tealaya add

सरकारी स्वामित्वका संस्थान घाटामा जाँदा सधैँ सरकारका लागि टाउको दुःखाइको विषय बनिरहँदा नेपाल विद्युत् प्राधिकरणले भने अन्य संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ ।

Nepal Electricity Authority

 

पछिल्लो दश वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२÷७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा आव २०७५÷७५ को तुलनामा १४९ प्रतिशतले खुद मुनाफा आर्जन गरेको छ । प्राधिकरणले गत आवमा रु सात अर्ब २० करोड खुद मुनाफा आर्जन गरेको छ ।

आव २०४७÷७५ मा प्राधिकरणको खुद मुनाफा रु दुई खर्ब ९० करोड रहेको थियो । सुझबुझपूर्ण राजनीतिक नेतृत्व, कुशल तथा सक्षम व्यवस्थापक भएमा घाटामा रहेका संस्थान पनि नाफा कमाउन सक्छन् भन्ने उदाहरण फेरि पनि दिन प्राधिकरण सफल भएको छ । त्यस्तै प्राधिकरणले चुहावट नियन्त्रणमा पनि आफूलाई दह्रोसँग उभ्याउँदै आएको छ । तीन वर्षको तथ्याङ्क हेर्दा प्राधिकरणको चुहावट निरन्तर न्यूनीकरण हुँदै आएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा राख्न सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको २०.७८ प्रतिशतको तुलनामा ५.१३ प्रतिशतले कमी हो । आव २०७२÷७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेकामा तीन वर्षभित्र १०.४६ प्रतिशतले कमी आएको छ ।

प्राधिकरणको वार्षिक उपलब्धिका बारेमा जानकारी दिन आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणमा झण्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगिएको बताए ।

“दक्षिण एसियाली मुलुकमा करीब १० प्रतिशत चुहावटलाई एउटा मापदण्ड तोकिएको छ, हामी करीब सो मापदण्डमा टेक्ने अवस्थामा पुगेका छौँ” उनले भने , “चुहावट घटाउन सक्ने अवस्थामा छौँ, चुहावट रोक्न प्राविधिक सुधार गर्नुपर्ने भएकाले केही समय लाग्न सक्छ ।”

चुहावट नियन्त्रणमा उल्लेख्य सफलता मिलेकाले पनि खुद नाफा वृद्धिमा टेवा पुगेको हो । प्राधिकरणले सरकारको ढुकुटीमा रु १५ अर्ब ५९ करोड दाखिला गरेको छ । प्राधिकरणले विद्युत्को पहुँच पनि विस्तार गर्दै लगेको छ । पछिल्लो उत्पादन, प्रसारण र वितरणमा केन्द्रित भएको प्राधिकरणले विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ । गत वर्षसम्म राष्ट्रिय प्रसारणमा आबद्ध भई विद्युत् उपभोग गर्ने जनसङ्ख्या करीब ७८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो । हाल ४५ लाख घरधुरी ग्रीडमा जोडिएका छन् ।

प्राधिकरणले विद्युत् उत्पादनमा पनि निजी क्षेत्रको तुलनामा आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । प्राधिकरणको उत्पादन हिस्सा ३४ प्रतिशत, निजी क्षेत्रको २९ र आयात ३७ प्रतिशत रहेको छ । गत आवको कूल सात अर्ब ५५ करोड युनिट विद्युत् उपलब्धतामध्ये प्राधिकरणको करीब दुई अर्ब ५५ करोड युनिट, निजी उत्पादकको दुई अर्ब १९ करोड र आयात दुई अर्ब ८१ करोड युनिट रहेको छ । गत आर्थिक वर्षमा केही परिणाममा विद्युत् आयात गरिएको भए पनि आगामी आवबाट विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुग्ने लक्ष्य राखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

धमाधम जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेसँगै सरकारले उत्पादित बिजुली खेर जान नदिन ऊर्जाका अन्य रुप विस्थापित गर्दै जाने रणनीति अख्तियार गरेको छ । पत्रकार सम्मेलनमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युतीय उपकरणको प्रयोग बढाउनुका साथै विद्युतीय सवारी साधनको प्रयोगमा समेत सरकारको ध्यान केन्द्रित भएको बताए ।

