1478958692 banner ad format

 
 

महेन्द्रनगर (धनुषा) । माछापालनबाट वार्षिक रु ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन् । 
Fisheries annual income
कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन् । 

धनुषाको सहिदनगर नगरपालिका–४ नन्नुपट्टी गाउँका ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ । नन्नुपट्टीमा करिब १३ बिगाहा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको छ । 

२०२९ सालबाट माछा उत्पादन शुरु गरेका मुखियाले हालसम्म आफ्नो व्यापारमा निकै ठूलो फड्को मारेका छन् । मुखियाले निजीस्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन् । जसबाट उनले वार्षिक रु सात करोड मूल्य बराबरका माछाका भुरा र करिब ३०० क्वीन्टल माउ माछा उत्पादन गरी बिक्री गर्ने गरेका छन् । 

शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको ठूलो जमघट हुने गर्छ । आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहजरूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन् । 

मुखियाको व्यापारमा उहाँको छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन् । बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेशामा नगई यसमै लागिपरेको कान्छा छोरा रमेश बताउँछन् । यस फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरीलगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताए  । 

अहिले माछा व्यापारबाटै वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सफल मुखिया परिवारलाई यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असिम दुःख भोगेको अनुभव पनि छ । 

विगत सम्झँदै उनले भने – तराईमा दलित जाति मै पर्ने उनको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ । मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन् । आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका बौएलालले बताए । उनले भने– “त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थ्यौँ । आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको र औषधोपचार गराउने अवस्था थिएन । घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो ।” उपचार अभावमा बुबा बितेको सम्झँदा उहाँको आँखा रसायो । 

उनले अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेको अनुभव उनिसंग छ । “दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्थे र त्यो बेचेर जे–जति आउँथ्यो, त्यसैबाट गुजारा चलाउँथ्यौँ हामी”, मुखियाले पुराना दिन सम्झिदै भने। 

मुखियाको अनुसार करिब १३ वर्षको उमेरमा उनि आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले  । त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए । ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे । 

उनले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताएका थिए । विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै । उनले काम गर्ने साहु तिवारीकोे तीन कट्ठा जग्गामा पोखरी थियो । मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे । तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए । “तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए”, मुखियाले स्मरण गरे– “सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर खेती शुरु गरेँ ।” 

सानो पोखरी उत्पादन राम्रै भयो । त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो । अधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे । तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिए । लगानी गर्ने पैसा नभएकाले रु एघार सय पैचो पनि उनै तिवारीले दिएका थिए । त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । झन ठूलो समस्या आइप¥यो । बाध्य भएर पाँच प्रतिशतका दरले रु ५०० ऋण लि र रु ४०० साथीको बुबासँग सापट लिए । 

त्यही रु ९०० बाट शुरु भएको माछा व्यवसाय नै आज उन को परिचय भएको छ । “अर्को वर्ष जब पोखरीमा माछा मार्यौ, त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो”, मुखियाले भने – “त्यतिबेला प्रतिकलिो रु आठमा बिक्री हुने माछाबाट रु ११ हजार आम्दानी गरें । त्यही पैसाबाट ११ कट्ठा खेत किनेर धानखेती गरेको र थप तीन कट्ठा खेत किनेर त्यसमा माछापालनको काम शुरु गरे,” उनले भने । 

आफ्नो मिहनेत र परिश्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउछन् । सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्छन्  । “म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु”, मुखियाको आत्मविश्वास छ । 

सम्भावना देखेको ठाउँमा पसिना चुहाए । कुनै बेला एक कट्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरिद गरे । उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछाखेती गरेकै थिएन । अहिले उनकै सहयोगमा दर्जनौँ किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन् । 

मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उनि बताउछन । २०४६ सालमा उहाँलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो । त्यस्तै उहाँको परिश्रम र माछा उत्पादन क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो । यसका साथै उनले देश–विदेशमा सयौँ सम्मान र पुरस्कार प्राप्त गरिसके । 

उनले भने - “मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ ।” 

२० वर्ष पूर्व भएको स्थानीय निकायको निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भई सफल कार्यकाल चलाई सक्नु भएको मुखिया अबको स्थानीय तहको निर्वाचनमा आफ्नो नगरपालिकाबाट प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताए । 

धनुषाको प्रत्येक गाविसमा कम्तीमा दुई र बढीमा २२ वटा सम्म पोखरी रहेको जानकारी मत्स्य व्यवसायी संघ धनुषाका अध्यक्ष कन्हैया मुखियाले दिए । उनले जिल्लामा ३७० पोखरीको संख्यामा रहेको जानकारी दिदैं सबैभन्दा बढी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पोखरी रहेको बताए । 

अहिले जनकपुरको माछा नेपालमा नै प्रसिद्ध छ । 

प्रकासित मिति

Loading...

 

yummyfood