Hidden
दक्षिण एसियामै नेपालको बैंकिङ प्रणाली सुदृढ छ- नेपाल राष्ट्र बैँक
काठमाडौं। राष्ट्र बैंक आफैमा स्वायत्त निकाय भएको भन्दै भाषण सुरु गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी मौद्रिक नीतिका बारेमा आफ्नो सुझाब अगाडि सारेका छन्।
भुकम्पले भत्किएको बालुवाटारस्थित राष्ट्र बैंकको भवन शिलान्यास कार्यक्रममा पुगेका अर्थमन्त्रीले उत्पादकत्व बृद्धिदेखि बाह्यी क्षेत्र सन्तुलनसम्मका बिषय राष्ट्र बैंकले मौद्रिक नीतिमा समेट्नु पर्ने उनले 'प्रेस्क्राइव' गरेका छन्।
'केन्द्रीय बैंकको अबको काम भनेको परिचालित बचतलाई नागरिकको सीप क्षमता अनुसार उत्पादक क्षेत्रमा लगानी गर्न पूँजी उपलब्ध गराउने हो,' अर्थमन्त्रीले भने, 'साना ठूला सबै आवश्यकता पुरा गर्ने हो। नियमन र प्रवर्द्धक भूमिका बलियो बनाउने हो।'
उनले अन्तर्राष्ट्रिय पूँजी परिचालन गर्न पनि वित्तीय प्रणालीलाई सक्षम बनाउने गरी राष्ट्र बैंक सवल हुनु पर्ने बताए। 'यसो हुँदा दुई अंक नजिकको आर्थिक बृद्धिमा हामी पुग्न सक्छौं। यो बृद्धि हासिल गर्नका लागि लगानी मात्र होइन लगानीको प्रतिफल पनि बढाउनु पर्छ,' उनले भने।
उनले मूल्य बृद्धि राष्ट्र बैंकको सर्वथा प्राथमिक बिषय भएको भन्दै अहिले पाँच प्रतिशतभन्दा तल रहेका यसले लगानी बढाउँदै लैजाने ठाउँ दिएको बताए। 'तर हामीलाई अहिले बाह्यीय क्षेत्रमा केही चुनौतीहरु छन्। बाह्यीय क्षेत्रका चुनौतीहरु भनेका खासगरी ब्यापार घाटा, सेवा क्षेत्रमा पनि अपेक्षित आम्दानी नहुनु र विदेशी प्रत्यक्ष लगानी सोचेजति आकर्षित गर्न नसक्नु हो,' उनले भने, 'यी कुराहरुमा हाम्रो निर्णय प्रकृया, हाम्रा नीतिहरु हुन्। आगामी मौद्रिक नीतिले यस सन्दर्भमा संवोधन गर्यो भने मलाई लाग्छ आगामी बर्ष बाह्यीय क्षेत्र हामी स्थायित्व र भुक्तानी सन्तुलन सहज स्थितिमा पुग्ने छ।'
उनले राष्ट्र बैकको भवन पुनर्निर्माणको बिषयलाई अर्थतन्त्रको पुनर्निर्माणमा लगेरसमेत आफ्नो धारणा राखेका थिए। अर्थमन्त्रीले राष्ट्र बैंकको भवनजस्तै अर्थतन्त्र पनि पुनर्निर्माणकै चरणमा रहेको बताए।
'पुनर्निर्माणको क्रममा कहिलेकाँहीँ जमिनमुनि पसेर निर्माण सुरु गर्नु पर्छ। त्यो गरिरहँदा कहिलेकाँही हामी उल्टो बाटो हिँडेको हो भन्ने भ्रम पनि कतिलाई परेको थियो र छ,' उनले भने, त्यो हुनु हुँदैन। जग बलियो भएपछि संरचना बलियो हुन्छ।
अर्थमन्त्री खतिवडाले नेपाल लामो समयपछि वित्तीय स्थायित्वको युगमा प्रवेश गरेकोसमेत बताए। धेरै बर्षसम्म वित्तीय प्रणाली संकटमा छ कि भन्ने प्रश्न उठ्ने गरेको बताउँदै उनले एक दशकदेखि बित्तीय प्रणाली स्थिरतातिर आइरहेको उल्लेख गरे।
'बैंकहरुमा ग्राहकको निक्षेप फिर्ता लिन कुनै भिँड र अस्वभाविक रुपमा असुरक्षित भएको महशुस गर्नु पर्ने अवस्था छैन। निक्षेप बीमाले त्यो सुरक्षा गरेको छ,' उनले भने, 'वित्तीय स्वास्थ्यमा सुधार भएको छ। दक्षिण एसियामै नेपालको बैंकिङ प्रणाली सुदृढ छ। खराब कर्जा निक्कै कम छ।' (बिजमाण्डु)
प्रकासित मिति