“अब विद्युतीय चुल्हो प्रयोग गर्न आग्रह गर्नेछौँ, सरकारले विद्युतीय सवारीको प्रयोगलाई बढवा दिएको छ”–उनले भने । विद्युतीय सवारी साधनलाई लक्षित गर्दै चार्जिङ स्टेशन सञ्चालनसम्बन्धी कार्यविधि एक÷दुई दिनभित्रै टुङ्गो लगाइने उनको भनाइ थियो । मन्त्री पुनले एक हजार मेगावाट देशभित्रै खपतको वातावरण बनाउन सरकार केन्द्रित भएको जानकारी दिए ।

गत आर्थिक वर्षमा प्राधिकरणले निजी उत्पादकबाट रु १४ अर्ब १३ करोडको बिजुली खरीद गरेको थियो । त्यस्तै रु २३ अर्ब तीन करोडको विद्युत् आयात भएको प्राधिकरणले जनाएको छ । सो अवधिमा प्राधिकरणले रु ३२ करोडको बिजुली निर्यातसमेत गरेको थियो । गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण आन्तरिक उत्पादनमा भएको वृद्धि तथा तराईका क्षेत्र डुबानका कारण आन्तरिक खपत कम हुँदा प्राधिकरणले झण्डै ५०० मेगावाट विद्युत् निर्यात गरेको थियो ।

प्राधिकरणले प्रशारण तथा वितरण लाइन विस्तारलाई पनि जोड दिएको छ । गत आर्थिक वर्षमा ७५७ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई ६०६ किलोमिटर सर्किट सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । यस्तै वितरण लाइनर्फ (३३ केभी र सोभन्दा मुनि) पनि करीब नौ हजार ७२२ सर्किट किलोमिटर निर्माण सम्पन्न भएको छ ।

मन्त्री पुनले उत्पादनसँगै वितरण प्रणाली सुधार अबको लक्ष्य भएको बताए । उपभोक्ताको माग धान्न सक्ने गरी वितरण प्रणालीलाई सुधार गरिने उनको भनाइ थियो । नेपालमा खपत भएर बढी भएको बिजुली छिमेकी मुलुकमा बिक्री गर्ने आधार तयार भइसकेको उल्लेख गर्दै मन्त्री पुनले नेपाल, भारत र बङ्गलादेश जोड्ने गरी त्रिदेशीय डेडिकेटेड लाइन निर्माण गरिने बताए । बङ्गलादेशमा विद्युत् निर्यात गर्न दुवै मुलुकको सचिवस्तरमा छलफल भइरहेको मन्त्री पुनले जानकारी दिए ।

अठ्तीस रुग्ण आयोजना सम्पन्न प्राधिकरणले गत आवमा रुग्ण अवस्थामा रहेका ३८ आयोजनाको निर्माण सम्पन्न गरेको छ । विविध उल्झनमा फसेर लामो समयदेखि सम्पन्न हुन नसकेका रुग्णमध्ये उत्पादनतर्फ एक, प्रसारणतर्फ तीन र वितरणतर्फ ३४ आयोजना गत आवमा सपन्न गरिएको मन्त्री पुनले जानकारी दिए ।

त्रिशूली ३ ‘ए’ (६० मेगावट) तथा काबेली करिडोरलगायत ३८ रग्ण आयोजना सो अवधिमा सम्पन्न भएका छन् । काम अगाडि बढाउन नसकिएका १३ आयोजनाको ठेक्का सम्झौता रद्द गरी पुनः ठेक्का प्रक्रिया शुरु गरिएको उनले बताए । देशभर रहेका थ्री फेज मिटर तथा टिओडी मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कामको थालन गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । प्राधिकरणले काठमाडाँैबाट सिङ्गल फेज मिटरलाई स्मार्ट सिङ्गल फेज मिटरले प्रतिस्थापन गर्ने काम शुरु गरिसकेको छ । काठमाडौँ उपत्यकालाई ताररहित बनाउन भूमिगत तार बिछ्याउनका ठेकेदारको छनोट भई अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...