1478958692 banner ad format

 
 

बाबियाचौर (म्याग्दी) । म्याग्दीको रघुगंगा गाउँपालिका– १ स्थित बेगखोलामा रहेको अस्थायी पुल बाढीले बगाएपछि बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध बनेको छ । 
Beni Jomsom road block direct traffic min
बेनी–जोमसोम–कोरला सडक आयोजनाले गत महिना निर्माण गरेको छ मिटर लामो अस्थायी पुल बुधबार राति बेगखोलामा आएको बाढीले बगाएको हो । २०७३ साउनमा आएको बाढीले बेगखोलामा रहेको बेलीब्रिज र झोलुङ्गे पुल बगाएपछि आयोजनाले अस्थायी पुल निर्माण गरेको थियो । 

बाढीले पुल बगाएपछि बेनीबाट बेगखोला खण्डमा गाडी परिवर्तन गरेर यात्रा गर्नुपर्ने भएको छ । पैदलयात्रीलाई समेत समस्या भएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले डाइभर्सन बनाएर सडक खुलाउने तयारी भएको जानकारी दिए। उनका अनुसार बिहानैदेखि डाइभर्सन बनाउने काम शुरु गरिएको छ । 

यसैबीच, पहिरोको जोखिमका कारण आजदेखि बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । भदौ १५ गतेसम्म बेनी नगरपालिका–९ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डको सडकमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

बेनीबाट जोमसोम जाने सवारीसाधनलाई बेलुकी ५.३० बजेपछि गलेश्वरमा र मुस्ताङबाट बेनी आउने सवारीसाधनलाई ६ बजे भुरुङ तातोपानीमा रोकिने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए  । 

उनका अनुसार दुईतर्फबाट बिहान ५ बजेपछि मात्र सवारीसाधन छुट्नेछन् । मुस्ताङ जाने सवारीसाधन ५.३० बजेभित्र गलेश्वरबाट अगाडि र मुस्ताङबाट बेनी आउने सवारीसाधन बेलुकी ६ बजेभन्दा अघिनै भुरुङ तातोपानीबाट छुट्नुपर्नेछ । 

गलेश्वरदेखि भुरुङ तातोपानी खण्डको सडकमा पहिरो र ढुंगा खसिरहने हुँदा दुर्घटनाको जोखिम रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood