, यसअघि राष्ट्र बैंकले एचएसबीसी बैंकमा रकम जम्मा गथ्र्यो ।

जोखिममा आधारित सुपरीवेक्षण र आन्तरिक लेखापरीक्षण शुरु गरिसकेको केन्द्रीय बैंकमा यतिखेर दुरुस्त हिसाब किताबका जानकार चार्टर्ड एकाउण्टेण्ट महा प्रसाद अधिकारी गभर्नर छन् । सञ्चालक समितिमा पनि आफूलाई आम्दानी र खर्च विवरण हेर्नेहरूको बोस ठान्ने वरिष्ठ चार्टर्ड एकाण्टेण्ट सुवोध कुमार कर्ण सदस्य छन् । स्वयम् अर्थ सचिव बैंक सञ्चालक समितिका पदेन सदस्य हुन् । उता, मुलुकको आम्दानी खुम्चियो भन्दै अर्थमन्त्री दिनहुँ एकाध करोडको लागि भएपनि विदेशी दातृमुलुक तथा निकायहरूमा हारगुहार गरिरहेका छन् । तर, ढुकुटी सम्हाल्ने जिम्मा लिएको संस्थाको एकजना उपल्लो तहका कर्मचारीले बेफ्वाँकमा मुलुकलाई २५ लाख भन्दाबढी अमेरिकी डलर चुना लगाइदिएका छन् । तैपनि हामी चुप छौं ब्रो, यस्तै हो । जन आस्था साप्ताहिक

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...