flag bibeksil saja party

साझा विवेकशील पार्टी कैलालीले हावाहुरीपीडित ११ परिवारको घर निर्माण गरेको छ । २६ जेठमा आएको हावाहुरीबाट घर भत्किएका असहाय, अपांगता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका ११ परिवारको घर निर्माण गरिएको साझा विवेकशील पार्टीले जनाएको छ ।

पार्टीका सदस्यबाट पैसा उठाएर धनगढी र अत्तरिया क्षेत्रका पीडितका घर निर्माण गरिएको साझा विवेकशील पार्टीका सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए । ‘घर निर्माण गर्दा जस्तापातालगायत सामान खरिदमा एक लाख २९ हजार पाँच सय २५ रुपैयाँ खर्च भयो,’ संयोजक हमालले भने, ‘आफैँ घर बनाउन नसक्ने आर्थिक अवस्था कमजोर भएका व्यक्तिका घर बनाइदिएका हाैँ ।’ पार्टीले शनिबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । ‘हामीले जात र पार्टी हेरेनौँ । व्यक्तिको आर्थिक अवस्था बुझेर घर बनाइदिएका हौँ ।’

धनगढी पुरानो भन्सार रोडका जुवेद शेख तथा धनगढीको कनरीकी निर्मला ओझा, जोगी राना, गौरी लामा, करन बोगटी, मतादेवी साउद, हरि सार्कीको घर बनाएको सो अवसरमा जानकारी दिइयो । यसैगरी, धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी लक्ष्मी दमाई, कमला विक, सीता शाही र अत्तरियाका पदम भण्डारीको घर बनाएको हमालले बताए ।

निर्माणमा आफैँ खटिए नेता–कार्यकर्ता 
घर निर्माणमा विवेकशीलका नेता, कार्यकर्ता आफैँ खटिएका थिए । समाज बनाउने जिम्मेवारी राजनीतिक पार्टीकै रहेको उल्लेख गर्दै हमालले हावाहुरी प्रभावितलाई सहयोग गर्न अरू राजनीतिक पार्टीहरूलाई पनि आग्रह गरे । विपन्न परिवारलाई सहयोग होस् भनेर घर निर्माण गरिएको उनले बताए । सो पार्टीले हावाहुरीपछि खानेपानीको समस्या भएका गोदावरी नगरपालिका– ११ र १२ मा खानेपानी पनि वितरण गरेको थियो ।  

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...