bajhang nws kantipath

बझाङ : दुइ वर्ष अघिसम्म पाराकाट्ने गाविसकी राधिका सिंहसँगै उनको गाउँका महिलालाई यतिबेला सडक खन्ने कामको चटारो हुने गर्थ्यो । बिहान १० बजे नै खाना खाइवरी खाजा पोको पारेर हुलका हुल महिलाहरू महेन्द्रधार पुग्थे । दिनभर सडकमा घन, साबेल र बेल्चा चलाउँथे । हाँसखेल गर्दै काम गर्थे ।

बझाङ थलाराका महिलाले यसरी नै ३२ किमि लामो दंगाजी(महेन्द्रधार(खोलीबजार सडक निर्माण गरे । बझाङलाई छिमेकी जिल्ला डोटीसँग जोड्ने यो सडकले दुई जिल्लाको सम्बन्ध मात्र जोडेन, थलाराका हजारभन्दा बढीलाई करिब तीन वर्षसम्म रोजगारी पनि दिएको थियो । सडकमा काम गर्ने अधिकांश महिलालाई घर खर्च चलाउन सजिलो पारिदिएको थियो । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले निर्माण गरेको उक्त सडकमा काम गर्नेमा ८० प्रतिशतभन्दा बढी महिला थिए । सडक निर्माणका कारण पुरुष घरमा नभएका महिलालाई पनि जीविका कसरी गर्ने र छोराछोरीको पढाइखर्च कहाँबाट जुटाउने भन्ने चिन्ता थिएन । ‘घरको खाना खाएर महिनामा ३०/३५ हजारसम्म कमाइ हुन्थ्यो,’ थलारा खोलीकी ध्याम्पादेवी साउद भन्छिन्, ‘लोग्ने घरमा नभए पनि चिन्ता हुँदैनथ्यो । आफ्नै कमाइले घर चलाउन पुगेको थियो ।’

धेरै समय घरधन्दाकै काममा सीमित हुने यहाँका महिलालाई टाढा गएर काम गर्दा समाजले राम्रो नजरले हेर्दैन । अधिकांश घरका पुरुष रोजगारीका लागि भारत गएका हुनाले गाउँमै बन्न लागेको सडकले उनीहरूको जीवनस्तरमा निकै सहजता ल्याएको थियो । सडकको योजना पूरा भयो । जनप्रतिनिधि आएपछि उत्साहित उनीहरू रोजगारीको बाटो नभेट्दा यतिबेला निराश छन् ।

गाउँमा स्थानीय सरकार छ । आफैंले चुनेका जनप्रतिनिधि छन् । थलारा पाराकाट्नेको डिक्ला गाउँकी धनकला साउदलाई भने जनप्रतिनिधि आएपछि आफ्नो रोजगारी खोसिदिएको गुनासो छ । ‘नेता आएपछि झन् सुविधा होला, गाउँमै काम पाउँला भन्ने सोचेका थियौं,’ उनले भनिन्, ‘उनीहरूले डोजरलाई काम दिए । हाम्रो रोजगारी खोसिदिए ।’

दुई वर्षअघि थलारा गाउँपालिकामा निर्माण भइरहेको दंगाजी(महेन्द्रधार(खोलीबजार सडक एउटा मात्र योजना थियो । स्थानीय सरकार आइसकेपछि अहिले यहाँ ४० भन्दा बढी योजनामा सडक निर्माणकै काम भइरहेको छ । ‘एउटै सडकले गाउँपालिकाभरिका मानिसलाई रोजगारी दिएको थियो,’ थलारा-५ हाटका राजेन्द्र खडका भन्छन्, ‘अहिले सडक नबनेको कुनै गाउँ छैन तर एक जना गाउँलेले पनि रोजगारी पाएका छैनन् ।’ स्थानीयस्तरका योजनामा गाउँलेलाई सहभागी गराउन जनप्रतिनिधिको ध्यान नपुगेको उनको गुनासो छ ।

‘रोजगारी पाउनु त कहाँ हो कहाँ, हाम्रो बारी पनि बगर बनाएर गयो,’ खोलीकी विस्नादेवी सब्खोलीले दुखेसो पोखिन्, ‘अहिले मकै पोलेर खाऊँ भने पनि बारी छैन । पैसा टिपी डोजरले लैगयो । हाम्रो गाउँमा पैरो छाडी गयो ।’ घर नजिकको करिब ३ रोपनी बारी सडक खन्दा आएको पहिरोले पुरिएपछि खान लाउनको समस्या भइरहेको उनले बताइन् । यी स्थानीयले गरेको गुनासोले थलारा गाउँपालिकाको मात्र प्रतिनिधित्व गर्दैन, बझाङ जिल्लाका जुनसुकै ठाउँमा गए पनि स्थानीयका गुनासा यस्तै छन् । ‘तीन वर्ष लाएर ३२ किलोमिटर सडक बनायौँ । गाउँपालिकाभरिका मानिसले ४ करोडभन्दा बढी कमाएका थियौं,’ पाराकाट्नेका विष्णु भण्डारीले भने, ‘अहिले बनिरहेका सबै सडकमा गाउँलेले काम पाएको भए करोडौं रुपैयाँ गाउँमै रहन्थ्यो ।’ गाउँपालिकाको योजनाको ठेक्काबाट हुने लाभ डोजर मालिकले लिएकोमा मात्र नभई डोजरले मच्चाएको विनाशप्रति पनि उनले चिन्ता व्यक्त गरे । ‘गाउँलेको यस्तो उठिबास पनि हुने थिएन । जग्गा भईकन सुकुम्बासी पनि हुनुपर्ने थिएन,’ उनले भने । छिटो काम हुने भन्दै डोजर लगाउँदा पहिरोको जोखिम बढाएको उनले बताए ।

बझाङ जिल्लामा महेन्द्रधार सडकबाहेक भोपुर(रुवातोला १८ किमि र बागथला(बिजगडा १४ किमि सडक पनि स्थानीयकै श्रम प्रयोग गरेर निर्माण गरिएको थियो । जिल्लाकै मुख्य राजमार्गका रूपमा रहेको जयपृथ्वी राजमार्गको १०८ किमिको खोड्पे(बझाङ खण्ड पनि यहाँका स्थानीयकै श्रमबाट निर्माण गरिएको थियो । यी सडक निर्माणका क्रममा सयौंले गाउँमै रोजगारी पाएका थिए । स्थानीय जनशक्ति प्रयोग गरेर सडक निर्माण गर्दा यहाँका मानिसले रोजगारी मात्र नपाएर सीपको विकास गर्ने अवसरसमेत पाएका थिए । तल्कोट गाउँपालिकाका हर्कबहादुर रोकायाले भने, ‘रोडमा काम गरेका कारण धेरैजना दक्ष मिस्त्रीसमेत भएका छन् । त्यही सीप बेचेर अहिले पनि गुजारा चलाइरहेका छन् ।’ भौगोलिक अवस्थाअनुसार यान्त्रिक उपकरणको साटो मानव श्रम प्रयोग गर्दा भूस्खलनको जोखिम कम हुनुका साथै स्थानीयको जीविकोपार्जनमा सघाउ पुग्ने कुरालाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने उनले बताए ।

जिल्ला समन्वय समितिका अनुसार अहिले बझाङका विभिन्न स्थानमा सानाठूला ७ सय ४४ वटा सडक निर्माणको काम भइरहेको छ । निर्माण गर्न सयवटा भन्दा बढी डोजर परिचालन गरिएका छन् । ‘स्थानीय तहको ७० प्रतिशतभन्दा बढी रकम सडक निर्माणमै खर्च भइरहेको छ,’ जिसस प्रमुख खडगबहादुर खडकाले भने, ‘पूर्वाधार विकासको ठूलो बजेट डोजरले लगेको छ । जनताले के पाएका छन् त ? बझाङका युवाह गाउँ नै खाली गरेर घरमा ताल्चा मारेर भारतका सडक खन्न गइरहेका छन् । हाम्रा दैलाको सडक डोजरले खन्दैछ । यहाँ अच्चमको विकास भइरहेको छ ।’ रोजगारी खोसिएको भन्ने स्थानीयको गुनासो जायज भएको उनले बताए । ‘रोजगारी खोसिनु मात्रै चिन्ताको विषयभन्दा पनि जमिन थर्किएर पहिरोको जोखिम निम्तिएको छ,’ उनले भने, ‘यो गम्भीर समस्यामा जनप्रतिनिधिको ध्यान जानैपर्छ ।’कान्तिपुर दैनिक

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...